site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माछापुच्छ्रे कहिलेसम्म हेर्नेमात्रै ?
Ghorahi CementGhorahi Cement

पोखराको विन्ध्यवासिनी मन्दिरबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्दै विदेशी पर्यटक । तस्बिरः रासस


पोखरा । गत बुधबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न हिँडेका ४ सदस्यीय टोलीलाई बिदाइ गरे, ‘एक सेन्टिमिटर पनि फरक नपर्ने गरी नाप्नू’ भन्ने निर्देशनका साथ ।

सगरमाथाको उचाइ भूकम्पले घटाएको हो वा होइन, आरोहण टोलीकै प्रतिवेदनले बताउला । सगरमाथाको नाप भारतले सन् १९५४ मा र अमेरिकाले सन् १९९९ मा लिएका थिए । त्यतिबेला भारतीय र अमेरिकी टोलीको निष्कर्षमा २ मिटरको मात्र फरक छ । नेपालले अमेरिकी टोलीले ८,८४८ मिटर नै सगरमाथाको उचाइ मान्दै आएको छ ।

Agni Group

भारत र अमेरिका पछि नेपाल आफैंले पहिलोपटक सगरमाथाको उचाइ नाप्न लागेको हो । सन् १९५३ मा तेन्जिङ नोर्गेे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरेपछि सगरमाथामा अहिलेसम्म थुप्रै व्यक्तिहरु पुगिसकेका छन् ।

सगरमाथा जत्तिकै चर्चित अर्को हिमाल छ, माछापुच्छ्रे । लामो समययता आरोहण खुलाउने र नखुलाउने बहसमा अल्झिएको माछापुच्छ्रे फेरि चर्चामा आएको छ । कारण– भ्रमण वर्ष २०२० र २० लाख पर्यटक । सगरमाथा विश्वकै अग्लो र आरोहण पनि गरिएको हिमाल भएका कारण चर्चामा रह्यो भने माछापुच्छ्रे चाहिँ ठिक विपरीत ‘कुमारी’ रहेका कारण चर्चित बन्यो ।

Global Ime bank

शनिबार साँझ फेवा किनारको कोमागाने पार्कबाट ‘सफ्ट लञ्च’ गर्दै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भनेका थिए, ‘नेपालमा २० लाख पर्यटक भित्र्याउँदा ८–१० लाख पर्यटक पोखरा आउँछन् ।’ माछापुच्छ्रेको तस्बिरमात्र हेर्न आउने पर्यटकहरु त्यसको आरोहण पनि गर्न पाए भने निश्चय नै सरकारको लक्ष्य पूरा गर्न ठूलो सहयोगी बन्नेछ । भर्जिन हिमालको उपमा पाएको यो हिमाल पोखरा भित्रिने जोकोहीले पनि पोखराको उत्तरी भेगमा देख्न सक्छन् । अझ भनौँ, माछापुच्छ्रे देखाएर नै यहाँको पर्यटन चलिरहेको छ भन्दा पनि फरक नपर्ला ।

फेवातालमा देखिने माछापुच्छ्रेको छायाँ हेर्नकै निम्ति पनि पर्यटकहरु पोखरा आउने सत्यता पनि छ । फेवाताल, फेवाताल हुनुको पछाडि माछापुच्छ्रेको सेतो छायाँ नै प्रमुख आकर्षणको कारक हो ।

तर, उही फेवाताल र लेकसाइडले मात्र पर्यटक बढ्छन् भन्ने चुनौती पनि उत्तिकै रहेको छ । भ्रमण वर्ष २०२० को उपलक्ष्यमा माछापुच्छ्रेको आरोहण खुलाएर ऐतिहासिक कार्य गर्ने कि भन्ने एकथरीको तर्क पनि छ ।

माछापुच्छ्रेको आरोहणको प्रयास भने नभएको होइन । ६ दशक पहिले नै सन् १९५७ मा ब्रिटिश पर्वतारोही जिमी रोबर्टस माछापुच्छ्रेको चुचुरो भन्दा ४३ मिटर तलसम्म पुगेका थिए, त्यसपछि मौसम खराबीका कारण उनले माछापुच्छ्रे शिखर टेक्न सकेनन् । त्यसयता उक्त हिमाल आरोहणको प्रयास भएको छैन ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित ६,९९३ मिटर अग्लो माछापुच्छ्रे हिमालको आरोहण आखिर किन रोकियो त ? गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ भन्छन्, ‘खुलाउने अनुमति निर्णयको अधिकार पर्यटन मन्त्रालयले गर्नुपर्ने हो, हाम्रो भूगोलभित्र पर्ने हुनाले हामीले चासो लिएका हौँ । गाउँसभाले पनि सम्बन्धित निकायलाई आरोहण खुलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।’ उनका अनुसार पर्यटन मन्त्रालयलाई आरोहण खुलाउन गत साल नै माछापुच्छ्रे गाउँपालिकाको गाउँसभाले अनुरोध गर्ने निर्णय गरेको हो ।

के माछापुच्छ्रेको चुचुरो नर र नारायणका शीर हुन् ?
माछापुच्छ्रे हिमालबारे दुईथरि बहस छन् । पहिलो, माछापुच्छ्रेलाई कुमारी नै रहन दिनुपर्छ । दोश्रो, यसको आरोहण खुलाएर जीविकोपार्जनसँग जोड्नुपर्छ । संस्कृतिविद्, डा. जगमान गुरुङ माछापुच्छ्रेको आरोहण खुलाउन नहुनेमा लामो समयदेखि तर्क गर्दै आइरहेका छन् । उनकै शब्दमा भन्ने हो भने माछापुच्छ्रेका दुई चुचुरा तपस्वीद्वय नर र नारायणका प्रतीक हुन् । डा. गुरुङ भन्छन्, ‘माछापुच्छ्रेको आरोहण गर्न हुँदैन भन्ने मेरो पुरानो मत छ, किनभने अहिले जसलाई माछापुच्छ्रे भनिएको छ, त्यसलाई गुरुङहरुको धार्मिक ग्रन्थ गण्डकी महात्माले माछाको शीर भनेको छ । २ जना तपस्वी नर र नारायण नै माछापुच्छ्रेका २ चुचुरोका प्रतीक हुन्, त्यसैले पवित्र शीरमा पाइला राख्नुहुँदैन ।’

अर्कोतर्फ, आरोहण खुलाउँदा अनिष्ट हुने मान्यता पनि जनमानसमा रहेको छ । तर, गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङ भने यसमा विमति राख्छन् । ‘म पनि गुरुङकै छोरा हो, माछापुच्छ्रे गुरुङ भाषा होइन । त्यसलाई हामीले कहिल्यै नाम राखेनौँ । गुरुङ भाषा, संस्कृतिसँग जोडिने भए नाम राख्थ्यौँ, त्यसको फेदमा पुग्ने हामीले पूजा नगरेको अनुभव मसँग पनि छैन । मेरो तर्क यो छ कि, नर र नारायण भन्ने सबै कुरा झुट हो ।’

‘हामीले कहिल्यै माछापुच्छ्रेलाई पुजेनौँ’
माछापुच्छ्रे हिमालको पेरिफेरिमा गुरुङ समुदायको बस्ती छ । वसन्त ऋतृ सुरु भएपछि त्यहाँका स्थानीय भेडा चराउनतर्फ लाग्छन् । यो कार्य गृष्म ऋतृसम्म  चल्छ । गाउँपालिका अध्यक्ष गुरुङ सम्झन्छन्, ‘म आफै पनि भेडीगोठ बसेँ, हिमालको फेदसम्म जहाँसम्म हरियो घाँस उम्रिन्छ, त्यहाँसम्म भेडिचरनको क्षेत्र हो, त्योमाथि ढुंग्यान छ । हामीहरु १,३०० मिटरदेखि ४ हजार मिटरसम्म पुग्छौँ । यो अनादिकालदेखिको परम्परा हो । भेडा चराउन जाँदा भेटिने असामान्य ढुंगा, पानीको मुहान, रुख सबैको नाम राखिएको छ । यस्ता १ सय वटा जति ठाउँ छन्, सबैको नाम राखिएको छ । तर, हामीले कहिल्यै माछापुच्छ्रेको पूजा गरेको मलाई सम्झना छैन । हामीले भूमि, पृथ्वी पूजा गछौँ, कहिँ कतै माछापुच्छ्रेको नाम कहिल्यै कतै जोडिएको मलाई याद छैन ।’

गुरुङ संस्कृतिसँग जोडिने भए किन माछापुच्छ्रेको पूजा गरिँदैन त ? गुरुङ थप्छन्, ‘अनिष्ट हुने भए सबैलाई नै हुन्छ । पहाड अग्लो भएकै कारण हिउँ जमेको हो र हिमाल बनेको हो, हिउँ जमेको कारणले विस्तारै पग्लँदै पग्लँदै गएर खोलामा पानीको वहाव बढेको हो, यो प्राकृतिक इकोसिस्टमको कुरा हो । गर्मीयाममा मौसम परिवर्तन हुँदा हिउँ पग्लिन्छ र खोलोको आकार बढ्छ । हाम्रो बस्ती पनि खोला नजिक छ, खोलाको वहाव बढ्दा क्षति हुन्छ । २०६९ मा पनि बाढी आयो, क्षति भयो खोला किनारमा बसेकै कारण क्षति भएको हो ।’

आरोहण खुलाउँदा पर्यावरण बिग्रन्छ ?
आरोहण खुलाउँदा पर्यावरण बिग्रने तर्क पनि एकथरी बहसकर्ताले उठाएका छन् । प्राकृतिक वातावरण बिग्रने, प्लाष्टिकजन्य पदार्थको फोहोरको मात्रा बढ्ने तर्क उनीहरुको छ । 
‘हामीले उद्योग खोल्न लागेका हैनौँ, खानी उत्खनन् गर्ने भनिएको छैन,’ गुरुङको तर्क छ, ‘आरोहण खुलाउँदा मानवीय गतिविधी अवश्य नै बढ्छ, मान्छे पुग्दा फोहोर पनि थुप्रिन सक्छ ।यस सम्बन्धमा गाउँपालिकाले फोहोर व्यवस्थापन सम्बन्धि नियमावली ल्याउँछ ।’

एकजना नै पर्यटकले आरोहण गरेतापनि निश्चित धरौटी राख्ने, उसले आरोहणका क्रममा प्रयोग गरेका पदार्थको अभिलेख राख्ने र जैविक फोहोरहरु फिर्ता नल्याएमा धरौटी जफत नै गरिने गुरुङले बताए । उक्त रकम फेरि सरसफाईमा नै प्रयोग गर्न सकिने उनको भनाइ छ ।

‘जीविकोपार्जनसँग जोडौँ’
गुरुङको भनाइ छ, ‘यसलाई जीविकोपार्जनसँग जोडौँ ।’ आरोहण खुल्नेबित्तिकै रोजगारी सिर्जना हुने र युवा पलायन रोक्न सकिन्छ । रोजगारी सिर्जना हुन्छ, यसले युवा पलायन रोक्छ । अहिले गाउँमा युवाहरु देख्न पाइँदैन, यो दिगो रुपमिा पर्यटन  विकास समृद्धिको निमित्त यो कुरालाई जीविकोपार्जनसँग जोडिएको हो । खोलाबाट बग्ने पानीबाट बिजुली निकालौँ, आरोहण खुलाऔँ, पर्यटक भित्र्याऔँ, पर्यटन प्रवद्र्धन गरेर आर्थिक लाभ लिउँ । यसबाट रोजगारी पनि सिर्जना हुन्छ, गाउँपालिका समृद्ध पनि बन्छ, रोजगार बढाऔँ भन्ने ध्येयका साथ कुरा उठाएका हौँ ।’

‘अन्नपूर्ण प्रथम बन्ने त होइन माछापुच्छ्रे ?’
हिमाल आरोहण विश्वमा १७ औँ शताब्दीमा नै सुरु भएतापनि नेपालमा भने २ शताब्दीपछि यसको सुरुवात भयो । नेपालमा ८ हजार मिटर अग्लो हिमालमध्ये ‘अन्नपूर्ण प्रथम’ को सन् १९५० मा पहिलोपटक आरोहण भयो । ‘हिमाल आरोहणको ६८ वर्षमा कतिजनाले उक्त हिमाल आरोहण गरे त ? कति पर्यटक भित्रिए र त्यसले आर्थिक गतिविधीमा कत्तिको परिवर्तन ल्यायो ? माछापुच्छ्रेको आरोहण खुलाएपछि अन्नपूर्ण प्रथमको जस्तै हालत भयो भने के गर्ने ?’ गुरुङको आशंका छ, ‘भर्जिन’ हिमाल पनि नरहने, पर्यटक पनि नआउने हुनुभन्दा भर्जिनिटीबाटै बढी प्रचार गरे बढी पर्यटक आउँछन् ।’

कन्जरभेसन इन्स्टिच्युटका अनुसार विश्वका सुन्दर हिमालमा स्विट्जरल्यान्डको दि मटेरहोर्न, अमेरिकाको डेनाली, आइसल्याण्डको किर्कजुफिल, दक्षिण अफ्रिकाको टेबल माउन्टेन, नेपालको आमादब्लम, स्विट्जरल्यान्डको माउन्ट इगर छन् र सातौं नम्बरमा माछापुच्छ्रे रहेको छ । ‘मान्छेलाई कि अग्लो हिमाल चढौँ भन्ने लाग्छ कि राम्रो हिमाल चढौँ भन्ने लाग्छ । अग्लोको लागि सगरमाथा छँदैछ, राम्रोमा चाहिँ माछापुच्छ्रे । राम्रो हिमाल बढी आरोहण भएको तथ्यांक पनि छ, यसले हामीलाई फाइदा पुग्छ,’ उनले बताए ।

आरोहण खुलाएर हिमाल थोत्रिने होइन
आरोहण खुलाएपछि आरोहीको पदचापले माछापुच्छ्रेको आकार बिग्रिन्छ भन्ने तर्क आरोहण खुलाउन हुन्न भन्नेहरुले गर्दै आएका छन् । माछापुच्छ्रेको माछाको आकार बिग्रने र यसलै मौलिकता गुमाउने तर्क उनीहरुको छ ।

यता नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले चाहिँ ‘हिमाल थोत्रो हुँदैन’ भन्ने प्रतिक्रिया दिएका छन् । ‘हाम्रो धारणा हिमालजति खुला गर्नुपर्छ भन्ने हो,’ उनले भने, ‘धर्म, संस्कृतिसँग जोड्ने हो भने सगरमाथा त झन् आमा हो । आरोहण नगर्दा राम्रो र चढ्दा थोत्रो हुने होइन, यसले प्रदेश र सरकारको भ्रमण वर्ष २०२० को लक्ष्यप्राप्तिमा सहयोग गर्छ ।’
सरसफाइको हकमा चाहिँ बढी फोहोर भएका हिमालहरु सरसफाइको लागि १–२ वर्षसम्म आरोहण रोक्न सकिने उनको तर्क छ ।

नेपालमा अहिले जम्मा ४७६ वटा हिमश्रृंखलामा आरोहण खुल्ला गरिएको छ । तीमध्ये जम्मा ४२५ वटा हिमालमा मात्र आरोहणको प्रयास भएको  छ। योमध्ये पनि २२५ हिमालमा मात्र आरोहण सफल भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC