काठमाडौं । बाराको भलुही, पुरैनिया र भरवलियामा हावाहुरीबाट मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग गरिएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले उपलब्ध गराएको पाँच लाख रुपैयाँ हावाहुरीबाट मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग स्वरुप प्रदान गरिएको हो ।
भलुही, पुरैनिया र भरवलियाका २३ जना मृतकका परिवारलाई २१ हजार पाँच सयका दरले आर्थिक सहयोग गरिएको नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसियाले जानकारी दिए । गत चैत १७ गते गएको हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति भएपछि सुनकोशी गाउँपालिकाले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले गरेको निर्णय अनुसार सहयोग रकम बोकेर गाउँपालिका प्रमुख विरेन्द्र जिसी बारा पुगेका थिए । उनले लगेको पाँच लख रुपैयाँलाई दामाशाही गरेर २३ जना मृतकका परिवारलाई वितरण गरिएको बताइएको छ ।
हावाहुरीमा परी मृत्यु भएका अन्य पाँच जनाका हकदार कायम हुन नसकेका कारण आर्थिक सहयोग गरिएको छैन् । ‘‘२३ जना मृतकका परिवारलाई राहत उपलब्ध गराइएको छ । अन्य पाँच जना भारतीय नागरिक हुन् । उनीहरुको हकदार कायम भइसकेको छैन् । फेरि स्थानीय प्रशासनले हकदार कायम नहुँदासम्म सहयोग गर्न नसकिने बतायो’’ बारा कांग्रेसका सभापति चौरसियाले भने ।
हावाहुरीबाट मृत्यु भएकाका परिवारजनलाई आर्थिक सहायता वितरणका लागि कांग्रेसका केन्द्रीय मोहनबहादुर बस्नेत, फरमुल्लाह मन्सुर, राधेचन्द्र यादव पनि भलुही, पुरैनियाँ र भरवलिया पुगेका थिए ।
तस्बिरः कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवको फेसबुकबाट .