site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कामकाजी महिलाको सकस

रोजाइ होस् वा बाध्यता अहिले सबै महिलाका लागि आर्थिक सशक्तीकरण प्रमुख लक्ष्य र आवश्यकता बनेको छ । आर्थिक सक्षमताले जीवनका अन्य धेरै पक्षलाई सहज बनाउने हुँदा यो आवश्यकता स्वाभाविक धारणा मानिन पुगेको छ ।

स्वस्थपरकरूपमा परिवार चलाउन महिला र पुरुष दुवैको सहकार्य आवश्यक हुन्छ । बदलिँदो समय र परिवेशमा परम्परागतरुपमा निर्वाह गर्नुपर्ने कार्यका अतिरिक्त अर्थोपार्जनको जिम्मेवारी र चाहना महिलाको काँधमा थप भएको छ । उसो त महिलाका जिम्मेवारी समयको कुनै पनि कालखण्डमा कम त भएनन् तर महिलाले निर्वाह गर्ने भूमिकालाई ‘गैरमौद्रिक’ संज्ञा दिईयो र तिनको कहिल्यै मूल्यांकन पनि गरिएन । 

घरायसी कामहरुमा महिलाले खर्च गर्नुपर्ने श्रमको पहिचान नहुनु पुरानो कुरामात्र भने हैन । आज पनि घर व्यवस्थापनमा महिला जतिसुकै निपुण भए पनि त्यसको परिवार र समाजमा मूल्यांकन हुने गरेको छैन । सामाजिक संरचनाअनुरुपका मूल्य र मान्यताबमोजिमै महिलाहरु आफूलाई अनुकूलन गर्दै बाँचिरहेका छन् । समयले कोल्टो फेरिरहँदा घरबाहिर र भित्रका दुवै कामसँगै गर्ने महिलाको संख्या पनि बढिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कामकाजी महिलालाई लागि घरबाहिर र भित्रका काम उत्तिकै जिम्मेवारीपूर्ण तरिकाले गर्नु निकै चुनौतीपूर्ण भने बनेका छन् । एकातर्फ ठूला शैक्षिक उपाधि हासिल गरी वृत्ति विकासमा पुरुषकै दाँजोमा क्षमता प्रदर्शन गर्नु र आर्थिकरुपमा महिलाले अन्यमा आश्रित नभई स्वावलम्बी बन्नु सबै महिलालाई जरुरी भएको छ । पेसागतरुपमा महिलाहरु आफूलाई परिभाषित गर्न कुनै पनि जिम्मेवारी लिन पछि सर्दैनन् भने अर्कातिर महिलाले परम्परागतरुपमा परिवारप्रति निर्वाह गनुपर्ने दायित्व पनि सँगसँगै लानुपरेको हुन्छ । 

सबै क्षेत्रमा महिलाहरुले विभिन्न हैसियतमा कार्यरत भएर सृजनशीलता र क्षमता प्रर्दशन गरिरहेका छन् । तर, महिलाले घर व्यवहारमा पूरा गर्नुपर्ने भूमिकामा परिवर्तन नआएकोले आफू दोहोरो मारमा परेको अनुभव पनि धेरै महिलाले गरेका छन् । एकजना साथी राष्ट्रसंघको राम्रो पदमा कार्यरत छिन् । कहिलेकाँही फोन सम्पर्क हुँदा भने दुखेसो पोख्ने गर्छिन् – पैसा पनि छ, देश विदेश घुम्न पनि पाइएको छ तर घर जाँदा परिवारसँग पर्याप्त समय बिताउन नपाउँदा सँधै मन भारी भइरहन्छ । 
अर्की परिचित कामकाजी महिलाका अनुसार – बिहान घरबाट निस्कँदा बच्चा सुतिरहेको हुन्छ र बेलुका घर फर्किँदा निदाइसक्छ । अनि कस्तो मुटु घोंचेजस्तो लाग्छ । 

Global Ime bank

अर्की एकजना साथी अफिसको पूरै काम सकेर घर फर्कँदा घरायसी कामले आफैँलाई पर्खेेर बसेको देख्दा दिक्क लाग्ने गरेको समय समयमा सुनाउँछिन् ।

आर्थिक सक्षमतासँगै आफूलाई स्थापित गर्ने क्रममा कतिपय यस्ता भोगाइ महिलाका अनुभवसँग गाँसिन पुग्दा कामकाजी महिलाको मानसिकतामा एकप्रकारको ‘ल्याकिङ फोर्स’ले काम गरिरहेजस्तो लाग्छ । घरबाहिर र भित्रका कार्यहरु गर्नुपर्दा कतिपय महिलामा कतै न कतै दृश्य र अदृश्यरुपमा असन्तुष्टिहरु प्रकट भइरहेको हुन्छ । धेरैजसो असन्तुष्टि आफूले पूरा गरिरहेका प्राकृतिक र सामाजिक संरचनाले तोकेका कर्तव्य सन्तुष्ट हुने तरिकाले गर्न नसकेर होजस्तो लाग्छ । महिलाले अर्थोपार्जनको जिम्मेवारी त लिन थाले तर पितृसत्ताले ओतप्रोत समाजमा उनीहरूले परम्परादेखि गरिरहेको काममा साझेदारीको मानसिकता भने विकास भएको बिरलै देखिन्छ । पत्नी, बुहारी, आमाका रुपमा पूरा गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी जस्ताका तस्तै छन् । अर्कातर्फ कतिपय महिला घरको  जिम्मेवारी  पूर्णरुपमा निर्वाह गर्न नसक्दा आत्मग्लानिका सिकार पनि भइरहेका हुन्छन् ।  

धेरै महिलाले परिवारका लागि वित्तीय भरथेग गरिरहेको भए पनि महिलाले परिवारबाट विशेषगरी पुरुषबाट भने सोचेअनुरुप आवश्यक सहयोग प्राप्त गरिरहेका हुँदैनन् । दोहोरो कामको दबाबले शरीरप्रति ध्यान दिन नसक्दा मानसिक अवसादका कारण असमयमै विभिन्न रोगका सिकार भएका महिला पनि ठूलै संख्यामा भेटिन्छन् ।

यसो हुनुमा कतै न कतै हाम्रो समाजमा जरा गाढेर बसेको समाजिक संरचनाको मनोविज्ञानले पनि काम गरिरहेको हुन्छ । यसको एउटा प्रमुख कारण महिलाले गरेको प्रगतिमा समाजले  गर्व गर्न नसक्नु र निरन्तर चलिआएको महिलाप्रति समाजिक सोच परिवर्तन हुनु नसक्नु हो । महिलाका घरायसी कामलाई कामको दर्जा नदिइनु र यसको कुनै मूल्यांकन र यसको उपयोगिता लाई महत्त्व नदिने मानसिकता निरन्तर चलिरहेको छ । घर व्यवस्थापन गर्नमा महिलाहरुले शारीरिक तथा मानसिक श्रम निकै खर्चिनु पर्छ । यसलाई हाम्रो परिवारको संरचनाले बुझ्न खोजेको देखिँदैन ।

घर व्यवस्थापनमा कुनै भूमिका समय र श्रमको खाँचो पनि रहन्छ र भन्ने सोच पुरुषमा विद्यमान छ । तर, तिनै घरायसी कार्यको व्यवस्थापनमा महिलाले श्रम खर्चिँदा आफूभित्र रहेका सृजनाहरु बाहिर ल्याउन सकिरहेका हुँदैनन् भन्ने पुरुष वा परिवारका अन्य सदस्यले धेरै अवस्थामा बुझ्दैनन् । महिला स्वयंले पनि घर परिवारप्रति पूर्णरुपमा जिम्मेवारी पूरा गर्न नसकेकोले आत्मग्लानि अनुभव भएको स्वीकार गरिरहेका हुन्छन् । दिनभर थकित भएर काम गरेर फर्केपछि घरमा सबैकाम गर्नुपर्ने र घरका सबै सदस्यहरुको चित्त बुझउनुपर्ने कारणले महिला जतिसुकै अगााडि बढ्न खोजे पनि  उसले पूरा गर्नुपर्ने परम्परागत कामले जिस्क्याइरहेका हुन्छन् । नारीले परम्परागत भूमिकामा कुनै कमी नआई थप नयाँ जिम्मेवारीले सशक्तीकरणले दिएको आनन्द पनि पूर्णरुपमा लिन सकिरहेका हुँदैनन् ।

विकसित देशमा कामकाजी महिलामाथि गरिएका अनुसन्धानहरुले पनि कामकाजी महिलाले बच्चासँग पर्याप्त समय बिताउँदा तनाव निकै कम हुने देखाएका छन् । मातृत्वको प्रकृतिक जिम्मेवारी पूरा गर्न नसक्ता वा नपाउदा नारीत्व नै खल्लो लाग्ने गुनासो पनि कतिपय महिलाले गरेका हुन्छन् । 

कतिपय अवस्थामा महिलाहरु आफू हुर्केको समयलाई सन्तान हुर्किरहेकोे समयसँग दाँज्छन् र समान अवस्था नपाउँदा असन्तुष्ट भइरहेका हुन्छन् । त्यस्तै कति महिलामा रुचिको काम एकातिर र गर्न परेको काम अर्कोतिर हुँदा घर र कार्यस्थल दुवैतिर असन्तुष्टि हुन्छ । महिलाले निर्वाह गरिरहेको दोहोरो भूमिकाबाट पूर्णरुपबाट मुक्त हुन त बिरलै सकिएला यसलाई सहीरुपमा व्यवस्थापन गर्नसमेत सहज भने छैन । त्यसैले कामकाजी महिलाले सक्षमता र आत्मनिर्भरताको आनन्द चाहँदा चाहँदै पनि अनुभव गर्न नसकेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  ०९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC