site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
धुपो
Sarbottam CementSarbottam Cement

– कर्मसही घर्ती मगर


वातावरण हिउँमय बनेको छ । सिमलको भुवासरि हिउँ परिरहेको छ । मानौं आकाशले कपासको खेती गर्दै छ । हिउँ परेकैले छोराछोरी आनन्दित छन् । यिनलाई चिसोको पर्वाह छैन ।

फागुनको पहिलो साता । हिमपात नभएको हप्तै छैन । माघ दोस्रो सातादेखि यो क्रम टुटेको छैन । भारी हिमपातले गाउँले जीवन खलबलिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

चुलोमा आगो फुक्नुको विकल्प थिएन । अँगेनावरपर हाम्रो परिवार झुम्मिएको छ । आगोको राप । भोटे चियाको चुस्की । आगतविगतको गफगाफ ।

यसै बेला १०–१२ जनाको एक हुल केटाकेटी दैलामा टुपुल्किए । हिउँले सेताम्मे थिए तिनीहरू । चिसो सिरेटोको छेडले भित्रभित्रै काँपिरहेका । खस्रा र रातापीरा गाला । 

Global Ime bank

‘केटाकेटीको जाडो बाख्राले खान्छ’ भनेझैं अरू मान्छे कठ्याङ्ग्रिएर जड भएको बेला यिनीहरू भने रूझेको–भिझेको मतलब नगरी हाम्रोमा आएका छन् ।

“आइँ ! यस्तो चिसोमा पनि कहाँ आएका त बा ?” छोरीको जिज्ञासा तेर्सियो ।

“खेल्न आएका होलान् नि ! हामी सँगै खेलौं है !” छोरीले बिट नमार्दै छोराले भन्यो । हुलमा छिमेकका सबै केटाकेटी थिए । एकछिन मुखामुख गरे । उमेरले मेरा छोराछोरीभन्दा अलिक नेटो काटेका । ९ देखि १३ वर्ष उमेरका हुनुपर्छ । निकै अकमकिएका जस्ता लाग्ने तिनीहरू केही भन्न खोज्दै थिए । बडो शरमका साथ तिनीहरू खुले—

देउरालीबाट 
हिउँ परी आयो !
दिने दाताले 
माना भरी देऊ !
नदिने लाटाको
काना अछ्र्याे ! अछ्र्याे !!

कति मीठो गीत । निकै कारूणिक भावको त्यो गीत दोहो¥याएर तेहे¥याएर गाउन लगायौं । बादलको बाक्लो घुम्टोभित्रको त्यो परिवेश मध्याह्नका बेला पनि सम्साँझ जस्तो लाग्थ्यो । मानौं, गन्तव्य जाँदै गरेका बटुवा अबेला भई हामीकहाँ बास माग्न आएका छन् ।

‘देउरालीबाट माग्न आएछन्’ भनेर श्रीमती घु¥यानतिर गइन् । मकै ल्याइन् । एक जनाले खास्टो थाप्यो । टन्नै बनाएका रहेछन् । तीन–चार थरीको पोका थियो । मकै, गहुँ, भटमास, लत्तेका बेग्लाबेग्लै पोकापोकी थिए ।

“के गीत गा’का बा ?” छोराछोरीले कुतूहल पोखे ।

“देउरालीबाट... ! माग्न आएका हुन् !” मैले भनें ।

“देउरालीबाट भनेको के हो नि बा ?”

जुगजमानादेखि हिउँ पर्दा यस्तै गाना गाइँदै आएको चलन आजपर्यन्त छ । हिउँ परेको बखत वस्तुभाउ चराउने, मेलापात जाने रोकिन्छ । बाध्यात्मक फुर्सदको यो मौकामा जमघट हुने, आगो ताप्ने, खाजा भुट्ने, मिलेर खाने र रमाइलो गर्दै जाडो भगाउने उपायका रूपमा ‘देउरालीबाट’ गीतको उत्पत्ति भएको हो भन्ने दर्साएँ ।

हिउँ पर्दा बच्चाहरू छिमेकका सबै घर डुल्छन्, घुम्छन् । सामूहिक गाना गाउँछन् । अनाज जम्मा गर्छन् । एक ठाउँ जम्मा हुन्छन् । कुनै पाको उमेरकाले हाँडीमा खाजा भुटिदिन्छन् । मिलेर खान्छन् । बाँकी भएको बाँडिवरि घर लान्छन् । विगत नियालें । खुबै रमाइलो हुन्थ्यो बालापन । माना भरिदिने दाताको जयजयकार र उसका बालीबोट सप्रियोस् भन्ने कामना तथा नदिनेलाई ‘लाटा’को संज्ञा दिँदै आगामी दिनमा उसका बालीनाली काना फर्कियोस् भन्ने धम्की दिइन्थ्यो । गानाको भाव बुझेको यही हो मैले ।

गएका वर्षको केही दशक त हिउँदमै पनि हिउँ पर्न मुस्किल–मुस्किल भयो । छिटफुट हिउँ नपरेको त होइन तर केटाकेटी ज्यादा यसरी रमाउने अवसर जुरेको पनि होइन । हिउँ पर्नु एउटा रमाइलो पर्वका रूपमा मनाउँथ्यौं । यसैले पनि ‘देउरालीबाट’ माग्ने परम्परा दन्त्यकथाझैं बन्यो । धन्य, यो वर्ष बेस्मारी हिउँ प¥यो । लोप हुनै आँटेको ‘देउरालीबाट’ मुर्झिएर आयो ।

बरू हिउँवर्षा सामयिक बनेन । पुस र माघमा मात्रै हिउँदे वर्षा हुने बेला फागुन निख्रिनै लाग्दा पनि टुटेको छैन । डाँठ लागेको जौं ढलेर नासै भएको छ । कुबेला हिउँ पर्दा फसल नलाग्ने भन्दै गाउँले किसान चिन्तित छन् । जलवायुको कुचक्रको असर हाम्रो दैनिक जीवनमा पर्दै गरेको महसुस यो वर्ष झनै उदांगो भयो ।

केटाकेटी गए । फेरि अर्को हुल आयो । ती पनि सानासाना । तिनीहरू अर्को टोलका थिए । तिनले पनि उसैगरी ‘देउरालीबाट’ गाए । केटाकेटी मकै लिएर गए ।

छोराछोरीमा ‘देउरालीबाट’ गीतको छाप पर्‍यो । ठट्यौलीझैं लाग्ने । दुवै जनाले गाउन थाले । कति चाँडै सिकेका । टपक्क टिपे जस्तो । दोहो¥याएर गाए । तेहे¥याएर गाए । संगीतमय बनेको छ यो दिन । गाउनुमै आनन्द छ । लयमा मग्न भएर—

देउरालीबाट
हिउँ परी आयो... !

भोलिपल्ट दिउँसो घामपानी ग¥यो । यति बेला हिमपात हुन कम्तीमा पनि रोकियो । छिमेकमा एक जना बाजे साइनोका दमको रोगले बितेछन् । घरको छतमा हिउँ खेल्दै गरेका छोराछोरीको कानमा परेछ । माटाले छाएको घर चुहिएला भन्दै छतको हिउँ फाल्दै गरेका थियौं । छेवैमा आएर छोरीले भनिन्, “बा ! तल्लाघरे बाजे त मरेछन् रे नि !”

“जाऔं कान्छी ! बाजे मर्न लागेको हेर्न जाऔं ! कसरी मर्ने रैछन् !” हिउँमा खेल्दै गरेको छोरो बाजे बितेको घर जान कस्सियो ।

“हैट् ! जानु हुन्न बाबु, अर्काको घरमा । त्यो पनि मरेको ठाउँमा केटाकेटी जानु हुन्न”, थमथम्याउने कोसिस गरें ।

“हैन के बा ! मर्न लागेको हेर्न जान्छौं !” छोरो झन् हतारियो ।

“मर्न लागेको हो र ! मरिसके रे के ! मरेको लाशको छेउछाउमा जानु हुन्न !”

“मरेको मान्छे भूत हुन्छ भनेर हो, बा ?” छोरीले जिज्ञासा कोरी । ‘हो’ भनूँ त बालापनको दिमाग । ‘होइन’ भनूँ त जान कस्सिएका । बडो घाँडोको स्थिति ।

“के भएर मरेछन् नि बा ?” छोराले कुरा खोतल्यो ।

“बिमारी भएर...!” यति के भन्दै थिएँ, छोराले फेरि थप्यो, “केले बिमारी भएछन् बा ?”

“बूढो भई रोगाएर मरेछन् के ! अनेकथरी के सोधेका होलान् !” अघिसम्म चुप लागेकी बूढी बम्किइन् ।

“म त बिमारी छैन है बा !” शायद छोरा मर्नबाट तर्सियो क्यारे ।

“म ज्वरोलाई जित्दिन्छु है बा !” छोरी पनि मर्नबाट उम्किएकी आभास भयो मलाई । फेरि थपी, “बूढो भएपछि मान्छे मर्छन् र बा !”

“बूढो भएपछि ज्यानमा तागत सिद्धिन्छ । जिउले काम गर्न छोड्छ अनि मान्छे बाँच्दैन,” मैले भनें ।

“तपाईं त बूढो हैन है बा !” गाला मुसार्दै छोरीले भनी ।

बा बूढो भएर मर्ला भन्ने पीर शायद छोरीलाई पर्‍यो क्यारे ! “म त जवान छु नि है ! हैन र !!” छोरीको मुहार उज्यालियो ।

“बाजेको ज्वरोलाई म चक्कुले हानेर मार्छु है बा ! अनि बाजेलाई औषधि ख्वाउँला !” चक्कुले ज्वरोलाई छ्याप्प रोपेको अभिनय गर्‍यो, छोराले । हामीलाई देख्नेहरू गलल्ल हाँसे ।

दिन घर्केपछि आकाश छ्याङ्ङै भयो । पारिलो घाम लाग्न थाल्यो । मृतकको आजै अन्त्येष्टि गरिने कुरा भयो आफन्तजनको । मलामीहरू थुप्रै जम्मा भएका थिए । मृतकलाई बाकसमा बन्द गरेर घरबाहिर निकालिएको थियो । बाकसमाथि सेतो कपडाले ढाकिएको थियो । यस्तो दृश्य देखेर अचम्भित छोरोले मुख खोल्यो, “बा ! बाजेलाई हिउँमा चिसो हुन्छ भनेर बाकसमा राखेका हुन् ? जाडो होला भनेर लुगा ओढाएका है !”

‘अँ’ भन्दै समर्थन जनाउनुको विकल्प थिएन ।

“जाडो हुन्छ भनेर थाहा नपाई मरेछन् बाजे ?” छोराको जिज्ञासा मेटिएन, “अब कहाँ लान्छन् बाजेलाई ?”

“गाड्न लैजाने हो ।”

“कहाँ ?”

“ऊ पारिको डाँडामा !”

शव बोकेका मलामी पाइला चाल्न सुरसार गरे । जमिनै थर्किएला जस्तो गरी दमाहा बजाइँदै गरेको माहोल । कटुवाल गर्जिए, आकाशै झार्ने गरी... । क्षणभरमै सयौंका गाउँले भेला भए ।

“आमा खोई ?” भीडबाट छलिएर छोरी बोली ।

“मलामी गइन्,” जवाफ फर्काएँ ।

छतबाट घरभित्र ओर्लियौं । घरसँगैको मलखादमा मिल्काइएको सिस्नुको डल्लोमा छोरीको आँखा परेछ क्यारे, “ए, बा ! तिहुन खान टिपेको सिस्नु किन फालेको ?”

मझेरोमा बसेर मलामतर्फ टोलाइरहेकी माइजूले आफ्नी नातिनीलाई भनिन्, “जुठो हुन्छ भनेर फालेको माया !”

“आचे ! कसले जुठो हालेछ हजुरमाँ !” छोरो अचम्भित भयो ।

“मान्छे बितेको दिन सिस्नुको तिहुन खानु हुन्न, बाबु । जुठो पर्छ ।”

“त्यो मरेको बाजेले जुठो हालेको हो हजुरमाँ ?” छोरीले तुरून्तै थपी ।

“हैन, मान्छे मरेको दिन सिस्नु खानु राम्रो मानिन्न । घिन लाग्ने हुन्छ । राम्रो पनि हुन्न रे !” माइजूले नाति–नातिनीलाई प्रस्ट पार्न खोजिन् ।

“राम्रो हुन्न रे !” भन्दै दुवै मुखामुख गरे ।

“हामी पनि मर्छौं हो, हजुरमाँ !” कुतूहलता एकमुष्ट पोखियो ।

“हैट् ! के अशुभ बोलेको ?” झपारेझैं गरें ।

०००

मृत्युसंस्कारको काम लगभग सकियो । धर्मसभामा गाउँलेको उपस्थिति निकै बाक्लो थियो । 
मृतकका आफन्तजन र छिमेकका युवती धुपो जान हतारिए । पल्ला घरकी हीरावती धुपो जान लागेकी देखेर छोरीले मुख खोलिन्, “कहाँ जान लागेकी दिदी ?”

मृत्यु आइपरेको घरमा शून्यता छाउनु अनौठो होइन । मृतकका परिवारजन शोकाकुल हुन्छन् । निरस्याइला बन्छन् । शिथिल देखिन्छन् । घरमा सन्नाटा छाउँछ । यस दुःखद घडीमा धैर्यधारणको विकल्प हुन्न । पीडा भुलाउन तिनका शोक र वेदनालाई अन्यत्र विकेन्द्रित गर्नलाई एक खालको संस्कार बसाउने जुक्तिका बीच शायद धुपो बसाउने चलनको थालनी भएको हुनुपर्छ । शोकसन्तापमा परेकाको साथ भइदिने, दुःखमा हिस्सेदारी होइदिने र शून्यता छाएको घरको आडभरोसा होओस् भनेर आफन्त, छिमेक, इष्टमित्र, कुल खानदान र तरूणतन्नेरीले रुङ्ने मृतकको मूल घर नै धुपो हो भनेर छोराछोरीलाई बुझाउनै हम्मेहम्मे हुनुपर्‍यो, जहाँ युवतीहरूको विशेष भूमिका हुन्छ । धर्मसभामा आउन छुटेका टाढाका आफन्तजनलाई साँझका बेला भान्छा तयार गर्ने, खुवाउने, गाग्रीको गाग्री पानी ओसार्ने, भाँडा माझ्ने काम युवतीहरूको हुन्छ ।

युवकहरू रमाइलो गर्न धुपो धाउँछन् । यसै पनि उनीहरू युवतीसँग नजिकिने मौकाको दाउ छोपिरहेका हुन्छन् ।

“मैले पनि त तिमीहरूको आमालाई धुपोमा चिनेको त हो नि !” झल्याँस्स ब्यूँझिएजस्तै गरी सबैले हेरे मलाई ।

“हो त ! म पोखराको पीएन क्याम्पसमा पढ्दाताका हो । आजको ११–१२ क्लासलाई ऊ बेला आईए भनिन्थ्यो । म आईए फस्ट इयरको विद्यार्थी थिएँ । क्याम्पसमा हिउँदे बिदा भयो । गाउँ फर्किएँ । घर नआइपुग्दै पल्लो गाउँमा मरन परेछ । साथीले धुपो जाऊँ भने । चञ्चले उमेर । साथीसँगीको लहैलहै । नकार्न सकिनँ । गयौं । फरासिला लाग्ने शहरका केटीभन्दा लजालु देखिने गाउँका केटी कति राम्रा ! औधी रोमाञ्चित भएँ । भोलिपल्ट पनि धुपो जान खसखस लाग्यो । साँझको व्यग्र पर्खाइमा पुसका छोटा दिन पनि लामालामा लाग्थे । पहिलोपल्ट तिम्रो आमालाई देखेको र चिनेको पनि त्यहीँ हो !”

“अनि आमालाई ल्याउनुभयो बा ?” छोरी अलिक बुझक्कड छे । उसैले प्रश्न तेर्साई । दुवैले कथा भन्न कर गरे । यति बेला रात छिप्पिएको थिएन । बाँझको दाउराको रापिलो आगोले घर न्यानो थियो ।

०००

जीवनमा जवानीको उच्छ्वास यत्रतत्र फैलियो । जे कुरा देखे पनि आनन्द आउने । झरी पर्दा पनि संगीत बजेझैं लाग्ने । खोला कलकलाउँदा पनि प्रियसीको गुन्गुनाहटझैं लाग्ने ।

बिदाको मौका पारी पोखराबाट घर फिर्ती भएँ । सशस्त्र द्वन्द्वको उद्गमथलो भएकैले असहज भई घर नआएको पनि पाँच वर्ष बितेछ । पढाइलाई पनि निरन्तरता दिन सकिएन । लेकसाइडकै दुई तीन होटल रेस्टुराँमा वेटर भएर गुजारें ।

०६२ सालमा म जसोतसो घर आएँ । सेना, प्रहरी र माओवादी सबैको त्रास मनमा सिउँडीझैं झांगिएको थियो । घर फर्किनुको विकल्प थिएन । गाउँ आइपुगेको दुई दिनपछिको एक साँझ हरिबहादुर, करबहादुर, चिरन र सुजनले पल्लो गाउँको धुपोमा जाऊँ भने । धुपोमा तरूनीसँग भेट हुने चिरनले दिउँसै खुलासा गरेका थिए । हुन त धुपोबारे म अनभिज्ञ थिइनँ ।

छिप्पल साँझको समय । पुसको जाडो । कानै छेडाउला जस्तो सिरेटो । सबै साथी धुपो पुग्यौं । चुलोमा घेरिएर त्यहाँ १२—१५ युवती झुम्मिएका थिए । गफिँदै, हाँस्दै, जिस्किँदै थिए ती । हाम्रो प्रवेशले ती शान्त देखिए ।

“के छ सालीहरू ? आरामै छ ?” चिरन एक कदम अघि सर्‍यो ।

“ठीकै छ भिनाजु ! आरामै चाहन्छौं,” एक जनाको तातो जवाफले सबै गलल्ल हाँसे ।

फलानो हो कि भनेझैं गरी मेरोबारे खासखुस गरेको सुनें । मलाई थाहा थियो, तिनले नजर छलेर मैलाई हेरिरहेका । केटामध्ये सबैभन्दा पाको देखिएरै होला— यो पाँच वर्षभित्र हलक्क बढेका केटीहरू कसैलाई चिन्न सकिनँ ।

बायाँ गालामा कोठी भएकीसँग बारबार आँखा जुध्थ्यो । हामीभन्दा अघिल्लो उमेरका दाइहरूको पालाको ‘गालाको कोठीमा दिल बसेको’ गीतको बोल खुब याद आयो । संयोगले तिनै कोठीवाल केटीसँगै बस्ने मेसो जुर्‍यो । सामान्य बोलचाल भयो । साथीहरूको गरमागरम छेडछाडमा पेट मिचीमिची हाँस्नुपरेको थियो ।

नाम सोधनी गरें । मन्द मुस्कान र गुलाबी ओठबाट प्रस्फुटित भयो, “जलदेवी !”

“वाह ! क्या नाम छ !!” मैले भनें । उनी उसैगरी मुस्कुराइन् । भनें, “जस्ती तिमी, उस्तै प्रिय नाम ! कुनै उपमाको खाँचो देखिनँ ।” उनी उसै गरी भुतुक्क भइन् । उनलाई देखेर म पनि जिल्ल ।

उनको स्निग्ध मधुमुस्कानको तरेलीमा मग्न भएँ । आफूलाई भँवरा ठानें र उनकै वरपर भुन्भुनाइरहें । सबै आ–आफ्नै धूनमा थिए । अन्तरकुन्तर गफिनमा मस्त थिए । कुरैकुरामा उनको परिवारमा बाबा र दाइमात्र रहेको बताइन् । उनका दाइ मेरै जमानाका सहपाठी गुप्तबहादुर रहेछन् । उनी गाउन र बजाउनमा निकै खप्पिस थिए, जो भूमिगत रहेछन् । उनीसँगको एक धुमिल स्मृति मेरो मानसपटलमा पदार्पण हुन थाल्यो ।

हामी कखरा पढ्ने बेला शुक्रबारे कार्यक्रममा उनी खुब गाउन अघि सर्थे । नाच्न भनेपछि जतिखेर पनि सुरिन्थे । उनले गाएको र नाचेको क्षणको अझै याद छ । उनले गाएको एउटा गीत अझै मेरो मानसपटलमा गुन्जिन्छ—

छोप् कुटे दुनियाँले
लाहुरे पीपल पानीमाथि !

हामी ताली बजाएर उनलाई साथ दिन्थ्यौं । शिक्षकहरूका प्रिय थिए उनी । करिब ११—१२ वर्षका हुँदा हौं, दाउरा गएका बेला गुप्तबहादुर र उनका साथी पनि गएका रहेछन् । भेट भयो जंगलमा । उनी नाम्लो कम्मरमा बेरेर त्यसमा खुकुरी अड्काई रुखमा चढे । हामी पनि सबै आफ्नै बर्गतले भ्याएसम्म रुखका पोथ्रापोथ्री चढेका थियौं । गुप्तबहादुरको सबैभन्दा नजिक म थिएँ ।

“बचाऊ ! बचाऊ !!”

गुप्तको गुहार कानमा बज्रियो । उनीतर्फ हेरें । उनी रुखको हाँगामा झुन्डिरहेका थिए । कम्मरको नाम्लो हाँगामा अड्किएको थियो । हतपत भुइँमा झरें । अरूतर्फ चिच्याउनुभन्दा सीधै उनीनिर दौडिएँ । ठूलै प्रयासपछि उनलाई उम्काएँ ।

भएको के रहेछ भने, दाउरा झारिसकेपछि करिब २० मिटरको उचाइबाट हाम्फालेछ । फाल हाल्दा कम्मरमा बाँधेको नाम्लो आफैंले काटेको हाँगाको ठुटोमा अड्किएर झुन्डिएछन् । भुइँमा झरेपछि निकै लामो सास ताने । ‘बचाइस्’ भन्दै मलाई धाप मारे ।

“के सोचेको ?” जलदेवी झर्किएपछि झसंग भएँ । एकोहोरिएछु । रात घर्किसकेको थियो । छुट्टिने सल्लाह भयो ।

हप्ता दिन धुपोमा मन बहलाइयो । जलदेवीसँगको सामीप्य अझ फराकिलो भयो । उत्साहित थिएँ । यतिविधि उत्साह एसएलसी पास हुँदा पनि भएको थिइनँ । गाउँको केही दिन बसाइपछि फेरि पोखरातिर लागें । फागुने लेक र ढोरपाटन फाँटको जंगलबीचको एक्लो हिँडाइमा मनभरि जलदेवी छाइन् ।

पोखरा पुग्दा जलदेवीसँग बात मार्ने माध्यम थिएन । गाउँमा एक सेट कर्डलेस फोनको सुविधा थियो । त्यसैलाई पीसीओ भन्थ्यौं । छिमेकीले चलाएको पीसीओमा ‘जलदेवीलाई बोलाइदेऊ’ भन्ने आँट पनि आएन । पत्राचार सम्भव थिएन । हुलाकको कुनै भर थिएन । द्वन्द्वले जर्जर बनेको त्यस बेलाको ग्रामीण परिवेश बिथोलिएको थियो । हुलाक सेवा निष्क्रिय थियो । बडो नरमाइलो गरी दिन बिते । गाउँ फर्किने मौकाको पर्खाइमा दिन गुज्रिए ।

०६३ साल जेठमा घर फर्किने निधो भयो । यार्सागुम्बाको सिजन थियो । जेठको ९ गते यार्सागुम्बा फुकुवा हुने मिति तोकिएको थियो ।

७ गते दुले गयौं । पाखाभरि टाँगिएका पालका बीच र भीडभाडमा जलदेवीको दर्शन हुन्छ कि भन्ने आशले नजर चनाखो पारें । दुलेमैं जलदेवी र उनका साथी सर्वदा, गुणकेसरी, मायालाख, हितसार सँगै बसेका छन् भन्ने खबर कसैबाट सुनेको थिएँ ।

८ गते सेंखोला बास भयो । स्थानीय र बाह्य गरेर करिब ५ हजारका यार्सा संकलकको ठेलमठलमा बाटो पार गरेका थियौं । अस्थायी क्याम्पमा सबैले आ–आफ्ना पाल टाँगे । त्यो दिन हावाहुरीका साथ निकै हिउँ पर्‍यो ।

भोलिपल्ट आकाश खुल्यो । बासस्थान र त्यो सेरोफेरो सेताम्मे हिउँ । घोडा, खच्चड र मान्छेको चापले बाटो बरफ जमेजस्तै चिप्लो थियो । सबैभन्दा पहिला घोडा, खच्चड र तिनका गोठाला तथा अपांगता भएकाहरू लागे । घोडा, खच्चड निख्रिएपछि सर्वसाधारणको लावालस्कर लाग्यो ।

एक पटक चिरनले ‘ऊ त्यो जलदेवी’ भन्दै मलाई सुझ्याएका पनि थिए । भीडमा शायद जलदेवीले नदेखेझैं गरेकी हुनुपर्छ ।

हजारौं मान्छेको लस्कर । लेकाली यात्रा निकै साहसिक थियो त्यो । तीन घण्टाको कसाकसपछि करिब ४३ सय मिटर उचाइको पुपाल फाँटमा पुग्यौं । हिउँ पन्छाएर पाखाभरि पाल टाँग्नेको चहलपहल थियो, त्यहाँ । कोही भने भर्खर आइरहेका थिए । एक लक्का जवानले ३ बजे यार्सागुम्बा फुकुवा हुने जानकारी माइकबाट फुके । यो बेला करिब पौने ३ बजेको थियो । भीड नियन्त्रण गर्न स्वयंसेवक दस्तालाई हम्मेहम्मे थियो । तिनले ३ बजेसम्म थेग्न सकेनन् । हुल अनियन्त्रित बनेपछि भागदौड मच्चियो । चारै दिशातर्फ मान्छे छरपस्टिए । फुकवाको औपचारिक घोषणा गर्न भरूवा बन्दुक पड्काउने जिम्मा पाएको जवान घोसेमुन्टो लाएर क्याम्पतिर लागेको नियालें, बडो नरमाइलो लाग्यो । यस बेलासम्म को कता प¥यो, कसैको ठेगान भएन । म पनि कुन्दलातिर दौडिएँ, पानीढाल हुँदै । कोही भित्रीवन जाँदै थिए । कोही फूलबारीतिर दौडिए । कोही घुराङ पुर्वाङ ।

कुन्दला नपुग्दै बरेसकुबाँडाँडा पुग्दा हिउँ बिलाएको पाखामा बिसाएँ । यही बेला यार्सा गन्ने निधो गरें । ३२ वटा टिपेछु । आजै हो मौका भन्दै खोज्दै कुन्दला हान्निएँ ।

बादलका फाल्सा कहिले यता धाउँथे, कहिले उता । बाक्लो हुस्सुले लपक्क ढाकिएर नजिकैका मान्छे पनि चिनिँदैनथे । घडी हेर्दा ५ कटेको देखायो । बासस्थान फर्किनुको विकल्प थिएन ।

करिब ७ बजे पानीढालमा जलदेवीको समूह गुनगुनाउँदै पालतर्फ लागेको देखें । जलदेवीसँगको सन्निकटले जाडो भागेको पत्तो पाइनँ ।

“कति टिप्नुभो ?” जलदेवीले नै पहिला सोधिन् । खुशीले सीमा नाघ्यो ।

“कहिले आउनुभो ?” भन्नुपर्नेमा सीधै यार्साको गन्ती प्रसंग आएपछि उनले पहिल्यैदेखि वास्ता गरिरहेकी छन् भन्ने ठम्याएँ ।

“खै ! गनेकै छैन ।”

“हैन, गन्नै नसकिने गरी टिपियो कि क्या हो ?” सर्वदा जिस्किइन् ।

“साठी नाघ्यो कि !” दौडिँदै ठिक्क भएको गुनासो पोखें ।

“आबुई ! त्यति टिप्ला भनेर पत्याएकी थिइनँ, मैले !” जलदेवी मतिरै केन्द्रित भएको आभास भयो ।

“टिप्नै नसक्ने सम्झ्यौ कि क्या हो ?” निकै फूर्तिसाथ पाइन चढाएँ, “कतिकति टिप्यौ त, तिमीहरू ?”

“जलदेवीले ११५, मायालाखले १०७, गुणकेसरीले १०४ र मैले १२१ मात्र !” सर्वदाले हिसाब निखारिन् । अघि भर्खर पाइन चढेको म फत्रक्क गलें ।

करिब दुई हप्ताको बीचमा म जलदेवीको साथ छाड्नै नसक्ने जस्तै भएको थिएँ । शायद उनी पनि त्यस्तै थिइन् । हुस्सुले ढाक्न आएको बखत म उनलाई अँगालो हाल्थें । उनले मलाई हुत्याएर पर धकेल्थिन् । यार्सा खोज्ने नाममा रमाइरह्यौं ।

“तिम्रो नामै बादल ! बादल लाग्दा, कुहिरो लाग्दा के साह्रो खुशी भएको ?” जलदेवी छिल्लिएर भन्थिन् ।

हुँदाहुँदा म उनीबिना हलचल गर्नै नसक्ने जस्तो भएँ । अर्थात् म प्रेममा परें । एक दिन बरेस कुबाँ डाँडाको आडमा उनलाई मन पराएको र आफू प्रेममा परेको फुकाएँ । उनी लजाइन् । यार्सा खोजेजस्तै गरिन् । परपर सर्दै गइन् । म पनि कुरालाई तन्काउँदै गएँ । हुस्सु लागेको मौका छोप्दै पछ्यौरीको फेरो समाएँ । प्रस्ताव राखें, “बिहे गर्छ्यौ ?”

लजाइन्, “सोच्नुपर्छ !”

“मैले त पहिल्यै सोचेको थिएँ । आज भनेको मात्र हुँँ !”

“तिमी केटा मान्छे भयौ नि !”

“केटी मान्छेले भन्न मिल्दैन ?”

“हैट् !” उनी झनै लजाइन् ।

“भन न !”

“के भन्ने ?” प्रतिप्रश्न गरें ।

“जिस्किनुको पनि हद हुन्छ नि !” पछ्यौरीले मुख छोप्दै भनिन् ।

“जिस्के जस्तो लाग्छ तिमीलाई म ?”

“हो नि !”

“माँ कसम ! जिस्केको हैन जल । मलाई तिमी असाध्यै मनपर्छ । लाग्छ, तिमीबिना मेरो भविष्य कताकता शून्य देख्दै छु । मेरो विश्वास त गर !”

“यस्तो लागेको मात्र हो । अप्राप्त चिजको बढी चाहना हुन्छ भन्छन् । तिमीलाई त्यस्तै भएको मात्र हो,” उनले धक फुकालिन् । कति सजिलैसँग यसो भन्न सकेकी ।

उनले कुरो लम्ब्याउन थालिन् । मनमा बेचैन भयो । उनीतिरै बढें, “मलाई आज कुराको निचोड चाहिन्छ ।”

“भन्नेबित्तिकै हुन्छ ? समय छ नि त,” उनी मसक्क मस्किइन् ।

“तर, मेरो धैर्यको सीमा छैन ।” 

“अधैर्य मान्छेले असली प्रेम गर्दैन । वासनामय प्रेम गर्छ, जुन मलाई स्वीकार्य छैन ।”

“मैले वासनामय माया गरेको हैन, मरी जाऊँ ! त्यसो भए कहिलेसम्म धैर्य गरूँ त ?”

“केही दिन...” मौन भइन् उनी ।

“हवस् !” मैंले आफैंलाई बुझाएँ, थमथमाएँ ।

०००

भोलि भन्छु भनेकी जलदेवी अर्को दिन बिहानै यार्सा खोज्न फूलबारीतिर गइछन् । म पनि उतै हान्निएँ । मनभरि जलदेवी । यार्सा के भेटिन्थ्यो, उनैलाई खोजें । भेटाइनँ । उनी ङिमकूँ गएकी रहिछन् । फूलबारीमा भेट भएकी हितसारले भनी । भीर देखेर म त्यता जाने मन गरिनँ ।

अर्को दिन सर्वदासँग भित्रीवन जाँदै गरेको देखें । हामी पनि उनी दुईलाई पछ्याउँदै गयौं । पानीढालको माथि भेट्यौं ।

उनको नजिक गएँ । करिब आधा घण्टा सँगै खोज्यौं । यतिखेर सर्वदा र चिरन हिउँ हानाहान गर्दै लखेटालखेट गर्दै थिए । मैले चिरनको र जलदेवी सर्वदाको समर्थनमा हुटिङ ग¥यौं ।

भित्रीवनको एउटा गहिरो खोचमा जलदेवी र म सँगै भयौं । यही मौकामा उनलाई आफ्नो राय भन्न कर गरें । मौनता दर्शाइन् । खुशीले उन्मुक्त हुँदै उनलाई अँगालो हालें । उचालेर एक फन्को लगाएँ ।

“हैट् ! अरुले देखे भने के हुन्छ ?” शर्माइन् ।

उनले यसअघि नै १५ वटा यार्सा पाएकी थिइन् । मैले जम्मा ५ वटा । सर्वदा र चिरन पनि अलि पर देखिए । पछि थाहा भो— सर्वदा १२ र चिरन ८ । जहिल्यै मै कम ।

यार्सा खाजेको तेस्रो साता पार गर्नै लाग्दा म, चिरन, जलदेवी, सर्वदा र मायालाख घरतिर झर्ने सल्लाह गर्‍यौं । ७ घण्टा लाग्ने बाटो १० घण्टामा मैकोट गाउँ आइपुग्यौं ।

मुलुक शान्ति बहालीको प्रक्रियामा थियो । यता मेरो जीवनमै अर्को शान्ति बहाली गर्ने सुरसार गरें । यार्सा पनि ठीकै पाइएको हो । हामीले गाउँमै यार्सा बेच्यौं । गाउँ झरेको हप्ता दिन भएको हुनुपर्छ । जलदेवीसँगको एक भेटमा घरबाट विवाहको दबाब आएको बताइन् । इन्कार गर्दा बा–आमाको निकै खप्की खानुपरेको थियो रे ! रूँदै सबै बेलिविस्तार सुनाइन् । निकै सम्झाएँ । दुई–चार दिन हेर, अति नै हुन लागेको रहेछ भने विकल्प पनि त छन् भन्दै त्यो दिन छुट्टियौं । जहिल्यै उज्यालो देखिने उनी त्यो दिन भने निचोरिएको कागतीझैं देखिन्थिन् ।

चिरनलाई लिएर म जलदेवीलाई भेट्न गएँ । सुनेको मात्र होइन, याद भएसम्म बूढा निकै हक्की स्वभावका थिए । चित्त बुझे सहर्ष स्वीकार्ने, नबुझे मरिकाट्टे नस्वीकार्ने ।

जलदेवीको घर बीचमा थियो । हामीले उनको घरछेवैबाट चियाउने योजना बुन्यौं । चिरन गयो र केही क्षणमै फर्केर आयो ।

“तेरो बाजे ! बूढा निकै बम्किएका छन् ! घरमा कोसँग बम्किनु ! छोरीमात्रै त छे अचेल । उसैलाई झपार्दै छन् क्यारे !” चिरनले एकै सासमा भन्यो ।

बाउको चित्त बुझेन भने निकै खराब हर्कत गर्छन् भन्ने जलदेवीले भनेको सम्झिएँ । कतै जलदेवीलाई उनका बुबाले भकुर्दै त छैनन् ? सम्भावित खतरा चिरनलाई भनें ।

धमिलिएको उज्यालो बीचमा टर्चलाइट नबाल्ने निधो भयो । जलदेवीको घर नजिकैको घरको आड लिएर चियायौं । बाहिर धनजित कामी थियो । त्यो बेलासम्म दलित घरभित्र छिर्दैनथ्यो । हिजोआज पनि कहाँ छिरेको छन् र ! बोलाउँदा पनि घरभित्र आउन्नन् ।

“के हो, के हो ! लौन नि ! मार्न आँट्यो क्या ! मार्‍यो !! मार्‍यो !!” भन्दै छिमेकमा सुनिने गरी चिच्यायो ।

“ला खा ! तँलाई हरामी यही खा ! दुःख गरी उब्जाएको । मानो खाएर लाज पचेको । आज त नमारी कहाँ छाड्छु र ! म तेरो हुर्मत नझारी कहाँ छाड्छु र !”

एक हदले आतंक जन्मियो मेरो मनमा ।

“बूढाले जलदेवीलाई अर्कै ठाउँ जबर्जस्ती बिहे गर्न दबाब दिँदै छन् क्यारे । मानिनन् होला अनि आज बूढा बौलाहा भएछन् ! चिरन ! केही उपाय निकाल् न यार !” निकै हतासिएँ ।

“त्यसो हो भने आजै भगाई लग् ! आज भगाउनुको विकल्प म देख्दिनँ हेर् बादल !” चिरन पनि उत्तेजित भयो ।

“मेरी जलदेवीलाई बूढाले मार्दियो कि भन्ने डरले मुटु छोड्दै छ चिरन !” मन आतंकित बन्यो । ओठमुख सुकेर जिब्रोले पनि आफ्नो धर्म छोड्यो । बोल्न सकिनँ । जीवनमा यतिसाह्रो निरीह म कहिल्यै भएको थिइनँ । जिउका चारै खम्बा अनियन्त्रित भई काँपेको शायद यही रात थियो । मात्र जलदेवीलाई केही नहोस् भनेर कामना गरें । जे त पर्ला भन्दै भित्र छिर्ने हिम्मत गरें । चिरनले रोक्यो ।

“अहिलेसम्म तेरो हक लाग्दैन !” चिरनले सम्झाएको याद गर्छु ।

“साला, बल्ल मरिस् ! दिनसम्मको दुःख दिएको थिइस् । बल्ल खाइस्,” बूढा बम्किँदै के–के भने, मलाई याद भएन । लाग्यो, अब मेरी जलदेवी सकुशल रहिनन् । ममा पागलपन चढ्यो । भित्रबाट बूढाले चिर्पट बाहिर फालेको देखियो । चिर्पटमा रातो दाग देखिन्थ्यो । मुटुले होस गुमाउन थाल्यो । आँखा तिर्मिराउन थाले । आँखाको ज्योति गुमे जस्तो भयो । ढलेछु ।

पछ्यौरीले मुख छोपेर जलदेवी केही खोज्दै गरेको देखें । धन्न बाँचिछन् । एकछिन त आफैंलाई विश्वास गर्नै सकिनँ ।

“काँ जान लागेकी ?” बूढा जंगिए । जलदेवीको स्वर सुनिएन । अब पनि उनी घरभित्र फर्किइन् भने बाँच्ने छैनिन् ।

जलदेवी घरबाहिर निस्किइन् । फिक्का अँध्यारोमा हामीतिरै आइन् । निर्णय लिएँ, भगाउने मौका यही बेला होे । सकेको साथ चिरनले दिएकै हो । के छेउमा आएकी थिइन्, बादल हुन् भन्दै पाखुरामा समाइन् । अञ्जानमै पाइला सरे ।

“के गरेको ? बाले देखे मार्छन्,” जलदेवीले सजग पारिन् ।

“मार्लान् भनेरै लाने हो !” मैले तीर सोझ्याएँ ।

“जाने भए राम्रैसँग जाने !” उनी पनि सीधा बोलिन् ।

भगाएर त ल्याइयो । घरमा जानकारी दिनु थियो । दियौं । घरबाट मौन स्वीकृति आयो । बुहारी भित्रिएको बा–आमाका लागि आकस्मिक घटना थियो ।

“बिहे गर्दै छु भन्नु त पर्छ ! केही तयारी छैन । आज टीकाटालो मात्र गर्ने !” आमाले मध्यस्थता दर्शाइन् ।

“तिथिमिति र दिनबार हेरेर बिहेभोज धूमधामले मनाउँला,” बाले पनि सहमति जनाए ।

अघि भर्खरैको घटनाको बेलीविस्तार लगाएँ । बाआमा मुखामुख गरे ।

“चोट निकै लाग्यो कि बुहारीलाई... !” आमाले जलदेवीलाई आफूतिर सम्हाल्दै ढाडस दिइन् । भनिन्, “कहाँकहाँ दुखेको छ माँ ?”

जलदेवी भित्रभित्रै मुर्मुरिएर हाँसिन् । हाँसो थामिएन । भएछ के भने बूढाले त धन्सार काट्ने मुसालाई पो मारेका रहेछन् । चिरन र म लाजले भुतुक्कै भयौं । 

“हा...हा... हा... !” 

धुपोदेखि बिहेसम्मको कुरा सुनेर छोराछोरी मज्जाले हाँसे ।

“यसरी धुपोमा चिनेको तिम्रो मामुलाई मैले बिहे गरेको हुँ, बुझ्यौ ?!”

छोरी दंग भई, “आहा ! कति रमाइलो बा !” छोरीको तिर्खा छचल्कियो । नाति काखमा च्यापेकी हजुरमा मन्द मुस्काइन् ।

उता मलामी गएकी श्रीमती पनि टुप्लुक्क आइपुगिन् । हाँसो झनै थपियो । हामीलाई देखेर श्रीमतीले अचम्म मान्दै सोधिन्, “के भयो ?”


(‘बाह्रखरी कथा प्रतियोगिता’को शीर्ष २५ मा पर्न सफल कथा । २५ लेखकका उत्कृष्ट कथाको संग्रह शुक्रबार सार्वजनिक गरिएको छ ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC