काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज उत्तर तर्फको छिमेकी चीनको राजकीय भ्रमणकालागि त्यसतर्फ प्रस्थान गर्ने भएकी छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले बाह्रखरीलाई जानकारी दिएअनुसार उनी बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनको भ्रमण ९ दिने हुनेछ ।
उनी बेइजिङमा भोलिबाट शुरु हुने बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआइ) सम्बन्धी दोस्रो सम्मेलनमा भाग लिनुका साथै चिनियाँ समकक्षी सी जिनपिङसँग दुई पक्षीय वार्तामा समेत सहभागी हुने छन् । फोरमसमेत गरी तीन महत्वपूर्ण कार्यक्रममा सहभागी हुनुहुने भएको छ । राष्ट्रपति भण्डारीको यो भ्रमणलाई चीनले निकै महत्व दिएको कुटनीतिक क्षेत्रले बताउँदै आएको छ ।
भ्रमणका क्रममा आपसी सहयोगका केही समझदारीमा हस्ताक्षर पनि हुने कार्यक्रम रहेको बताइएको छ । राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने अन्तर्राष्ट्रिय बागबानी सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम रहेको छ । बेइजिङ पुग्नुअघि राष्ट्रपति भण्डारीले चीनको सान्सी प्रान्तको राजधानी सियानको भ्रमण गर्ने र स्वदेश फर्कँदा चीनको स्वशासित क्षेत्र तिब्बतको पनि भ्रमण गर्ने बताइएको छ । उनी बैशाख १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।