site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जमिनः स्रोत, साधन वा वस्तु ?

ललिता निवास, बालुवाटारको जग्गा प्रकरणमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव पूर्वअर्थमन्त्री विष्णु पौडेल नै ठगिएको धारणा नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले सार्वजनिकरूपमै प्रकट गरेका छन् । सामाजिक सञ्जाल तथा सार्वजनिक माध्यमहरूमा चलिरहेको बहस हेर्दा जनता सरकारका प्रवक्ताको धारणा स्वीकार गर्न तयार नभएको देखिन्छ । हुनत, सञ्चार, तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको भाषा र तर्क शैलीबाट जनता यसै बिच्किन्छन् । त्यसमाथि सरकारका प्रवक्ताले पार्टीका महासचिवको व्यक्तिगत कारोबारको जिम्मा नलिएको भए हुन्थ्यो भन्ने मनमा राखेर बास्कोटाको भनाइ नियाल्नेहरूलाई उनको मनसायमै शंका लाग्नु स्वाभाविक नै हो । सरकारको प्रवक्ताले नै सरकारको सम्पत्ति व्यक्तिले लैजाँदा लाने मानिस नै ठगियो र उसले क्षतिपूर्ति पाउनुपर्छ भनेर भन्छ भने त्यो ‘चामलसँग पीठो साँट्ने’ बठ्याइँभन्दा बढी हुन पुग्छ । जनता मनमनै हाँसी रहेछन् । उनीहरूको आफ्नै मूल्यांकन हुन्छ । जनताले हरेक दिन मूल्यांकन गरिरहन्छन् र एक दिन त्यसले नतिजा दिन्छ ।

सरकारको प्रवक्ताजस्तो मानिस वा सत्तारुढ पार्टीको महासचिव, जमिनको विषयमा यसरी फस्नुले हामीले कस्तो प्रकारको राष्ट्रिय राजनीतिक तथा आर्थिक कल्पनाको पक्षपोषण गरिरहेका छौँ भन्ने देखाउँछ । जमिनको आफ्नै निरपेक्ष मूल्य हुँदैन । तर, हामी जमिनलाई सुनको प्रतिस्थापनको हैसियतमा व्यवहार गरिरहेका छौँ । सुन वा नगद भनेका आफैँमा अन्तर्निहित मूल्य बोक्ने पदार्थ हुन् । पुँजीवादी व्यवस्थामा सबै कुराको वस्तुजस्तै मूल्य हुन्छ । यस व्यवस्थाले सबै कुरालाई बजारमा विनिमयको वस्तु मान्छ । शिक्षालाई विनिमयको वस्तु मानेर चिकित्सा शास्त्रको स्नातक तहको उपाधि ६०–७० लाखमा विक्री हुने वस्तु बनायौँ । निजी शिक्षण संस्थाबाट हामीले सेवा खरीद गर्दा अतिरिक्त कर तिर्ने, निजी अस्पतालबाट सेवा प्राप्त गर्दा अतिरिक्त कर तिर्ने प्रणाली हामीले आवलम्बन गर्यौँ । डा. रामशरण महतको अर्थतन्त्रको विकृत अभ्यासलाई निरन्तरता दिने क्रममा हामीले शिक्षा, स्वास्थ्य र जमिनलाई बजारमा विनिमय हुने वस्तुमा रूपान्तरण गर्यौँ । जसले यी वस्तुहरू आफ्नो स्वामित्वमा राख्छ, त्यो धनी हो । जोसँग जमिन हुँदैन, त्यो गरिब हो । वर्तमान पुँजीवादी अर्थतन्त्रको आर्थिक सफलताको प्रमुख मानक भनेको जमिनमाथि स्वामित्व स्थापित गर्न सक्षम हुनु हो । यही भुलभुलैयामा डुबेका हुन् नेकपा (नेकपा)का महासचिव र उनको बचाउ गर्न उत्रने नेपाल सरकारका प्रवक्ता ।

जमिनमा अन्तरनिहित मूल्य हुन्छ भन्ने मान्ने राजनीतिक व्यवस्थामा बैंकहरूले जमिनको निरपेक्ष मूल्यांकन गर्ने प्रणाली निर्माण गर्छन् । मानिसमा जमिनमा लगानी गर्नु भनेको पुँजी बजारमा लगानी गर्नु हो भन्ने मान्यता स्थापित हुन्छ, गरिन्छ । यसरी मानिसहरूले जमिनलाई उत्पादनको स्रोत वा उत्पादनको साधन नमानेर पुँजीको विस्तारको रूपमा बुझ्न थाल्छन् । हो, वर्तमान समयको सबैभन्दा ठूलो बिरोधाभाष यहीनेर छ । यो राजनीतिक–आर्थिक प्रणालीमा हरेक व्यक्तिलाई घरेडीका लागि जग्गा प्राप्तितर्फ लालयित गराइन्छ । एउटा व्यक्ति थुप्रै घरेडीको मालिक हुन्छ । घरेडीको लागि टुक्राइएको जमिन पुनः उत्पादनका लागि प्रयोग हुँदैन । त्यस्तो जमिनबाट हुने उत्पादन भनेको घर निर्माण भएपछि घर भाडाबापतको नगद हो । यो पनि पुँजीवादको विस्तार नै हो । यस्तो उत्पादनले मानिसहरूलाई प्रयत्नबिना नै बाँच्ने आधार प्रदान गर्छ र त्यस्तो आधारमा निर्माण भएको वर्ग नै उभोक्तावादी संस्कृतिको इमानदार कार्यकर्ता हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उपभोक्तावादी संस्कारलाई संस्थागत गर्न सबैभन्दा पहिले जमिनको उत्पादनसँगको सम्बन्ध विच्छेद गर्नुपर्ने थियो । त्यो बाबुराम भट्टराईको आर्थिक नीतिमार्फत सफलतापूर्वक सम्पन्न भयो । उनले कालो धनलाई बजारमा ल्याउन दिएको स्वीकृतिले घरजग्गाको कारोबारमा सबैभन्दा ठूलो सकारात्मक असर परेको थियो । त्यसै युगमा मानिसले जुन ठाउँको जस्तो जग्गालाई पनि घडेरीको रूपमा हेर्न थाल्यो । आफ्ना छोराछोरीलाई युरोप, अमेरिका र अस्ट्रेलियामा स्थापित गराउन चाहने नवधनाड्य वर्गलाई गाउँघरका भिरपाखा पनि प्रिय लाग्न थाले । कुनै पनि प्रकारले बस्तीको विस्तारको संभावना नभएका स्थानहरू, मानिस जलाउने चिहानहरू पनि घरेडीमा रूपान्तरण हुन पुगे । हो, विभिन्न आर्थिक नीतिहरूको प्रयोगपश्चात नेपाली समाजमा उपभोक्तावादी संस्कृतिलाई असाध्यै उन्नत प्रकारले स्थापित गर्न जमिन र उत्पादनबीचको सम्बन्ध पुनस्र्थापना गर्न नसकिने गरी विच्छेद गरिएको छ । यही जगमा टिकेर समाजमा पुँजीवाद र उपभोक्तावादले आफूलाई चिन्तनको दिशा निर्धारण गर्ने शक्तिको रूपमा आफूलाई स्थापित गरेका छन् । यद्यपि, सरकार आफ्नो समाजवादतर्फको रटान, समृद्धिको सपना र विकासको कल्पना भट्याएर थाकेको छैन । समाजको वास्तविक चरित्रलाई विस्मृतिको गर्भमा धकेलेर समाजिक अन्तर्विरोधलाई मलजल गरेर पनि सार्वजनिक कार्यक्रममा उपस्थित हुँदा सरकार ऊर्जावान नै देखिन्छ ।

वर्तमान शक्तिशाली सरकारले दीर्घकालीनरूपमा जमिनलाई उत्पादनको स्रोत वा साधन बनाउनका लागि यसलाई खुला बजारको विनियमयको वस्तु होइन भनेर स्वीकार्नु पर्छ । तर, त्यस्तो संभावना र त्यसतर्फ केन्द्रित नीति आउने संभावना नै देखिँदैन । जमिनको निरपेक्ष मूल्य हुन्छ भनेर स्वीकार गर्ने व्यक्ति कुनै पनि प्रकारले समाजवादी चिन्तनको परम्परामा अट्न सक्तैन । जमिन भनेको उत्पादनको स्रोत वा साधन हो र त्यस्तो स्रोतबाट वा त्यो साधन प्रयोग गरेर सृजित हुने वस्तुको मात्र मूल्य हुन्छ भनेर मान्ने हो भने जमिन र मानिसको अन्तरक्र्रियाबाट मात्र मूल्य सृजना हुन्छ भनेर स्वीकार गर्नुपर्ने हुन्छ । प्रकारान्तरले बैंकहरूले जमिनलाई धितो मानेर ऋण प्रवाह रोक्नुपर्ने हुन्छ । जमिनलाई निरपेक्ष मूल्यको स्रोत मानेर जसरी ऋण प्रवाह भएको छ त्यसले पुँजीमाथि पहुँच हुने एउटा सानो वर्गले बजारलाई कसरी आफ्नो बायाँ हातका औँलामा खेलाई रहेको छ भन्ने बुझ्न घरजग्गामा बैंकले प्रवाह गरेको ऋणको हामीले वास्तविक मूल्यांकन गर्नुपर्ने हुन्छ । 

Global Ime bank

उपभोक्तावादी संस्कृतिको जगमा टिकेको भुइँफुट्टा पुँजीवादको पृष्ठपोषण गर्ने यो सरकारले अगाडिका सरकारले झैँ जमिनलाई बजारको विनिमयको वस्तु मानेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाबाट पनि यस दिशामा कुनै काम होला भन्ने आशा गर्नु व्यर्थ हुनेछ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहँदा र नेपाल राष्ट्र बैंकको गभर्नर रहँदो गरेका निर्णय र तय गरेका नीतिबाट यिनले कसको सेवा गर्छन् भन्ने बुझ्न सकिन्छ । डा. महतले जस्तै डा. खतिवडाले संस्थागत गर्ने भनेको उपभोक्तवाद नै हो । यस अर्थमा यी दुवै एकअर्काका परिपूरकमात्रै हुन् । यसरी राजनीतिक संरक्षणमा रहेको उपभोक्तावादले जमिनलाई कुनै पनि अर्थमा उत्पादनको स्रोत वा साधन मान्दैन ।

जमिनलाई खुला बजारको विनिमयको वस्तुको हैसियतबाट रूपान्तरण नगर्ने हो भने नेकपाका महासचिव विष्णु पौडेलमात्र होइन उनको बचाउमा उत्रने सरकारका प्रवक्ता गोकुल बास्कोटालगायत जो कोही पनि नांगिन पुग्छ । आफ्नो लाज आफैँले जोगाउने हो । लोभलाई नीतिगतरूपमा नियन्त्रण गर्न सकिएन भने नीतिमा पारिएका छिद्रहरूबाट अरूका मान्छेमात्र होइन हाम्रा घनिष्ट, वरिष्ट, कनिष्ट सबै छिर्न पुग्छन् । त्यस्तो समयमा कुतर्क गरेर आफूसँग भएको थोरै इज्जत गुमाउनुभन्दा समयमा नै नीतिगत रूपमा देखापरेका त्यस्ता विकृति पञ्छाउनु बुद्धिमानी हुने देखिन्छ ।

ललिता निवासको जमिन सरकारले निर्णय गरेर फिर्ता ल्याउन त सक्छ र ल्याउने पनि छ । तर यो राष्ट्रका हरेक स्थानमा भएका चलखेलहरूका लागि सरकारले छुट्टाछुट्टै निर्णय गर्ने र प्रत्येक मुद्दाको लागि संघीय सरकारले अगल शीर्षकमा ऊर्जा खर्च गर्नु बुद्धिमानी होइन । मानिसलाई घरेडी आवश्यक हुन्छ तर एउटा मानिसलाई दुई तीनवटा घरेडी अनावश्यक हो । जग्गालाई टुक्राएर घरेडीमा जहिले, जसरी मन लाग्छ त्यसरी परिणत गर्न पाउने अधिकारमाथि नियमन हुनुपर्छ । यसका लागि कानुनी समाधानको बाटो खोजिनु पर्छ । जमिनलाई वस्तु नमानेर स्रोत र साधन हो भन्ने तर्फ केन्द्रित भू उपयोग नीति ल्याएर जमिनमाथिको स्वामित्व प्राप्तिलाई सफलताको एकल मानकबाट विस्थापन गर्ने नीति राज्यले अवलम्बन गरे नेतृत्वमा रहनेहरूले कलंकको टीका लगाउनुपर्ने छैन ।  


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC