site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
२४ वर्षको तपस्या
Sarbottam CementSarbottam Cement

— अक्षर काका


यसपालि जाडो तन्किएर चैतसम्मै आइपुग्यो । वैशाख आँगनमा भित्रिन लाग्दा पनि मुटु कमाउन छाडेको छैन । शुक्रबार पनि काठमाडौंको आकाशमा बिहान अबेरसम्म घामले मुन्टो चिहाएन । दिउँसो पैताला राख्न मुस्किल हुने ठमेल बिहान अबेरसम्म तन्द्रामै थियो । हुन सक्छ निद्रामै । आकाशमा एकबाँसजति घाम आइसक्दा पनि पसल, कबल खुल्ने सुरसार थिएन ।

त्यही ओसिलो गल्लीमा भेटिए– भूपिन (खड्का) ।

Prabhu Bank
Agni Group
NIC Asia

भूपिन ५० को दशकान्तसम्म कविताका हरफमा ज्यादा भेटिन्थे । ६० को दशकको उत्तराद्र्धतिर आइपुग्दा उनी निबन्धमा भेटिन थाले । तर, ७० को मध्यान्तरमा आइपुग्दा उनले आख्यानकारको परिचय थपेका छन् ।

“जसले लेखन भनेको सजिलो कुरा हो भन्छन्, म उनीहरूलाई सुखी प्राणी ठान्छु, जीवनको बारेमा घोत्लियो भने मानिस बढ्ता दुःखी हुँदो रहेछ,” फरासिला भूपिनले जीवनदर्शनबाटै कुराकानीको पोयो फुकाए ।

Global Ime bank

तर, उनी आफैंले वर्णन गरेझैं दुःखी थिएनन् । अनुहारमा पारिलो घाम लागेको थियो । प्रश्रव वेदनाबाट बाहिर निस्किएकी नवप्रसूतिझैं उनको अनुहारमा ‘सन्तान–सुख’को अनौठो आभा फिँजिएको थियो ।

पूर्वकथा

नेपालको मानचित्रसँग मिल्दोजुल्दो छ, बाग्लुङको नक्सा । दुःखका मूच्र्छना र सुस्केरा पनि उस्तै । तर, विपर्याय थियो– उनको परिवार ।

लाहुरेको शान–शौकत । संयुक्त परिवार । जिन्दगीलाई अभावको आँखाबाट पढ्नु परेन । न दुःखको धुलेटोमा जिन्दगीका कखरा कोर्नु नै पर्‍यो । पाँच दाजुभाइ । तीन दिदीबहिनी ।

बुवा भारतीय सेनामा थिए । द्वितीय विश्वयुद्ध (१९३९–४५) लडेका । बुवासँग युद्धका अनेकन किस्सा थिए । छुट्टीमा घर आउँदा रित्तै आउँदैनथे । युद्धका वीरता र बहादुरीका कथा बोकेर आउँथे । अनेक किस्सा सुनाउँथे ।

त्यहीमध्येको एउटा किस्साले उनको मथिंगलमा हुन्डरी मञ्चाउँछ—

उनका बुवा सेनाको सञ्चार फाँटमा रहेछन्, तिनताक त्यसलाई ‘सिग्नल’ भनिन्थ्यो । दोस्रो विश्वयुद्ध उत्कर्षतिर जाँदै थियो । उनका बुवा र माइला बुवा इन्डोनेसियाको राजधानी जकार्ता नजिकैको घना जंगलमा खटिए ।

युद्ध लम्बिँदै जाँदा रासनपानी सकिइहाल्यो । ज्यान बचाउन रूखको बोक्रा चपाउनु पर्‍यो । रूखका बोक्रा कहाँ सुस्वादु हुन्थे र ! कुनै अमिलो, कुनै पेट उमठ्ने टर्रो ! वनकेरा भेटिएको दिन त दशैं आएँझैं उमंगले घेर्थ्यो ।

आहारा खोज्दै जाँदा उनका बाबु जंगलमै हराए । कम्पास हराएको जहाजझैं दिशाविहीन भए । फर्किने बाटाको कुनै टुंगो लागेन । डोरेटोजस्तो बाटो पनि जंगली काँडा र वन–बुट्यानले निलेका थिए । फर्कन सकेनन् ।

चारैतिर गोलाबारी भइरहेको छ, भाइ छैन । उल्कापात भएझैं शीर सामुन्नेबाट गोलाबारुद खसिरहन्थ्यो । माइला बुवा विलौना गर्न थाले, “भाइ दुश्मनको कब्जामा प¥यो । सिध्धियो, अब फर्किन्न ।”

तर, त्यस्तो भएन । तीन दिनपछि बाबु पल्टनको सम्पर्कमा आए । दाजुभाइको मिलन भयो ।

“यस्तो विदारक किस्सा सुनाउँदा माइला बुवा र बुबाका आँखाका छेउकुना रसाइरहेका हुन्थे । माइला बुवा त धरधरी हुनुहुन्थ्यो,” भूपिन सम्झिन्छन् अनि टोलाउँछन् ।

बेलुकीपख अँगेनाको छेउमा, पिँढीमा बसेर माइला बुवा, बुवाले सुनाउने युद्धका अनगिन्ती किस्सा उनले रेकर्ड नै गरेर राखेका थिए । सम्झनाको ऐनामा मयल लागेझैं रिल पनि धमिल्लियो ।

खाइलाग्दो ज्यान । सुगठित शरीर । उनलाई देख्नेबित्तिकै शीरपाउ हेर्दै आख्यानकार कृष्णधराबासी भन्छन्, “हेर सेनामा जर्नेल, कर्नेल हुने मान्छे, किन कविता लेख्न थालेको होला ?”

जवाफमा मुसुक्क हाँस्छन् उनी ।

वास्तवमा फौजीप्रति मोहभंग गराउने उनका बुवा नै हुन् । उनका बाबु अक्सर भन्थे, “विदेशीको राइफल पुछ्ने होइन । ज्ञान–विज्ञान जानेर आफ्नै दिमाग पुछ्नुपर्छ ।”

विदेशीको राइफल सिरानी हाल्दाहाल्दा उनका बुवा हारमान्नु भइसकेका थिए । र त, छोराछोरीलाई ब्यारेकको बाटो कहिल्यै देखाएनन् । बुवाको राइफलप्रतिको वितृष्णाले सेनाको जागिरप्रति कहिल्यै मोह पैदा भएन भूपिनलाई ।

बेलगाम बाल्यकाल

पारिजातले एउटा संस्मरणमा लेखेकी छन्, “मलाई बाल्यकाल मन पर्दैन ।”

हुन सक्छ— पारिजातलाई बाल्यकालमा बेहोर्नुपर्ने कासन मञ्जुर भएन । विद्रोही स्वभावकी पारिजात कुनै पनि बहानामा शासित हुन मञ्जुर थिइनन् ।

तर, भूपिन यसको विपर्याय थिए । आज पनि एकान्तमा सोचिबस्छन्— मैले त्यो स्वर्णीम बाल्यकाल कहाँ छाडेर आएँ होला ! पृथ्वीको कुनै गोलार्द्धमा छुटेको बाल्यकालमा म पुनः घुम्दै–फिर्दै पुग्न सकूँला ?

बाल्यकालमा बेलगाम थिए उनी । कहिले गोठालो थिए, कहिले जलारी । कहीले पौडीबाज हुँदै नदी वारपार गर्थे । कहिले चराको गुँड खोतल्ने शिकारी । निस्फिक्री र बडो स्वच्छन्द थियो जीवन ।

सेनाको शासन र कासनमा हुर्किए पनि फौजी अनुशासनसँग बिलकुलै सहमत थिएनन् बुवा । त्यसको छाया परिहाल्यो । दाजुहरूचाहिँ निकै कडा थिए । दाजुहरू छुट्टीमा आए भने उनको शरीरबाट खलखली पसिना छुट्थ्यो । भयले मुटु काम्थ्यो । भनौं न, दुःखका दिन शुरू हुन्थे ।

ग्वाला गयो, गाई–गोरुले अर्कैको बाली बुझो हालिरहेका छन् । त्यसपछि शुरू हुन्थ्यो दाजुहरूको कोर्टमार्सल ।

“कयौंपटक जिम्न्यास्टिकलगायत ‘यातना’ भोगेको छु,” अनुहारमा अतीतद्योतक भाव छाउँछ ।

‘घुम्नेमेचमाथि अन्धो मान्छे’ले बदलेको बाटो

तिनताका उनी कक्षा ६ मा पढ्थे । एकदिन उनले बाबुको बाकसमा ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ फेला पारे । भूपि शेरचनकृत कविता संग्रहले शुरूमा त उनको ध्यान खिचेको थिएन । बिस्तारै पढ्दै गएपछि उनी चमत्कृत भए ।

कविताको शीर्षक विस्मृतिको गर्तमा विलुप्त भइसक्यो । तर, दाजुले लेखेको हरफमात्रै दिमागमा ताजा भएर आउँछ— हरेक आमाहरूको सपना यस्तै हुन्छ ।

भूपिका कविताले उनको बाल्यचेतमा चिराग सल्काइदिए । काव्यचेत जागृत गराइदियो । कविताको भोक जगाइदियो । भूपिन सम्झन्छन्, “वास्तवमा त्यहीबेला हो मैले अनुभूत गरेको– कविता निकै शक्तिशाली हुँदो रहेछ, यसले मलाई बाँध्यो भने मचाहिँ कवि हुनुपर्छ भनेर ठम्याएँ ।”

भूपिका कविताले आगो बालेपछि भूपिनले रेडियोमा कविता पठाउन थाले । अधिकांश नुपूर भट्टाचार्य र बासुदेव मुनालले वाचन गर्थे, बाल कार्यक्रममार्फत ।

तिनताकको पनि रोचक स्मृति छ—

कविता पठाउनेबित्तिकै उनी रेडियोमा कान थाप्ने बानी परे । शुरूमा एक्लै थिए । पछि आमा पनि थपिइन् । कविता सुन्दासुन्दै आमाका आँखा टिल्पिलाउँथे ।

कवितामा बामे सर्दै थिए । फड्किएर नाटकमा पुगेछन् । नाटकमा फाल हाल्नुको पनि बेग्लै कथा छ । भूपिन ‘सफ्ट विद्रोही’ हुन्, चित्त नबुझेका कुरा सिर्जनामा उतारिहाल्ने । नाटक पनि माध्यम भयो ।

एकपटक उनले बुवासँग पैसा मागे । कारणवश् बुवाको खल्तीमा पैसा रहेनछ । विद्रोही भूपिनको मन किन साम्य हुन्थ्यो ? जवाफ उनले ‘कञ्जुस’ नाटक लेखेर दिए ।

“तिनताकका घटना अहिले पनि भाइले सम्झाउँछ,” भूपिन प्रसंग कोट्याउँछन्, “मैले मुलाबारीमा उसलाई नाटक सुनाएको रहेछु ।”

माध्यमिक तहको खुड्किला चढिसकेकै थिएनन् । उनको बाल्यदिमाग आख्यानतिर डोहोरियो । तिनताक रुसी साहित्यको सोझो प्रभाव थियो । लियो टयल्सयको ‘युद्ध र शान्ति’ले तहल्का नै मच्चाएको थियो । बारम्बार गुरुहरूको मुखबाट सुनिरहन्थे बखान ।

त्यसबाट प्रभावित भएर उनले पनि सिर्जना गरे– ‘ब्रह्माण्ड र तारा’ । त्यो पाण्डुलिपि उनीसँग अहिले पनि सुरक्षित छ । शिशुलाई झैं सुम्सुम्याइरहन्छन् ।

कल्पनाको रुझान र अपरिपक्व उडानले त्यतिमै विश्राम लिएन । एसएलसी योग्यता परीक्षा दिएपछिको खाली समय पनि उपन्यास नै लेखेर बिताए, प्रेमकथामा आधारित । तर, त्यसले पूर्णता पाएन ।

० ० ०

उच्च शिक्षा अध्ययनका लागि पोखरा झरे । पृथ्वीनारायण क्याम्पस पश्चिमको प्रमुख शैक्षिक गन्तव्य थियो । त्यसको उनी पनि अंग बने । विज्ञान संकायमा भर्ना भए । तर, स्वास्थ्य प्रतिकूल भइदियो । टाइफाइडको जीवाणुले थल्याएपछि उनी पुनः बाग्लुङै फर्किए । ६–७ महिनापछि क्याम्पस फर्किंदा पढाइको जोश मुर्झाइसकेको थियो । लयमा फर्किन निकै हम्मेहम्मे भयो ।

स्नातकको सिँढी चढेसँगै उनको पाइला साहित्यको संगतमा पर्‍यो । अग्रज सर्जक– सरूभक्त, विनोद गौचन, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला र समकालीन सर्जक– सरस्वती श्रेष्ठ सरू, रोशन शेरचन, दीपक समीरसँग उनको उठबस बाक्लियो ।

समवयी जे अस्मिता थिए, उनको काव्यिक चेत बडो तिलस्मी थियो । भनौं न, पोखराको साहित्यिक पर्यावरणले उनको साहित्कि रुचि क्रमशः झांगिँदै, गहिरिँदै गयो । त्यसपूर्व उनी साहित्यमा अव्यवस्थित थिए । केवल लहड हुँदो हो । शोखले पनि काम गर्‍यो होला, शायद । पोखरा बसाइपछि उनले आफूलाई हेर्ने, चिन्ने र छान्ने प्रयास गरे । र, निर्क्यौल निकाले– मेरो खास बाटो यो हो ।

उनले कविता प्रतियोगिताबारे सुइँको पाउनै हुँदैनथ्यो । भिडिहाल्थे । त्यतिबेला दमौलीमा ठूलो साहित्य सम्मेलन भएको थियो । एकैपटक तीन ठूला पुरस्कार हात पारे, उत्कृष्ट हुँदै । तिनताक सरूभक्त संरक्षण कविता आन्दोलनमा लागेका थिए । भूपिन पनि त्यसको सदस्य भए ।

५० को दशकको शुरूआत, सम्भवतः २०५३ साल नै हुनुपर्छ— गजलकार ज्ञानुवाकर पौडेल बाग्लुङ पुगेका थिए । हुरीझैं हुर्रिंदै भूपिन पनि पुगे । हातमा गजलको पाण्डुलिपि थियो ।

पाण्डुलिपि हातमा लिँदै ज्ञानुवाकरले भूपिनतिर मायालु नजर हुत्याए र भने, “बाग्लुङमा मैले एउटा गजलकार फेला पारें, भूमिका पनि लेखौंला । तर, तिम्रा पाठक बनिसकेका छैनन् । म पत्रपत्रिका दिन्छु । प्रतिक्रिया आउँछन्, पाठक पनि बन्छन् ।”

अखबारका पानामा भूपिन हराभरा हुन थाले । “त्यतिबेला ज्ञानुवाकर दाइले मलाई उद्धार नै गर्नुभएको हो,” कृतज्ञ देखिन्छन्, भूपिन ।

पत्रपत्रपत्रिका कुनाकाप्चामा अटाउन थालेपछि उनका चक्षु उघ्रिए । होस् छ्यांग भयो ।

“तपाईंलाई भनूँ ? त्यतिबेला पो थाहा पाएँ– मैले त निकै झूर लेख्दो रहेछु, गजलका नाममा रदिफ, काफिया मिलायो, पत्रपत्रिकामा पठायो,” मच्चिएरै हाँस्छन् उनी ।

कवितामा उनी सलल पोखिन पाउँथे । विम्ब, प्रतीकको प्रयोगको कुनै सीमा थिएनन् । गजलको बन्धनमा बाँधिन सकेनन् । अनुशासनविरोधी चरित्रका थिए उनी ।

२०५३ सालमै ‘क्षतिग्रस्त पृथ्वी र मूलसडक’ कविता संग्रहमार्फत साहित्य आँगनमा प्रवृष्ट भए । २०५६ सालमै पाँच सर्जकहरूको संयुक्त संग्रहका रूपमा ‘शब्दहरूको नेपथ्य’ निस्कियो, जहाँ भूपिन पनि अटाएका थिए ।

‘शब्दहरूको नेपथ्य’ पछि उनी दीर्घ–साधनामा तल्लीन रहे । १० वर्ष बिराएर २०६६ मा ‘हजार वर्षको निद्रा’ मार्फत साहित्यको विराट फाँटमा झुल्किए ।

शुरूआतदेखि नै किताब प्रकाशनमा उनको खासै रुचि होइन । लेखिएका सिर्जना छापिनै पर्छ भन्ने मान्यताबाट अलि परै बस्न रुचाउँथे । ६० को दशकदेखि त्यो मानसिकतामा बदलाव आयो । सिर्जनाको आयु किताब पो रहेछ भनेर दिव्य लोचन उघ्रिएझैं भयो ।

चौबीस रिलको आयाम

भूपिनको जीवन खोलाको पानीझैं चञ्चल, कलकल छ । कुपाको पानीझैं अचल होइन । कतिले भन्दा हुन्– कति विधाको स्वाद चाख्नु परेको !

सकेसम्म उनी चुप लाग्छन् । कहिलेकाहीँ मुखै फोरेर भन्छन्, “मैले यही विधामात्रै लेख्छु भनेर किरिया खाएको त छैन नि !”

कता–कता उनलाई लागिरहन्छ– सिर्जना एकांकी हुँदैन । न एकपाखे नै हुन्छ । आयाम यसको विशेषता हो । र त, उनले ०६९ सालमा निबन्धमा फड्को मात्र मारेनन्, त्यस वर्ष गैरआख्यान विधालाई प्रदान गरिने ‘उत्तम शान्ति पुरस्कार’ नै हात पारे ।

उनी शायदै कविताको साँघु तरेर निबन्धको जंघारमा पुग्दा हुन् । नारायण ढकालको ‘शोकमग्न यात्री’ले उनको मन अपहरण गर्‍यो । ‘शोकमग्न यात्री’ले अहिले पनि उनलाई सोचमग्न बनाउँछ । निबन्धमा निमग्न बनाउँछ ।

निबन्धमा अलिअलि वर्तन थप्ने काम रोशन शेरचनले पनि गरे । कविताबाट निबन्ध विधामा डेरा सरेका रोशनले उदीयमान छवि बनाइसकेका थिए । ०७३ सालमा ‘सुप्लाको हवाइजहाज’ चढेर कविताको आँगनमा फर्किएका भूपिन तीन वर्ष नबित्दै आख्यानको मझेरीमा ‘मैदारो’ लिएर देखा परेका छन् ।

मैदारो : अँधेरी गाउँको कथा

भूपिनको गाउँमा ठूलो भीर छ । अक्करे भीर । आकाशलाई छोऊँला गरेर उभिएको अक्करे भीर जापानको टोकियो शहरबाट अलि पर रहेको ‘आत्महत्याको जंगल’ नै हो, विम्बमा । दुःख, दारिद्र्यबाट छुटकारा पाउन थुप्रैले त्यही भीरको सहारा लिए । भीरबाट फाल हालेर जीवनको दौडधूप टुंग्याए ।

भूपिन मीनपचासको छुट्टीमा गाउँ गएका थिए । त्यही अक्करे भीरमा गाउँकै एकजना ‘मगर्नी दिदी’को बाख्रा अड्किएछ । भीरको बीचमा सानो चउरीजस्तो थियो । बाख्रा मुस्किलले अडिएको थियो । तीन महिनासम्म बाख्रो त्यहीँ अड्कियो । उद्धार गर्न सकिएन । भूपिन हरेक दिन जान्थे, भीरको फेंदमा बसेर बाख्रा हेरिरहन्थे । बाख्राले पनि भूपिनलाई हेरिरहन्थ्यो । र, यो हेराहेर कतिबेला आँशुमा परिणत हुन्थ्यो, भूपिनलाई पत्तै हुँदैनथ्यो ।

मगर्नी दिदीको दैनिकी पनि त्यही थियो । उनी पनि दिनभर अक्करे भीरछेउ उभिएर प्रिय सन्तानतुल्य बाख्रालाई हेरिरहन्थिन् । बेलुका चिसा आँखा लिएर घर फर्किन्थिन् । उनको गाउँमा सघन दलित (सार्की) टोल थियो । तिनीहरूको नियति पनि त्यही बाख्राकै जस्तो थियो ।

शासन–व्यवस्थाले उनीहरूलाई पनि त्यस्तै अक्करे भीरमा अड्काएको थियो । न मर्न सक्थे, न बाँच्न सक्थे सजिलरी । न समाजले उनीहरूको उद्धार गथ्र्यो । न तदारूकता नै देखाउँथ्यो ।
 
साहू–महाजनको दयामायाले छाक टार्थे । बाबु पनि हली, छोरा पनि हली— रीतकै रूपमा वर्षौंदेखि चलिआएको थियो । भनौं न, उपल्लो जातको हली बनेरै उनीहरूको जीवन स्वाहा हुन्थ्यो ।

कथित् साना (दलित)जातीलाई समाजले यसैगरी एक्ल्याएको, कुनै अँध्यारो कुनामा थन्क्याएको भान हुन्थ्यो उनलाई । र, हमेसा पिरोलिइरहन्थ्यो मन । त्यही अक्करे भीर, बाख्राको व्यथा र दलित नियतिलाई उपजीव्य बनाएर ‘मैदारो’को कथा उने भूपिनले ।

कथाको बीजारोपण ०५२ सालमै भयो । तर, गर्भश्रावको खतरा बढ्यो । कथाको उकुसमुकुसले निकास नपाउँदा उपन्यासले भ्रूणको आकार लिन्थ्यो तर आफूभित्रको लघुताभासले उनलाई खुम्च्याउँथ्यो, ‘गर्भपतन’को नियति बेहोर्ने हो कि भन्ने भय झांगिन्थ्यो ।

झन्डै २४ वर्ष उनले कथाको भ्रूण बोकेर हिँडे । कयौंपल्ट उनले मस्तिष्कबाट कथाको फोल्डर डिलिट गर्न खोजे तर ‘रिसाइकल बिन’मा पुगेर पनि कथाले ऐंठन दिन थालेपछि निकास नदिई धरै पाएनन् । भन्छन्, “मैदारो दुःखबाट मुक्त हुने, पीडाबाट त्राण पाउने उपायको खोजी पनि हो ।”

दलित समाजको सुन्दर पेन्टर (कुचीकार) लाग्छ उनलाई  । सिर्जनाको अद्वितीय खानी नै भन्दा हुन्छ । दलितहरू कुशल कालिगढ र सिर्जना–शिल्पी नै हुन् । कुशल सर्जक, उन्नत सिर्जनाकारहरूलाई समाज व्यवस्थाको पिँधमा पारिँदा उनी ठूलो पीडामा थिए । त्यसको प्रतिरोध ‘मैदारो’मार्फत गरेका हुन्, भूपिनले ।

“ती लेखक, जो लेखन सोद्देश्य हुन्छ भन्छन्, उनीहरूले त झन् यस्ता पछाडि पारिएका वर्ग, समुदाय र सबाल्र्टनका पक्षमा कलम चलाउनुपर्छ,” आफ्नै तर्कमा उभिन्छन् भूपिन ।

मैदारो ‘प्रोटागोनिस्ट’ कुचीकार हो । र, क्षत्री कन्यासँग विजातीय प्रेममा फस्छ । जातजातको चश्मा भिरेको समाजमा उसको प्रेम अवैध ठहरिन्छ । तर, ऊ आफ्नो प्रेम प्राप्त गर्न समाजसँग सिँगौरी खेलिरहन्छ । यसर्थ, यो कुचीकारको प्रेमकथा हुँदाहुँदै पनि उत्पीडित र दमितहरूको कथा बन्न पुगेको छ ।

भूपिनले ‘मैदारो’मा अँधेरी गाउँ परिकल्पना गरेका छन्, जहाँ जुगौंदेखि घाम लागेको छैन । गाउँका निम्छरा दलितले खुला आकाश देख्न पनि तड्पिनुपर्छ । आफूभन्दा अग्ला जातको सेपमा बाँचेकाले उनीहरूको आङमा बाह्रैमास बाह्रैकाल ठिहिरो चलिरहन्छ ।

भूपिनको चित्रमा विशेष शोख छ । कवि, निबन्धकार हुँदै उपन्यासकार नबनेको भए चित्र–शिल्पी नै बन्दा हुन् । र त, उनले प्रोटागोनिस्टका रूपमा चित्रकारलाई नै उभ्याएका छन् । पुस्तैनी दलन, छुवाछुत बेहोर्दै आएका नायकले बिब्ल्याँटो चित्र बनाउँछ । भनौं न, परम्परागत लयमा छैन, नायक ।

“बिब्ल्याँटो चित्रलाई उल्ट्यायो भने सुल्टो हुन्छ,” शक्तिशाली जीवन–दर्शन बोल्छ, प्रोटागोनिस्ट ।

० ० ०

लेख्दा गर्भिणी भूमिकामा रहे भूपिन । पात्रहरूको चरित्र हुबहु उतार्न बन्द कोठामा अभिनय गर्थे । मिथमा काँचो वायु चढेझैं पात्रहरू शरीरमा उतारेर लेख्न बस्थे । कहिलेकाहीँ त उनलाई लाग्थ्यो– लेखक कम, अभिनेता ज्यादा हुँदै छु ।

लेख्न बस्दाको एउटा क्षण उनको दिमागमा रोटेपिङझैं मच्चिइरहन्छ—

उनी अक्सर बिहान, बेलुका र राति लेख्थे । त्यसदिन १२ बजेसम्म ल्यापटपमा टोलाइरहे । मध्यरात भएपछि ल्यापटपमा औंला दौडाउन खोजे तर अहँ, मरिगए चल्न मानेनन् । भएछ के भने, त्यसदिन अँधेरी गाउँमा भूत आउनेवाला थियो । प्रोटागोनिस्टको आमासँग भूत–प्रेतको जम्काभेट हुनेवाला थियो । उपन्यासमा दृश्य वर्णन गर्दै थिए । अचम्म ! उनको आँखा अघिल्तिर पनि तिनै भूतहरू कवाज खेल्न थाले । त्यसपछि उनले ल्यापटपको ढकन बन्द गरे ।

मैदारोको मिथक

‘मैदारो’को शाब्दिक उत्पत्ति मैझारोबाट भयो । पूर्वतिर खेतीपातीको काम टुंग्याउनुलाई मैझारो वा खेवारा भनिन्छ । बाग्लुङ पुग्दा त्यही शब्द ‘मैदारो’ बन्यो । तर, बाग्लुङमा मैदारोसँग अर्कै मिथ जोडिएको छ ।

परापूर्वकालमा त्यस भेगमा एउटा दलित युवक र ब्राह्मण युवतीबीच प्रेम झांगियो । अहिलेको समाजले त स्वीकार्न कठिन छ, आदिकालमा त्यो सम्भावना कहाँ ?

तिनताक दलितले विजातीय प्रेम गर्‍यो भने समाजले लिंगच्छेदन नै गरिदिन्थ्यो । सजाय युवकको थाप्लामा पनि पर्छ । युवायुवती नै मृत्युको पोल्टामा पर्छन् । पुनर्जन्म हुँदा राक्षश बन्छन् र शिवभक्तिमा लीन हुँदै कठोर तपस्यामा उत्रिन्छन् । तपस्याबाट प्रसन्न भएका शिव प्रकट हुन्छन् र ती नवयौवनाले आफूहरूलाई मर्न विवश बनाउने गाउँलेलाई मार्न पाउनुपर्ने वर माग्छन् । त्यसपछिको कथाक्रम नै ‘मैदारो’को मिथकीय उपजीव्य बन्न पुगेको छ ।

(बुकहिलले प्रकाशन गरेको भूपिनकृत मैदारो शनिबार राजधानीमा अनावरण हुँदैछ)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC