site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जय केदारनाथ
Sarbottam CementSarbottam Cement

\"\"— दुर्गाप्रसाद श्रेष्ठ


३० मे १९९३ । हामीले हरिद्वार छोडेको पनि पाँच दिन भइसकेको थियो । गंगोत्रीमा स्थान–ध्यान, श्राद्ध तर्पण गरिसके उप्रान्त गंगा माताको मन्दिरमा गएर दर्शन गर्‍यौं । त्यसपछि केही फलाहार लियौं अनि बसतिर लाग्यौं । बिहानको ८ बजिसकेको थियो । त्यसैबेला पण्डितजीले भने, “यहाँको जल पनि लिनुस्, रामेश्वरजीको दर्शन गर्दा चढाउनु पर्छ ।”

अगाडि रहेका केही पसलमा तामाका स—साना अम्खोरामा यहाँको गंगाजल भरेर राखिएको थियो । अम्खोराको मुख प्लास्टिकको बिर्कोले बन्द गरिएको थियो, राखिएको जल बाहिर नपोखियोस् भनेर ।

Prabhu Bank
Agni Group
NIC Asia

आस्था र विश्वास पनि गजबको छ । मलाई लाग्यो— यही सब कारणहरूले हाम्रो देशको एकता अक्षुण्ण रहँदै आएको छ । सुदूर उत्तरी पहाडी नदीको जल सुदूर दक्षिणको समुद्र तटमा अवस्थित मन्दिरमा चढाउनु पर्ने नियमको परिकल्पना जसले गरेका थिए, तिनको मनमा परोक्ष रूपमा देशको एकताको भाव रहेको नै होला !

हामी बस रहेको स्थानमा पुग्यौं । बसचालक हाम्रो व्यग्र प्रतीक्षामा थिए । “धेरै समय लगाउनु भयो सर !” उनी बोल्दै गए, “साँझको समयमा श्रीनगर नपुग्ने हो भने निक्कै गाह्रो हुन्छ ।”

Global Ime bank

हामीले उनको गनगनको जवाफ दिने प्रयास गरेनौं । बसमा चढेर आ—आफ्नो सिट समायौं । आफ्नो गल्ती महसुस भएको खण्डमा मौन बस्नु नै श्रेयस्कर हुन्छ भन्ने लाग्यो । बस फेरि आएकै बाटो फर्कियो, उत्तरकाशीतिर— हर्षिल, भातवाडी हुँदै ।

गंगा नदी कुनै बेला गहिरो गल्छीको मार्ग भएर बगिरहेकी थिइन् भने कतै चौडाइ आकार बनाएर उर्लंदो थिइन् । सडक जब उचाइमा पुग्थ्यो, तल सयौं फिट गहिरो नदीतिर हेर्दा अत्यास लाग्थ्यो । चारैतिरका हरिया पहाड, पर्वत शृंखलाले त्यहाँको सौन्दर्य बढाएको थियो भने गंगाको निर्मल सुरध्वनि सर्वत्र गुञ्जिरहेको थियो । कति आनन्ददायी वातावरण !

उत्तरकाशीमा खाना खाएर केही समय विश्राम गरियो । त्यसपछि हाम्रो यात्रा अगाडि बढ्यो । उत्तरकाशीको बजार एकदमै रमणीय रहेछ । सफा स्वच्छ र सुविधायुक्त पनि । उत्तरकाशी गंगाको किनारमा बसेको हुनाले पनि यहाँ कैयन् आश्रम पनि रहेका थिए ।

गंगोत्रीबाट केदारनाथको दूरी ३४३ किलोमिटर छ । एउटा अर्को मार्ग पनि छ, जुन चिरबिटिया भएर जान्छ तर त्यो ३४८ किलोमिटर लामो छ । यद्यपि यो अर्को मार्ग त्यति चलन चल्तीमा छैन ।

यसपछि बस कीर्तिनगरतर्फ मोडियो । त्यसउप्रान्त २३० किलोमिटरको दूरी पार गरेर हामी श्रीनगर पुग्यौं । त्यसबेला झमक्क साँझ परिसकेको थियो । यहाँ पनि यात्री बसहरूले पूरा बजार भरिएको थियो । रात्रिकालीन विश्रामका लागि होटल, धर्मशाला, अतिथि गृह कतै पनि ठाउँ पाइएन । त्यो त धन्न, यहाँ पनि अन्य पर्वतीय स्थानहरूमा जस्तै निजी घर भएका स्थानीयहरूले एक–दुई वटा कोठा राति विश्रामका लागि भाडामा दिँदै आएका रहेछन् । बजारमै बस स्टपको अगाडि एजेन्टहरू घुम्दै अप्ठ्यारोमा परेका यात्रुलाई आवासको व्यवस्था गराउँदै आएका हुन्छन् । त्यहाँ १५० देखि ३ सय रुपैयाँसम्ममा एउटा कोठा उपलब्ध थियो ।

श्रीनगर चमोलीको मुख्यालय त हो नै । यो आफैंमा रमणीय शहर पनि हो । यसको उचाइ समुद्री सतहबाट मात्र ५७९ मिटर छ । यसैले पनि तातो जलवायु छ यहाँ । अलकनन्दाको किनारमा अवस्थित यस शहरमा पर्यटकहरूका लागि राम्रो सुविधा थियो ।

भनिन्छ— रामले यहीँ नै शिवको उपासना गरेका थिए र श्रीयन्त्रकै कारण यस नगरको नाम श्रीनगर राखिएको हो । यहाँका मानिसहरूसँग कुरा गर्दा थाहा लाग्यो— यस क्षेत्रको विकासका लागि मुख्य श्रेय हेमवतीनन्दन बहुगुणालाई जान्छ । यस्तो प्रयास सत्य मनबाट हरेक नेताले गर्ने हो भने देश स्वर्ग बन्न बेर लाग्दैन ।

श्रीनगरमा रात्रि विश्रामको भोलिपल्ट बिहान सखारै हामीले केदारनाथको बाटो समायौं । केही समयपछि नै हामी रुद्रप्रयाग (जहाँ मन्दाकिनी र अलकनन्दाको संगमस्थल छ) पुग्यौं । रुद्रप्रयागबाट तिलवाडा, अगस्त्यमुनि, कुण्ड हुँदै गुप्तकाशी पुग्यौं । बिहानको ८ बजिसकेको थियो । सबैलाई भोक लागेको थियो । यसै ठाउँमा सबै यात्रुले बिहानको चिया खाजा खाए ।

गुप्तकाशीमा पनि हाम्रो काशीमा जस्तै विश्वनाथ मन्दिर र मणिकर्णिका छ । गुप्तकाशीको सामुन्ने उभिएको पहाडी भागमा ऊखी मठ छ, जहाँ हिउँद मासमा भगवान केदारको मूर्ति पूजा गरिन्छ । गुप्तकाशीबाट हामी सोनप्रयाग पुग्यौं । सोनप्रयाग सोनगंगा र मन्दाकिनीको संगमस्थल हो । सुप्रसिद्ध तीर्थ त्रियुगीनारायणको लागि बाटो यहीँबाट छुट्टिन्छ ।

बिहानको १२ बज्दा नबज्दै हामी गौरीकुण्ड पुग्यौं । उचाइका साथै सडकको डरलाग्दोपना पनि बढ्दै गएको थियो । एकातिर चट्टान र अर्कोतिर भयानक गहिरो भाग । यो देखेरै शरीरमा काँडा उम्रिएर आउँथ्यो । हामीसँगै गएका एक जना पण्डितजी महाराज (जो झ्यालतिर बसेका थिए) बीचको भागमा आएर बसे । ‘सुतुरमूर्गी’ सुरक्षाको आभास यही हो, शायद !

गौरीकुण्ड हुनलाई त सानै ठाउँ हो तर यहाँ पनि तीर्थयात्रीहरूको भीडले वातावरणलाई गुल्जार बनाएको थियो । बसबाट ओर्लिएर हामी करिब एक किलोमिटर जति पैदल हिँड्यौं र तप्तकुण्ड पुग्यौं । भनिन्छ— शिवप्रिया गौरीले यहीँ नै स्नान गरेकी थिइन् । त्यसैले यसको नाम गौरीकुण्ड राखियो । आदिशक्ति गौरीको शरीरको तापले कुण्डको पानी तातो भयो, जुन तातोपना आजसम्म पनि कायम छ । हामीले पनि यहाँ स्नान गर्‍यौं र नेपाली लालमोहरिया पण्डाको हातबाट संकल्प गरायौं । त्यसपछि केही खाजा पानीको व्यवस्थामा जुट्यौं ।

हामीले आफ्ना साथमा ड्राइफ्रुटहरूबाट तयार लड्डु ल्याएका थियौं । कारण— चिसोमा शरीर तातो रहोस् र पैदलयात्रा गर्दा थकान महसुस नहोस् । पैदलयात्रामा असमर्थ महिलाहरूका लागि हामीले डोकोको व्यवस्था गर्नु थियो । त्यसका लागि हामी मोलभाउ गर्न लाग्यौं । यात्रीको वजनअनुसार डोकोमा बोकेर लानेले दाम तय गर्दै आएका रहेछन् । ६ सय रुपैयाँदेखि १२ सय रुपैयाँसम्मको भाडा थियो । प्रारम्भमा त यो भाडा रकम हामीलाई ज्यादा लाग्यो । तर, जब बाटो कष्टकर भएको आफूले पैदल यात्रा गर्दा अनुभूत भयो, त्यसपछि लाग्यो— यति पारिश्रमिक त केही पनि होइन । यस्तो अप्ठ्यारो बाटोमा, त्यो पनि सवारी पिठ्यूँमा बोकेर माथि उक्लिनु सहज काम पक्कै थिएन ।

रामबाडासम्म हामी ठीकठीकै हिँड्यौं तर त्यसपछि भने शरीरले जवाफ दिन शुरु गर्‍यो । एक–एक पाइला सय–सय कोशको अनुभव हुँदै थियो । एक त समुद्री सतहबाट २,५९१ मिटरको उचाइ, चारैतिर हिउँको पहाड । तल मन्द गतिमा बग्दै गरेको हिमनदी ! बाटोमा ठाउँ–ठाउँमा हिउँ जमेको थियो । त्यो हिमदृश्य देखेर मन चञ्चल भयो । आनन्दविभोर भयो । लौरोको सहायताबाट हिउँले भरिएको बाटो पार गर्दै हामी रामबाडा पुग्यौं । गौरीकुण्डदेखि रामबाडासम्मको दूरी सात किलोमिटर हो तर यति दूरी तय गर्न पनि हामीलाई चार घण्टाको समय लाग्यो । सासको गति तेज थियो । खुट्टा पनि लर्बरिएका थिए ।

छेउछाउबाट घोडामा चढेका, डोकोमा बसेका र तामदानमा बसेकाहरू पैदल हिँड्नेहरूलाई पछाडि छाड्दै अगाडि बढिरहेका थिए । कोही माथिबाट तल पनि ओर्लिरहेका थिए । घोडामा बसेका मानिस आँखा बन्द गरेर ‘जय श्रीराम’ को जप गरिरहेका थिए । तिनलाई पक्कै पनि डर थियो किनभने घोडाको बानी सडक बाटोको छेउछेउ हिँड्ने हुन्छ । र, मानिसलाई छेउबाट गहिरो हेर्दा रिंगटा चल्न सक्छ । यहाँ भयले नै भगवान् नामको उच्चारण गराइरहेको थियो । भनिन्छ नि,  ‘भय बिनु होइ न प्रीत’ ।

थप चार किलोमिटर पैदल हिँडेर हामी ३२६२ मिटर उचाइमा रहेको स्थान गरुडचट्टी पुग्यौं । हल्का वर्षा हुँदै थियो । गरम कपडामाथि रेनकोट थप्यौं । यद्यपि पैदल हिँडेका कारण भित्रभित्र पसिनाको नदी बग्दो थियो । बाहिर भने अत्यधिक चिसोका कारण हातखुट्टा कठ्यांग्रिएका थिए ।

गरुडचट्टीमा हामीले तात्तातो चिया पिउने काम गर्‍यौं । त्यसपछि हामी हाम्रो गन्तव्य केदारनाथतर्फ लम्कियाैँ । रात पर्दै थियो । आकाशमा चन्द्रमाको आकार फैलिँदो थियो । वातावरणमा हिउँमिश्रित हावा चल्दै थियो । खुट्टामा शिथिलता भए पनि पाइला लक्ष्यतिर उक्लँदो थियो । अब केवल दुई किलोमिटर बाँकी थियो— बाह्रौं द्वादश लिंगहरूमध्येको एक केदारनाथको मन्दिर ।

भनिन्छ— उत्तर भारतको दुर्गम पहाडीमा अवस्थित यस भव्य मन्दिरजस्तो अरू कुनै छैन । पाण्डवले पनि बन्धु बान्धवहरूको हत्याको प्रायश्चित गर्नका लागि यसै हिमालय क्षेत्रको यात्रा गरेका थिए । त्यसैले यसलाई स्वर्गारोहण पनि भनिन्छ । त्यसै समय तिनले तपस्यारत शंकर भगवानलाई देखेका थिए । तिनीहरू भगवानतिर दौडिए तर भगवान अन्तरध्यान भए । पाण्डवहरूको भागमा प¥यो वृषभरूपी केदारेश्वरको पिठ्यूँको पछिल्लो अंग । केदारनाथको लिंग यसै रूपमा अवस्थित छ ।

३,५८६ मिटर (करिब १२ हजार फिट)को उचाइमा अवस्थित यस मन्दिरको छटा अचम्मको मनमोहक छ । करिब एक किलोमिटरको बाटो बाँकी रह्यो । त्यसैबीचमा मन्दिरको घण्टको आवाज त्यो सन्नाटालाई चिर्दै हाम्रो कानसम्म आइपुग्यो ।

“मलाई त मन्दिरमा बलेको धूपको बास्ना आइरहेको छ,” मेरी पत्नीले भनिन् । 

मलाई के गरूँ के गरूँ भयो । तिनको भनाइमा विश्वास गरूँ कि नगरूँ !

(बनारसमा बसोबास गर्दै आएका साहित्यकार दुर्गाप्रसाद श्रेष्ठको ‘देश देशान्तर’ यात्रा वृतान्तबाट अनुदित ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  ०७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC