site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अब मैले इज्जत राख्नु छ
Sarbottam CementSarbottam Cement

— बिना थिङ तामाङ


अलिअलि कथा लेख्थें । राष्ट्रिय पत्रिकामा पहिलो पटक मेरो कथा ‘अन्नपूर्ण पोस्ट’को शनिवारीय अंक ‘फुर्सद’मा छापिएको थियो । मिश्रित पाठकीय प्रतिक्रियाहरू पाएँ । यसले मभित्र हौसला भर्‍यो । तर, कथाको क्षेत्रमा परिचित नाम बनाउन सजिलो छैन भन्ने आभास भइरहेको थियो । जसोतसो कथा लेखिरहें ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तैमा ‘बाह्रखरी’ले कथा प्रतियोगितासम्बन्धी पत्रकार सम्मेलन गर्‍यो । म स्वयं पनि उपस्थित थिएँ । म कथा संग्रहका लागि कथाहरू तयार गर्दै थिएँ । प्रतियोगिताको बारेमा जानकारी पाएपछि हुटहुटी लाग्यो । केही साथीहरूसँग कुरा पनि गरें । मिश्रित सुझाव आयो । निकै दिनसम्म म अलमलिएँ । आफ्नो कथामाथि काम पनि गर्दै थिएँ । प्रतियोगिताको लागि भने दोधार बढेर गयो । एकपटक त मलाई प्रतियोगितामा भाग नलिऊँ जस्तो लाग्यो । फेरि अग्रज, साथीहरूको आग्रह, मभित्रको महत्त्वाकांक्षाले प्रतियोगितामा भाग लिने निर्णय गरें । कथा ०७५ फागुन २० सम्ममा पठाइसक्नुपर्ने थियो । अन्ततः मैले कथा पठाएँ । तर, कथा पठाउनुअघि निकैपटक यो कथामाथि काम गरें । यत्तिको सम्पादन मैले कुनै कथामा पनि गरेकी थिइनँ ।

दोधार सक्कियो । अब कुतूहलता जन्मियो । उत्कृष्ट २५ मा पर्ने हो कि नाइ ?

Global Ime bank

निकै दिनपछि इमेल चेक गर्दै थिएँ । ‘बाह्रखरी’को इमेल देखें, खोलें । मेरो कथा ‘ब्याड भाले’ उत्कृष्ट २५ मा परेको जानकारीसहित बधाई लेखिएको इमेल पढेर म खुशीले आकाशमाथि उडें । एकछिन नोस्टाल्जिक भएँ । यस्तै अनुभूति २०७० को राष्ट्रिय बहुभाषिक कविता प्रतियोगिताको दौरानमा भएको थियो । देशभरबाट प्राप्त कवितामध्ये उत्कृष्ट १० छानिएको खबर फोनमार्फत प्राप्त गरेकी थिएँ । र, पछि त्यो प्रतियोगितामा मैले सर्वोत्कृष्ट पुरस्कार प्राप्त गरेकी थिएँ । तर, उत्कृष्ट २५ बाट सर्वोत्कृष्ट हुनु मेरो लागि चुनौती नै थियो । अब प्रतीक्षा ०७६ वैशाख ६ गतेको थियो । त्यो आउन महिना दिन थियो । उत्सुकता बढ्यो ।

अन्ततः प्रतीक्षाको दिन आइपुग्यो । उमेर र परिपक्वताले जति नै फुले पनि मान्छेको स्वभाव न हो— त्यो काँचै हुँदो रहेछ । म पनि केटाकेटीजस्तै उत्सुक भएँ । उत्कृष्ट २५ मा पर्नु नै मेरो लागि ठूलो कुरा थियो । त्यसमाथि निर्णायक घडी । अलिअलि असजिलो बोकेर म कार्यक्रममा पुगें । यो असजिलोबारे पछि लेख्नेछु ।

जब उत्कृष्ट २५ बाट वर्णानुक्रमअनुसार उत्कृष्ट २२ को नाम बोलाउन शुरु भयो, मेरो सास बढ्यो । शायद मेरोजस्तै हालत बाँकी २४ जनाको पनि थियो होला । जब प्रमोद अमात्यबाट माधव सयपत्रीजीको नाम घोषणा भयो, म उत्कृष्ट ३ मा परेको थाहा पाएर आश्वस्त भएँ । स्टेजमा हामी बाँकी तीन जना उभियौं । तेस्रोमा सुमित्रा न्यौपानेजीको नाम घोषणा भएपछि मेरो मुटुको रफ्तार तेज हुन थाल्यो । कुनै भूमिका नबाँधी उद्घोषकले प्रथम पुरस्कार घोषणा गर्दा मेरो हालत ह्वात्तै नाजुक भएर गयो । छिनमै सम्हालिएँ । यति ठूलो राशिसहितको पुरस्कार प्राप्त गर्दै गर्दाको क्षण म पुलकित भएँ । स्टेजमा हुन्जेल म नर्भस भएँ । आदरणीय व्यक्तित्वहरूको आशीर्वाद, साथीहरूको स्नेह र बधाइले म सम्हालिएँ । साथीभाइको सन्देश, फोनले मलाई अतिरिक्त खुशी प्रदान गर्‍यो । सफलता एक्लैमा सेलिब्रेसन गर्नुको औचित्य हुँदैन । घर फर्किंदासम्म सामाजिक सञ्जालमा बधाइ र शुभकामनाले म भरिएछु । म बालकले चाहेको कुरा प्राप्त गर्दा खुशी भएजस्ती भएँ ।

अलिकति सपनाजस्तो मीठो । अलिकति भुवाजस्तो हलुका । अलिकती दर्शनढुंगाजस्तो गह्रुंगो । मिश्रित अनुभूतिले छोपेको छ यतिखेर । प्रतियोगिता आफैंमा महत्त्वाकांक्षी हुन्छ । त्यसमा भाग लिनु भनेको अपेक्षा गर्नु नै हो । मैले पनि अपेक्षासहित नै यो प्रतियोगितामा भाग लिएकी थिएँ । फेरि यो प्रतियोगिता आफैमा वजन र स्टेटस बोकेको प्रतियोगिता थियो । मैले यसलाई चुकाउन चाहिनँ । एकपटक त भाग नलिने सोच बनाएकी थिएँ । तर, आदरणीय व्यक्तित्वहरू, शुभचिन्तक, मेरो लेखनलाई प्रेम गर्ने, विश्वास गर्नेहरूको सुझावलाई मैले सम्मान गर्नुपर्छ भन्ने लाग्यो । उहाँहरूकै सुझावले कथामाथि काम गरें । उत्कृष्ट २५ मा पर्नु नै मेरो लागि सुखद कुरा थियो । मेरो कथा लेखनप्रतिको लगावलाई जुरीहरूले जुन प्रेम देखाउनुभयो, म आभारी छु । हिजोसम्म मैले कथा लेखनमा बचपना जस्तो देखाउँदा पनि त्यो मेरो कुरो हुन्थ्यो । तर, आजबाट ममाथि चुनौती थपिएको छ । अब झन् डर लागेको छ । मैले यो पुरस्कारको इज्जत राख्नु छ । निर्णायकज्यूहरूको विश्वासलाई कायम राख्नु छ । लेखकीय धर्म निभाउनु छ । ‘बाह्रखरी’, जसले यो प्लेटफर्म दियो, जहाँ म खरो उत्रिएँ— यो अवसर र सम्मानको निम्ति म आभारी छु । धन्यवाद । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC