site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रणवीरको प्रेमले म पूर्ण भएकी छु
Sarbottam CementSarbottam Cement

– आलिया भट्ट


करिअरमा लगातार सुपरहिट फिल्म दिँदै भर्खरै ‘फिल्मफेयर’बाट सर्वोत्कृष्ट अभिनेतृको अवार्ड पाएकी आलिया भट्टको अनुहारमा हिजोआज बेग्लै चमक देखिन्छ । यसलाई रणवीर कपुरको प्रेम भन्न उनी कत्ति हिच्किचाउँदिनन् । अहिले ‘कलंक’ फिल्मबाट उनी पुनः चर्चाको शिखरमा छिन् । पुराना निर्देशक महेश भट्टकी छोरी आलियाले ‘नवभारत टाइम्स’सँगको कुराकानीमा आफ्नो फिल्म करिअर, वरुण धवन, रणवीर कपुर, प्रेम, विवाह र आमाबारे खुलेर बताइन् । प्रस्तुत छ, सम्पादित अंश—

१) तपाईंलाई अहिलेको समयकी सबैभन्दा सामथ्र्य र परिस्कृत अभिनेतृ भनिन्छ । मान्छेहरू तपाईंलाई नम्बर १ अभिनेतृको उपमा दिन्छन् । कस्तो लाग्छ ?

Prabhu Bank
Agni Group
NIC Asia

इमानदरीपूर्वक भन्ने हो भने यी कुराबारे म सोच्दै सोच्दिनँ । म जे गर्छु, आफ्ना लागि गर्छु । म गन्तव्यभन्दा यात्रामा बढी रुचि राख्छु । हरेक दिन शुटिङमा जानु, फिल्म रिलिज हुनु, कहिलेकाहीँ मान्छेहरूसँग भेट्नु— यी यात्राका खुड्किला हुन् । मलाई यिनै खुड्किला महत्वपूर्ण लाग्छन् । मलाई दर्शकले प्रेम गर्नुहुन्छ, मैले पनि चरित्रमार्फत उहाँहरूलाई प्रेम दिन्छु । हो, सफलता अत्यन्तै महत्वपूर्ण हो । तर, म सफलतामै रमेर बसिराख्दिनँ । मैले जे गरिरहेकी छु, सफलता पाउनकै लागि गरेकी होइन । म सफलताभन्दा सिर्जनात्मकता र रचनात्मकतामा बढी विश्वास राख्छु । मलाई चरित्र चाहिन्छ । फरक–फरक निर्देशकसँग काम गर्ने मौका चाहिन्छ । म यात्रा गर्न रुचाउँछु । ब्रान्डका लागि काम गर्न चाहन्छु । यदि मैले ‘नम्बर १ अभिनेतृ’जस्ता विषयमा ध्यान दिन थालें भने हुनसक्छ मेरो ‘एट्टिट्युड’ बलदिन सक्छ । म आफूले पाएका कामप्रति कृतज्ञ छु । यही कारण ‘फिल्मफेयर’ अवार्ड पाउने बेला मैले लामैलामो भाषण लेखें । मलाई लाग्यो— मैले मन्दिर¬–मस्जिद गएर शीर झुकाउनु पर्छ र सबैलाई आफ्नो ब्रह्मले भ्याएसम्म कृतज्ञता ज्ञापन गर्नुपर्छ । किनकि, यो सफलता ममात्रै एक्लैको होइन, मसँग जोडिएका सबैको हो । म यो यात्रामा एक्लै हिँड्थें भने यहाँसम्म कहिल्यै आइपुग्ने थिइनँ ।

२) कुनै दिन अहिलेको जस्तो सफलता र प्रसिद्धि नरहन सक्छ भन्ने डर लाग्छ कि लाग्दैन ?

Global Ime bank

कुनै समय म डराउँथें । म असुरक्षित महसुस गर्थें । तर, अहिले मेरो दृष्टिकोण बदलिएको छ । सबै कुरा राम्रोसँग चलिरहेका बेला पनि मैले आफूभित्र वैचैनी र चिन्ता महसुस गर्थें । म बिनाकारण उदास हुन्थें । त्यतिबेला म कसैसँग भेट्दिनथें, बोल्दिनथें । त्यसपछि मैले महसुस गरें— जब हामीले जिन्दगीलाई खुशीपूर्वक ग्रहण गर्छौं, तब सबै कुरा सुन्दर लाग्छन् । मन खुशी हुन्छ । जिन्दगीलाई दुःखबाहेक केही ठान्दैनौं भने मन पनि उसैगरी दुःखी हुन्छ । अन्योल बढ्छ । लाग्यो— मलाई दुःख बोकेर हिँड्नु छैन । यदि मैले खुशीलाई अपनाउन सक्छु भने दुःखलाई पनि सँगै लिएर हिँड्नुपर्छ । यो महसुस भएको दिनदेखि म बिन्दास छु । मलाई असुरक्षा महसुस हुँदैन । म दुःखी र उदास हुन छाडें ।

३) यस दौरान तपाईंकी आमा कसरी ‘सपोर्ट सिस्टम’ सावित हुनुभयो ?

म उहाँबिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिनँ । मेरो जीवनका जे–जति पनि प्राविधिक कुरा छन्, सबै जिम्मेवारी मम्मीले सम्हाल्नुहुन्छ । म त बस् खानासाना खाएर शुटिङतिर हिँडिहाल्छु, बाँकी सारा झन्झट मम्मीले बेहोर्नुहुन्छ । उहाँ मेरो ‘इमोसनल सपोर्ट’ पनि हुनुहुन्छ । उहाँ चुपचाप रहेर मलाई साथ दिनुहुन्छ । मलाई कहिल्यै पनि चिन्तित हुन दिनुहुन्न । म उहाँलाई बढीभन्दा बढी समय दिन प्रयास गर्छु । घरदेखि टाढा हुँदा जहिले पनि फोनमा कुरा हुन्छ, सधैं भिडियो कल गर्न खोज्छु ताकि उहाँलाई देख्न सकूँ !

४) तपाईंकी आमाद्वारा अभिनीत ‘नो फादर्स इन कश्मिर’ले धेरै प्रशंसा पाइरहेको छ । तपाईंले त्यो फिल्म हेर्नुभयो ?

मलाई यो फिल्म असाध्यै मन प¥यो । फिल्म सकिएर उठ्दा मेरो मन गह्रुंगो भएको थियो । मलाई यो कुराले धेरै नै छोयो कि हामी त थियटरबाट उठेर जान त जान्छौं तर फिल्मका कतिपय कुरा मनबाट हट्नै सक्दैनन् । यो फिल्ममा नयाँ दृष्टिकोण देखाइएको छ । फिल्ममा एउटा संवाद छ, “हामी त्यहाँ थिएनौं भने कसरी थाहा हुन्छ, त्यहाँ के भयो भनेर ?” मलाई लाग्छ— यो मुद्दामा संवेदनशील हुनुका साथै जिम्मेवार पनि हुनु जरुरी छ । कतिपटक हामी घर बसीबसी जे पनि बोलिदिन्छौं । हामी मुद्दामा धेरै कुरा त गर्छौं तर हामीसँग समाधान हुँदैन । यदि तपाईं कश्मिरमा हुनुहुन्थेन भने चुप लाग्नुस् । विचारमार्फत नकारात्मकता फैलाउने संस्कृति मलाई बिल्कुलै मन पर्दैन ।

५) ‘कलंक’ फिल्मको ‘गेटी ग्यालेक्सी’ गीत रिलिजका बेला बरुण धवनले भनेका थिए, “आलिया मसँग काम गर्दा असाध्यै खुशी लाग्छ किनकि उनी ठूली हिरोइन बनिसकिन् ।” साँच्चै हो ?

(हाँस्दै) वरुणले मलाई जिस्काएका हुन् । उनलाई पनि थाहा छ कि उनीसँग काम गर्ने मौका मिल्दा म कति उत्साहित हुन्छु । उनीसँग काम गर्दा मलाई असाध्यै खुशी लाग्छ । पर्दामा पनि हाम्रो जोडी सुन्दर देखिन्छ । उनले बेलाबेला जिस्काउँदै भन्ने गर्छन्, “मबिना कति धेरै काम गरिराको ? मसँग कहिले गर्ने हो ?” हाम्रो ‘दुल्हनियाँ’ सिरिजको तेस्रो फिल्म बाँकी छ । तेस्रो संस्करण आउन पनि सक्छ या त्योभन्दा अगाडि अरू पनि आउन सक्छन् । मैले वरुणलाई भनेकी छु कि वर्षमा एउटा फिल्म त सँगै गर्नैपर्छ ।

६) ‘कलंक’ फिल्मले प्रेमको वकालत गर्छ । समाजले गलत भनोस् या धर्म, उमेर आदिले । प्रेम यीभन्दा धेरै माथि छ । वास्तविक जीवनमा तपाईं कसरी प्रेममा पर्नुभयो ?

कुनै बेला म प्रेममा थिएँ । त्यतिबेला मेरा आफन्त, साथीभाइ कोही सहमत थिएनन् । उनीहरूलाई लाग्थ्यो कि यो प्रेम सही छैन । तर, म त त्यतिबेला प्रेममा थिएँ । प्रेममा हुँदा कसले अरूका कुरा सुन्छ ? प्रेमबाहेक अरू कुरा कसरी देख्छ ? ‘कलंक’मा एउटा संवाद छ, “कतिपय मान्छे प्रेममा परेर बर्बाद हुन्छन् । तर, कतिपय यस्ता पनि हुन्छन्, जो बर्बादीमा पनि प्रेम खोज्छन् ।” कथा प्रेमको हो, बर्बादीको होइन । प्रेम कलंक होइन । यो फिल्म थ्रिलर विधाको हो ।

७) प्रेमकै कुरा गर्दा— रणवीर कपुर तपाईंको जीवनमा आएपछि आफूलाई कति पूर्ण पाउनुभएको छ ? तपाईंको अनुहारमा चमक आउनुमा रणवीरको कति हात छ ?

मैले आफ्नो सम्बन्धबारे सार्वजनिक रूपमा बोलेको यो पहिलोपटक हो । पहिलो पटक मेरो अन्तरमनले भन्यो कि मैले देखावटी केही गर्नु हुँदैन । म यो विषयमा धेरै बोल्न किन चाहन्न भने यो मेरा लागि पवित्र चिज हो । रणवीर र म त्यसै कारण बाहिर सँगै घुम्दैनौं किनकि त्यसो गर्दा हाम्रो प्रेम सार्वजनिक भइदिन्छ । हाम्रो लागि यो सार्वजनिक प्रेम होइन । हाम्रा लागि यो नितान्त निजी हो । मैले संसारसामु रणवीर मेरा प्रेमी हुन् भनेर स्वीकार गर्नुको कारण हो— उनले मेरो जीवनमा नयाँ बाटो कोरिदिएका छन्, जुन पहिले कहिल्यै महसुस गरेकी थिइनँ । मैले आज त्यही महसुस गरिरहेकी छु । रणवीरको प्रेमले म पूर्ण भएकी छु । मैले आफ्नो भाषणमा पनि भनेकी थिएँ— रणवीरले मेरो अनुहारमा मुस्कान र आँखामा आभा ल्याउँछन् । योभन्दा बढी म के भनूँ ? (लजाउँदै) उनी मेरा एकदमै राम्रा साथी पनि हुन् । सम्बन्धमा असल मित्रता हुनु जरुरी छ । आफ्नो प्रेमलाई लिएर म कृतज्ञ छु त्यसैले यसबारे म खुलेर बोल्न सक्छु । मैले पूरै ब्रह्माण्डलाई भन्न चाहन्छु कि रणवीरप्रति म कति कृतज्ञ र आभारी छु !

८) बाहिर खबर यस्तो पनि आइरहेको छ कि रणवीर र तपाईंले चुपचाप स्विट्जरल्यान्ड पुगेर चुपचाप इन्गेजमेन्ट गर्नुभयो । चुपचाप बिहे पनि गर्नुभयो । साँचो हो ?

हे भगवान् ! म स्विट्जरल्यान्ड गएकी छैन । (हाँस्दै) ए अँ, हामी आकाश अम्बानीको बिहेका लागि स्विट्जरल्यान्ड गएका थियौं । अहिले म विवाह गर्दिनँ । विवाहका लागि समय बाँकी छ । कति समय छ, यो भन्नचाहिँ अप्ठ्यारो छ । तर, अहिले नै विवाहका लागि केही योजना बनिसकेको छैन । मैले पनि कतै पढेकी थिएँ— मेरो मे महिनामा विवाह हुँदै छ भनेर । यो गलत खबर हो । बिहे गर्ने बेला सबैलाई भनेरै गर्छु । यो वर्ष लगातार धेरै सेलिब्रिटीहरूको बिहे भइरहँदा मैले आफ्नो सम्बन्धबारे सार्वजनिक रूपमै स्वीकारोक्ति दिएको भएर मान्छेहरूले अनुमानमात्रै लगाएका हुन् बिहेबारे । बिहे त्यस्तो चिज हो, जुन सही समयमा गर्नुपर्छ, हुनुपर्छ । त्यसका लागि मानसिक तयारी आवश्यक हुन्छ । अहिले म आफ्नो काममा अत्यन्तै व्यस्त छु । लगातार फिल्म गरिरहेकी छु । यही वर्ष तीन फिल्म— ‘कलंक’, ‘तख्त’ र ‘ब्रह्मास्त्र’मा काम गरेकी छु ।

९) रणवीरको कुन कुरा तपाईंलाई मन पर्दैन ? उनमा के परिवर्तन चाहनुहुन्छ ?

म उनको व्यक्तित्वमा कुनै परिवर्तन चाहन्नँ । बरु उल्टै मैले आफूभित्र केही परिवर्तन ल्याउन सक्छु । उनी मलाई पूर्ण व्यक्ति लाग्छन् त्यसैले उनमा केही परिवर्तन चाहन्न । उनी जे छन्, जस्ता छन्— फस्र्ट क्लास छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  ०७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC