site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बिखालु खुट्टो
Sarbottam CementSarbottam Cement

— अक्षर काका


बाल्यकालमा हाम्रा थुप्रै शत्रु थिए । त्यसमध्ये एउटा थियो सर्प ।

हाम्रो गाउँका सर्पहरू एकदमै डरपोक थिए । अझ हाम्रो समूह देख्नेबित्तिकै तिनीहरूको सात्तोपुत्लो उड्थ्यो । सर्प देख्नेबित्तिकै हाम्रा भुत्ला पनि नहल्लने कहाँ हो र ! तर, हाम्रोभन्दा पहिले नै उनीहरूको पुत्ला हल्लिन्थ्यो । र त, तिनीहरू कहिल्यै हाम्रो बाटामा देखा परेनन् । हिउँद र वर्षामासतिर आक्कलझुक्कल देखा पर्थे । तर, दुच्छरहरू पुच्छर लुकाउँदै टाप कस्थे ।

Prabhu Bank
Agni Group
NIC Asia

गाउँतिर कहावत् छ– ‘जोगीदेख्दा भैंसी तर्सिने, भैंसी देख्दा जोगी तर्सिने !’

हाम्रो र सर्पबीचको नाता पनि काटीकुटी त्यही थियो– सर्प देख्दा हामी तर्सिने, हामी देख्दा सर्प झस्किने ! तर, एउटा सर्प निकै मापाको निस्कियो !

Global Ime bank

पुछार वैशाखको कुरा हो, एउटा सर्प हाम्रो बाटाको तगारो बन्यो । ढुंगाले हानेर टाउको कुच्च्याइदिऊँ लागेको थियो । त्योभन्दा पहिल्यै मुटु भट्याकभट्याक गर्‍यो । हात थर्थरायो । खुट्टा लड्खडायो । त्यही दिन ठानेको हुँ— परेका बेला त शरीरले पनि साथ नदिँदो रहेछ, नाथे साथीहरूको के कुरा भयो र ! तैपनि साथ दिन्छन् कि भनेर पछाडि फर्किएर हेरेको । अघि नै कुलेलम ठोकिसकेछन् ।

“ढुंगो नउज्या के दाइ, अहिले फर्किएर टोक्यो भने ?” डरपोक बहिनी पछाडि मेरो बाँकेट सर्टको फेर तान्दै रहिछे ! बहिनीले रुँदै तानेकाले रिसमा चिसो पानी खन्याउनु बाध्यता बन्यो । नत्र सर्पको के गति बन्थ्यो ! मनमनै कुच्चिएको टाउकाको कल्पना गरेर चित्त थुम्थुम्याएँ । बहादुरी भुइँमै बिसाएर पछि हटें ।

घरमा गएर सर्प लखेटेको बठ्याइँ ओकलौंला भनेको, बहिनी भिलेन बनी । उसले पहिल्यै कुरा लगाउन भ्याइसकिछे, “दाइले आज पनि सर्पलाई ढुंगा हान्यो !”

“हँ ? कहाँ ?” हजुरआमा आत्तिनुभो !

“ऊ पर सीममा..!” बहिनीले औंलाले देखाई ।

“हेर उपद्र्या, नाग होला ! फेरि त्यता गइस् भने नागले ठुंग्छ !” हजुरआमाले बेस्मारी हपार्नुभो ।

भोलिपल्ट—

विचरा सर्प ! मलाई टोक्नुअगावै उसले जिब्रो टोकेछ ।

“हजुरआमा सर्प त मरेछ.... !”

“हँ... ?” हजुरआमा फेरि अत्ताल्लिनुभो । दख्खिन फर्किएर नमस्कार मुद्रामा चुक्चुकाउनुभो । 

हजुरआमाको आँखामा ठूलो बेचैनी थियो । अनुहारमा मप्रतिको क्रोध उत्तिकै दन्किएको थियो । नातिको मायाले बाँधेकाले होला— उहाँले हात उज्याउनुभएन । थाम्नुभयो । सर्प मर्नुमा मेरो दोष थिएन । त्यस दिन ढुंगा उज्ज्याएको मात्रै हुँ । झटारो हानेको थिइनँ । तर, पनि सर्प मर्‍यो ।

“कसरी मर्‍यो सर्प ?” बाल्यदिमाग खुल्दुलीले खोतल्यो । कुतूहलताले कोतर्‍यो । तिनताका लाग्थ्यो– मेरी आमा वैज्ञानिक हुनुहुन्छ । कुशल कालिगढ हुनुहुन्छ । उहाँले सिर्जना गर्न नसक्ने कुरा केही छैन । सबैभन्दा ठूलो सिर्जना त म र बहिनी भइगयौं । हामीलाई थाहा नभएका यावत् कुरा उहाँलाई कण्ठाग्र, मुखाग्र थियो ।

“लाटा ! भ्यागुतो निल्न नसकेर मरेको होला,” सर्प मरेको बारे पनि उहाँले लख काटिहाल्नुभो ।

सर्प मेरो कारणले नमरे पनि मेरो निद्रा जाग्राम राख्ने कारण बन्यो । अलिकति कारण हजुरआमा पनि थपिनुभो । उहाँ औधी नागपूजक । सीम देख्नै नहुने, पोल्टाबाट अक्षता झिकेर मिल्काइहाल्ने । एकपल्ट नाग हाम्रै कटेरामा टाङ फारेर घाम तापिरहेको थियो । त्यसबखत पनि राता–पहेंला अक्षता छर्नुभयो । हाँसको चालमा नाग बाटो लाग्यो । तत्पश्चात् सर्प कहिल्यै देखा परेन । ऊमात्रै होइन, उसका साथी पनि हाम्रो दैलोमा ढिम्किएनन् ।

हजुरआमाको फूSS मन्तरले काम गर्‍यो कि, अक्षताको गन्धले, त्यो त म के जानुँ ?

“तैंले ढुंगाले हानेर नाग मरेको रहेछ भने सपनामा आएर टोक्छ नि !” हजुरआमाले बेलुका लोरीको सट्टा यही सुनाउनुभो ।

राति सुत्न ओच्छ्यानमा गयो, केको निद्रा आउँथ्यो ! बरु दिमागमा हजुरआमाले भनेको त्यही कुरा आउँथ्यो । मनमा अनेक ऊहापोह मडारिन्थ्यो । आँखामा मृत सर्पको फुलेको पेट छाउँथ्यो । निद्रा गुमनाम हुन्थ्यो ।

म डराउनुको कारण यत्तिमात्रै थिएन । अघि नै भनिहालें नि, सर्प देख्नै नहुने बानी थियो । त्यही बानीलाई थाप्लामा बोकेर हिँडेको मैले थुप्रै पटक सर्पको थाप्लामा ढुंगा बजारेको थिएँ ।

सर्पले बदला लेला भन्ने भयले झन्डै एक महिनाको निद्रा बिथोलियो । एक महिनासम्म सर्प सपना, विपना कतै ढिम्किएन । निद्रा बल्ल लयमा फर्कियो ।

दुई महिनापछि—

वर्षा बर्खाले चुर्लुम्म भिजेको थियो । आकाश रुन्चे बालकझैं थियो । बादलले निहु खोज्नै हुन्थेन, रोइदिइहाल्थ्यो । झरीको जाडाले हुनुपर्छ, डाँडापाखा कुहिरो ओडेर बिहान अबेरसम्म सुतिबसेका थिए ।

“जेठा हिँड् पाखामा जाऊँ, म एकभारी घाँस ल्याउँछु, एकमुठो तँ पनि ल्याउलास् !” आमाले भन्नुभो ।

“आफैं एकमुठीको छु, एकमुठो घाँस कसरी बोक्नू ?” म अलि दुर्मुखा नै थिएँ, जवाफ फर्काइहालें ।

“के भनिस् रे !” आमाले हात उज्ज्याइसक्नुभएथ्यो । त्योभन्दा अघि नै म पाखातिर कुदिहालें । बाटामा फर्किंदा पनि आमाछोराको निकै गलफती चल्यो । बोक्न सक्दिनँ भन्दै कयौंपटक मैले घाँसको मुठा पाखामै मिल्काएँ । आमा हेर्दै नहेरी घाँसको भारी बोकेर तलतिर झर्नुहुन्थ्यो । मलाई रिसले मर्नु हुन्थ्यो । एकछिनमा फेरि सेलाउँथ्यो । बोकेर तलतिर झर्थें ।

अबेर बिहान आकाश उघ्रियो । एकाएक घामले आगो ओकल्न थाल्यो । पसिनाले निथ्रुक्क भिज्दै सर्प मरेकै ठाउँमा आइपुगें । सर्प थिएन । कंकाल थिए । सड्न बाँकी हड्डीले हिङ गर्दै मलाई खिज्याए । त्यसदिन अचम्मै भो । जिउँदै सर्प देख्दा पनि डर मान्न छाडिसकेको थिएँ । अस्थिपञ्जर देख्दा पनि झसंग भएँ ।

“सर्पका काँडा बिझ्ला, त्यता नजा !” आमाले बाटोबाटै हकार्नुभो ।

छिरल्लिइसकेको घाँसको मुठो च्यापेर उकालो चढ्न लागेको, लामो बाँसको भाटो रहेछ, त्यसैको छेस्कोमा आँखा ठोक्किन पुग्यो ! तोरीको फूल देखें ।

“फेरि त्यहाँ के बिगो गर्न लागिस् ?” म अल्मिलिएको देखेर आमाले सोध्नुभो ।

“मेरो आँखाबाट रगत आयो,” बेहोसीमै बर्बराएँ ।

आमाले घाँसको भारी बिसाउन भ्याउनुभएन । बोकेरै ओह्रालो झर्नुभो । देब्रे आँखाबाट रगतका धारा । दाहिने आँखाबाट आँसुका धारा ।

“आँखा फुटाइछस् !” आमाको स्वर लगलगी काँपेको थियो ।

रगतको भेलले आँखा टालिएकाले मैले केही भेउ पाइनँ । बाँसको छेस्को निकाल्न खोज्दै हुनुहुन्थ्यो, हात काबुमा रहेनन् । आँखामा सिन्को गाडिएकै थियो । घाँसको भारी बिसाउने होश भएन आमालाई । घाँसको भारीसँग काखी च्यापेर घर ल्याउनुभो । अघिसम्म घाँसको मुठा मलाई बोकाउँदै हुनुहुन्थ्यो । अहिले मलाई नै भारीमाथि थप्नुभयो ।

अघिसम्म ठान्दै थिएँ– मेरा बा दुनियाँका पहलमान हुन् ।

तत्कालै बदलियो– बलशाली त आमा पो हुँदिरहिछन् ! जिम्मेवारीको गह्रुँगो भारीमाथि पनि सन्तान बोझ नहुँदो रहेछ ।

घर आएपछि थाहा भयो– धन्न आँखा जोगिएछ ! खाप सियोजत्रो बाँसको छेस्कोले आँखाको तल्लो कोषमात्रै प्वाल पारेछ । त्यसपछि मात्रै आमा आवाज निकालेर रुनुभयो । दुःखमा सान्त्वना दिने र खुशीमा रुने भएकैले आमा भनिएको होला– मेरो बालख दिमागले यत्ति ठम्याउन सक्यो ।

दुई–चार दिन बिठ्याइँले विश्राम पायो । उपद्रोले आराम पायो । चकचक थान्को लाग्यो । शत्रु थला बसेकामा सर्पहरूले पनि खुशी मनाए होलान्, शायद । घाउ खाटा बस्दै थियो । एकदिन हजुरआमाले सम्झाउनुभो, “भनिथें नि, सर्पलाई ढुंगालाई नहान् भनेर ! कसो कानो भइनस् !”

के बोल्नू, ठमठमी भएँ !

० ० ०

मौसमले काँचुली फेर्‍यो । पर्यावरणमा शरदका बान्की देखापर्न थाले । हवामा दशैं हरहराउन थाल्यो । असारबाट हेर्दा कति ठाढा देखिन्थ्यो दशैं । हुँदाहुँदै छेउमै आयो । छेउमा पनि के भन्नु, संघारमै पाइला राख्यो ।

वर्षदिनमा एकफेर पाहुना लाग्न आएको दशैं धेरै दिन कहाँ अडिन्थ्यो र ! आँखा झिम्क्याउन नपाई टीकाको दिन भइहाल्यो । दशैंमा सप्पै दिन आऊन्, टीकाको दिन नआओस् लाग्छ । कारण– दश कोश टाढा मामाघर जानुपर्छ । टीका लगाएर खल्ती भरिने पनि होइन, हिँड्नकै सास्ती ।

मन ताडित् बनाउँदै मामाघर पुगें । भोलिपल्ट एकभारी मन बोकेर फकिएँ । घर पुग्न दश गजजति बाँकी हुँदो हो । घरभरि मान्छे थुप्रिएको देखें । टीका लगाउन आउनेको भीड त यत्रो नहुनु पर्ने ! फेरि हाम्रो घर कुनै मन्त्री, सांसद् र दलका नेताको पनि होइन ।

ए बाबा ! के भयो होला ?

आँगनमा पुग्न भ्याएकै थिइनँ, पिँढीमा हजुरआमा बडेमानको खुट्टा तेस्र्याएर बस्नुभएको देखें । उहाँको खुट्टा खुट्टा रहेको थिएन, सुन्निएर मूलथाम बनेको थियो ।

“के भयो आमा ?” मेरो स्वरमा आँसु मिसियो ।

“नछो मोरा, बिख सर्ला !” उहाँको स्वर पनि धोद्रे भयो ।

“यत्रो उमेर उहाँकै काखमा बिताएँ, कहिल्यै बिख सरेको थाहा छैन । हिजोमात्रै मामाघर जाँदैछु, आजै खुट्टा बिष सर्ने कसरी भयो ?,” म रनाहामा परें ।

“हिजो राति मलाई सर्पले टोक्यो,” उहाँले रहस्यको पर्दा उघार्दै भन्नुभो, “गोठमा बस्तुलाई घाँस हाल्न ग’की थें, पिँढी पनि उक्लन पाइनँ, बलेसीमै टोक्यो, असत्तीले !”

हजुरआमाले अक्षता नछर्किनुभएको सीम छैन । पुज्न, पुकार्न बाँकी सर्पको कुनै प्रजाति छैन । तर, हजुरआमामाथि नै यत्रो ज्यादती ?

“ढुंगा मैले हानेथें तर बदला हजुरआमासँग लिएर तैंले आफ्नो असली परिचय दिइस्,” सर्पलाई खुब सरापें । 

सर्पलाई जति गुन लगाए पनि बिख नै ओकल्दो रहेछ । अन्तिममा मेरो बाल्यचेतले निष्कर्ष निकाल्यो ।

सर्पले दाँत गाडेको पाँच वर्षपछि हजुरआमालाई बाघले दाह्रा गाड्यो । लगत्तै पक्षघातले थला बसाल्यो । अहिले यो स्मृति लेखिरहँदा हजुरआमा हुनुहुन्न । मृत्युले नंग्रा गाडेकै दश गृष्म बितिसक्यो ।

त्यसयता जहिले–जहिले आँखामुनिको खतमा आँखा पर्छ, आफ्नो उपद्र्याइँ पुरानो चलचित्रको रिलजस्तै धुमिल बनेर आँखामा आउँछ ।

हामी सबैसँग यस्ता भूत छन्, जसलाई हामीले वर्तमानले छोपेर राखेका छौं ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  ०७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC