site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
फिनल्यान्डमा नेपालीको दुर्दशा
Sarbottam CementSarbottam Cement

गत मार्चमा फिनल्यान्डको हेल्सिन्गिन सानोमातले त्यहाँका नेपाली रेस्टुराँहरूको श्रम अवस्थाबारे अनुसन्धान रिपोर्ट सार्वजनिक गरेको थियो । यो त्यही रिपोर्टको नेपाली अनुवाद हो । यसको मूल अंश पढ्न यहाँ क्लिक गर्नुहोस्

सुमनले केही महिना काम गरेपछि छुट्टी पाउन थाले । सुमनका लागि छुट्टीको अर्थ सात घण्टामात्र काम गर्नुपर्ने दिनहरू हुन् ।

साधारणतया कामको शिफ्ट बिहान ९ बजेतिर शुरु भएर राति करिब १० बजे रेस्टुराँ बन्द भएपछि मात्र सकिन्थ्यो । कहिलेकाहीँ हप्तामा ८० घण्टासम्मको पनि काम हुन्थ्यो । सप्ताहन्त र चाडपर्व विशेष बिदामा दिनको काम १६ घण्टासम्म पनि लम्बिन्थ्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालीहरू यसलाई ‘लङ शिफ्ट’ भन्छन् ।

सुमन र अन्य दुई जना ‘माउन्ट शेर्पा’ नामक लोकप्रिय नेपाली रेस्टुराँमा काम गर्थे । सुमनलाई कुनै किसिमको ज्याला तिर्ने गरिएको थिएन । करारनामा मुताबिकको तलब नोर्देया बैंकको खातामा तिर्ने गरिन्थ्यो तर त्यो खाता रेस्टुराँ मालिकहरूको नियन्त्रणमा हुन्थ्यो ।

Global Ime bank

सुमनले यो शोषण साढे एक वर्षसम्म सहे । त्यसपछि उसले एउटा असाधारण कदम चाले र कुओपियोको प्रहरी कार्यालयमा उजुरी गर्न पुगे ।

यो घटना दुई वर्षपहिलेको थियो । गत डिसेम्बरमा पोह्योस सावोको जिल्ला अदालतले रेस्टुराँ ‘माउन्ट शेर्पा’का मालिक पूर्ण अधिकारीलाई तीन गम्भीर कर छली र तीन मानव तस्करी अपराधका लागि एक वर्ष आठ महिनाको जेल सजाय करार ग¥यो ।

अधिकारीले पाएको सजाय दुर्लभ प्रकृतिको थियो तर यस्तो खालको शोषण भने फिनल्यान्डमा सामान्य छ ।

हेल्सिन्गिन सानोमातले गरेको छानबिनअनुसार फिनिसहरू माझ लोकप्रिय नेपाली रेस्टुराँका अँध्यारा पाटाहरू पनि छन्, जुन यसअघि सार्वजनिक भएका थिएनन् । रेस्टुराँहरूमा सामान्यतया कामदारहरूलाई काम गराइने अवधि दिनको १६ घण्टासम्म पनि लम्बिन सक्छ । रेस्टुराँमा काम गर्न आएका नेपाली कामदारले काम पाउन पनि पैसा तिर्नु पर्ने हुन्छ । यही कारण काम गरेबापत पाइनुपर्ने तलब प्रायः शून्यबराबर हुन्छ ।

हेल्सिन्गिन सानोमातले पाँच महिनाको अवधिमा १९ नेपाली र एक भारतीयको अन्तर्वार्ता लिएको थियो, जसमध्ये १५ जनाले नेपाली रेस्टुराँमा काम गर्छन् । उनीहरूसँग फिनल्यान्डका विभिन्न क्षेत्रस्थित १० बढी बेग्लाबेग्लै रेस्टुराँहरूमा धेरै वर्ष काम गरेको अनुभव छ ।

अन्तर्वार्ता दिने व्यक्तिहरू आफ्नो काम गुमाउने र त्यसको नतिजास्वरूप फिनल्यान्डको बसोबास अनुमति पनि गुमाउने त्रासले यो लेखमा आफ्नो नाम खुलाउन चाहेनन् । उनीहरूमध्ये केही व्यक्तिहरू आफ्नो र आफ्ना परिवारका सुरक्षाप्रति चिन्तित छन् ।

नेपालीका भनाइ धेरै अर्थमा समान छन् । उनीहरूका अनुसार प्रायः सबै रेस्टुराँको काम गराउने तरिका एकै किसिमका छन् । काम कानुनको दायराभन्दा माथि र एकदमै धेरै गराइन्छ तर कानुनअनुसारको पारिश्रमिक दिइँदैन । अत्यन्तै न्यून दिइन्छ ।

एन नेपाली कुक भन्छन्, “म फिनल्यान्ड आएपछि हरेक दिन १४ घण्टा काम गथें । एक दिन पनि छुट्टी पाउँदिनथें । अतिरिक्त काम र ओभरटाइमबापतको तलब पनि दिइँदैनथ्यो । महिनामा १ हजार युरोभन्दा कम पैसा हात लाग्थ्यो । यसमध्ये आधा पैसा मालिकलाई काम दिएबापतको ऋणस्वरूप भुक्तान गर्नु पथ्र्यो । मैले आफ्नो अवस्थाबारे गुनासो गर्दा मालिकले मलाई नेपाल फर्काइदिने धम्की दिए ।”

अन्तर्वार्ता दिने अर्का व्यक्ति भन्छन्, “एक वर्षको अवधिमा हरेक दिन १३ घण्टा काम गर्दा तलबस्वरूप मासिक केही सय युरोमात्र पाउँथें । मेरो तलब यति कम थियो कि पैसा जोगाउन भाँडा माझ्ने साबुनले नुहाउँथें ।”

लगभग सबै अन्तर्वार्ता दिने व्यक्तिले फिनल्यान्डमा ल्याइदिएबापत आफ्ना मालिकलाई ५००० देखि १५००० युरोसम्म रकम तिर्नु परेको बताएका छन् ।

फिनल्यान्डमा उनीहरूको अवस्था अति जर्जर छ । कामदारहरू अक्सर साँघुरो कोठामा अरू रेस्टुराँका कामदारसँग मिलेर सुत्छन् । हेल्सिन्गिन सानोमातलाई अन्तर्वार्ता दिने एक व्यक्तिले दुई कोठाको फ्ल्याटमा आफू अरू ६ जनासँग मिलेर बस्ने गरेको बताए । उनीहरू विभिन्न शहरमा बसोबास गर्छन् ।

अन्तर्वार्ता दिने केही व्यक्तिका अनुसार मालिकले उनीहरूका राहदानी आफ्नो नियन्त्रणमा राखेका छन् । धेरैजसो व्यक्तिका अनुसार बिरामी भएको अवस्था अथवा चोटपटक लागेको अवस्थामा पनि काममा जानैपर्ने बाध्यता छ ।

हेल्सिन्गिन सानोमातको यो छानबिन लगभग २० वटा रेस्टुराँमा आधारित छ । अन्तर्वार्ता दिनेहरूका अनुसार यो समस्या अझ भयावह छ । तथापि हेल्सिन्गिन सानोमातसँग सबै नेपाली रेस्टुराँको प्रमाण भने छैन ।

आफूहरूमाथि भएका शोषणबारे नेपालीहरू आफैं भन्न चाहन्छन् । यो विषयसँग सम्बन्धित यहाँको सरकारी निकायले यसविरुद्ध केही कदम चालोस् भन्ने उद्देश्यका साथ उनीहरूले यी कुराहरू हेल्सिन्गिन सानोमातलाई बताएका हुन् ।

यो रिपोर्टका लागि अन्तर्वार्ता दिने एक व्यक्तिले फिनल्यान्डमा यस्तो शोषण यति धेरै वर्षसम्म कसरी चलिरहन सक्यो भनेर आश्चर्य प्रकट गरे । वर्षौंदेखि नेपाली रेस्टुराँमा काम गरिरहेका अर्का नेपाली भन्छन्, “अरू धेरै कुकहरूको अवस्था अझै जटिल छ । हामी चाहन्छौं— फिनल्यान्ड सरकारले यसविरुद्ध कदम चालोस् किनकि यी आपराधिक क्रियाकलापहरू सुनियोजित तरिकाले हुने गरेका छन् ।”

फिनल्यान्डमा नेपाली रेस्टुराँहरू तुलनात्मक रूपमा धेरै छन् । फिनल्यान्डमा पहिलो नेपाली रेस्टुराँ हेलसिन्कीको कल्लियोको कोल्मोस्लिन्यामा सन् १९९३ मा खोलिएको थियो । त्यो रेस्टुराँको नाम ‘हिमालया’ थियो । रेस्टुराँ खोल्ने व्यक्तिको नाम थियो— देवी शर्मा । उनी १९८० को दशकमा हेमराज शर्मासँग फिनल्यान्ड आएका थिए । उनीहरू दुवै जना गुल्मीबाट आएका थिए । आजकल उनीहरू हेलसिन्कीवरिपरिका धेरै रेस्टुराँहरूका मालिक बनेका छन् ।

हेल्सिन्गिन सानोमातलाई अन्तर्वार्ता दिने सबैको एउटै निष्कर्ष छ— उनीहरूको व्यापारका थुप्रै अँध्यारा पक्ष छन् । देवी शर्मा नै नेपाली रेस्टुराँका मालिकहरूको सञ्जालको केन्द्रीय व्यक्ति हुन् । हेमराज शर्मालाई यो सञ्जालको दोस्रो प्रभावशाली व्यक्ति मानिन्छ ।

यी दुई जनापछि ‘सत्कार रेस्टुराँ’का मालिक राम अर्याल फिनल्यान्ड आइपुगेका हुन् । उनी हेमराजका काकाका छोरा हुन् ।

देवी, हेमराज र रामपछि अन्य व्यक्तिहरूले गुल्मीबाट आफन्तलाई कामदारका रूपमा फिनल्यान्ड ल्याएका हुन् । त्यसपछि आफन्तका पनि आफन्त र अन्य नेपालीहरू ल्याइएका हुन् ।

गत वर्ष नेपाली टीभीमा दिएको अन्तर्वार्तामा देवीले निकै शानका साथ आफूले फिनल्यान्डमा १५०० नेपाली ल्याएको बताएका थिए । अप्रत्यक्ष रूपमा उनले पक्कै पनि अरू सयौं नेपाली ल्याएको हुनुपर्छ । उनका धेरै कामदारले पछि आफ्नै रेस्टुराँ खोलेका छन् । ती रेस्टुराँहरूमा पनि कामदारहरू नेपालबाटै ल्याइएका छन् ।

हेल्सिन्गिन सानोमातले पाएको जानकारीअनुसार देवी र उनकी श्रीमती मञ्जु शर्मालाई मानव तस्करीको अपराधमा हेलसिन्की प्रहरीले शंका गरेको छ । यो छानबिन देवीको रेस्टुराँ र उनका घरेलु कामदारसँग सम्बन्धित छ ।

\"\"

आफ्नी श्रीमती मञ्जु शर्मासँग देवी शर्मा । उनी सन् १९८० दशकमा फिनल्यान्ड आएका हुन् । उनी नेपाली रेस्टुराँ मालिकहरूमध्येका सबैभन्दा प्रभावशाली व्यक्ति मानिन्छन् ।


देवी र मञ्जुले छानबिन चलिरहेको कुरा स्वीकार गरे पनि छानबिन आधारहीन भएको दाबी गर्छन् ।

हेल्सिन्गिन सानोमात देवी र मञ्जुलाई हेलसिन्कीमा भेट्न गएको थियो । अन्तर्वार्तामा देवीले घरेलु कामदारका बकवास कुरालाई लिएर प्रहरीले छानबिन शुरु गरेको बताए ।

“मैले उद्यमीको रूपमा लामो समयदेखि काम गर्दै आएको छु र धेरै कामदार ल्याएको छु । कर तिर्ने नेपालीहरूमाझ म १ नम्बरमा आउँछु । मप्रतिको ईष्र्याका कारण आधारहीन कुरा फैलाइएको हो ।”

हेल्सिन्गिन सानोमातले पत्ता लगाएअनुसार रेस्टुराँका मालिकहरू एक–अर्कासँग सम्पर्कमा रहन्छन् । एकदमै सुनियोजित तरिकाले उनीहरूको व्यापार सञ्चालित छ । नेपालीहरू भन्छन्— यदि कुनै कामदारले कुनै सरकारी निकायसँग उजुरी ग¥यो भने उसले कुनै पनि नेपाली तथा अन्य दक्षिण एसियाली रेस्टुराँमा काम पाउन अति नै मुस्किल हुन्छ ।


\"\"

नेपाली रेस्टुराँ मालिकमध्येका अर्का प्रभावशाली व्यक्ति हेमराज शर्मा ।


हेल्सिन्गिन सानोमातलाई अन्तर्वार्ता दिने एक व्यक्ति (जसले रेस्टुराँहरूको अवस्था बारेमा खबर राखेका छन्)का अनुसार रेस्टुराँ मालिकहरूले रेस्टुराँसम्बन्धी जानकारीहरू एक—अर्काबीच आदानप्रदान गर्छन् । उनी भन्छन्, “यदि कोही प्रहरीमा उजुरी गर्न गयो भने ऊ मालिकहरूको कार्टेलमा पर्छ र विस्थापित हुन्छ ।”

सुमन भन्छन्, “उजुरी गर्ने व्यक्तिले नेपाली रेस्टुराँ अथवा दक्षिण एसियाली रेस्टुराँहरूमा काम पाउन असम्भव हुन्छ । रेस्टुराँका मालिकहरू माफियासरह काम गर्छन् । यिनीहरू एक–अर्काका नातेदार पर्छन् र कामदारलाई शोषण गर्ने विषयमा एक–अर्कालाई सहयोग गर्दछन् ।”

फिनिसहरूबीच लोकप्रिय नेपाली रेस्टुराँमध्ये धेरैजसो ३० जनाजतिको स्वामित्वमा चलेका छन् । धेरैजसो मालिकहरू एकै क्षेत्र (गुल्मी)बाट आएका हुन् । उनीहरूबीच नजिकको सम्बन्ध र आर्थिक समन्वयता छ ।

रेस्टुराँहरूमा गरिने शोषणका बारेमा जानकारी प्रहरीलाई पनि छ ।

पूर्वी फिनल्यान्ड प्रहरी विभागका अपराध–कमिसनर मिन्ना इम्मोनेनका अनुसार रेस्टुराँका मालिकहरूले आफ्ना कामदार र नेपालस्थित उनीहरूका परिवारलाई समेत गम्भीर धम्की दिने गरेका छन् । उनी भन्छन्, “रेस्टुराँका मालिकहरू नजिकको सञ्जालमा रहन्छन्, एक—अर्कासँग समन्वय गर्छन् र कामदारहरूलाई कसरी कजाउने, आधिकारिक निकायलाई के–कस्तो जानकारी दिने विषयमा छलफल गर्छन् ।”

केही नेपालीहरूका अनुसार मालिकले उनीहरूलाई अर्कै रेस्टुराँमा काम गर्न पठाएका छन् । अन्तर्वार्ता दिने एक व्यक्तिले आफूलाई कामका लागि अर्कै शहरमा पनि पठाएको बताए ।

इम्मोनेनका अनुसार फिनल्यान्ड आउने केही व्यक्तिहरूलाई फिनल्यान्डको जीविकाको बारेमा झुठा जानकारीहरू दिइएको हुन्छ । भन्छन्, “केहीलाई भने दाससरह काम गरेको खण्डमा केही वर्षपछि आफ्नै रेस्टुराँ खोल्न सक्छौ र यी सबै कष्टबाट छुट्कारा पाउन सक्छौ भनिएको हुन्छ ।”

\"\"

एक नेपाली कुकको ओच्छ्यान । यो फ्ल्याट नेपाली रेस्टुराँ मालिकको हो । यो फ्ल्याटमा धेरै कुक बस्छन् । कुकहरूलाई प्रायः यसरी नै सुताइने गरिन्छ ।


देवी र मञ्जुले रेस्टुराँका मालिकहरूबीच कामदारलाई कजाउने र रेस्टुराँ सञ्चालनसम्बन्धी विषयमा हुने समन्वयको कुरा नकार्छन् । देवी भन्छन्, “रेस्टुराँका मालिकहरू कोही कामदार काममा राख्न लायक छ कि छैन भन्ने विषयमा कुरा गर्छन् । फिनल्यान्डमा पनि यस्तै हुन्छ । फिनिस कम्पनीहरूले पनि कुनै मान्छे विश्वास गर्न लायक छ/छैन भनेर जाँचबुझ गर्छन् ।”

शर्माले रेस्टुराँहरूमा हुने शोषणको आरोप नकार्छन् । भन्छन्, “यदि मालिकहरूले कामदारलाई पैसा दिँदैनन् भने किन उसले ६ वर्षसम्म एकै ठाउँमा काम गर्छ ? दुई महिनामै काम किन छोड्दैन ? उसले सीधै किन प्रहरीलाई उजुरी गर्दैन ?”

शर्मा थप्छन्, “म त्यस्तो मान्छेलाई आफ्नो कामदारका रूपमा राख्दिनँ, जसले प्रहरीमा पीडित भएको उजुरी गरेको हुन्छ । किनकि, यस्तो आरोप झुटो हो । त्यस्तो शोषण हुने गरेका छैन ।”

हेमराज र रामले पनि रेस्टुराँ सञ्चालनका विषयमा समन्वय हुने कुरा नकार्छन् । उनीहरूले शोषणको बारेमा पत्रिकामा पढेको तर यसको बारेमा अरू केही जानकारी नभएको बताए ।

सुमनले अन्त्यमा फिनिस रेस्टुराँमा काम पाउन सफल भए । यो काम कुनै दिन सकिन सक्छ भन्ने डर उनलाई छ । यदि यस्तो अवस्था आइपरेको खण्डमा उनी नेपाल फर्किनु पर्ने हुन सक्छ । कामदारहरूले आफ्ना समस्या सार्वजनिक नगर्नुको मुख्य कारण यही डर हो ।

\"\"

नेपाली रेस्टुराँ मालिकमध्येका अर्का प्रभावशाली व्यक्ति राम अर्याल ।


फिनल्यान्डमा कामको सुनिश्चितताका आधारमा मात्र कुकहरूले यहाँको प्रवास अनुमति पाउँछन् । यदि काम गयो भने उनीहरू आफ्नो देश फर्किनु पर्ने हुन सक्छ ।

कामको अवस्थाबारे गुनासो गर्‍यो भने मालिकहरूले कामबाट निकालिदिने धम्की दिन्छन् । स्थायी बसोबासको अनुमति पाएपछि मात्र कामदारहरूले यो चंगुलबाट मुक्ति पाउँछन् ।

कामदारले आफ्नो परिवार फिनल्यान्डमा ल्याएका छन् भने उनीहरूको अवस्था अझै दयनीय हुन्छ । किनकि, परिवारलाई फिनल्यान्डमा राख्न एउटा निश्चित परिधिको आय हुनु जरुरी छ र यो परिधि निकै नै उच्च छ ।

केही कामदारहरू एकदमै असहाय अवस्थामा छन् । उनीहरूमा सहयोग माग्न सक्ने क्षमता पनि छैन । कामका कारण भाषा पढ्ने समय हुन्न । पढ्न जान खोजे पनि मालिकहरूले बन्देज लगाउने कोसिस गर्छन् ।

धेरै मान्छेहरू आफूमाथि भइरहेको शोषणको बारेमा कुरा गर्न पनि चाहँदैनन् किनकि शोषकहरू उनीहरूका आफन्ती हुन् । नेपालीहरूका अनुसार रेस्टुराँका मालिकहरूले ‘प्रहरी र अपराधपीडित सहायता संस्था अथवा भिक्टिम सपोर्ट फिनल्यान्ड पनि आफ्नै पक्षमा रहेको’ हल्लासमेत फैलाएका छन् ।

विगत सात वर्षको अवधिमा २६० रेस्टुराँ कामदारहरू नेपालबाट आएका छन् । यीमध्ये धेरै कुकका रूपमा आएका हुन् ।

नेपालबाट विदेश पलायन हुनुको करण अति साधारण छ । “मानिसहरू यहाँ राम्रो जीवन जिउने अपेक्षामा आउँछन्,” कुओपियोमा काम गरेका सुमन भन्छन् ।

नेपाल संसारका सबैभन्दा गरिब मुलुकमध्येमा पर्छ । धेरैले परिवारको जीविकोपार्जनका लागि नेपालमा पैसा पठाउनु पर्ने हुन्छ ।

सम्पूर्ण परिवारका सदस्यहरूले फिनल्यान्डमा स्थायी रूपमा बसोबास गर्ने अनुमति पाएपछि बल्ल जीवन सहज हुने र फिनल्यान्डको सामाजिक सुरक्षामा बाँच्न पाउने आशा उनीहरूमा हुन्छ ।

हेल्सिन्गिन सानोमातलाई अन्तर्वार्ता दिने एक व्यक्ति भन्छन्, “मैले यी सबै शोषण सहनुको एउटामात्रै कारण हो— मेरा परिवारका सदस्यहरूले फिनल्यान्डमा पढ्न पाऊन् र राम्रो जिन्दगी जिउन पाऊन् ।”

काम पाउन पैसा तिर्नु नै पर्ने हुन्छ, जुन पैसा रेस्टुराँ मालिकहरूलाई जान्छ । मालिकको नजिकका केहीबाहेक पैसा तिर्नु पर्ने नियम सबैमा लागू हुन्छ ।

कहिलेकाहीँ रेस्टुराँका मालिकहरूलाई काम दिएबापत तिर्नु पर्ने रकम उनीहरूलाई ऋणको रूपमा भुक्तान गर्नु पर्ने हुन्छ । यस्तो भएको खण्डमा ऋणको सम्पूर्ण रकम भुक्तानी नभएसम्म बिनातलब काम गर्नुपर्ने हुन्छ ।

हेल्सिन्गिन सानोमातलाई अन्तर्वार्ता दिने धेरै व्यक्तिहरूका अनुसार रेस्टुराँ मालिकहरूले थप पैसा कमाउन कामदारहरूलाई सजिलैसँग यताउता काममा पठाउने र हेरफेर गर्ने गर्छन् ।

“यसरी हेरफेर गरेपछि लगातार नयाँ कामदार ल्याउन सकिन्छ । उनीहरूबाट फेरि पैसा असुल्न सकिन्छ,” एक नेपाली भन्छन् ।

पूर्वी फिनल्यान्ड प्रहरी कार्यालयका इम्मोनेन तथा केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी निरीक्षक तुइया हियतानियमीका अनुसार हेल्सिन्गिन सानोमातले उजागर गरेअनुसारका शोषण नेपाली रेस्टुराँमा व्यापक छन् ।

\"\"

मानव तस्करीको कारबाहीमा परेका रेस्टुराँ मालिक पूर्ण अधिकारीको घरमा भेटिएको नगद रकम ।


हियतानियमी भन्छन्, “कामदारहरूले यहाँ आउन ठूलो रकम तिर्ने गरेका छन् । त्यसपछि उनीहरूलाई अति दारुण अवस्थामा राखिन्छ । अति नै धेरै मात्रामा काम गराइन्छ । पीडितहरूले आफ्नो अवस्था बारेमा भन्ने आँट गर्न सक्दैनन् ।”

हेल्सिन्गिन सानोमातले पत्ता लगाएअनुसार काम शुरु गरेको पहिलो वर्ष कामदारहरूको लागि एकदमै कठिन हुन्छ । एक नेपाली भन्छन्, “एकदिन पनि छुट्टी नलिएर मैले दुई वर्षसम्म मासिक ३०० घण्टासम्म काम गरेको थिएँ । म देवी शर्माको राताकातुस्थित हिमालय रेस्टुराँमा काम गर्थें ।”

देवीले भने आफ्नो रेस्टुराँमा शोषण भएको कुरा नकारे ।

नेपालीहरूको करारनामामा कामदारहरूको तलब कानुनबमोजिम करअघि लगभग १८०० युरो हुने गरेको छ । तर, केही कामदारहरूले आफ्नो तलब मालिकलाई फिर्ता गर्नुपर्ने हुन्छ ।

केही कुकहरूले काम शुरु गरेको पहिलो वर्षमा पटक्कै तलब पाएका हुँदैनन् । केहीलाई भने कहिलेकाहीँ केही सय अथवा हजार युरो दिने गरिएको छ । कुनै–कुनै ठाउँमा मालिकले कामदारहरूको बैंक कार्ड र नेट बैंक कोडहरू पनि आफ्नो नियन्त्रणमा राख्ने गरेका छन् ।

कसै–कसैले करारनामामा जनाइएको मासिक तलबमात्रै पाउने गरेका छन् । यो हिसाबले घण्टाको तलब एकदमै न्यून हुन जान्छ किनकि उनीहरूले महिनामा २५० देखि ३०० घण्टासम्म काम गर्ने गर्छन् ।

उनीहरूलाई दिइने तलब रेस्टुराँ क्षेत्रका मानिसहरूले साधारण रूपमा पाउनु पर्ने तलबभन्दा एकदमै फरक किसिमको छ । उदाहरणका लागि मासिक २५० घण्टा काम गर्ने कुकले पाम (PAM) को सम्झौताअनुसार मासिक तलब ३६३७ युरो पाउनुपर्ने हुन्छ ।

फिनल्यान्डमा लामो समय बसोबास गरेपछि प्रायः थोरै घण्टा काम गर्नुपर्ने अवस्थामा आइपुगिन्छ । त्यतिबेला जीवनस्तर नेपालको भन्दा राम्रो भइसकेको हुन्छ ।

एक नेपाली भन्छन्, “कामदारले जति धेरै फिनल्यान्डका नियम–कानुनबारे जानेका हुन्छन् र फिनिस वा अंग्रेजी बोल्न सक्छन्, त्यसकै आधारमा उनीहरूप्रतिको व्यवहार बदलिन्छ र राम्रो व्यवहार शुरु हुन थाल्छ ।”

जसरी नेपालबाट फिनल्यान्डमा कामदारहरू ल्याइन्छ, त्यसरी नै फिनल्यान्डबाट नेपालतर्फ पैसा पठाइन्छ ।

\"\"

मानव तस्करीको कारबाहीमा परेका रेस्टुराँ मालिक पूर्ण अधिकारीको घरमा भेटिएको नगद रकम ।


शोषणमार्फत रेस्टुराँ क्षेत्रमा धेरै ठूलो आर्थिक आर्जन हुन्छ र कालो धनको चलखेल हुन्छ । हेल्सिन्गिन सानोमातलाई अन्तर्वार्ता दिने धेरै व्यक्तिले यो चलखेल आफ्नै आँखाअगाडि हुने गरेको बताए ।

देवीको रेस्टुराँ र उनको घरमा घरेलु कामदारको रूपमा काम गरेकी लक्ष्मीले हेल्सिन्गिन सानोमातलाई दिएको जानकारीअनुसार नगद पैसा महिनामा २० हजारसम्म पनि हुने गर्छ । देवी भने आफ्नो रेस्टुराँमा कालो धनको चलखेल हुने कुरा नकार्छन् ।

नगद पैसाको अधिकतम भाग नेपाल पठाइन्छ । नजिकका व्यक्तिहरू नेपाल जाँदा उनीहरूमार्फत नगद पैसा पठाइन्छ ।

लक्ष्मीले दुईपटक नेपालमा पैसा बोकेर पठाएको बताएकी छन् । देवीले भने यो कुरा अस्वीकार गरे ।

यो समस्या नेपाली रेस्टुराँहरूमा मात्र सीमित छैन । धेरैजसो दक्षिण एसियाली तथा चाइनिज रेस्टुराँमा पनि यस्तै समस्या देखिन्छ ।

कहिलेकाहीँ मात्र यो शोषण सतही रूपमा देखा पर्ने गरेको छ । पछिल्ला वर्ष फिनल्यान्डमा मानव तस्करी गरेबापत भियतनामी, बंगलादेशी र भारतीय रेस्टुराँका मालिकलाई कानुनी कारबाही गरिएको थियो । यस्तो कारबाही भोग्ने नेपाली दुई जना थिए ।

रेस्टुराँ छानबिनको जिम्मेवारी सरकारी निकाय आलुएहालिन्तो भिरास्तो (AVI) अन्तर्गत रहन्छ । यो निकायले कामको अवस्था, सुरक्षाको निरीक्षण र निगरानी राख्ने काम गर्छ ।

दक्षिणी फिनल्यान्डको आलुएहालिन्तो भिरास्तोका निरीक्षक कात्या–पिया येनुका अनुसार निरीक्षकहरूले गहिरो रूपमा अनुसन्धान गर्ने मौकै पाउँदैनन् किनकि रेस्टुराँ मालिकहरूले प्रायः निरीक्षकहरू आउनुअगावै सबै तयारी गरिसकेका हुन्छन् ।

कामदारहरूले समस्याको बारेमा भन्दैनन् । निरीक्षक आउँदा के भन्नुपर्छ भनेर सबै सिकाइएको हुन्छ ।

फिनिसहरूले नेपाली रेस्टुराँबाट मनग्य खाना किन्छन् । रेस्टुराँहरूमा गरिने शोषणलाई मनन गर्दा उपभोक्ताले यी रेस्टुराँमा खाना खानेबारेमा सोच्नु पर्ने अवस्था आउँछ । तर, खाना खानै बन्द गर्ने हो भने त्यसमा आश्रित कामदारहरूको रोजीरोटीमा झन् अप्ठ्यारो अवस्था सिर्जना हुनेछ । यदि खाना खान जाने हो भने कामदारहरूको शोषणलाई समर्थन गरेको देखिनेछ ।

बेइमान व्यवसायीले इमान्दार व्यवसायीलाई हानि पुर्‍याउँछन् । फिनल्यान्डमा नयाँ रेस्टुराँहरू लगातार खोलिँदै छन् । गत महिनामा मात्र फिनल्यान्डका विभिन्न भागमा नयाँ नेपाली रेस्टुराँहरू खोलिएका छन् ।

\"\"

मानव तस्करीको कारबाहीमा परेका रेस्टुराँ मालिक पूर्ण अधिकारीको घरमा भेटिएको नगद रकम ।


सुमन फिनल्यान्डमा करिब चार वर्षपहिले आएका थिए । उनी नेपाल फर्कन चाहँदैनन् । “त्यहाँ जे पनि हुन सक्छ,” उनी भन्छन्, “नेपालमा १–२ हजार युरो दिएर मलाई मार्न लगाउन पनि सक्छन् ।” सुमनले आफ्ना पूर्व मालिकका नजिकका व्यक्तिबाट धम्कीपूर्ण सन्देशहरू पाएको बताए ।

सुमनले ठगिएको तलब फिर्ता पाएका छैनन् । प्रहरीले रेस्टुराँका मालिकको जायज्यथाबाट २ लाख युरोभन्दा बढी रकम जफत गरेको थियो । तर, कर प्रशासनले पीडितहरूले क्षतिपूर्ति पाउनुभन्दा अघि नै आफ्नो भागसहित यो रकम लिएर गइसकेको थियो ।

यो महिनामा सुमनले पहिलो क्षतिपूर्तिस्वरूप १६७.२५ युरो प्राप्त गरेका छन् ।

कुओपियोमा ‘माउन्ट शेर्पा’का मालिकले आफ्नो व्यापार चलाइरहेका छन् । मानव तस्करीका पीडितमध्ये एक जना अझै पनि त्यो रेस्टुराँमा काम गर्छन् । केही हप्तापहिले सरकारी निकायले त्यो रेस्टुराँमा फेरि छापा मारेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १४, २०७६  ०६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC