कोलम्बो । श्रीलंकामा त्यहाँको सरकारले गएराति १२ बजेदेखि संकटकाल लागु गरेको छ । संकटकाल लागु भएपछि सुरक्षाकर्मीले अदालतको आदेश बिना पनि शंकास्पद स्थानमा खानतलासी गर्न सक्नेछन् । गएको आइतबार श्रीलंकाका चर्च र होटलमा समेत गरी ८ स्थानमा भएको विस्फोटमा परी २९० जना मानिसको ज्यान गएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए ।
सोमबार पनि राजधानी कोलम्बोको सडकमा विस्फोट हुनुका साथै स्थानीय बन्दरनायके विमानस्थलमा जाने बाटो छेऊमा राखिएको पाइप बम सुरक्षाकर्मीले निस्कृय पारेका थिए ।
अमेरिकी र भारतीय गुप्तचरले पहिल्यै दिएका थिए सूचना
गएको आइतबार भएको सो बमकाण्ड सम्बन्धी सूचना पहिला नै श्रीलकाको गुप्तचर निकायलाई अमेरिका र भारतका गुप्तचर निकायले जानकारी दिएको बताइएको छ ।
सो सूचनामा त्यसप्रकारको घटना हुन सक्ने जानकारी गराइएको थियो । प्रहरीका विभिन्न निकायमा त्यसखालको सूचना गएको भएपनि त्यसलाई सुरक्षा निकायले त्यति गम्भीरतापूर्वक नलिएको जस्तो देखिएको बताइएको छ । यसले गर्दा श्रीलंकाका सरकारी निकायबीच नै आरोप प्रत्यारोपको अवस्था सिर्जना भएको छ ।
साथै प्रधानमन्त्री रणील विक्रमासिंघेलाई समेत सो सम्बन्धी जानकारी पहिला नै नदिइएको बताइएको छ । गएको वर्ष श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विक्रमासिंघेलाई प्रधानमन्त्री पदबाट हटाएर महेन्द्रा राजपक्षेलाई नयाँ प्रधानमन्त्री बनाएका थिए ।
तर, त्यहाँको अदालतको आदेश र संसदमा पनि उनकै पक्षमा बहुमत भएका कारण विक्रमासिंघे नै पुनः प्रधानमन्त्रीमा कायम रहेका थिए । तर, अहिलेको अवस्थामा गुप्तचरी सूचना आदानप्रदानमा देखिएको समश्यालाई हेर्दा राष्ट्रपति र प्रधानमन्त्रीबीचको मनमुटावको तुष अझै बाँकी रहेको जस्तो देखिएको छ ।
कसरी यस्तो भयो भन्ने बारेमा अनुसन्धान गर्नका लागि राष्ट्रपतिले त्यहाँको सर्बोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा सोमबार छानबिन समिति गठन गरेका छन् । शहरी योजना सम्बन्धी मन्त्री राउफ हकिमले आइतबारको घटना गुप्तचर निकायको असफलताका कारण भएको आरोप लगाएका छन् । उनले भनेका छन्,‘‘यो हामी सबैका लागि लाजमर्दो कुरा हो । यो घटनाबाट हामी सबै लज्जित भएका छौं ।”
दूरसञ्चार सम्बन्धी मन्त्री हरिन फर्नान्डोले ट्विट गर्दै भनेका छन्,‘‘यो घटनाका बारेमा केही गुप्तचर अधिकारीहरु पहिला नै जानकार थिए । एक्सनमा उत्रिन भने ढिला भयो । किन त्यस सम्बन्धी चेतावनीलाई अवज्ञा गर्ने काम भयो गम्भीर कदम चाल्नु आवश्यक छ ।’’
प्रहरीले अहिले सम्म २४ जनालाई पक्राउ गरेको जनाएको छ । श्रीलंकाली अधिकारीहरुले आइतबारको घटनाको कुनै अन्तर्राष्ट्रिय निकायको सहयोगमा छानबिन हुनुपर्ने जनाएका छन् । सरकारले स्थानीय जेहादी समूह नेशनल तौहिद जमातलाई सो घटनामा संलग्नको रुपमा नाम लिएपनि अझै कसैले पनि औपचारिक रुपमा घटनाको जिम्बेवारी लिएको पाइएको छैन ।
(बीबीसी तथा अन्य एजेन्सीको सहयोगमा)