विद्यालय शिक्षाको गुणस्तर 

केशर खुलाल

नेपालमा सामुदायिक विद्यालयप्रति जनसाधारणको दृष्टि अझै पनि संकीर्ण नै देखिन्छ । यसको प्रमुख कारण त त्यस्ता विद्यालयमा गुणस्तरको कमी नै हो । तर, अरु कारण पनि छन् । शिक्षाको लागि उचित भौतिक तथा शैक्षिक संरचनाको अभाव छ । धेरै शिक्षकमा नैतिक तथा पेसागत मर्यादाको कमी देखिन्छ । शिक्षक तथा विद्यार्थीको राजनीतिक संलग्नताले पनि सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुने गरेको छ । शिक्षा निःशुल्क भइदिनाले पनि त्यसप्रति अभिभावकमा विश्वास जाग्न नसकेको हुनुपर्छ । 

स्तरीय विद्यालय शिक्षाका लागि पर्याप्त भौतिक संरचना र गुणस्तरीय शैक्षिक सामग्री आवश्यक हुन्छ । विद्यार्थीलाई भय, चिन्ता र भेदभाव मुक्त वातावरण चाहिन्छ । विभिन्न नकारात्मक सामाजिक गतिविधिबाट पनि विद्यार्थीलाई टाढा राख्नुपर्ने हुन्छ । अनिमात्र विद्यार्थीलाई पढाइमा एकाग्र बन्न सहयोग पुग्छ । 

एकाग्र भएर शैक्षिक गतिविधिमा मात्रै केन्द्रित हुने वातावरण विद्यार्थीलाई चाहिन्छ । त्यसैगरी शिक्षण पेसा र विद्यार्थीप्रति समर्पित दक्ष तथा प्रेरणादायी शिक्षक पनि गुणस्तरीय शिक्षाका लागि अनिवार्य आवश्यकता हुन् । 

किताबी ज्ञानलाई भन्दा पनि विद्यार्थीका जिज्ञासालाई बढी ध्यान दिनुपर्ने हुन्छ, बुझाइलाई जोड दिनुपर्छ । निरन्तर मूल्याङ्कन र पृष्ठपोषणमा जोड दिनुपर्छ र खेलकुद तथा अतिरिक्त क्रियाकलापमा ध्यान दिनुपर्छ । यसका साथै समाजसेवा, सामूहिक गतिविधि तथा स्वावलम्बन प्रवद्र्धन गर्ने क्रियाकलापमा सम्मिलित हुन विद्यार्थीलाई प्रोत्साहन गरेको खण्डमा शिक्षाको गुणस्तर अवश्य बढ्छ । 

विद्यार्थीले कुनै पनि बेला साथीबाट, अग्रजबाट, शिक्षकबाट वा प्राविधिक शैक्षिक स्रोतबाट सिक्न पाउनुपर्छ । यी सबै अवयवको समिश्रणबाट नै शिक्षामा गुणस्तर कायम गर्न सकिन्छ । 

शिक्षामा गुणस्तर ल्याउन जति गाह्रो छ त्यसलाई कायमै राख्न पनि कम चुनौतीपूर्ण छैन । यसका लागि शिक्षक तथा कर्मचारीको समर्पण र व्यवस्थापनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । साथै संवेदनशील विषयमा अपनाइएको निष्पक्षता तथा ‘नो कम्प्रोमाइज’को अवधारणा पनि सफलताको कारक हुने गर्छ । 

मुलुक संघीयतामा गएपछि शिक्षाको क्षेत्रमा नीतिगत परिवर्तनहरू भएका छन् । थुप्रै आशाजनक नीतिहरू तयार गरिँदैछन्, प्रतिबद्धता जाहेर भएका छन् । गुणस्तरीय जनशक्तिलाई मात्र शिक्षण पेसामा भित्र्याउने, शिक्षक पेसालाई मर्यादित बनाउने, विद्यालयलाई राजनीतिबाट मुक्त गर्ने, शिक्षकले राजनीति गर्न नपाउने आदि सकारात्मक कुराहरू छन् । 

प्रधानाध्यापकलाई करारमा लाने र शक्ति सम्पन्न बनाउने, विद्यालय व्यवस्थापन समितिको सट्टा विकास समिति बनाउने, सार्वजनिक शिक्षामा थप लगानी गर्ने, निजी विद्यालयलाई सेवामूलक बन्न प्रोत्साहन गर्ने, सीपमूलक र प्राविधिक शिक्षामा जोड दिनेजस्ता थुप्रै लोकप्रिय नीतिहरू अघि सारिएको छ । यद्यपि, केही अति नै सैद्धान्तिक र अव्यावहारिक नीतिहरू पनि छन् । तिनलाई भने सुधार्नुपर्छ ।

भविष्य आशलाग्दो छ तर नीतिलाई व्यवहारमा उतार्ने बेलामा सरोकारवाला सबैको प्रतिबद्धता आवश्यक हुन्छ । सरकारमात्र नभई सर्वसाधारण सबैले व्यक्तिगत स्वार्थबाट माथि उठेर आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निभाएको खण्डमा नेपालको विद्यालय शिक्षाको स्तर सजिलै माथि उठ्छ । आशावादी हुने आधारहरू छन् । 

भौतिक पूर्वाधार र इमानदार, दक्ष एवं निष्ठावान शिक्षकहरू हुने हो भने नेपालको सार्वजनिक विद्यालयमा पनि विश्वस्तरको जनशक्ति उत्पादन हुनसक्छ भन्ने उदाहरण बूढानीलकण्ठ स्कुल हो । बूढानीलकण्ठ स्कुलले प्रविधिलाई उपयोग गर्न सक्षम, दक्ष, सचेत, अन्तर्राष्ट्रिय बजारमा पनि अब्बल कहलिन सक्ने, वैयक्तिक भिन्नता बाहेक कुनै पनि विभेदमा विश्वास नगर्ने, निष्ठावान, स्वावलम्बी तथा कर्तव्यनिष्ठ तथा चरित्रवान जनशक्ति उत्पादन गर्दै आइरहेको छ । थुप्रै उद्यमी, वैज्ञानिक, दक्ष शिक्षक, प्राविधिक, व्यावसायी तथा प्राज्ञ बूढानीलकण्ठ स्कुलबाट उत्पादन भएका छन् । 

जुन क्षेत्रमा गएका भए पनि लगनशिलता, सिर्जनशिलता, विश्वासनियता तथा इमान्दारी उनीहरूको पहिचान हो । प्रायःले आफ्नो क्षेत्रमा नेतृत्व नै लिइरहेका छन् । गुगल, माइक्रोसफ्ट, अमेजन, एप्पल कम्प्युटरजस्ता कम्पनीमा महत्वपूर्ण प्रविधिकका रुपमा बूढानीलकण्ठ स्कुलका भूतपूर्व विद्यार्थीहरू कार्यरत छन् । विश्व बैंक, गोल्डम्यान स्याक, एडीबीजस्ता ख्यातिप्राप्त संस्थाहरूका महत्वपूर्ण ओहोदामा पनि बूढानीलकण्ठका उत्पादन छन् । 

त्यसैगरी क्यान्सर र क्षयरोगको बारेमा सबैभन्दा नौलो अन्वेषक बन्न सफल हुनुका साथै नेपालको प्रथम भूउपग्रह बनाउने वैज्ञानिक पनि हाम्रै विद्यार्थी बनेका छन् । बुद्ध एयर, मनकामना केवुलकार, भाएनेट, डिसहोम टिभी, क्यूएफएक्स जस्ता संस्था सञ्चालन गर्ने सफल उद्यमी, ख्याति प्राप्त डाक्टर, इन्जिनियर, शिक्षक, विद्यालय सञ्चालक, उद्योगपतिदेखि राष्ट्रिय स्तरका योजनाकार, नेता तथा मन्त्रीसम्म बनेर देशको सेवा गरिरहेका छन् । 

विद्यालय शिक्षाको सुधारका लागि गरिने प्रयास फलदायी हुन्छ भन्ने पुष्टि बूढानीलकण्ठ स्कुलको उदाहरणबाट हुन्छ । नीतिलाई व्यवहारमा उतार्नु नै अहिलेको प्रमुख चुनौती हो । नीतिलाई कार्यान्वयन गराउनको सट्टा आआफ्ना क्षणिक स्वार्थका लागि नीति नै फेरिदिने, राम्रो भन्दा पनि हाम्रोलाई काखी च्याप्ने, कुनै पनि नैतिक जिम्मेवारी नलिने, जस्तोसुकै बेथितिलाई पनि सहजै स्वीकार्ने हामी जनताको मानसिकतामा परिवर्तन गरी सबैमा सरकारका राम्रा शैक्षिक नीतिलाई सफल बनाउन ऐक्यबद्धता सृजना गर्नु अर्को ठूलो चुनौती हो । हिजोका गलत निर्णयका परिणामस्वरुप हात लागेका विद्यमान उल्झनहरूलाई व्यवस्थित गरी नयाँ नीतिलाई कार्यान्वयन गराउन आवश्यक वातावरण सृजना गर्नु पनि ठूलो चुनौतीका रूपमा रहेको देखिन्छ ।

प्रिन्सिपल, बूढानीलकण्ठ स्कुल
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

छोरी हुनु नै उनको दोष हो ? विद्यालयमै यसरी जलिन् नुसरत

ढाका । नुसरत जहान रफीलाई आफ्नै विद्यालयमा मट्टितेल खन्याएर आगो लगाइयो र उनको ज्यान गयो । दुई साता अघि उनले

संस्थागत विद्यालयको शुल्क निर्धारण

काठमाडौं । आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत (निजी) विद्यालयको शुल्क निर्धारण गरेको छ

मनपरी शुल्क असुल्‍ने निजी विद्यालयमाथि महानगरको नजर

काठमाडौं । मनपरी शुल्क लिने काठमाडौंका अधिकांश निजी विद्यालयलाई काठमाडौं महानगरपालिकाले कडाइ गरेको छ । नयाँ शैक्षिक सत्र सुरू हुनै लाग्दा

काठमाडौं महानगरमा  ३ प्रतिशत बालबालिका अझै विद्यालय बाहिर

काठमाडौं । काठमाडौं महानगरपालिकामा मात्र ३ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेका छन् । शिक्षा विभागकाअनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्र ५ वर्षमाथि