site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्रमा ‘कपी’को मुद्दा
Sarbottam CementSarbottam Cement

– कविता अधिकारी

\"\"


सन् १९९५–१९९६ मा केही महिनाको अन्तरालमा तीनवटा ठूला हिन्दी चलचित्र रिलिज भए । पहिलो थियो— डेभिड धवन निर्देशित र ऋषि कपुर, माधुरी दीक्षित अभिनीत ‘याराना’ । दोश्रो– अब्वास–मस्तान निर्देशित र जुही चावला र अरबाज खानअभिनीत ‘दरार’ । तेस्रो थियो— पार्थो घोषद्वारा निर्देशित तथा मनीषा कोइराला, नाना पाटेकर र ज्याकी श्राफ अभिनीत ‘अग्निसाक्षी’ । यी तीनै चलचित्र सन् १९९१ मा बनेको जुलिया रोबर्ट अभिनीत हलिउड फिल्म ‘स्लिपिङ विथ दि एनेमी’ बाट हुबहु उतारिएका थिए । यी तीनमध्ये दुई चलचित्र ‘याराना’ र ‘दरार’ बक्स अफिसमा असफल रहे । एउटा ‘अग्निसाक्षी’ले मात्र दर्शकको मन जित्यो । त्यो चलचित्रलाई समीक्षकले पनि रुचाए । त्यसै चलचित्रबाट नाना पाटेकरलाई १९९६ को ‘बेस्ट सपोर्टिङ एक्टर’को राष्ट्रिय अवार्डसमेत दिइयो ।

Prabhu Bank
Agni Group
NIC Asia

अब प्रश्न उब्जिन्छ— यी तीनै चलचित्रको कथा–प्लट एउटै थियो भने परिणाम किन फरक–फरक निस्कियो ? यसको सीधा उत्तर हो— चलचित्र विधामा कथा होइन, कथा वाचन गर्ने शैली महत्वपूर्ण हुन्छ । कथा जहाँबाट लिइए पनि कथा भन्ने शैली प्रभावशाली र कलात्मक भएन भने चलचित्रले दर्शकलाई ‘कनेक्ट’ गर्न सक्दैन । चलचित्र सफलताको मूल कडी नै यही हो ।

सन् १९७५ मा माथि उल्लिखित तीन फिल्मभन्दा पनि ठूलो मानिएको एउटा फिल्म रिलिज भएको थियो– ‘शोले’ । जीपी सिप्पीले निर्माण गरेको र उनका भाइ रमेश सिप्पीले निर्देशन गरेको ‘शोले’मा त्यसबेलाका भए भरका स्टारलाई राखिएको थियो । धर्मेन्द्र, अमिताभ बच्चन, सञ्जीव कुमार, हेमा मालिनी, जया भादुरी र अमजाद खानजस्ता कलाकारलाई अभिनय गराइएको ‘शोले’ त्यसबेलासम्मको सबैभन्दा ठूलो बजेटको चलचित्र थियो । यहाँसम्म कि चलचित्र खिच्न क्यामराम्यान र एक्सन डाइरेक्टर समेत हलिउडबाट झिकाइएका थिए । फिल्मलाई सफल बनाउन कुनै पनि कसर बाँकी राखिएको थिएन ।

Global Ime bank

तर, विडम्बना ! चलचित्र हेर्न दर्शकहरूको ओइरो भने हलमा लागेन । कारण— यसले रिलिजसँगै थुप्रै आलोचना खेप्नु परेकोे थियो । आलोचनाको मुख्य सार एउटै थियो— यो अंग्रेजी चलचित्र ‘दि म्याग्निफिसेन्ट सेभन’ र ‘सेभन सामुराई’बाट कपी गरिएको थियो । वास्तवमा ‘शोले’ चारवटा फिल्मको रिमेक थियो । आकिरा कुरासावाको ‘सेभन सामुराई’, जोन स्टर्गसको ‘दि म्याग्निफिसेन्ट सेभन’ लाई आधार बनाएर ‘फर अ फ्यु डलर मोर’ र ‘वन्स अपन अ टाइम इन वेस्ट’ जस्ता फिल्मबाट ‘पन्चलाइन’हरू लिइएको थियो । तत्कालीन भारतीय मिडियालाई यो कुरा पटक्कै पाच्य भएन । त्यसपछि त के चाहियो र ! आलोचनाको बमबाडी नै बर्सियो । चलचित्रबारे जताततै नकारात्मक प्रचार हुन थाल्यो । त्यसबेलाका प्रख्यात चलचित्र समीक्षक केएल अम्लाडीले त ‘शोले’लाई ‘डेड एम्बर’ र ‘ए ग्य्राभली फ्लाड एटेम्ट’ अर्थात ‘निभेको आगो’ र ‘गम्भीर त्रुटियुक्त प्रयास’ भनेर कटु आलोचना गर्न भ्याए । त्यस्तै, भारतको सबैभन्दा प्रख्यात सिनेपत्रिका ‘फिल्मफेयर’ पनि यो फिल्मविरुद्ध कडा रूपमा उत्रिएको थियो । ‘फिल्मफेयर’ले समीक्षाको एउटा हरफमा चलचित्रलाई ‘इमिटेशन अफ वेस्टर्न– नाइदर हिएर नर दिएर’ अर्थात् ‘पश्चिमा नक्कल– न यताको न उताको’ भनी तीव्र व्यंग्य प्रहार गरेको थियो ।

यी सबै कुराले कसैलाई असर गरिरहेको थियो भने त्यो भर्खर रिलिज भएको फिल्म ‘शोले’लाई नै थियो । चलचित्र समीक्षाको प्रमुख ‘इस्यु’ नै ‘कपी’लाई यसरी बनाइयो कि जनतामा त्यसै कारणले यो फिल्म हेर्नु हुन्न भन्ने सन्देश जान थाल्यो । चलचित्र राम्ररी चलिरहेको थिएन । रिलिज भएको एक हप्तापछि मात्र हलमा बिस्तारै भीड बढ्न थाल्यो । एक कान दुई कान मैदान हुँदै फिल्मको तारिफ शुरु भयो । दर्शकले समीक्षालाई बहिष्कार गरे र आफूले प्राप्त गर्ने मनोरञ्जनको मुद्दामा चासो दिन थाले । फलस्वरूप ‘शोले’ सुपर डुपर हिट भयो र भारतीय चलचित्रकै इतिहासमा ‘कल्ट’ सिनेमामा पर्न सफल भयो । भारतीयहरुको गर्व बन्यो ‘शोले’ ।

अब पुनः फर्किऊँ ‘दरार’, ‘याराना’ र ‘अग्निसाक्षी’ तर्फ । यतिखेरसम्म आइपुग्दा भारतीय सिने मिडियाहरू धेरै परिपक्व र सिनेमा बुझ्ने भइसकेका थिए । उनीहरूले सिनेमाको प्रस्तुतीकरणमा दम भएन भने कथा वा प्लट मात्रले फिल्मलाई बोक्न सक्दैन भन्ने राम्ररी बुझिसकेका थिए । चलचित्र आफूलाई व्यक्तिगत रूपले मन पर्ने÷नपर्ने भन्दा पनि त्यसले दर्शकलाई ‘कनेक्ट’ गर्छ कि गर्दैन भन्ने ‘इस्यु’मा उनीहरूका समीक्षा केन्द्रित हुन थालिसकेका थिए । चलचित्रको मुटु भनेको कथा वाचन र प्रस्तुतीकरण नै हो भन्ने बुझेरै होला— तत्पश्चात उनीहरूको समीक्षामा कथा कहाँबाट उठाइयो भन्ने कुरा गौण बन्न थाल्यो । समीक्षाको शुरुवातमै फलानो अंग्रेजी चलचित्रबाट लिइएको भन्नेबाहेक अरू अक्षर त्यसबापत खर्च नगरी सीधै चलचित्रका भित्री पक्षको विश्लेषण गर्ने परम्परा शुरुवात भयो । गुगलमा खोज्यो भने अझै पनि माथि उल्लिखित तीनै चलचित्रको समीक्षा भेट्न सकिन्छ । त्यसमध्ये ‘दरार’ र ‘याराना’को समीक्षा नकारात्मक छ भने ‘अग्निसाक्षी’ले तारिफ पाएको छ । रामवीर पुष्प र हृदय लानीले लेखेको १९९६ को सो चलचित्रलाई ‘इन्डियन एक्सप्रेस’ले ‘टप फाइभ फिल्म अफ दि इयर’ मा रेटिङ गरेको थियो ।

अब कुरा गरौं— हालै रिलिज भएको नेपाली चलचित्र ‘लभ स्टेसन’ को । यो फिल्मलाई ट्रेलर सार्वजनिक भएदेखि नै विवादमा तानिएको थियो । कारण उही थियो– ‘कपी’ । चलचित्र रिलिज भएपछि त झन् के चाहियो र ! चौतर्फी आलोचना खेप्नुप¥यो यसका लेखक, निर्देशक र निर्माताले । ‘शोले’ जस्तो ‘लभ स्टेसन’ले भने समीक्षा र आलोचनाका कारण दर्शकको अभाव झेल्नु परेन । यसले गर्ने व्यापारमा खासै कमी आएन तर ‘कपी’लाई मात्र यति ठूलो इस्यु बनाइयो, मानौं त्यो चलचित्र नभएर ‘वाटरगेट’ जस्तै एउटा काण्ड थियो र त्यो पत्ता लगाउने फिल्मी पण्डितहरू केहीबेरका लागि भए पनि ‘इन्भेस्टिगेटिभ जर्नालिज्म’को आत्मरतिमा रमाउन भ्याए । ‘लभ स्टेशन’को कथा वाचन, कलाकारहरूको अभिनय, दृश्य संयोजन, क्यामरा वर्क, लोकेसन, छनोट आदि राम्रा पक्ष सबैलाई ‘कपी’को कुरा तेर्साएर बेवास्ता गर्न खोजियो । यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । उनीसँग थुप्रै सुपरहिट फिल्म बनाएर दर्शकलाई मनोरञ्जन दिएको अनुभव छ । एउटा पुराना र अनुभवी निर्देशकले निर्देशन गरेको यो चलचित्र रत्तिभर लायक नहुँदो हो त चल्दै नचल्नु पर्ने थियो । समीक्षकबाट राम्रो समीक्षा पाएका समकालीन चलचित्रहरू ‘खाग’, ‘बुलबुल’ र ‘प्रसाद’ भन्दा ‘लभ स्टेसन’ले गरेको व्यापार तुलनात्मक रूपले राम्रो भएन र ? दर्शकले दिएको ‘भोट’लाई अवमूल्यन गर्ने अधिकार कसैमा रहँदैन भन्ने बुझ्न जरुरी छ । भन्नै पर्ने हुन्छ— हाम्रा केही चलचित्र पत्रकार र समीक्षकहरू अझै ‘शोले’ युगबाट बाहिर निस्कन सकेका छैनन्, बडो दुःखलाग्दो कुरा । नेपाली चलचित्रमा नयाँपन खोज्नले आफ्नो समीक्षामा नयाँ डाइमेन्सन कहिले ल्याउने हो, हेर्न बाँकी छ ।

यो लेखको उद्देश्य चलचित्र कपी गरेरै बन्नुपर्छ भन्ने कदापी होइन । ‘कपी’ गर्नेहरूको ‘एड्भोकेसी’ गर्न पनि यो लेख लेखिएको हैन । चलचित्रको समीक्षा गर्दा ‘कपी’ मात्रलाई आधार बनाइन हुन्न भन्ने आजको मान्यता कायम होस् भन्ने मात्र हो । ‘कपी’को आवाज चर्को पारेर अरु सबै राम्रा पक्षलाई अन्धकारमा राखिदिनु चाहिँ अन्याय हो । चलचित्रका सबै पक्षले बराबर ‘वेटेज’ पाउनुपर्छ र दर्शकलाई निर्णय गर्न दिइनुपर्छ । किनभने, दर्शक भनेको अन्तिम निर्णयकर्ता हुन् । दर्शक गलत हुन सक्दैनन् ।

तपाईंहरूलाई सुन्दा आश्चर्य लाग्ला— विश्वप्रख्यात चलचित्र निर्देशक स्टेभेन स्पिलबर्गले जोन फोर्डको ‘दि सर्चर्स’का केही दृश्य र फ्रेमिङलाई आफ्नो चलचित्र ‘दि कलर पर्पल’मा राखेका थिए । हङकङको फिल्म ‘इन्टरनल अफेयर’बाट प्रभावित भई त्यसको रिमेक गरेर मार्लिन स्कोरसेसले सन् २००६ मा ‘दि डिपार्टेड’ बनाए । सो चलचित्रले बक्स अफिसमा मात्र होइन, ओस्कारमा पनि तहल्का मच्चाएर सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशकसहित अरु चारवटा एकाडेमी अवार्ड जित्न सफल भएको थियो ।

हिन्दी चलचित्रहरूले नेपालबाट बर्सेनि करोडौं रुपैयाँ लैजाने गर्छन् । विडम्बना के छ भने नेपाली चलचित्रलाई कपी भयो भनी सत्तोसराप गर्नेहरूले हलिउडको हिन्दी भर्सनलाई भने स्वीकार्ने मात्र होइन, तारिफ नै गर्ने गर्छन् । उनीहरू ‘शोले’को बयान गरेरै थाक्दैनन् । सन् १९९८ मा अजय देवगणको एउटा फिल्म ‘प्यार तो होना ही था’ले नेपालबाट मात्र भारु १ करोड लगेको थियो । सो चलचित्र हलिउड फिल्म ‘फ्रेन्च किस’को हिन्दी अनुवाद थियो । तर, त्यस विषयमा नेपाली मिडियाले एक अक्षर पनि खर्च गर्न आवश्यक ठानेन । त्यस्तै ‘मिस्टर विन’ सिरिज र हलिउड फिल्म ‘इट्स अ म्याडम्यान वल्र्ड’बाट उतारिएको फिल्म ‘धमाल’ नेपालमा सुपर हिट भएको थियो । आमिर खान, मनीषा कोइरालाअभिनीत चलचित्र ‘अकेले हम अकेले तुम’ हलिउड चलचित्र ‘क्रेमर भर्सेस क्रेमर’को हिन्दी अनुवाद थियो । अजय देवगणको सन् २००८ मा निर्मित ‘यु मी और हम’ हलिउडको ‘नोटबुक’को हिन्दी भर्सन थियो । त्यस्तै, अजय देवगणकै २०१६ को फिल्म ‘शिवाय’ हलिउड ब्लकबस्टर ‘टेकेन’बाट नउतारिएको भए ‘हम तुम’ भन्ने चलचित्र ‘ह्वेन हेरी मेट शेली’बाट नलिएको भए र ‘मुन्नाभाइ एमबीबीएस’ रोवर्टस विलियमको हलिउड फिल्म ‘प्याच एडम्स’ बाट साभार नगरेको भए हामीले हिन्दी फिल्ममा ताली बजाउन कहाँ पाउँथ्यौं र ? तालीमात्र बजाएनौं, नेपालीको करोडौ रुपैयाँ भारत पठायौं । ‘कपी’ मा त्यति धेरै टाउको दुखाइ थियो भने हामीले ‘कपी’ हिन्दी फिल्मलाई चाहिँ प्रोत्साहन किन ग¥यौं ? सीधै हलिउडको ‘ओरिजिनल’ फिल्म हेर्ने वातावरण सिर्जना गर्न किन सकेनौं ? नेपालबाट करोडौं रुपैयाँ लग्ने भारतीय ‘कपी’ फिल्मका विषयमा दुई अक्षर खर्च गर्न नसक्ने केही सिने पण्डितलाई नेपाली चलचित्रको विषयमा कत्रो चिन्ता ! नेपाली चलचित्र नेपालमै बन्छन् र नेपालमै चल्छन् । सानो बजारमा चलेका नेपाली चलचित्रमा त्यसका निर्देशक र लेखकको मात्र होइन, सयौं नयाँ प्रतिभा र प्राविधिकको भाग्य जोडिएको हुन्छ । त्यस्तो ‘भल्नरेवल’ विधालाई समीक्षा गर्दा मूल्यांकनका बाँकी सूत्रहरूको बेवास्ता गर्दै एउटै मात्र कारण तेस्र्याएर चलचित्रको बदनाम गर्न तम्सिने प्रवृत्तिलाई समीक्षा होइन, नायक प्रदीप खड्काले भनेजस्तै ‘आक्रमण’ नै मान्नुपर्छ ।

वर्षौं पहिले एउटा नेपाली चलचित्र खुब चलेको थियो— ‘कुसुमे रुमाल’ । तुलसी घिमिरेद्वारा निर्देशित सो चलचित्रलाई सबैले मन पराए । तर, धेरै कमलाई थाहा होला त्यो चलचित्रको कथा–प्लट सुपरहिट हिन्दी चलचित्र ‘मिलन’बाट लिइएको थियो । त्यस्तै भुवन केसीको ‘करोडपति’ पाकिस्तानी चलचित्र ‘दिल्लगी’ बाट र उज्ज्वल घिमिरेको ‘जिन्दगानी’ पुरानो हिन्दी फिल्म ‘धर्ती कहे पुकारके’बाट प्रभावित थिए । यो कुराको हेक्का तत्कालीन सिनेपत्रकार र समीक्षकलाई नभएको पनि होइन तर उनीहरूले यसलाई ‘इस्यु’ बनाउन चाहेनन् । कारण— ती चलचित्र राम्रा थिए र दर्शकको मन जित्न सफल भएका थिए । चलचित्रको मूल धर्म भनेको मनोरञ्जन हो र त्यसलाई ‘इग्नोर’ गर्न मिल्दैन भन्ने कुरा उनीहरूले राम्ररी बुझेका थिए त्यस बेला ।

दुःखलाग्दो कुरा छ— देशमै व्याप्त ‘राम्रो होइन, हाम्रो मान्छे’ प्रवृत्ति नेपाली चलचित्र क्षेत्रबाट पनि टाढा रहन सकेन । आफ्ना साथीभाइले बनाएका चलचित्रलाई मात्र मिडियाले ठाउँ दिने र एकतर्फी समीक्षा गरिदिने गर्दा यसमा विकृति देखिन थालिसकेको छ । होइन भने गोविन्द शाहीको ‘लभ स्टेसन’लाई ‘कपी’ देख्नेले भुवन केसीको ‘ड्रिम्स’लाई बेलायती फिल्म ‘इफ वन्ली’को ‘कपी’ देखेनछन् ? सुदर्शन थापाको ‘मेरो एउटा साथी छ’लाई ‘मिलियनर्स फस्ट लभ’ भनेर समीक्षा गरेको त पाइएन त्यस बेला । त्यस्तै, हिन्दी फिल्म ‘रमैया वस्ता वैया’को हुबहु ‘बाँध मायाले’ होइन र ? अनि भुवन केसीकै ‘क्याप्टेन’ लाई चाहिँ ‘पेलेः बर्थ अफ लिजेन्ड’बाट टाढा राख्न मिल्थ्यो त ? थाहा पाएर होस् या थाहा नपाएर— त्यस विषयमा कसैले बोलेनन्, राम्रो भयो । ती चलचित्रको बाँकी समीक्षा भयो, त्यसमा आपत्ति रहेन । आपत्ति एउटै कुरामा रह्यो— किन ‘लभ स्टेसन’ मात्र ? यहाँनिर शंका गर्ने ठाउँ प्रशस्त दिइयो । कुनै व्यक्तिगत रिस, राग, कुण्ठा र इगोको कारणले एउटा सामूहिक सिर्जनशील उत्पादन प्रताडित हुनु हुँदैन भन्ने मेरो मान्यता हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC