site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘फ्रेन्चाइज’ गुरु
Ghorahi CementGhorahi Cement

– अक्षर काका


२०१३ सालको पुछारतिर एउटा उद्दीप्त ‘लालीगुराँस’ ज्याम्रुक, बयापानीबाट सात भन्ज्याङ छिचोलेर काठमाडौं खाल्डो पस्यो । उतिबेला सिंगो नेपाल काठमाडौंमै सीमित हुँदो हो । र त, राजधानीलाई नेपाल शहर भनिन्थ्यो । राजामहाराजा उपत्यकाका चार भन्ज्याङ काटेर बाहिर ननिस्कने । रंकहरूको पहुँच काठमाडौंको दहसम्म नपुग्ने ।

बाटो खोज्दै भौतारिएका प्रतापी किशोरलाई तनहुँदेखि नागढुंगासम्मका डाँडा पार गर्न झन्डै चार दिन कुर्कुच्चा बजार्नुपरेथ्यो । काठमाडौं आइपुग्दा किशोरको बगलीमा चार–पाँच मोहर हुँदो हो । त्यत्ति दाम बोकेर शहर छिरेका क्षेत्रप्रताप अधिकारी आफ्नै बुतामा शिक्षा राज्यमन्त्रीसम्म बने ।

Agni Group

‘म त लालीगुराँस भएछु...’, ‘मलाई छोडी मेरो छाया...’, ‘शान्तिभन्दा पर अर्को भेट्नुपर्ने बुद्ध छैन...’, ‘गोठालो जाँदा लाएको माया...’ जस्ता कालजयी, अजरअमर गीतका सर्जक हाम्रा आँखासामु छैनन् । गीत तथा कविताहरूमा राष्ट्रियता, प्रकृति प्रेम, ग्राम्य समाज युगीन बेथितिको चरित्र चित्रण गर्ने क्षेत्रप्रताप अधिकारी जीवननिवृत्त भएकै पनि आधा दशक नाघिसक्यो ।

उनै प्रतापवान् बाबुका छोरा हुन्– अमनप्रताप अधिकारी ।

Global Ime bank

भाग्य खोज्दै काठमाडौंका माकुरोजाले गल्लीसँग चिनापर्ची गर्न आइपुगेका क्षेत्रप्रतापसँग सपनाबाहेक केही थिएन । न धन थियो न लक्ष्य प्राप्तिका लागि साधन नै । तथापि साझा बसको कन्डक्टर हुँदै शिक्षा राज्यमन्त्रीसम्मको यात्रा एक्लो पहलमा छिचोले ।

“उहाँ यस्तो कवि हुनुहुन्थ्यो, जसको छवि जीवन निभेपछि झनै प्रदीप्त भयो,” अमनको अनुहारमा पितृभक्ति उदाउँछ र अन्त्यहीन श्रद्धाका रूपमा अभिव्यञ्जित हुन्छ ।

आणुवंशिक गुण अमनमा पनि सर्‍यो । काँडाले झैं आफैं तिखारिन र सूर्यझैं आफैं निखारिन उनले बाबुबाटै सिके ।

“आफू हिँड्ने बाटो आफैं पहिल्याउन सक्दा मात्रै लक्ष्य भेटिन्छ । अन्यथा पत्तै नपाई अस्तित्व मेटिन्छ,” स्वअस्तित्व निर्माणको हुटहुटीले बच्चैदेखि पिरोल्यो ।

पितृवात्सल्यको काखमै बसेर बाबुको जीवन नियालेका अमनलाई बाबुको त्यही राप–तापबाट आलोकित हुन मन लागेन । पिताझैं आफैं डोरेटो खन्नुपर्छ र गन्तव्य पछ्याउनुपर्छ भन्ने आदर्शले प्रेरित गरिरह्यो ।

बाबुले नै १४ वर्षमा थलो छाडेर जीवनको अतिरिक्त भलो चिताएकाले गाउँसँगको सम्बन्धबिच्छेद भयो । गामबेंसीका शोक–सुस्केरा, बास–उच्छवास उनका लागि नवीन विषय र जीवन खोजको माध्यम बन्यो– बालखमै ।

काठमाडौं शहरमै खाइखेली हुर्किएकाले गाउँसँग बारबार जम्काभेट भइरहँदैनथ्यो । तर, प्रत्येक दशैं गाउँमै बित्थ्यो । दशैं–दशैंमा मात्रै सही— अमन गाउँ जान्थे । बाबु हिँडेको बाटो हेर्थे । बाबुले छिचोलेका खोंच, भन्ज्याङ आँखाले नाप्थे । बाबुको बढ्दो प्रताप र जीवनको आभाबाट मुग्ध हुन्थे ।

“बाबुको जीवन एउटा खुला पाठशाला बन्यो । त्यहाँ मैले जीवन संघर्षका अनगिन्ती विषयमा छिपछिपे किन नहोस्, ज्ञान हासिल गर्न पाएँ,” पितृऋणी देखिन्छन् अमन ।

बाबुका प्रतापले आमबालक भन्दा माथि उठेका थिए उनी । ज्ञान र चेतनाका हिसाबले औसत बालकको कदभन्दा अग्लो थियो उनको ।

उनको मस्तिष्कमा शरद मीठो विम्ब बनेको छ । गाउँसँग नाता जोडाइदिने सेतुका रूपमा ।

असोजले आँगनमा खुट्टा टेक्नै हुन्थेन । उनको मन बतासिएर बयापानी पुगिहाल्थ्यो । त्यहाँ थुन्सेली डाँडाहरूले आफूलाई पर्खिबसेको भान हुन्थ्यो । गाउँ–चौतारी रुँगी बसेका सय शरद आयु बोकेका वर–पीपलका हाँगामा पिङको संगीत त शुरू भइसकेको हुन्थ्यो । थुम्केली डाँडाहरू उनका चंगा कुरिबसेका हुन्थे । तिनताका अहिलेजस्तो चंगा–संस्कृति झ्यांगिएको थिएन । ग्राम्य जीवनले हावामा कावा खाइरहेको चंगा देख्नु नयाँ लुगाफाटोको सुवाससँग टीका थाप्नुजस्तै दुरुह थियो ।

“समवयीहरू भदौ सकिनेबित्तिकै औंला भाँचिबस्थे । मलाई होइन, चंगा हेर्न,” अमनको अनुहारको क्यानभासमा बाल्यस्मृतिको अनेकन छटा कुँदिन्छन् ।

\"\"

मन्त्रीको छोरा हुनुको दुःख

जीवनले किशोरवयतिर डोहोर्‍याउँदै थियो । ओठमाथि झुसिला रौं देखापर्दै थिए । बाबुको जीवनमा पनि अर्को परिचय थपियो– शिक्षा राज्यमन्त्रीका रूपमा ।

बाबुको पद–प्रतिष्ठाप्रति खासै आशक्ति थिएन । प्रतिष्ठाले होइन, निष्ठाले जीवन मापन गर्नुपर्छ भन्ने मार्काका । क्षेत्रप्रतापकै तापले आइलागेको मन्त्री पद थियो त्यो ।

बाबुले खनेको राजमार्गमा हिँड्नु त्यति रुचिकर थिएन अमनका लागि । स्कुलमा भर्ना हुँदै उनले आफ्नो नामबाट सुटुक्क ‘प्रताप’ हटाएका थिए । पछि नागरिकता पनि ‘प्रताप’ हटेरै बन्यो । चन्द्रमाझैं सूर्यको सहायताले चम्कनु परेन । स्वनिर्माणका लागि बाटो खुलेको आभास भयो । बाबु क्षेत्रप्रतापको छातीसमेत गर्वले फराकिलो भयो ।

तर, गाउँ–समाजमा उनको परिचय के छिप्थ्यो ! उनको नामअगाडि बाबुको पद–प्रतिष्ठाको फुर्को जोडिइहाल्थ्यो ।

स्कुलमा पनि त्यस्तै भयो– उनलाई सबैले अमनका रूपमा होइन, मन्त्रीका छोराको रूपमा बुझ्न थाले ।

स्वनिर्माण र स्वतन्त्रतामा लगाम लागेको पहिलोपल्ट अनुभूत भयो । ‘यो त मन्त्रीको छोरा पो हो’ भनेर जहाँ पनि आरक्षण पाइहाल्ने । समाजको अनौठो रोगसँग सानै उमेरमा चिनापर्ची पाए उनले ।

सानैदेखि फुटबलका शौखिन । कुनै समय अमन र फुटबल एक–अर्काका पर्याय थिए । फुटबलको रङ नै जीवनको लालित्य लाथ्यो उनलाई ।

माध्यमिक शिक्षाको सिँढी नाघ्ने तरखर गर्दै थिए । नेपालको ‘अन्डर सिक्सटिन’ (१६ वर्ष उमेरमुनिको समूह)को राष्ट्रिय टोली छानिँदै थियो । ३० जनामा अटाएका थिए । २४ मा झार्दा ६ जना फाल्नुपर्ने भयो । अमन पनि परे ।

“म मन्त्रीको छोरा हुँ किन भनिनस् ? मन्त्रीको छोरा भएर टोलीमा नछानिई आउने ?” समाजको दरिद्र चिन्तनले उनलाई हिर्काइहाल्यो ।

उनलाई भन्न मन थियो, “फुटबल राजनीति होइन, मन्त्रीकै छोरा र पार्टीकै मान्छे छानिनुपर्ने, फुटबल खेल हो, जहाँ अब्बल खेलाडी छानिन्छन् ।”

तर, गन्यमान्यका अगाडि मुख फोर्न उचित ठानेनन् ।

त्यसको जवाफ अर्को वर्षै दिए । मन्त्रीको छोराको परिचय घरको मझेरीमै बिसाएर आफ्नै बल–बुतामा छानिएर दिए ।

\"\"

(अ)सफल फुटबल फसल

झन्डै १० वर्ष ‘ए’ डिभिजन खेले । तथापि उनले आफ्नो फुटबल करिअरलाई कहिल्यै सफल भन्न रुचाएनन् ।

“सफल भन्थें भने अमन अधिकारीको परिचय फुटबलले नै पस्कँदो हो नि त !” उनको दिमागमा स्वतःस्फूर्त प्रश्न उब्जन्छ ।

फ्रेन्ड्स क्लबबाट आठ वर्ष मैदानमा दौडिए । दुई वर्ष काठमाडौं क्लबमार्फत बलको पछिपछि दगुरे । काठमाडौं क्लबसँग अमनको सफलता पनि गाँसिएको छ । अमनले छाडेपछि काठमाडौं क्लब ‘बी’ डिभिजनमा घटुवा भयो ।

तिनताक फुटबल खेलेर बाँच्न बडो कठिन थियो । शिखरको लक्ष्य गरेर हिँडेको मान्छे भन्ज्याङमै अल्मलिइरहनु वाञ्छनीय पनि हुँदैनथ्यो ।

“त्यो समयमा फ्रेन्ड्स क्लबबाट पाँच सय रुपैयाँ पाउँथें, त्यसले मेरो फुटबल करिअर कहाँ पुग्दो हो ?” ती दिन सम्झिँदा अहिले पनि उनी प्रश्नहरूले घेरिन्छन् ।

१२०÷९० मिटरको आयाताकार मैदानभित्र आफ्नो भविष्य शीला खोजेझैं खोज्नुपर्ने । गोलबाहेक जीवनको अतिरिक्त लक्ष्य नहुने ।

अमन केही समय मैदानमै रमाउँदा हुन् । तर, राष्ट्रिय खेलाडीको दुर्दशाले उनको चित्त कुँडिइसकेको थियो । सहायक भइदियो– घुँडाको इन्जुरी । १७ वर्षको यौवनवयमै उनको लिगामेन्ट क्षय भयो । २२ वर्षसम्म लगातार चारपटक च्यातिएपछि उनको व्यावसायिक फुटबल करिअरमा पूर्णविराम लाग्यो ।

अनौठो तरिकाले फुटबलसँग नाता जोडियो उनको । धेरैलाई ज्ञात पनि छैन होला, अमनका सहोदर दाजु अजर राष्ट्रिय टिमका गोलरक्षक हुन् । मणि शाह, विराट शाहका पुस्ता हुन् अजर । तिनताका मनाङ–मस्र्याङ्दीको दुन्दुभीको युग भनिन्थ्यो । फुटबल दर्शकले भरिएर रंगशालामा तिलको दाना राख्ने ठाउँ हुन्थेन । र, नायक थिए– अजर अधिकारी ।

एक समय नेपालको गोलपोस्टमा चट्टानझैं खडा भएका अजर अधिकारीको किस्सा बडो बेजोड छ ।

सन् १९८७ मा तेस्रो साफ (साउथ एसिएन गेम) भारतको कोलकातामा आयोजना भएको थियो । राष्ट्रिय टिमका गोलरक्षक थिए, लोकबहादुर शाही । वैकल्पिक गोलरक्षक थिए– अमन अधिकारी । नेपाली टोली तगारो पन्छाउँदै फाइनलसम्मै पुग्यो । र, प्रतिद्वन्द्वी पायो चीरपरिचित प्रतिस्पर्धी— भारत ।

१८ वर्षे आगाको फिलिंगो थिए, अमन । नेपाली टोलीले उनीमाथि पूरा भर गरेको थिएन । तर, जमर्न कोच (त्यतिबेलाका राष्ट्रिय टोलीका प्रशिक्षक)को आँखा अजरमाथि नै गयो । फाइनल खेलमा अजरलाई नै गोलरक्षक राखे ।

०४२ सालमै टेलिभिजन आए पनि नेपाली दर्शकले लाइभ फुटबलको दृश्यस्वादन गर्न पाएका थिएनन् । एक वर्षअघिको रेकर्डेड विश्वकप हेरेर फुटबलको प्यास बटुलेका दर्शकले पहिलोपल्ट घरमै बसेर लाइभको आनन्द लिइरहेका थिए ।

अमन सम्झन्छन्, फाइनल खेलमा नेपालको प्रस्तुति मध्यमस्तरको थियो । शुरूवातमा आक्रामक देखिए पनि मध्यान्तरपछि भने नेपाली टोली रक्षात्मक भइसकेको थियो । एउटा पनि पोस्ट चार्ज गर्न सकेन । मैदानमै अलमलिएको र खेलाडीबीच तालमेल नमिलिरहेको भान हुन्थ्यो ।

तर, नायक बनेका थिए अजर ।

विपक्षीका सामु उनी पर्खाल बनेर उभिएका थिए । झन्डै आधा दर्जन प्रहारलाई उनले गोलमा परिणत हुन दिएनन् । विपक्षी बलको जाली चुम्ने सपना रहरमै सीमित भइरहेको थियो ।

८९ मिनेट ३३ सेकन्ड नेपालका लागि बडो निराशाजनक रह्यो । टेलिभिजन हेरिरहेका समस्त दर्शक स्तब्ध भए । नेपालले १–० ले खेल हा¥यो ।

त्यतिबेला भारतीय टोलीका कप्तानले भनेको कुरा अहिले पनि नेपाल टेलिभिजन हेर्ने दर्शकहरूलाई ज्ञात हुनुपर्छ । अजरको गोलरक्षणबाट द्रवीभूत हुँदै भारतीय टोलीका कप्तानले भनेका थिए, “ऐसा लग रहा है, नेपालके गोलपोस्टमें गोलकिपर नहीँ, पशुपतिनाथ बैठ रहा है !”

आजपर्यन्त तेस्रो साग गेमलाई किपरको सफलताका रूपमा चित्रण गरिन्छ । र, त्यसको सोझो प्रभाव अमनमा पनि पर्‍यो । पत्तै नपाई फुटबलतिर डोहो¥यायो ।

सेन्ट जेभियर्स स्कुलमा पढ्थे । विद्यालयको वातावरण खेलयुक्त छँदै थियो । त्रिपुरेश्वर, बानेश्वरको पर्यावरण पनि खेलमैत्री नै थियो ।

“खाली खेत, जताजता फुटबल खेले पनि भयो !” ती दिनहरूले अमनलाई अहिले पनि डोर्‍याउँदै बाल्यपनमा पुर्‍याउँछन् ।

तिनताक फुटबललाई सर्वस्व ठानेर अघि बढ्दा जीवन गुजारा सम्भव थिएन । पढाइमा उम्दा अजरले जापानका लागि अध्ययन छात्रवृत्ति पाए । फुटबल करिअरलाई २३ वर्षकै उमेरमा तिलाञ्जली दिएर अध्ययनको उडान भरे ।

\"\"

कमेन्ट्रीमा इन्ट्री

सन् १९९८ को एउटा शीतकालीन महिना । फुटबल पढाइलाई समानान्तर रूपमा अघि बढाइरहेका थिए, अमनले ।

स्नातकोत्तरको उत्तराद्र्धतिर हुनुपर्छ शायद । फिफा वल्र्डकप फ्रान्समा आयोजना हुँदै थियो । नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भयो ।

‘कमेन्ट्री’ गर्न कसलाई दिने ?

नेपाल टेलिभिजनसँग मूर्त जवाफ थिएन । रनभुल्लमा थियो ऊ । 

अंग्रेजी, नेपाली दुवैमा पारंगत । फुटबल खेलको केस्रा केलाउन सक्ने मान्छेको खोजी भयो । तिनताका ‘ए’ डिभिजन खेल्ने १२ वटा टिम थिए । तर, स्नातकोत्तर उपाधिप्राप्त खेलाडी कोही थिएनन् । खेलक्षेत्रमा पढाइको खडेरी नै थियो ।

शोधको अन्तिम तयारीमा थिए अमन ।

“नेपाल टेलिभिजनमा ‘कमेन्ट्री’ खोजेको रहेछ । वल्र्डकप देखाउने रे ! बीचबीचमा टिप्पणी गर्ने मान्छे चाहिएको छ रे ! जान्छस् त ?” बाबुले कुराकानीको क्रममा सन्दर्भ उठाइहाले ।

दुर्गानाथ शर्माले आँखा लगाइसकेका रहेछन् ।

बाबुको आज्ञा शिरोपर गर्दै भोलिपल्टै गएर आवेदन दिए । ‘लाइभ कमेन्ट्री’को बाटो खुलिहाल्यो ।

फुटबलमा पारंगत छँदै थिए । जीवनमा टेलिभिजन र चलदृश्यका ठुल्ठूला भँगाला पनि मिसिए । त्यो क्षणलाई उनी जीवनको त्रिवेणीधाम नै भन्न रुचाउँछन् अमन ।

कहिलेकाहीँ उनको अन्तरआत्माले आफैंलाई सोधीबस्छ, “शायद म यसैका लागि निर्मित थिएँ कि ?”

२३ वर्षको यौवनवयमा नेपाल टेलिभिजनको दैलोभित्र पसेका अमन २७ वर्षको उमेरसम्म त्यहीँ रमाए । राष्ट्रिय–अन्तर्राष्ट्रिय फुटबल स्पर्धाहरूको टिप्पणी गरे ।

त्यसबेलासम्म फुटबल खेलको टिप्पणी खासै हुँदैनथ्यो । ‘कमेन्टेटर’ नै थिएनन् भन्दा हुन्छ । नेपाली फुटबल कमेन्ट्रीको इतिहासमा नयाँ मानकका रूपमा स्थापित भए अमन । अहिले पनि अमन र सञ्जीव शिल्पकारको बाहेक फुटबल कमेन्ट्रीमा अरूको नाम सुनिँदैन ।

सूत्रमा चल्न रुचाउने मान्छे होइनन् अमन । बरु उनी सूत्रलाई चलाउँछन् । नेपाल टेलिभिजनको सोच र स्रोतको सीमितताले उनलाई खुल्न दिएन । विशाल क्षमतालाई कसैले लगाम लगाइरहेको प्रतीत भयो । अमनजस्तो स्वच्छन्द सोचलाई सह्य हुने कुरै थिएन । नेपाल टेलिभिजनसँगको पाँच वर्षे नाता–सम्बन्ध त्यहीँ बिट मारे । र, गन्तव्य तय गरे– ‘कान्तिपुर टेलिभिजन (केटीभी)’ ।

‘कान्तिपुर’को संघार टेक्नुअगावै व्यवस्थापनसँग शर्त तेस्र्याएका थिए, “खेल क्षेत्रलाई परम्परागत आँखाले मात्रै हेरिनु र बुझिनु हुँदैन । समयको गतिशीलताको प्रभाव यसमा पनि प्रतिविम्बित हुनुपर्छ ।” राजी भयो व्यवस्थापन । ‘कान्तिपुर’ प्रवेशको बाटो खुल्यो ।

खेलकुद डेक्समा अमन र सुदीन पोखरेल थिए । नेपाली टेलिभिजनको इतिहासमा पहिलोपल्ट खेलकुद डेक्सले प्रत्यक्ष (लाइभ) समाचार वाचन गर्न थाल्यो । खेल समाचारको नयाँ मानक (ट्रेन्ड) स्थापित भयो ।

सन् १९९८ को विश्वकप, सन् १९९९ को साफ गेममार्फत कमेन्ट्रीमा स्थापित भइसकेका थिए अमन । टेलिभिजनको सात वर्षे करिअरले नसोचेको उचाइ दिइसकको थियो । ‘दूरदर्शन’मार्फत भारतवर्षमा पनि उनको आवाज प्रवृष्ट भइसकेको थियो । र, त्यहाँभन्दा माथि जाने ठाउँ देखेनन् उनले ।

करिअरको उत्कर्षमा पुगेपछि उनको मथिंगमा एउटा प्रश्न जबर्जस्त खडा भयो, “अब के ?”

पिताको आभा

जीवनको एउटा बिन्दुमा पुगेपछि बाबु हिँडेको बाटो प्रिय लाग्छ । बाबु सुस्ताएको बरको जरा सिरानी हाल्न मन लाग्छ । बाबुले पानी पिएको धाराले मन लोभ्याउँछ । त्यस्तै भयो– अमनलाई । तीन दशक हिउँदको नजिक पुगेपछि पिताको सिर्जनशील आभाले लोभ्याउनुसम्म लोभ्यायो ।

टेलिभिजनको जीवन बडो यान्त्रिक र एकांकी पो लाग्न थाल्यो । यूएस् ओपन, फ्रेन्च ओपन, बीचमा एक सिजन फुटबल, जीवन सिर्जनशीलताबाट क्रमशः पाखा लाग्दै गएको आभास हुन थाल्यो । उम्कने उपायको खोजी गर्न थाले ।

आफ्नो करिअरको वस्तुगत समीक्षापछि उनी टेलिभिजन करिअरमै अतिरिक्त क्षमता विकासका लागि स्कटल्यान्डको राजधानी एडिनबरास्थित ‘एडिनबरा कलेज’ जाने निधो गरे— टेलिभिजन र चलचित्र अध्ययन गर्न ।

एडिनबराले उनको जीवनको मार्ग बदलियो । उनले बुझ्दै आएको टेलिभिजनको परम्परागत विम्ब प्रतिस्थापन भयो ।

नेपाल टेलिभिजन र कान्तिपुरसँग आबद्ध हुँदा क्यामेराको अग्रभावमा थिए उनी, कार्यक्रम निर्माताका रूपमा । रुचि थियो– नेपथ्यमा रहेर काम गर्ने ।

एडिनबरा पुगेपछि चलचित्र, टेलिभिजन कार्यक्रममा भित्रिएका नूतन प्रयोग र सिद्धान्तसँग चिनापर्ची हुन पाए । नवीन प्रविधिसँग साक्षात्कार भयो । उनका आँखा छ्यांग खुले— यो त कला र सिर्जनाको अर्को महासागर पो रहेछ !

विशेषतः अमनले एडिनबरामा मल्टी–क्यामेरा प्रोडक्सन, डाइरेक्सनमा विशेषज्ञता हासिल गरे । ‘एनटीभी’ र ‘केटीभी’मा छँदा एउटा–दुइटा क्यामेरासँग साक्षात्कार भइरहेको, त्यहाँ एकसाथ १५ वटा क्यामेरासँग काम (निर्देशन) गर्नुपर्ने भयो । हरेक शट सिद्धान्तको आडमा लिनुपर्ने । अन्यथा शट नै उल्टो भइदिने । क्यामेरा स्थापन, प्रतिस्थापन, ध्वनि र क्यामेराको तालमेल सबै गणितीय हुने ।

तीन वर्षको कोर्स थियो, पारंगत भइहाले । दुई वर्ष काम गरेर केही पैसा जुगाड पनि गरे । शान्त, शौम्य र स्निग्ध शहर । ज्ञानका लागि होइन, ध्यानका लागि गएझैं भयो ।

अनेकन अन्तरद्वन्द्वले उनको सिर्जनशीलतालाई जीवित तुल्याइझैं लाग्छ । सन् २०१० को प्रारम्भतिर आइपुग्दा उनमा त्यस्तै अन्तरद्वन्द्व देखा प¥यो ।

पर्मानेन्ट रेजिडेन्स (पीआर)का लागि योग्य भइसकेका थिए । “कागजात पूरा भइहाल्यो, अब नेपाल किन फर्कन्छस् ?” भेटिएकाजति पीआरको चक्करमा थिए ।

तर, भिजा सकिएपछि उनी द्विविधामा अलमलिएनन् । नेपाल फर्कनु नै उचित लाग्यो ।

‘कृपा अनप्लग्ड’को कृपा

एडिनबराबाट चलचित्र र टेलिभिजन कार्यक्रम निर्माण नै पढेर आएका । काठमाडौैं आउनेबित्तिकै कता जाने भनेर अलमलिनै परेन । ‘तराई टेलिभिजन’मा गाँसिइहाले ।

विषय–विज्ञ भएकाले ज्ञानको व्यापकता छँदै थियो । जहाँतहीँ समुचित तवरले उपयोग गर्न सकिँदैनथ्यो । त्यो भीडमा ‘तराई टेलिभिजन’ केही भिन्न देखियो । 

शुरूमा उनले ‘भेन्चर इन नेपाल’ शुरू गरे । अमन आफैं प्याराग्लाइडिङ गर्दै हावामा बतासिन्थे । साइकल लिएर पाखापाखा दौडिन्थे । बन्जीको त पारखी नै हुन् । १३ पल्ट मुटु सिरिंग बनाउने गरी खोंचमा फाल हालेका छन् ।

‘भेन्चर इन नेपाल’ सूत्रबद्ध तरिकाले चार–पाँचवटा क्यामेराले छायांकन गर्थे । परम्परावादी धारको विनिर्माण थियो त्यो । विदेशी टेलिभिजनमा मात्रै देख्न पाइने कार्यक्रम स्वदेशकै पर्दामा देखिन थालेपछि दर्शक झ्याम्मिन थाले । 

‘केटीभी’बाट प्रसारण हुँदै आइरहेको ‘ह्वाट् द फ्लप’का प्रस्तोता सन्दीप क्षेत्रीको करिअर शुरूआत गर्ने श्रेय पनि ‘तराई टेलिभिजन’लाई नै जान्छ ।

तिनताका उनीहरूले ‘तराई टेलिभिजन’मा ‘द फ्लप शो’ सञ्चालनमा ल्याएका थिए । ‘केटीभी’ पुगेपछि त्यही कार्यक्रम ‘ह्वाट् द फ्लप’ मा परिणत भयो । र, ख्याति फिँजारियो ।

एक दर्जनजत्ति टेलिभिजन च्यानल हुँदा हुन् । सबैले पस्कने कार्यक्रम एकैनासे थिए । समाचार, टक शो, विचार मन्थन, ‘एनटीभी’का हास्य शृंखलाले मात्रै दर्शक थामिँदैनथे ।

भारतीय च्यानल हेरेर आह्लादित भइरहेका दर्शकलाई स्वदेशी च्यानलतिरै खिच्नका लागि ‘कृपा अनप्लग’ (सांगीतिक शो) शुरू गरे ।

अमनको बाल्य–किशोर उमेर सांगीतिक माहोलमै बित्यो । अग्रज नारायण गोपालदेखि अनुज रामकृष्ण ढकाललसम्म उनको घरमा बरोबर आउजाउ गरिरहन्थे । मनको सुदूर कुनामा गीत–संगीतको ध्वनि प्रवाहित भइरहेकै थियो ।

‘तराई टेलिभिजन’सँग गाँसिएपछि नेपालका अजरअमर, सदाबहार गीतहरू मुर्झाउँदै गएको प्रतीत हुन थाल्यो । इतिहासमा सीमित हुने त होइन भनेर पिरोलिन पनि थाले । र, ओइलाउँदै गएका पुराना गीत–संगीतलाई ब्युँताउनकै लागि ‘कृपा अनप्लग्ड’लाई जन्म दिए ।

१६ देखि २६ को उमेर फुटबलमा बिताए । तथापि त्यसले आमालाई छुँदैनथ्यो । पाका–वयोवृद्धहरू टेलिभिजन सेटअगाडि बसेर ‘गो..लऽऽऽ’ भन्दै शायदै चिच्याउँथे ।

“सबैको मन–मुटुलाई तरंगित तुल्याउन नै म्युजिकल शो शुरू गरेको हुँ,” गर्वले छाति चौडा हुन्छ उनको ।

हुन त त्यतिबेला निर्देशक, निर्माताहरू नेपालमा ‘कोक स्टुडियो’ भित्रियोस् भन्ने चाहन्थे । तर, त्यो सामथ्र्यभन्दा निकै पर थियो । ‘घाँटी हेरी हाड निल्नू’ भन्ने पाको उक्ति सम्झँदै ‘कृपा अनप्लग्ड’मै चित्त बुझाए ।

त्यतिबेलाको एउटा रमाइलो घटना छ—

‘कृपा अनप्लग्ड’ चर्चाको सर्वव्यापक बन्दै थियो । यूट्युबमा ‘बेस्ट भ्युज’मा दरिँदै थियो । उनी बेलुका अबेरपख घर घर जान्थे । शो शुरू भएको छोटै समयमा बाबु पनि ‘कृपा अनप्लग्ड’को फ्यान बनिसकेछन् ।

“म हिँडेको बाटोप्रति बुवा सन्तुष्ट हुनुभएको त्यही दिन हो, नत्र मैलै पाइला हालेको कुनै बाटोमा पनि उहाँ खुशी हुनुहुन्थेन,” पितृप्रति कृतज्ञ देखिन्छन् ।

त्यो दिनदेखि नै उनले सन्दुकमा थन्क्याइसकेको ‘प्रताप’ नामपछाडि झुन्ड््याएर हिँड्न थाले ।

“३७ वर्षको उमेरमा आएपछि बल्ल आफूलाई प्रतापी लाग्न थाल्यो,” अट्टास छाड्छन् उनी ।

फ्रेन्चाइजको फ्रेम

मुलुक भूकम्पले आक्रान्त थियो । बेलाबखत भूकम्पीय धक्का गइरहन्थे । त्योभन्दा ठूलो थियो– ट्रमाको कम्पन ।

\"\"

तिनताका अनुप बरालले निर्देशन गरेको ‘दोख’मा काम गरिरहेका थिए । चलचित्रमा फुटबल मुख्य अंग बनेको छ । र, कोरियोग्राफीको जिम्मा लिएका थिए– अमनले । ‘दोख’को छायांकन सकिइसकेपछि उनी फुक्काफाल जस्तै थिए । 

‘हिमालय टीभी’ प्रवेशको साइत जुर्‍यो । ‘हिमालय टीभी’मा एउटा शर्तमा मात्रै अनुबन्धित भएका थिए उनी ।

“तीनवटा टीभीमा मुख्यमुख्य कार्यक्रम चलाइसकें । केही फरक र चुनौतीपूर्ण छ भनेमात्रै हात हाल्छु,” अमनले भने ।

“अहिले यहाँका युवालक्षित केही कार्यक्रम हेर्दै गर्नुस्, तीन महिनापछि चुनौतीपूर्ण काम थमाउँछु,” कार्यकारी निर्देशक च्याङ अग्रवालले आश्वस्त पारे ।

के–कस्तो कार्यक्रम खुलाएनन् । गुमराहमै राखे ।

तीन महिनापछि–

“अमनजी, तपाईंलाई ठूलै च्यालेन्ज ल्याएको छु,” पुलकित देखिए च्याङ ।

‘एपी वन’ले फ्रेन्चाइज शो ‘नेपाल आइडल’ भित्र्याएको थियो । तर, प्रसारण गर्न सकेको थिएन । अर्को फ्रेन्चाइज आएकै थिएन । आउने चालचुल पनि थिएन ।

च्याङले कुतूहलताको पर्दा उघार्दै भने, “मैले फ्रेन्चाइज किनें, रोडिज...!”

“एमटीबी रोडिज...?” अमनको मन संशयले भरियो ।

च्याङले जवाफ दिए, “अँ ।”

अमन त चुनौती स्वीकार्न तयार थिए । तर, नेपालमा उपलब्ध प्रविधि, जनशक्ति तम्तयार छ कि छैन ? चुनौती त्यो थियो ।

च्याङले एक हप्ताको समय दिएका थिए । अर्को हप्ता मुम्बई गएर कार्यक्रमको प्रारूप बुझाउनुपर्थ्यो । रात–बिरात गरेर उनले कार्यक्रमको खाका तयार पारे । विषय–विज्ञ नै त्यही । प्रारूप तयार पार्न कठिनाइ हुने कुरै भएन ।

फ्रेन्चाइजको उत्साहको पँखेटा हालेर मुम्बई गए अमन । त्यहाँ पुगेपछि थप चित खाए ।

सब नौजवान युवा छन् । तर, कोही ७, कोही ६ सिजन ‘रोडिज’ निर्र्देशन गरेको अनुभव पस्कन्छन् । अमनले पनि निर्माण कम्पनी ‘भायाकम १८’सामु आफ्नो खाका पस्किए । 

“तपाईंलाई सबै पो थाहा रहेछ !” उनीहरूले आश्चर्य पोखे ।

“एडिनबराबाट फिल्म मेकिङमा ग्य्राजुएट हो,” उनले ज्ञानको विराटता देखाए ।

उनीहरूको पढाइको तह पनि त्योभन्दा माथिल्लो थिएन ।

फ्रेन्चाइजको नियमअनुसार त्यहाँबाट निर्देशक, छायांकार यहाँ आएर कार्यशालाजस्तो गर्नुपर्छ । स्रोत–सामग्रीदेखि क्षमतासम्मको नापजाँच उनीहरूले नै गर्छन् ।

अमनको प्रस्तुतिले उनीहरूको विश्वास जित्यो । शृंखला नै पिच्छे, हरेक हप्ताजसो अमनले पठाउने इमेलले उनीहरूको विश्वासमा वर्तन थपिँदै गयो । कार्यशालामा आउन आवश्यक ठानेनन् उनीहरूले ।

“वर्कशपमा मात्रै होइन, हामी जोमसोम, पोखरामा छायांकन हुँदै छ भनेर बोलाउँथ्यौं । उनीहरू आउँछौं त भन्थे तर टारे मात्रै,” अमन अनुभव सुनाउँछन् ।

फ्रेन्चाइजको नियमानुसार उनीहरूले शो आद्योपान्त हेरर आवश्यक संशोधन, सम्पादन गर्छन् । शुरूवाती शोमा काँटछाँट गर्नुपर्ने मात्रा ज्यादा थियो । क्रमशः त्यसमा कमी आयो ।

नेपालका टेलिभिजनहरूले दर्शकहरूको रुचि, चाहनाको मिहिन अध्ययन नगरेको प्रतीत हुन्छ । ‘रोडिज’ भित्र्याउँदा दर्शक, सहभागीले साथ नदिने आशंका नगरिएको होइन ।

तर, अमन निश्चिन्त थिए ।

“म युवा हुँदा पनि रोडिज प्रकारको शो टेलिभिजनले ल्याए हुन्थ्यो, म आफैं सहभागी हुन्थें भन्ने इच्छाले सताइरहन्थ्यो । विडम्बना ! त्यो साहस देखाउन पाइएन,” चुकचुकाउँछन् अमन ।

पहिलो सिजनमा त्यस्तै इख भएका सहभागी आएका थिए, जो ‘रोडिज’को ढोकाभित्र छिर्न भारतै पुगेका थिए ।

‘रोडिज’ युवायुवतीहरूका लागि ठूलो मञ्च भयो त्यो ।

देश–विदेश चर्चा हुने कार्यक्रम उत्पादन गर्ने भोक बोकर एडिनबराबाट काठमाडौं फर्किएका थिए अमन । ‘रोडिज’ले मेटाइदियो त्यो तृष्णा ।

“सिजन–२ अस्ट्रेलियाको यूट्युब च्यानलमा ट्रेन्डिङमा पथ्र्यो,” कामप्रति सन्तुष्ट देखिन्छन् अमन ।

को बन्छ करोडपति ?

सन् २०१८ को शुरूआततिर । ‘हिमालय रोडिज’को दोस्रो सिजन निर्देशनको तयारीमा थिए अमन । तिनताक एसआरबीएन प्रोडक्सनका रमेश न्यौपाने र विपीन आचार्य अमनलाई भेट्न आए । उनीहरूले भने, “दाइ, हजुरले ‘को बन्छ करोडपति (केबीसी)’ निर्देशन गरिदिनुपर्‍यो ।”

अमन ‘रोडिज’ निर्देशन गरिहेका थिए । बीचमा सम्झौता टुंग्याउन पनि नमिल्ने । ‘एपी वन’बाट प्रसारण गर्ने र उसैको सहकार्यमा कार्यक्रम उत्पादन गर्ने एसआरबीएन प्रोडक्सनको तयारी थियो । तर, सेट डिजाइनबाहेक एक वर्षसम्म ठोस प्रगति भएन ।

‘केबीसी’ दोस्रोपल्ट अमनको बाटोमा ठोक्किन आइपुग्यो । ‘रोडिज’को दोस्रो सिजन सकिए पनि अरू कुनै सिर्जनात्मक काममा तल्लीन हुने ध्याउन्नमा थिए । ‘केबीसी’बाट उम्कन पाएनन् ।

झन्डै एक वर्षदेखि परियोजना अड्किएको थियो । अमनले सम्हालेपछि एक महिनामै त्राण पायो । अनएयर नै भइहाल्यो ।

फ्रेन्चाइज कार्यक्रम निर्देशन गरेको अनुभव थियो । ऊर्जा छँदै थियो । बेलायतको फ्रेन्चाइज कार्यक्रम, सेट निर्माणदेखि प्रस्तुतिसम्म उतैबाट अनुमोदित हुनुपथ्र्यो ।

बेलायतबाट ‘हु वान्ट्स टु बी अ मिलेनियर’की उपाध्यक्ष (भाइस प्रेसिडेन्ट) केट नेपाल आएकी थिइन्, प्राविधिकको साथमा । ‘हु वान्ट्स टु बी अ मिलेनियर’ सञ्चालन गर्ने नेपाल १६० औं देश थियो ।

गुनासोकी धनी रहिछन्, चित्त बुझाउन हम्मेहम्मे पर्‍यो ।

“केटलाई खुशी पार्न आफैंले आफैंलाई जुरुक्क उचाल्नुपर्थ्यो,” ‘केबीसी’ निर्देशनको शुरूआती क्षण सम्झन्छन् अमन । ‘केबीसी’मा अनुबन्धन भएको एक हप्ता प्रश्रव वेदनामा बित्यो भन्छन् उनी । एक वर्षसम्म परियोजना रोकिनुको भेद पनि खुलिहाल्यो ।

“राजेश (हमाल) दाइ आएर बस्नुभएको छ, केट केही पनि मिलेको छैन भन्छिन् । टेक लिँदालिँदा हैरान भइसकें । सुटिङ सिध्याएर सम्पादनमा बसियो । शृंखला अनुमोदन गरेपछि ठूलो त्राण पाएँ,” उनी सम्झन्छन् ।

‘केबीसी’ निर्देशनको पहिलो शृंखला अनुमोदन हुँदा जीवनकै कक्षा उत्तीर्ण भएको अनुभूत भयो उनलाई ।

“केटबाट अनुमोदन नभएको भए ममाथि ठूलो प्रश्नचिह्न खडा हुन्थ्यो !” लामो सास फेर्छन् अमन ।

‘केबीसी’को पहिलो शृंखला अनुमोदित भएपछि अमनले पहिलो इमेल एडिनबरा विश्वविद्यालयका विभागीय प्रमुखलाई गरे, “‘हु वान्ट्स टु बी अ मिलेनियर’को नेपाल संस्करणको निर्देशक बनें ।”

प्रमुख खुशीले फुरुंग भए र विश्वविद्यालयभरि हल्ला फिँजाइहाले, “हाम्रो एउटा विद्यार्थी, ‘हु वान्ट्स टु बी अ मिलेनियर’ फ्रेन्चाइज शोको निर्देशक बनेको छ ।”

नेपाल फर्कने कि स्कटल्यान्डमै बस्ने भनेर द्विविधामा परेका बेला तिनै प्राध्यापकले उनलाई सम्झाएका थिए, “अमन तिमी यहीँ बस्यौ भने ठूलो पोखरीको सानो माछा हुन्छौ । नेपालै फर्कियौ भने सानो पोखरीको ठूलो माछा हुन सक्छौ । आफ्नै देश फर्क ।”

‘केबीसी’ निर्देशनपछि विशाल पोखरीको विशाल माछा भएका छन् अमन ।

“अब हामीले विदेशी कम्पनीहरूबाट फ्रेन्चाइज कार्यक्रम किनेर ल्याउने होइन, हाम्रा कार्यक्रमहरूको फ्रेन्चाइज डलरमा बेच्नुपर्छ । र, छिट्टै त्यो दिन भेट्टाउनेछौं,” आकाशको पहेंला घाम हेर्दै मुसुक्क हाँसे अमन ।

र, ‘स्प्लिट्सभिल्ला’

‘एमटीभी रोडिज’को समानान्तर रूपमा निर्माण भइरहेको ‘एमटीभी स्प्लिट्सभिल्ला’को नेपाली संस्करण भित्र्याउने अभिभारा पनि अमनकै काँधमा छ अहिले । भारतमा यो रियालिटी शो पनि ‘भायाकम १८’ले नै बनाइरहेको छ । अमनको आफ्नै कम्पनी ‘पर्पल इन्टरटेनमेन्ट’ले ‘स्प्लिट्सभिल्ला’ निर्माणको तयारी थालिसकेको छ । यसको मार्केटिङ ‘तपस्या मिडिया’ले गर्दै छ ।

‘स्प्लिट्सभिल्ला’ खासगरी प्रेमिल युवा–युवतीमा आधारित रियालिटी शो हो । भारतमा यसको ११ औं संस्करण भर्खरै सकिएको छ । ‘एमटीभी रोडिज’ पहिलो संस्करणका विजेता रणविजय सिंह र स्टार सनी लियोनीले यो कार्यक्रम होस्ट गर्छन् ।

अमन भन्छन्, “‘स्प्लिट्सभिल्ला’ले नयाँ पुस्ताका युवा–युवतीलाई टिभीको स्क्रिनसम्म डोर्‍याउनेछ । हामीले यसलाई पनि विश्वस्तरको बनाउन कुनै कसर बाँकी राख्नेछैनौं ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC