विदेश
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्पले उनकी प्रतिस्पर्धी डेमोक्रेटिक उमेदवार हिलारी क्लिन्टनको इमेल ह्याक गरेर प्रकाशित गर्न रुसी राष्ट्रपति भ्यादिमिर पुटिनलाई आग्रह गरेका छन् । दी न्यु योर्क टाइम्सले बिहीबार जनाएअनुसार फ्लोरिडाको एक कार्यक्रममा बोल्दै ट्रम्पले पूर्व विदेशमन्त्री क्लिन्टनका हराएका इमेलहरू खोज्न र रुससँग भएका जानकारी सार्वजनिक गर्न आह्वान गरेका हुन् ।
प्रतिस्पर्धी र कुनै बेलाको शत्रु राष्ट्रलाई आफ्नो मुलुकविरुद्ध जासुसी गर्न उक्साउने उनको आह्वानलाई असामान्य टिप्पणीका रूपमा लिइएको छ । यस्तै विवादास्पद अभिव्यक्तिबाटै चर्चाको शिखरमा पुगेका ट्रम्पले रिपब्लिकन पार्टीका हस्तीहरूलाई हराएर उमेदवारी हात पारेका थिए ।
रुसी सरकारले अमेरिकी राष्ट्रपति निर्वाचनमा प्रभाव पार्ने प्रयास गर्ने सन्देह बढ्दै गएका बेला व्यक्त ट्रम्पको अभिव्यक्तिले थप शंका बढेको टाइम्सले जनाएको छ । टाइम्सका अनुसार डेमोक्रेटिक पार्टीको केन्द्रीय समितिको कम्प्युटर सर्भर ह्याक गर्नमा रुसी सरकारको हात हुनसक्नेमा अमेरिकी गुप्तचर संस्थाहरू पूर्ण विश्वस्त रहेको बेहोरा राष्ट्रपतिलाई दिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, साउन १३, २०७३ ०६:५३
प्रतिक्रिया दिनुहोस्