site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘माछापुच्छ्रे प्रतिविम्ब पार्क’ लाई सर्वोच्चको मापदण्डले छुँदैन ?
Ghorahi CementGhorahi Cement

पोखरा । सर्वोच्चले जारी गरेको उत्प्रेषणयुक्त परमादेशमा भनिएको छ, ‘फेवातालको संरक्षणमा हुन सक्ने थप जोखिमहरु न्यूनिकरण गर्न अपनाउनु पर्ने पूर्वसावधानी (Precautionary Measure)  अन्तर्गत विश्वप्रकाश लामिछानेको प्रतिवेदनमा उल्लेख भएको चारकिल्लाबाट कायम भएको तालको किनारा (Bank of Lake) बाट ६५ मिटरसम्मको भू–भागमा भवनलगायत तालको संरक्षणमा असर पर्ने कुनै भौतिक संरचना निर्माण गर्न नपाउने गरी संरक्षण क्षेत्र कायम गर्ने भनी कास्की जिल्ला परिषद्को मिति २०६४–३–१५ को तथा पोखरा उपत्यका नगर समितिको बोर्ड बैठकको मिति २०६४–४–२८ को निर्णय भएकोमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ५ नं. प्रदेशको कार्यपालिकाबीच समन्वय कायम गरी अनाधिकृत रुपबाट निर्माण भएका त्यस्ता घर, होटल लगायतका स्थायी वा अस्थायी संरचनाहरु ६ महिना भित्रै हटाउने व्यवस्था गर्नु गराउनू ।’

गत मंसिर ६ गते तयार भएको पूर्णपाठको अंश हो यो ।

यो परमादेश बमोजिम तालको किनारबाट ६५ मिटरसम्मको भू–भागमा भवन कुनै भौतिक संरचना निर्माण गर्न पाईँदैन । तालकिनारामा निर्मित यस्ता भवन र संरचनाहरु हटाउन पनि सर्वोच्चले गरेको फैसलाको पूर्णपाठमा पनि स्पष्ट लेखिएको छ । अवैधरुपमा निर्मित संरचना हटाउने जिम्मा प्रदेश सरकार र पोखरा महानगरपालिकालाई दिईएको छ ।

Agni Group

आदेश प्राप्त भएको मितिले ६ महिनाभित्रै संरचना हटाउन र चार किल्ला तोक्ने जिम्मा प्रदेश सरकारलाई छ । 

तर, सर्वोच्चको आदेश कार्यान्वयन गर्ने प्रदेश सरकारले सोमबार अर्को स्थानीय तहसँग मिलेर फेवाकिनारमा ‘माछापुच्छ्रे प्रतिविम्ब पार्क’ कार्यको शिलान्यास गरे । प्रदेश सरकारका प्रमुख मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र स्थानीय तह पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पूजापाठ गरि ईँटा राखेर पार्क बनाउने कार्यको  शुभारम्भ गरे । 

Global Ime bank

\"\"

पहिलो चरणको काम असार २० गतेसम्म सक्नेगरि पार्कको ठेक्का बिनु कन्स्ट्रक्सनले ७६ लाख २९ हजारमा लिएको छ । ७ रोपनी जग्गामा बनाइने पार्कमा ८० फिटको झण्डा राख्ने योजनामा करिब ४ करोड खर्च हुने अनुमान छ । 

चालु आर्थिक वर्षमा भने ७६ लाखको काम हुनेछ । निर्माणको जिम्मा पाएको कम्पनीले चालु आर्थिक वर्षमा ४५ मिटर पर्खाल निर्माण, जग्गा सम्याउने, पार्क भित्र पैदल मार्ग निर्माण र दुबो लगाउने कार्य गर्नेछ । बाँकी काम अर्को वर्ष हुनेछ ।

फेवाताल किनारकै छेउमा बन्न लागेको पार्कमा प्रदेश सरकार र महानगरले ५०–५० प्रतिशत खर्च व्योहोर्ने छन् । गजबको संयोग त यो छ कि, असार २० गते पार्कको पहिलो चरणको काम सक्ने भनिरहँदा सर्वोच्चको आदेश कार्यान्वयनको ६ महिने समय पनि सकिन केही दिन मात्र बाँकी रहन्छ ।

अर्कातर्फ, महानगरले बनाएको भवन सम्बन्धिको कार्यविधी मिचेरै पार्क बनाउने ठाउँ नजिकै ९ तले भवन पनि ठडिएका छन् ।

तालको ६५ मिटर क्षेत्रमा पर्ने सो ठाउँमा जाने पुलसहित पानीको फोहोरा, टिकट काउन्टर, पिउने पानीको व्यवस्था, शौचालय, बाल उद्यान, पेभेलियन, चिया पसल, खुल्ला व्यायाम स्थल र ८० फिट अग्लो राष्ट्रिय झण्डा लगायतका संरचना निर्माण गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए । पार्क भित्र रहेको नागको मन्दिरलाई पनि व्यवस्थित गरिने खड्काले जानकारी दिए । पार्कको डिजाइन इन्जिनियर किसान गुरुङ र सोफिया गुरुङले गरेका हुन् ।

आदेश कार्यान्वयनको कुरा भाषणमा मात्रै

माघ पहिलो साता पूर्णपाठ पाएको प्रदेश सरकारले अब सर्वोच्चको आदेश कार्यान्वयन गर्ने समय ३ महिनाभन्दा पनि कम छ । सर्वोच्चको आदेश जुनकुनै हालतमा पनि कार्यान्वयन हुने भनेर यहाँका मुख्यमन्त्रीसहित पर्यटनमन्त्री तथा सोही क्षेत्रका सांसदहरु बेलाबेलामा भनिरहन्छन् । फैसला कार्यान्वयनमा कसैसँग सम्झौता नगर्ने बताउँदै प्रदेश सरकारले गत ९ गते पर्यटनमन्त्री विकास लम्सालको संयोजकत्वमा मन्त्रीस्तरीय समिति पनि बनाएको थियो । महानगरस्तरमा पनि अर्को समिति छ ।

केहिदिन अघि आदेश कार्यान्वयन गर्ने भन्दै केही जनप्रतिनिधि फित्ता लिएर फेवा किनारमा पुगेका थिए भने महिना अगाडि डोजर लगाएर केही टन माटो पनि नझिकिएको होइन् । तर, ठोस रुपमा कुनै कार्य भने भएको छैन ।

मापदण्ड व्यक्तिको हकमा मात्र लागु हुन्छ : प्रमुख प्रशासकीय अधिकृत

सर्वोच्चको फैसला कार्यान्वयन गर्नुपर्ने निकायबाटै किन ६५ मिटर सीमा उल्लंघन भयो त ? किन ताल किनारामा व्यावसायिक प्रकृतिको भौतिक संरचना बनाउने हतारो ? भन्ने प्रश्नमा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले भने, “मापदण्ड त व्यक्तिको हकमा लागु हुने हो, ताल संरक्षणकै लागि पार्क बनाउन लागिएकोले यहाँ मापदण्डको कुरा आउँदैन ।” उनले फेवाताललाई अतिक्रमणबाट जोगाउनकै लागि पार्क बनाउन लागेको दाबी पनि गरे ।

“तालको संरक्षणको लागि कतै चौतारी पनि बनाउनु पर्ला, कतै भ्यूटावर पनि बन्ला,” उनले भने, “टिकट काउण्टर त सरसफाई र त्यसको व्यवस्थापनको शुल्क उठाउनको लागि बनाइने हो ।”

अर्कोतर्फ ताल संरक्षण वा ब्यूटिफिकेसनको नाममा क्रंक्रिट नै प्रयोग गर्ने हो भने त्यो सीमसार क्षेत्रको मापडण्ड विपरित हुन जान्छ । फेवासहित पोखराका ८ ताललाई सीमसार क्षेत्र घोषणा गरिएको छ ।

ज्वरो आएको बिरामीलाई चिटिक्क पार्ने कि ओखती दिने ?

फेवाताल संरक्षणका अभियानकर्ता हुन, अधिवक्ता विश्वप्रकाश लामिछाने । उनकै संयोजकत्वमा २०६८ मा उच्चस्तरीय छानबिन समिति पनि गठन भएको थियो ।  सर्वोच्चको फैसलामा एक इञ्च पनि तलमाथि पार्न नहुने अडान लामिछानेको छ । उनले सुन्दरता बढाउने नाममा ताल किनारामा भौतिक संरचना निर्माणको निर्णयलाई हतारको संज्ञा दिए ।

“ज्वरो आएको महिलालाई चिटिक्क पार्ने हो कि पहिला ओखती गराउने हो ?,” उनले प्रश्न गर्दै भने, “ताल अतिक्रमित भएको छ, प्रद्ुषित भएको छ, त्यसको उपचार खोज्ने हो, त्यसपछि बल्ल ब्यूटीफिकेसनबारे सोच्नुपर्छ । ब्यूटिफिकेसनबारेको योजना तयार भए पनि यतिबेला हामी (समिति) ले दिएको प्रतिवेदनको मर्म टेकेर आएको सर्वोच्चको फैसला कार्यान्वयन गर्ने हो ।”

उनले फैसला कार्यान्वयबाट कोही पनि पर भाग्ने स्थिति नभएकोभन्दै कार्यान्वयनमा लाग्न सबैसँग आग्रह पनि गरे । 

२०५४ सालमा गरिएको सीमांकनअनुसार नेपालकै दोस्रो ठूलो ताल फेवातालको जलीय क्षेत्रफल नौ हजार नौ सय ५६ रोपनी अर्थात पाँच सय ५ हेक्टर छ ।  फेवातालको जम्मा क्षेत्रफल १२ हजार सात सय नौ रोपनी रहेकोमा दुई हजार एक सय एक रोपनी जग्गा अतिक्रमण भएको छ । 

फेवाताल संरक्षण, प्रवर्द्धन तथा विकासका लागि छानबिन समितिले २०६९ सालमा नै ताल संरक्षणको लागि फेवाताल वरपरको क्षेत्रको ६५ मिटर वरपर कुनै पनि भौतिक संरचना बन्न नदिन सिफारिस गरेको थियो । प्रतिवेदन अनुसार यस अन्तर्गत तीन सय दुई रोपनी जग्गा रहेकोमा दुई सय रोपनी जग्गा सरकारी हो । 

जग्गामध्ये क्याम्पिङ क्षेत्र, माछा सेक्सन, नेपाल ट्रष्टको जग्गा, रत्नमन्दिर, हिमागृह, बसुन्धारा पार्क, कोमा गाने पार्क र प्रहरी गण पनि रहेका छन् । सरकारी जग्गाको मुआब्जा दिनु नपर्ने र १ सय २ रोपनी जग्गाको उचित मुआब्जा दिएर अधिग्रहण गर्नका लागि सिफारिस गरिएको थियो । 

गौचरन बनेका अन्य पार्क

बेलाबेलामा महोत्सव हुँदाको बखतबाहेक फेवा किनारका अन्य पार्कमा गाई आहारविहारका लागि डुल्ने गरेका छन् । फेवातालकै किनारामा छन्, बसुन्धरा र कोमागाने पार्क । रानी बसुन्धराको नाममा रहेको पार्क केही वर्षअघिसम्म उद्यान नै थियो । थरीथरीका फूल फुल्थे । फेवाताल हेर्दै सुस्ताउने जोडीको लागि शितल दिने रुख पनि थिए । 

तर, फिस्टेल लजको व्यवस्थापन खोसियो । फिस्टेलले हेर्न छाडेपछि पार्कको बेहाल भयो । अहिले त्यो झण्डै गौचरन बनेको छ । कोमागाने पार्कभित्र मन्दिर बनाइएको छ । ढुंगेचित्रहरु राखिएको छ त सुन्दरता छैन । तालकै पुछारको ड्यामसाइडमा रहेको सानो पार्कको हालत पनि उस्तै छ । पार्कमा छिरेपछि ढल गन्हाउँछ ।

यी पार्कहरुको संरक्षणमा भने सम्बन्धित निकायको ध्यान पुगेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  ०७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC