site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पर्वतदेखि अष्ट्रेलियासम्म, ट्राभल एजेन्सीदेखि चलचित्रसम्म
Sarbottam CementSarbottam Cement

ओम गुरुङ कक्षाका चल्तापूर्जा विद्यार्थी । पर्वत चित्रे छँदै उनले मनमा सहरको सपना कुँदेका थिए, एलएलसी पास भएपछि काठमाडौं झर्छु, साइन्स पढ्छु, डक्टर बन्छु । भिनाजु (बलबहादुर गुरुङ) खानेपानी संस्थानका सेकेन्ड क्लास अफिसर थिए । उनले भने, “एग्रिकल्चरमा भविष्य राम्रो छ । एग्रिकल्चर पढ्यो भने एकैपटक थर्ड क्लास अफिसर भइन्छ ।” त्यसैले उनले ओमलाई लम्जुङको सुन्दर बजारमा रहेको कलेजमा एग्रिकल्चरमा भर्ना गरिदिए । 

कहाँको पोखरा, कहाँको सुन्दर बजार । कहाँको गाउँ, कहाँको सहर । कहाँ मन परेको साइन्स, कहाँको एग्रिकल्चर । डाक्टर बनेर काँधमा स्टेथेस्कोप भिरेर बिरामीको धड्कन नाप्दै हिँड्ने डाक्टरको सान सौकत, कहाँको तरकारी र धान खेतीमा लागेको रोग र किराको पहिचान गर्ने जेटिए । 

गाउँको गाउँ नै बस्ने हो म जिन्दगीभर ? 

Prabhu Bank
Agni Group
NIC Asia

अन्तर संघर्षले मन बेचैन हुन्थ्यो । करिब एक महिना पढेका थिए होला ओम । विद्रोह गरे । भिनाजुले भने, “मैले भनेको मान्दैनस् भने जे मन लाग्छ गर् ।” 

पढाइ छोडे ओमले । झरे पोखरा सहर । साइन्समा भर्ना भए । साइन्स पढ्न पनि कहाँ सजिलो थियो र ? एक्लै बस्नुपर्ने । साथीहरूभाइहरूको त्यस्तै सङ्गत । साइन्सका मोटामोटा ठेली कण्ठस्थ पार्नुपर्ने । घरको आर्थिक अवस्था सवल थिएन । संघर्ष नै गर्नुपथ्यो पढ्नलाई पनि । ओमले थाहा पाए साइन्स पनि मेरा लागि होइन रहेछ । 

Global Ime bank

विकल्प ?

संकाय परिवर्तन गरे । साइन्स छोडे । कमर्स पढ्न थाले । साथीभाइ त्यस्तै फेला परे । पढ्न उत्प्रेरित गर्नेभन्दा पनि पढेर के हुन्छ ? भन्नेहरूको बाहुल्यता थियो । 
पहिलो वर्षको परीक्षा त दिए । तर नतिजा पक्षमा आएन । 

गोरखपुरको दुःख 
ठिक त्यही बेला ओमलाई बुवाले भने, म तँलाई पढ्न पैसा पठाउने अवस्थामा म छैन । अब लाहुर जानुपर्छ । हिँड जाऊँ । भारतीय सेनाका अवकास प्राप्त बुवाले ओमलाई लिएर पुगे गोरखपुर । इन्डियन आर्मीमा भर्ती गराउन । 

बुवाले चिनेजानेकालाई भनसुन गरे । दाजु पनि इन्डियन आर्मीमै थिए । बुवाले सेनाका उच्च अधिकारीहरूसँग भेटाइदिए । उनको कुरा खाने रहेछन् केही भारतीय आर्मीमा । ओमलाई जागिर हुन्छ भने । तर प्रकृया पुर्याउनै पर्ने थियो । सहभागी भए ओम भर्ती प्रक्रियामा । 

बुवा फर्किएर आए । ओम एक्लै भए । छाती, हाइट नाप्ने, दौडिने काम सुरु भयो । दिनकै हुँदैन थियो । बोलाएको समयमा जान्थे । राम्रै भइरहेको थियो । 

०३८ सालमा गोरखपुरको दुःख सम्झिए ओमले, “गेष्ट हाउसमा बस्न गयो । कोठा देखाइदिन्थे । साँझ सुत्न गयो । एउटा कोठामा १२–१५ जना हुन्थे सुत्ने । टाउको राख्ने ठाउँ पनि हुँदैन थियो । खचाखच हुन्थे सुत्ने मान्छे । भात खाएको पैसा मात्रै लिन्थे गेष्ट हाउसमा । सुतेको पैसा लिँदैन थिए त्यो बेला । भेडाबाख्रा कोचिएझैं कोचिएर सुत्नुपथ्र्यो ।” 

बुवा घर फर्किसकेका थिए । कोठामा १२–१५ जना बस्नुपथ्र्यो । चिनेको कोही हुँदैन थियो । आफ्नो सामान बचाउन पनि नसकिने अवस्था थियो । त्यसैले उनी गए इन्डियन आर्मीको लङ्गर हाउस । जहाँ लामो टहरोभित्र तख्ता जाडेर बनाइएका लहरै खाट राखिएको हुन्थ्यो । “भर्ती केन्द्रमा एक सुका तिरेपछि एउटा कम्बल दिन्थ्यो । मोहर तिर्छु दुइटा देऊ न भन्दा पनि नदिने नियम थियो,” ओमले सुनाए त्यो दुःख, “माघको चिसो महिना थियो । एउटा कम्बल ओढे ओछ्याउन छैन । ओछ्याए ओढ्ने छैन । त्यसैले आधी ओछ्याएर आधी त्यही ओढ्थेँ । जाडोले लुगलुग कमाउँथ्यो ।” 

भर्तीको क्रम थियो । दिनकै पालो हुँदैन थियो । बोलाएको दिन मात्रै जानु पथ्र्यो । नबोलाएको दिन ओम सिनेमा हेर्न जान्थे । पोखराको पूर्णिमा हलमा सिनेमा हेरेका उनले गोरखपुरको सिनेमा हलमा अचम्म देखे । त्यहाँ त एकै समयमा एउटै हलमा दुईटा चलचित्र प्रदर्शन हुन्थे । अथवा एउटै सिनेमा घरमा दुईटा स्क्रिन । जुन हेर्न मन छ, छानेर हेर्न पाइने ।  

वेटिङ लिष्टमा राख्यो ओमलाई भारतीय सेनाले । तर त्यो २८ दिन गोरखपुरमा जसरी गुजारे ओमले त्यो दुःख फेरि भोग्ने आँट उनमा बाँकी थिएन । त्यसैले उनी गोरखपुर फर्किएनन् । 

बुवाले भने, “तँ मैले भनेको मान्दैनस् । पढ्छु मात्रै भन्छस् । कस्तो पढ्छस् त्यो पनि थाहा छैन । पैसा थेग्न पनि म सक्तिन । जे गर्छस् गर् ।”

भिनाजुकै शरण 
न रह्यो परिवारको साथ । न थियो खल्तीमा दाम । 

गर्ने के ? 

चुनौतिको पहाड थियो । काँधमा जिम्मेवारीको भारी थियो । घरबाट सहयोग हुन छोड्यो । विकल्पमा सोचे ओमले काठमाडौं । भिनाजुलाई भने, “पढाई राम्रो गर्न सकिनँ । काठमाडौं नै आउँछु । तपाईंसँगै बस्छु नि हुन्छ ?” 

भिनाजुले भने, “पढाईमा त तैले राम्रो गर्न सकिनस् । तँलाई जागिर खोजिदन्छु । काम गर् अब ।” 
ओमका लागि काठमाडौं जानपहिचान थिएन । न काठमाडौं आफ्नो थियो । न काठमाडौंलाई उनको खाँचो थियो । मात्रै उनलाई काठमाडौंको खाँचो परेको थियो । काठमाडौंलाई आफ्नो बनाउनु थियो । 

जीजिविशा धान्न सजिलो थिएन । सँधै अर्काकोमा बसेर जिन्दगी चल्दैन थियो । त्यसैले काम त गर्नु नै थियो । 

गाउँकै दिदी पर्नेको ट्राभल एजेन्सी थियो न्युरोड गेटमा, ‘पोखरा ट्राभल एजेन्सी ।’ 

शैक्षिक ‘क्वालिफिकेसन’ एसएलसी पास मात्रै थियो । राम्रो जागिर के पाइन्थ्यो र ? 

अफिस असिस्टेन्टको जागिर मिल्यो । सुरु गरे । ०३९ सालको जिन्दगीको कथा सुनाउँछन् ओम, “पुल्चोकमा कोठा थियो । ४५० रुपैयाँ तलब थियो । ११० रुपैयाँ घर भाडा तिर्थे । १७० रुपैयाँमा एक महिना खाना खाएको तिर्नुपथ्र्यो । अफिस जान १ सुका र फर्किदा १ सुका साझा बसमा भाडा तिर्नुपथ्र्यो । 

रञ्जना सिनेमा हल अगाडि होटल थियो । आरसी मःमः निकै लोकप्रिय थियो । प्लेटको २ रुपैयाँ २५ पैसा पथ्र्यो । खाजाका रुपमा त्यही खान्थे । 

गाउँले भाइ । त्यसमा पनि इमान्दार । ओमको जिम्मेवारी छोटै समयमा फेरियो । अफिसको साँचो उनकै हातमा आइपुग्यो । बिहान बेलुका अफिस खोल्ने र बन्द गर्ने जिम्मेवारी पाए । 

पैसा बच्दैन थियो । घर कसरी जाने ? अफ्ठ्यारो लाग्थ्यो । घर जाँदैन थिए ओम । बुवा ओमलाई भन्थे, “इन्डियन आर्मी २ वर्षमा बिदा आउँछ । मलाया (ब्रिटिस आर्मी) लाहुरे ४ वर्षमा छुट्टी आउँछ, तँचाहिँ कहाँको लाहुरे होस् ४ वर्षमा पनि घर नआउने ?”

७ वर्षमा घर 
घर जान भाडा पनि बच्दैन थियो । कसरी जाने ? मन भएर पनि जान पाउँदैन थिए ओम । 

जिन्दगीका कष्टरकर दिन सम्झिँदै उनी भन्छन्, “०३९ सालमा काठमाडौं झरेको म एकैपटक ०४५ सालमा घर गएँ ।” 

घर जानुको पनि छुट्टै कारण छ उनको । 

कस्तो ?

बुवा आमाले ओमका विवाह गर्ने निर्णय गरे । गुरुङ जाति । आफन्त–आफन्तबीच नै विवाह हुन्छ । कुरो छिनेपछि विवाहका लागि ओमलाई खबर आयो । मन थिएन विवाह गरिहाल्न । तर भिनाजुले कर गरे । सम्झाए । कुरो छिनिसकेको थियो । परिवारको इज्जतको कुरा पनि थियो । नगई नहुने भयो । ओम गए । विवाह भयो । 

नयाँ ठाउँ, पुरानै काम 
विवाह गर्नु अगाडि भर्खर उनले निर्मल भण्डारीको ‘इन्द्र ट्राभल एजेन्सी’मा काम थालेका थिए । निर्मल ‘इन्द्र ट्राभल एजेन्सी’ पुलतीसडकस्थित आफ्नै घरबाट चलाउँथे । ओमले भने, “यसलाई ठमेल सारौं ।” अफिस सारे । काम चल्दै थियो । विजनेश बढ्दै थियो । पब्लिक रिलेसन (पीआर) बढ्दै थियो । उनलाई लाग्न थाल्यो, सधैँ अरुकोमा कति काम गर्ने ? आफैँ केही गर्ने की ! 

आफ्नै काम
‘पोखरा ट्रनभल्स’मा काम गर्दा ओमका साथी थिए टेकबहादुर गुरुङ र उज्वल अर्याल । उनीहरूसँग सल्लाह गरे, नयाँ ट्राभल एजेन्सी खोल्ने । कुरा मिल्यो । ०४५ ‘फेवा ट्राभल’ जन्मियो । 

ओम टिकेटिङमा थिए । त्यसको राम्रो जानकारी थियो । पीआर राम्रो थियो । ओमका साथीहरू टुरमा जानकार थिए । चाइनिज पर्यटकको भीड लाग्थ्यो ‘फेवा ट्राभल’मा । 
“मसँग एउटा हिरो होन्डाको बाइक थियो । त्यो बाइकमा हामी छिनमै जहाँ जानुपरे पनि जान्थ्यौं । निकै दुःख गरेर काम गर्यौं हामीले,” ओम भन्छन्, “दुःख गरे अनुसार राम्रो विजनेश पनि भयो । एक वर्षमा हामीले ७ लाख रुपैयाँ कमायौं खर्च कटाएर । ०४५ सालमा ७ लाख रुपैयाँ भनेको निकै ठूलो रकम थियो ।” 

मोटरसाइकल मात्रै कति चढ्नु भनेर कार किने । अर्को वर्ष भ्यान किने । चार वर्षमा बस किने । पोखरामा होटल खोल्नलाई २७ लाखमा २२ रोपनी जग्गा किने । चाइनिज पर्यटकलाई लक्षित गरेर चाइनिज रेष्टुराँ खोले । चितवनमा ४५ लाखमा फेवा होटल किने । 

नेपालमा पहिलोपटक मनी एक्सचेन्जको लाइसेन्स वितरण गर्यो सरकारले । त्यसको लाइसेन्स लिए ओम र उनका साथीहरूले । 
नाम थियो ‘फेवा मनि एक्सचेन्ज’ । फेवा ट्रेडिङ पनि थियो । चेनकै रुपमा फेवा ग्रुप स्थापित हुँदै थियो । 

बिडम्बवना ! नेपाली प्रवृत्ति ओम, उज्जवल र टेकबहादुरमा पनि सायद देखा पर्यो । आफूआफू छुट्टाछुट्टै काम गरौं भन्ने मनस्थितीमा पुगे । 

झगडा गरेर छुट्टिनुभन्दा मनमुटाव नभई छुट्टिनु बेस भन्ने तीनै जना निष्कर्षमा पुगे । १३ वर्ष सँगै काम गरेपछि उनीहरू अन्ततः सम्पत्ति बाँटफाँट गरे । एक जनाले होटल र ट्राभल एजेन्सी लिए, अर्कोले चितवनको होटल लिए । ओमको भागमा मनी एक्सचेन्ज र पोखराको जग्गा पर्‍यो । छुट्टिने बेलामा जम्मा दुई करोड ६५ लाख मूल्यांकन गरेका थिए उनीहरूले । “हाम्रो इन्टरनल भ्यालुएसन थियो त्यो, बाहिरी मूल्य त्योभन्दा निकै धेरै थियो,” उनले भने । 

माओवादी–सरकार विद्रोहपछि
मनी एक्सचेन्ज चलाइरहेका थिए ओम । कुरिनटारमा केबलकार सुरु भयो । त्यही वर्ष कुरिनटार पुगेर उनले ‘मनकामना भिलेज रिसोर्ट’ खोले । रिसोर्ट राम्रै चलिरहेको थियो ।

माओवादी–सरकार द्वन्द्व सुरु भयो । त्यसको असर होटल व्यवसायमा पनि देखिन थाल्यो । काठमाडौं बाहिर त्यसको असर झन बढी थियो । 

मजदुर आन्दोलन देशभर चर्किएको थियो । ‘मनकामना भिलेज रिसोर्ट’ मा पनि त्यसको प्रभाव देखियो । झण्डा गाडेर मजदुरहरू काम गर्थे । देशैभर मजदुर र मालिकबीच दरार पैदा भएको थियो । “काठमाडौं बाहिर सुरक्षाका हिसावले पनि डर थियो । राति श्रमिकसँग झगडा परेर कसैले मारेर राति नै त्रिशूलीमा फ्यालीदियो भने लास पनि भेटिदैन थियो । मिलेन भने पोखराको जग्गामा सुकुम्बासी राख्दिन्छौं भन्ने धम्की आउन थाल्यो । मैले त्यो सहन सकिन र होटल व्यवसायबाटै हात झिकें,” उनले सुनाए । 

हाइलाइट्स नेपालको यात्रा
होटल व्यवसाय सञ्चालन गर्नु जिन्दगीकै रिस्क उठाउनु थियो । विकल्प खोजिरहेका थिए ओम । उनले सुने, हाइलाइट्स नेपाल बिक्रीमा छ रे ! हाइलाइट्स नेपालले त्यो बेला एयरपोर्टमा एयरलाइन्स र क्यासिनोको ब्रान्डिङ गथ्र्यो । केही होटलको पनि ब्रान्डिङ गथ्र्यो । अथवा विदेशी पयर्टकको आँखा जहाँ जेमा पथ्र्यो त्यही डिस्प्ले गथ्र्यो । 
ओम नयाँ कामको खोजीमा थिए । हाइलाइट्स नेपाल किने । पार्टनरसिपमा । अहिले पनि हाइलाइट्स नेपाल पार्टनरसिपमा छ । 

संगीतकार पूर्ण नेपालीले एक दिन भने, “मेरो छोरो इन्डियामा कम्युनिकेशन इन्जिनियरिङ गरेर फर्किएको छ । नेपालमै केही नयाँ काम गरौं भन्ने सोचमा छ । तपाईंसँग सल्लाह गर्नुपर्‍यो ।”

भेट भयो । उनले भने सीआरबीटीको काम गर्न सक्छु । ०६५ सालको कुरा सुनाउँछन् ओम । “त्यो बेला सीआरबीटी नेपालमा आइसकेको थिएन । हामीले फिजिबिलिटी अध्ययन गर्यौं । भारतमा भइरहेको प्राक्टिस हेरे । डाटा संकलन गरे । रेभिन्यू कसरी, कति आउँछ सबै अध्ययन गरेर नेपाल टेलिकममा प्रपोजल हाल्यौं,” ओम पीआरबीटीको भ्रुणको कथा भन्छन्, “टेलिकिमले हामीलाई भन्यो, तिमीहरूसँग कुनकुन म्युजिक कम्पनी सहकार्य गरिरहेका छन् ? हामीले भन्यौं । पहिला प्लेटफर्म तयार भएपछि हामीसँग म्युजिक कम्पनीहरू आइहाल्छन् नि । तर हामीलाई टेलिकमले लाइसेन्स दिएन । त्यसपछि त्यो बेलाको म्युजिकको सबैभन्दा ठूलो कम्पनी म्युजिक नेपाललाई दियो । हामीलाई दिएन । कन्सेप्ट हामीले तयार पार्‍यौं तर अरुले नै लाइसेन्स लियो ।”

सीआरबीटीको कम्पनी एउटैमात्रै भयो । प्रतिस्पर्धीको खोजी हुन थाल्यो । त्यसपछि हाइलाइट्स नेपालले पनि लाइसेन्स पायो । लाइसेन्स लिएपछि हाइलाइट्स नेपालले म्युजिक कम्पनीहरूसँग सहकार्य गर्न थाल्यो । कतिले सहजै विश्वास गरे । कतिले तपाईंहरू नयाँ हुनुहुन्छ विश्वास गर्ने आधार के ? प्रश्न गर्थे । अविश्वास गर्नेलाई हाइलाइट्स नेपालले एड्भान्स दिएर सम्झौता गर्दै गयो । 

एक वर्ष निकै गाह्रो भयो । नाफा भएन । म्युजिक नेपाल फणा फिजाएर दशकौंदेखि एक छत्र राज गरेर बसेको थियो । उसको लिगेसी चिर्नलाई सहज थिएन । नेपालमा अपेक्षित सफलता हात पार्न नसकेको हाइलाइट्सले मलेसियाको दूरसञ्चार कम्पनीसँग सम्झौता गर्न सफल भयो । अन्तर्राष्ट्रिय जगतमा नेपाली सीआरबीटी लैजाने हाइलाइट्स पहिलो कम्पनी भयो । त्यसपछि हाइलाइट्स खाडी राष्ट्रमा गयो । त्यहाँबाट राम्रो रेभिन्यू आउन थालेपछि अरु म्युजिक कम्पनी पनि ओमसँग सहकार्य गर्न आइपुगे । “कालान्तरमा हामी यस्तो अवस्थामा आइपुग्यौं । हामीले सीआरबीटीमा अरु सबै कम्पनीलाई उछिन्यौं । गायकगायिकाको मन जित्यौं । म्युजिक कम्पनीको मन जित्यौं । हामी राम्रो गीतसंगीतलाई रेकर्डिङ गर्नुपूर्व नै आर्थिक अभाव भयो भने एड्भान्स दिन्थ्यौं,” ओम भन्छन्, “अरुमा आर्थिक पारदर्शिता छैन भन्ने गुनासो आइरहेका बेला हामी व्यक्ति स्वयम्ले टेलिकम र एनसेलबाट कति सीआरबीटी डाउनलोड भयो हेर्न सक्ने व्यवस्था मिलायौंं । अरुमा तीन महिना कुर्नुपथ्र्याे सीआरबीटीको रोयल्टी लिन तर हाम्रोबाट दिनकै लैजान पनि सकिन्थ्यो । हाम्रो पोलेसी नै हाइलाइट्स नेपाल आऊ एनी टाइम पैसा लैजाउ भन्ने थियो ।”सीआरबीटी सुरुका वर्षमा जसरी आक्रमक रुपमा आएको थियो, त्यही गतीमा सुस्तायो पनि । फलतः सीआरबीटीमा मात्रै भर परेर संस्था चलाउन सक्ने अवस्था रहेन । 

विकल्प खोज्नुपर्ने भयो । आँखा पुग्यो चलचित्रमा । विभिन्न देशमा विदेशी चलचित्र चल्छन् । नेपाली चलचित्र किन नचलाउने ? आँटेर मात्रै हुँदैन थियो । त्यसको बजार पनि अध्ययन गर्नुपथ्र्यो । कति देशमा ओम आफैँ गए । कति देशमा अरुलाई पठाए । अध्ययनले देखायो– सुरुमा गाह्रो होला, तर सकिन्छ । नेपाली चलचित्र विदेशमा बजार खोज्न हामी सुरु गर्नुपर्छ । त्यसअघि विदेशमा चलचित्र नदेखाइने होइन । तर ती व्यक्तिगत सम्बन्धका आधारमा कुनै थिएटरमा एकाध घण्टा किनेर देखाइन्थ्यो । ओमको उद्देश्य अर्कैै थियो । हलमा टिकट काटेर हेर्ने बनाउने थियो । 

अर्को, एउटै चलचित्रमा चारपाँच वटा गीत हुन्छन् । टिजर र ट्रेलर हुन्छन् । सिङ्गो चलचित्र त छँदैछ । बुद्धि, विवेक र क्रिएसन भए अरु पनि सामग्री हुनसक्छ चलचित्रमा । 
त्योभन्दा पनि पहिलो चलचित्रलाई विदेश लैजान पनि सकिन्छ । विभिन्न देशका विभिन्न फिल्म कम्पनी, नेपालीकै कन्सल्टेन्सी तथा कम्पनीहरूसँग सम्झौता गर्न थाले । नेपाली चलचित्रको राइट्स बेच्न थाले । 

चार वर्ष अगाडि फर्किन्छन्, “राम्रै भइरहेको थियो । कति देशमा चलचित्र हलमा टिकट काटेर हेर्न थालिएको थियो । म राम्रा चलचित्र मात्रै लगिरहेको थिएँ । क्वालिटीयुक्त चलचित्र लगेर नेपाली चलचित्र पनि राम्रा हुन्छन् भन्ने स्थापित गराउनु थियो । नेपाली मात्रै होइन विदेशीलाई पनि नेपाली चलचित्र हेर्न आउने बानी बसाउनु थियो,” ओम सुनाउँछन्, “नेपाली चलचित्र सबै मेरो हातमा थिएनन् । म सबै चलचित्रको राइट्स किन्न सक्तिन थिएँ र सके पनि नराम्रा चलचित्र लैजान्न थिएँ । तर ब्याडलक ! केही व्यक्ति र कम्पनीले जस्ता पनि चलचित्र लिएर विदेश जान थालेपछि नेपाली चलचित्र राम्रा हुँदैनन् भन्ने छाप छोटै समयमा पर्‍यो । बन्दै गरेको विदेशी बजार भत्कियो ।”

राम्रो चलचित्र निर्माणका लागि ओमले चलचित्रकर्मीलाई सकेको सहयोग गर्दै आएका थिए । राम्रो चलचित्र बन्छ भने किन सहयोग नगर्ने भन्ने उनको मनासय थियो । चलचित्र निर्माण अगाडि उनी २०–२५ लाखदेखि करोडसम्म एड्भान्स दिन्थे । तर अस्वस्थ प्रतिस्पर्धाले विदेशी मात्रै होइन स्वदेशी बजार पनि थलियो । 

लगानी फर्किँदैन भने करोड–करोड केका लागि लगानी गर्ने ? प्रश्न खडा भयो । बजारले ओमलाई निराश बनाउन थाल्यो । सफेद मन बोेकेर सहयोग गरिरहेका उनलाई छक्का पञ्जा गर्नु छैन । अस्वस्थ प्रतिस्पर्धा गरेर कसैलाई छिर्के हानेर आफू अगाडि बढ्ने उनको स्वाभाव छैन । त्यसैले उनलाई लाग्न थाल्यो, “मैले कतै गलत क्षेत्रमा त हात हालिन । निष्कलंक मनले काम गर्छु भन्दा उल्टै पछि लाग्ने यो कस्तो प्रवृत्ति ? त्यसैले एक वर्ष यता मैले चलचित्रको डिजिटल र इन्टरनेशनल राइट्स लिन कम गरेँ ।”

अभाव पैसाको हो । पैसा भए काम गर्ने ठाउँ धेरै छन् । विकल्पहरू भेटिरहन्छन् । मात्रै त्यसलाई पहिचान गर्न सक्नुपर्छ । नेपालमा मात्रै होइन जुनसुकै देशमा पनि गएर केही नयाँ गर्न सकिन्छ । 

अहिले उनी नेपालमा रहेका सम्भावित विषय र क्षेत्रलाई कसरी विदेशसम्म लैजान सकिन्छ भन्ने सोचिरहेका छन् । अहिले ओमलाई नेपालको लोभलाग्दो सौन्दर्य र कल्चरलाई विदेशसम्म पुर्‍याउने रहर छ । त्यसकै लागि ओम अहिले नेपालमा छन् । टुर एन्ड ट्राभल्समार्फत् विश्वसामु नेपाललाई पुर्‍याउन कसरी सकिन्छ ? त्यसको खोजीमा छन् । 

“अब म चलचित्रमा लगानी गर्दिन । एकाध केही चलचित्रमा गरुँला तर ती चलचित्र त्यस्ता हुनेछन्, जसले नेपाली माटो देखिने छ । नेपालीपन र नेपालको पहिचान झल्काउने छन्,” करिब २५० चलचित्र हाइलाइट्स नेपालमा संग्रह गरेका ओम कुराकानीको बिट मार्दै भन्छन्, “बाँकी त मलाई पुग्यो । जतिसमय म चलचित्रमा बसेँ । कमाई हुन्छ भनेर नै बसेँ होला तर मेरो उद्देश्य फगत पैसा कमाउने मात्रै थिएन । चलचित्र उद्योगलाई केही सहयोग पुगोस् भन्ने पनि थियो । तर भएन ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC