site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
ठूलो दुर्घटना हुनेवाला थियो, राज्यलाई बचायौँ
Sarbottam CementSarbottam Cement

सरकारसँग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा र त्यसलगत्तै जनमत पार्टी गठन गरेर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएपछि पनि डा. सीके राउतका विषयमा प्रश्न उठ्न कम्ती भएको छैन ।
सरकारसँग सम्झौता गरेलगत्तै मधेस फर्किएका राउतले सहमतिको दोस्रो बुँदामा उल्लेखित ‘जनअभिमत’लाई ‘जनमत संग्रह’को रूपमा अर्थ्याइरहेका छन् र तराई–मधेसको समस्या समाधानका लागि सरकार जनमत संग्रह गर्न तयार भइसकेको बताउँदै आएका छन् ।
यसलाई कतिपयले डा. सीके राउतले पृथकतावादी आन्दोलन नत्यागेको बरु स्वरूप बदलेको र शक्ति सञ्चय गरेको हुनसक्ने भन्दै शंका व्यक्त गर्दै आएका छन् ।
यसै सन्दर्भमा सरकारसँगको सम्झौताका सहजकर्तासमेत रहेका र पार्टीले गठन गरेको सहमति कार्यान्वयन समितिका संयोजकसमेत रहेका चन्दन सिंहसँग बाह्रखरीले गरेको कुराकानीको अंशः

लामो समयदेखि पृथकतावादी आन्दोलन सञ्चालन गरिहनु भएको थियो । अचानक सम्झौता गर्नुभयो ? के बाध्यता आइपर्‍यो ?
यसमा न सरकारले हारेको छ  । न हामी नै पराजित भएका छौँ । यो दुवैतर्फ ‘विनविन’ परिस्थिति हो । केपी ओली नेतृत्वको सरकार बनेदेखि नै हामीसँग वार्ताको प्रयास भएको थियो । सरकारले वार्ता चाहिररहेको थियो ।

बीचमा सोमप्रसाद पाण्डेको नेतृत्वमा सरकारले वार्ता टोली गठन गरेको थियो । त्यस समितिले हामीलाई भेटेर कुराकानी गरेको थियो । त्यतिबेला हामीले कुनै सम्झौताको विन्दू भेटिन्छ र सरकार जिम्मेवार हुन्छ भने वार्ताका लागि तत्पर छौँ भनेका थियौँ । विन्दू भेटियो, सहमति भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

भनेपछि पृथकतावादी आन्दोलन अब पार लाग्दैन र राज्यसँग सम्झौता गर्नुपर्छ भन्ने तहमा पुग्नुभयो होइन ?
यसलाई यो अर्थमा मात्रै बुझिनु र हेरिनु हुँदैन । वार्ता टोली गठन गरेर सरकार जनकपुर पुगिसकेपछि हामी पनि गम्भीर हुनुपर्‍यो नि– राज्यले सम्बोधन गर्न चाहिरहेको छ । छलफल गर्न खोजिरहेको छ ।

शुरूमा त सरकारलाई विश्वास गरिहाल्ने अवस्था थिएन । गर्नु पनि हुन्थेन । हाम्रा सयौँ साथी जेलमा थिए । थुप्रैको टाउकामा राज्यविप्लवको मुद्दा थियो । तर, सरकारले आफैँ वार्ताको वातावरण बनाउँदै गएपछि वार्ताको वातावरण बन्दै गयो । कैयौँ चरणमा छलफल, बहस भए, अनौपचारिक । तबमात्र निष्कर्ष निस्कियो ।

Global Ime bank

जहाँसम्म आन्दोलनको स्वरूप परिवर्तन गर्ने कुरा छ– वार्ता, सहमति, सम्झौता पनि आन्दोलनको स्वरूप नै हो । वार्ताबाटै हाम्रा माग पूरा हुन्छन् । तराई मधेसका जनता समृद्ध हुन्छन्, अधिकार सम्पन्न हुन्छन् भने अर्को सङ्घर्षको जरुरत के पर्छ ?

कत्रा–कत्रा युद्ध वार्ता–सहमति–समझदारीमा टुंगिएको छ । राज्यसत्ता नै कब्जा गर्छौं भनेर हतियार उठाएको माओवादी आन्दोलन वार्तामै टुंगियो । हामी वार्तामा आउनु, सहमतिमा पुग्नु नवीन कुरा थिएन ।

तपाईंहरूले ‘स्वराज’कै कुरा उठाउनु भएको थियो, मधेस अलग्गै राज्य हुनुपर्छ भन्दै आउनुभएको थियो ?
‘स्वराज’को अर्थ के हो ? ‘स्वराज’ भनेको आफ्नो निम्ति आफैँ शासन गर्ने हो । संविधानमा लेखेको स्वशासनको अर्थ के हो ? हामीले उठाएको ‘स्वराज’ पनि त्यही हो । नेपालको संविधान–२०७२ ले सबै प्रदान गरेको छ– स्वसाशन, स्वायत्तता, स्वतन्त्रता । नेताहरूले सही ढंगले कार्यान्वयन गर्ने हो भने अहिलेको संविधान विश्वकै उत्कृष्ट, लोकतान्त्रिक संविधान हो तर कार्यान्वयन छैन ।

तर, तपाईंहरू त संविधान मान्दैनौँ भन्दै आउनुभएको थियो नि !
हामीले संविधान मान्दैनौँ भनेका छैनौँ । देशको नागरिकता च्यापेर हिँड्ने कोही कसैले संविधान मान्दिनँ भन्न पाउँदैन । देशमा बसेर देशकै नियम–कानुन–संविधान मान्दिनँ भन्न पाइन्छ र ! 

पार्टीका अध्यक्ष सीके राउतले पनि यही देशको नियम, कानुनले जारी गरेको पक्राउ पुर्जी बुझेर, मुद्दा बेहोरेर जेल बस्नु भएको होइन । त्यही नियम, कानुन अनुसार सफाइ पाउनुभएको होइन ? सर्वोच्च अदालतले पनि सफाइ दियो । विशेष अदालतले पनि सफाइ दियो । यसको अर्थ हामी सबै त्यही कानुनको अधिनस्थ थियौँ ।

सरकारसँगको ११ बुँदे सम्झौतामा तराई–मधेसका असन्तुष्टि जनअभिमतमार्फत् हल गर्ने भनिएको छ । तर, तपाईंहरूले जनमत संग्रहको कुरा उठाइरहनुभएको छ ? सम्झौताको गलत व्याख्या भएन र ?
जनताले के बुझेका छन्, मधेस देख्दै नदेखेको काठमाडौंका एलिटहरूले के बुझेका छन् त्यो बेग्लै कुरा हो । उहाँहरूले जे बुझ्नु भएको छ, त्यही सत्य भन्ने हुँदैन । सम्झौताको अक्षरशः कार्यान्वयन र जनतालाई अधिकार सम्पन्न बनाउन हाम्रो भूमिका हुन्छ ।

अहिले त के भयो भने कोही नेतालाई देशको चिन्ता छैन । जनताको अधिकारको पैरवी गर्नुपर्छ भन्ने छैन । नियम, कानुन, संविधान कार्यान्वयन गर्नुपर्छ भन्ने छैन । आफूले चुनाव जिते पुग्यो । आफू चुनाव जित्न जे गर्न पनि पछि नपर्ने देखिएको छ ।

कोही नेताले चुनाव हार्दैमा मुलक बरबाद हुँदैन । तर, यहाँ नेताले चुनाव जिते, नीतिले हार्‍यो । मुलुक पछि पर्‍यो । डा. सीके राउतको चाहना जनतालाई स्वसाशित र अधिकार सम्पन्न बनाउने हो । नीतिले जित्ने हो । फेरि पनि नेता जित्ने, नीति हार्ने भयो भने विद्रोह त हुन्छ नि !  भारतमा गान्धीले स्वराजको कुरा उठाए, त्यतिबेला कतिवटा देश थियो र ? ५४–५५ वटा अहिले २०० बढी देश भइसक्यो ।

अतः प्रजातन्त्रको सुन्दर पक्ष भनेकै स्वतन्त्रताका लागि ज्यानको बाजी लगाउनु हो । अहिले एकाथरी मानिस जनमत संग्रह भन्नेबित्तिकै आत्तिएका छन् । जनमत संग्रह हुनै नहुने हो र ? हाम्रै संविधानले व्यवस्था गरेको छ ।

संविधानको धारा २७५ मा जनमत संग्रह लेखेकै छ । विशेष परिस्थितिमा संसदको दुई तिहाइ बहुमतले जनमत संग्रहको घोषणा गर्न सक्छ । अतः संसद्ले पारित गरे, जनताले चाहेमा जनमत संग्रह हुन्छ । सरकारसँग सम्झौता हुनुअघि पनि हामीले जनमत संग्रहको माग राख्दै आएका थियौँ ।

के–का लागि जनमत संग्रह गर्ने ?
मधेसको गरिबी, अभाव, शोषण, उत्पीडन अन्त्य गर्न । मधेसको विकासका लागि भन्दै मधेसी दलले पटकपटक सम्झौता गरे । खै त मधेस विकास भएको ? खै त त्यहाँका जनता अधिकार सम्पन्न भएको ?

यसर्थ मधेसको विकासका लागि जनमत संग्रह त्यहाँका जनताले उठाएको माग हो । जनमत संग्रह सीके राउत एक्लैले चाहेर हुँदैन । जनता कति सशक्त भएर आउँछन् । त्यसैले निर्धारण गर्छ ।

मधेस र मधेसी जनताको समृद्धि र विकासका लागि राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमजस्ता शक्ति छन् र पटक–पटक आन्दोलित पनि भएका छन्, जनमत पार्टीको आवश्यकताचाहिँ किन ?
मधेसमा जति पार्टी जन्मिए पनि मधेस जहाँको तहीँ छ । म त भन्छु गजेन्द्रनारायण सिंहकै पालामा छ मधेस । उस्तै गरिबी, उस्तै अभाव छ, आजपर्यन्त । मलाई बताउनूस् त–? २०४६ पछि मधेसमा कुन त्यस्तो क्रान्ति भयो र मधेसी जनता अधिकारसम्पन्न भए ? मधेसको समस्या त्यही नागरिकता, त्यही सेनामा भर्ना, त्यही समानुपातिक, समावेशी । मधेसमा यो मुद्दाको उठान भएको ५० वर्ष भइसक्यो ।

वेदानन्द झाले उठाएको नागरिकता, समानुपातिक, समावेशीको मुद्दा बोकेर अहिलेका मधेसवादी दल हिँडेका छन् । नयाँ मुद्दा किन बोक्न सक्दैनन् ? मभन्दा पछि जन्मिएको छोरो मभन्दा तीक्ष्ण छ । फास्ट छ । यसकारण मधेसी नेता मधेसी जनताभन्दा अगाडि छन् । त्यहाँको मुद्दा अगाडि छ ।

त्यसर्थ जनताको चेतनाको आवेगलाई कोही मधेसी नेताले रोक्न सक्दैनन् । मुलुक छाडेर बीसौँ लाख मधेसी बाहिरिएका छन् । खाडीमा पसिना बगाउँदै देशको विभेद थाहा पाइरहेको छ । उसको विद्रोही चेतलाई कुन बाँधले तपाईं रोक्न सक्नुहुन्छ ?

अतः हामीले प्रधानमन्त्री ओलीलाई यो सबै चिज आग्रह गर्‍यौँ । भन्यौँ गम्भीरतापूर्वक । लामो बहस भयो । अन्तिममा प्रधानमन्त्री ‘कम्भिन्स’ हुनुभयो । उहाँले सीके राउतको प्रशंसा नै गर्नुभयो– “तपाईंजस्तो विद्वान मान्छे देशका लागि आवश्यक छ । तपाईंजस्तो मान्छे युरोप, अमेरिकाका लागि काम गर्ने होइन ।”

स्वतन्त्र मधेस संगठन अझै युएनपीओमा दर्ता छ, यसबाटचाहिँ कहिले हट्नुहुन्छ ?
युएनपीओको अर्थ ‘अन रिप्रिजेन्टेड नेसनस एण्ड पिपल अर्गनाइजेसन’ हो । जुन वर्ग, समुदाय र नागरिकको आवाज सरकार समक्ष पुग्दैन ती तिनीहरूले त्यहाँ गएर आफ्ना कुरा राख्छन् । अतः यो समस्या उठाउने फोरम मात्रै हो । ज्यादा केही होइन । यो संगठनमा आवद्ध भएपछि मुलुक नै टुक्रिने होइन । विगतमा हाम्रा कुरा राख्ने फोरम थियो त्यो । 
त्यो सीके राउतको पहिचान पनि थियो । युरोप, अमेरिकामा उहाँको विशेष पहिचान छ नि !

मुद्दा फिर्ताको पहलचाहिँ कहाँ पुग्यो ?
केही दिनअघि गृहसचिवलाई भेटेर ३०० जनाभन्दा बढीको नामावली बुझाएका छौँ । तराई–मधेसका विभिन्न जिल्ला अदालतमा रहेका मुद्दाहरू हेर्दा संख्या अझै बढ्न सक्छ ।

प्रधानमन्त्रीले पृथकतावादको आन्दोलन पराजित भयो भन्दै आउनुभएको छ, आगामी दिनमा उठ्ने सम्भावना कसरी नकार्न सकिएला र, तत्कालका लागि यो आन्दोलन टुंगिएको हो ?
राज्यसँग स्पष्ट शब्दमा सम्झौता भएको छ भने ज्यादा शंका गर्नुहुँदैन । यो कुरा टर्‍यो । समस्या ज्युँ का त्युँ रह्यो भने पृथकतावादीको झन्डा अरूले नउठाउलान् भन्न सकिँदैन । हामी त्यसको जवाफदेही हुँदैनौँ । अहिले नै पनि ठूलो दुर्घटना हुनेवाला थियो, राज्यलाई बचायौँ । सम्झौता सही ढंगले कार्यान्वयन भयो भने दुवै पक्षलाई राम्रो हुन्छ ।

जनमत पार्टी निर्वाचन आयोगमा दर्ताको प्रक्रियामा छ । दर्ता पनि होला । लगत्तै केही स्थानीय तह, निर्वाचन क्षेत्रमा उपनिर्वाचन पनि हुँदैछ । पार्टीले चुनावमा भाग लिन्छ ?
पार्टी भएपछि चुनावमा भाग नलिने भन्ने प्रश्न नै हुँदैन । चुनाव पक्कै लड्छौँ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC