विधान अर्थात् 'लास'का लेखक

विधान अर्थात् 'लास'का लेखक

बागबजारको दैनिकीले मोहनी लगाएको थियो । हरेक साँझ बागबजारको पेटीमा अल्मलिनै पर्दथ्यो । नपुग्दा नुनबिनाको तरकारी खाएको महसुस हुन्थ्यो ।
पद्मकन्या कलेजको छेउछाउ कलाकार पनि भेटिन्थे । कवि पनि भेटिन्थे । जहाँ भेटिन्थे, कविहरु विधान आचार्य, जीवन आचार्य र राजेन्द्र शलभ । जोसँग जसरी भेट हुन्थ्यो, गफगाफ पनि त्यही किसिमको हुन्थ्यो ।

बुधबार साँझ सानेपामा भेटिए कवि विधान । विधानसँग भेटिँदा मन प्रफुल्ल हुन्छ । अनि कुरो पुग्छ, बागबजारकै सेरोफेरो । त्यहीँ थियो हामीले प्रकाशन गर्दै गरेको ‘चलचित्र’को अफिस । र थियो विधान, शलभ र जीवनको ‘डिजाइन राइटर’ । यो विज्ञापन एजेन्सी थियो, जहाँ डिजाइन गरिन्थ्यो । 

बुधबार पनि त्यही भयो । विधानले आफ्नो कविता संग्रहभन्दा बढी जीवनको कुरा गरे । जीवनको कविता संग्रह ‘जीवन आचार्यका कविता’का कुरा गरे ।

किताब हातमा आइपुग्यो । निलो आवरणमा जीवन आचार्यको तस्बिरसहितको किताबले जीवन आचार्यसँगको छोटो संगतको सम्झना भयो मलाई । यी तिनै कविहरु रमाइला थिए । हामीजस्ता भाइसाथीसँग बोल्थे । लेख्नलाई हौस्याइरहन्थे । मलाई भने लाग्थ्यो, यिनको बाटो अर्कै हो, मेरो बाटो अर्कै ! सायद गलत थिएँ ।

विधानको कविता संग्रह ‘नदीसित’को प्रसंग उठ्यो । उनले ‘नदीसित’ भन्दा अगाडि ‘जीवनको कविता संग्रह’को कुरा उठाए । जीवनको कविताले बोकेको विद्रोहका कुरा उठाए । अनि जीवनले ‘देशान्तर’ साप्ताहिकमा लेख्ने स्तम्भ ‘अर्थात्’को प्रसंग निकाले । 

कवि तथा कलाकार जीवन आचार्यका छरिएर रहेका कैयन कविताहरुलाई एउटै संग्रहमा संग्रहित गर्न लागिपरे विधान । फूटकर रुपमा छापिएका जीवनका कविताहरु विधानले संकलन गरे । जीवन स्मृति प्रतिष्ठान, दमक झापाले जीवनका भावनालाई किताबमा ल्यायो । 

विधानले पनि जीवनका कविता भ्याएसम्म बटुले । जीवनका कविता खोज्न उनले समय दिए । जीवनको कविता अत्यन्त चोटिलो हुन्थ्यो । त्यसैले किताबमा ल्याउन विधानले समय दिए । जीवनलाई कविता संग्रहका माध्यमबाट अमर बनाउने विधान भन्दै थिए, ‘मैले साथीको श्राद्ध गरेँ । मैले किताबमा लेखेकै छु, ‘मनले देखिने साथीको श्राद्ध’ । 

जीवन आचार्यसँगको एउटा प्रसंग विधानले सुनाए । त्यसबेला जीवन देशान्तर साप्ताहिक पत्रिकामा ‘अर्थात्’ स्तम्भ लेख्थे । डिजाइन राइटरमै थिए विधान र जीवन । जीवन आफ्नो कलाकर्ममा थिए । विधानले एउटा कविता लेखे । र, शीर्षक दिए ‘लास’ ।

१.
दशैं / तिहार
असार पन्ध्र / पन्ध्र पुस
साउने सक्रान्ति÷माघे सक्रान्ति ।
९.
तँ फेरि भोज गर
दशैं मना, तिहार खेल
या माघे संक्रान्ति खा साउने संक्रान्ति खा,
या काजक्रिया बन् सराद्धे बन्
तँलाई 
सराप छ 
यन्त्रबाट मानिस नबन् ।

विधानले यो कविता जीवनलाई सुनाए । शलभ, जीवन र विधान जसले जे लेखे पनि आपसमा सुनाउँथे । तत्कालिन जटिल परिस्थितिमाथि लेखिएको यो कविता जीवनलाई सुनाए विधानले । 

विधानका अनुसार यो कविता लेखिएको कागज जीवनले विधानको हातबाट थुते । अनि जीवनले भने, यो कविता पर्सी लिनू । तेस्रो दिन आइतबारको ‘देशान्तर’ साप्ताहिकमा अर्थात् स्तम्भमा विधानको कविता प्रकाशित भयो । 

विधान भन्छन्, ‘जीवनले अर्थात् स्तम्भमा मेरो कविताको तल यति लेखेको मलाई सम्झना छ, ‘अहिलेको नेपाल यही हो ।’

सिर्जनाका विविध कोलाजमा रंगिने जीवनसँगै विधानहरु २०३६ सालको सडक कविता क्रान्तिमा सक्रिय थिए । सडक कविता क्रान्तिमा धेरै कविहरु सडकमा कविता सुनाएर हिँडे । कविताका माध्यमबाट विद्रोहको मशाल बालेर हिँडे । कविताबाट आगो ओकलिरहे ।

कवि विधान आचार्यका अनुसार सडक कविता क्रान्तिमा भाग लिएका धेरै सर्जकहरुको जागिर धरापमा परेको थियो । पहिले पनि त्रिभुवन विश्वविद्यालयका कैयन् शिक्षकहरुलाई जागिरबाट निकालिएको थियो । 

कविताको आगोले पनि तत्कालिन सरकार र तिनका आसेपासेलाई पोल्यो । तर त्रिभुवन विश्वद्यिालयका उपकुलपति महेन्द्र प्रसादले आफूले आफ्ना कर्मचारीहरुलाई ननिकाल्ने अड्डी लिए । 

विधान भन्छन्, ‘यदि महेन्द्र प्रसादको अडान नहुँदो हो त त्रिविविका धु्रवचन्द्र गौतम, धु्रव सापकोटा, आनन्ददेव भट्ट, गोविन्द गिरी प्रेरणा, महेश्वरमान श्रेष्ठ र मलाई जागिरबाट निकालिसक्थे । तर उनको अडानका कारण हामीले विश्वविद्यालय छोड्नु परेन ।’ 

यसरी सडक कविता क्रान्तिताका कविताबाट आगो बर्साउने कविहरुले दुःख पनि पाए । तत्कालिन राज्यसत्ताले कतिबेला लान्छ ठेगान थिएन । लगेर के गर्ने हो, त्यो पनि टुंगो थिएन ।
तथापि कविहरुलाई डर थिएन । उनीहरुलाई समाजमा जागरण ल्याउनु थियो । कविताका हरफहरुबाट समाजमा चेतना फैलाउनु थियो । तत्कालिन पञ्चायती शासन व्यवस्थाका विरुद्ध आम जनतालाई उकास्नु थियो । त्यसैले अञ्चलाधीश कार्यालयको डरलाई उनीहरुले मनबाट हटाइदिएका थिए ।

त्यसबेलाका कविहरुको कविताले त्यो समयको पीडा बयान गरेको थियो । कविताले तत्कालिन शक्ति र शासकलाई घोचेको थियो । विद्रोहमात्रै कवितामा ओकलिरहे । 
एकपटक एउटा कविताले विधानलाई अप्ठेरोमा पार्‍यो । उनको कविता ‘तिमी मासु हौ कि आमा हौ’ लाई लिएर महिला अधिकारकर्मीहरुले ठूलो विरोध गरे । 
विधानले सुनाए त्यो कविताको एक हरफ

...सीताको एउटै देहले फगत
रामलाई देवता 
र रावणलाई राक्षस बनायो ...।

विधान आचार्यको कविताको कुरा भइरहँदा उनले उनका कवितामा दिने नम्बरको कुरो उठ्यो । विधानका हरेक कवितामा नम्बर अनुसार अनुच्छेद विभाजन हुन्छ । उनको यो विभाजनका बारेमा उनीसँग सोध्नै थियो । उनको कविता संग्रह ‘नदीसित’ पढ्दा विधानसँग भेट भए यसबारेमा कुरा उठाउँछु भन्ने सोचेको थिएँ । 

विधान आचार्यलाई सोधें, स्ट्रेन्जामा नम्बर दिने कारण । ‘कवितामा एकभन्दा बढी विचारहरु संश्लेषित हुन सक्छ । कहिलेकाहीँ अलग विचार पाठकले खोजिरहेका हुन सक्छन् । यो अवस्थामा गाजेमाजे विचारले मानिसलाई अल्मल्याउन सक्छ । त्यसैले मैले स्ट्रेन्जा छुट्याएर लेख्न थालेको हुँ,’ उनले भने । 

विधानका अनुसार एउटा कविका रुपमा आफू विश्रृंखलित छु कि संश्लेषित छु भन्ने कुरा कविताका अनुच्छेदहरुमा हेर्न सकिन्छ । तर उनले लेखेर अनुच्छेदअनुसार नम्बर दिएका कविताहरु छापामा आउँदा नम्बरविहीन भइसक्छन् । तर गरिमा साहित्यिक पत्रिकामा भने विधानको कविता नम्बरसहित छापिन्थ्यो । किनभने त्यसबेला गरिमाका सम्पादक विष्णुविभू घिमिरेलाई थाहा थियो, नम्बर विधानका काव्य प्रस्तुतिको शैली हो । आज पनि विधानका कवितामा नम्बर हुन्छ, हरेक अनुच्छेदमा ।

त्यस बेलाको राजनीतिक अवस्थामा तत्कालिन व्यवस्था र शासकलाई लिएर कडा–कडा कविता विधानले लेखे । उनको लेखोटले कहिलेकाहीँ अप्ठेरोमा पनि परे । तर जे होस्, सडक कविता क्रान्तिका उभिएका कविहरुको आवाजले मुलुकमा व्यवस्था परिवर्तनमा ठूलो मलजल गर्‍यो । 

तर आश्चर्य ! आजपनि त्यसबेला लेखिएका कविताहरूले अहिलेको समय परिस्थिति र प्रवृत्तिको चित्रण गरिरहेको छ । जस्तो– पैंतीस वर्षअघिको समय र अवस्था थियो । आज पनि त्यस्तै रहेको विधान पाउँछन् । 

विधान भन्छन्, ‘म स्पष्ट भनुँ, अहिले नेताहरुको श्रेणी छ– क,ख,ग,घ । ख श्रेणीका नेताहरु क श्रेणीका नेताहरुको चारैतिर घुमिरहेका छन् । क श्रेणीका नेताले के बोल्छन् र भन्छन् ख श्रेणीकाले फिल्टर गरेर ग श्रेणीकोमा पु¥याउँछ । यसरी फिल्टर हुँदै विचार प्रवाहित हुन्छ । अहिलेको दूरावस्था भनेको के हो भने जनता र वास्तविक नेताका बीचमा ठूलो खाडल छ । खाडल पारिएको छ । यही खाडलले जनतालाई भूमरीमा पारेको छ । उतिबेला तीन महिनामा जनताले राजालाई भेट्न सक्थे, आज त्यो अवस्था छैन । आज वर्ष दिनसम्म कुर्दा पनि मुलुकको प्रधानमन्त्रीलाई भेट्न चाहनेले भेट्न पाउँदैनन् । आफ्ना कुरा राख्न पाउँदैनन् ।’

अर्थात्, विधान आचार्यका कविताहरुले आज अनि अहिलेको समयलाई पनि प्रतिनिधित्व गरिरहेको छ । विधानका अनुसार अहिले व्यवस्था फेरियो, शासक फेरिए । तर प्रवृत्ति फेरिएको छैन ।

बुधबार विधान आचार्यसँग गफिँदा ‘नदीसित’ कविता संग्रहका स्रस्टालाई आगो ओकलिरहेको पाउँदै थिएँ म ।

राजेश खनाल

प्रतिकृया दिनुहोस
ad