ट्विटर र ट्राफिक 

ट्विटर र ट्राफिक 

बेलैमा आँबुखैरेनी पुग्ने चाहनाले गोँगबुको नयाँ बसपार्क नजिकैबाट पृथ्वीराजमार्ग समितिले चलाइएको माइक्रोबस चड्यौँ । काठमाडौंबाट जाँदा अगाडिको सिट खाली भए पनि बीचमा ओर्लनेहरूलाई सकेसम्म पछाडिको सिट दिन खोज्छन् । एक जना बहिनीले बीचको एउटा सिटमात्र लिएकी रहिछन् । अर्को खाली नै रहेछ । उनले भनिन् – बाआमा यसमा बस्नुस् । म पछाडि बसौँला । त्यहीँबाट पनि खलासीले उठाउन खोज्दै थिए । म मानिन । बरु यो बसमा जान्न भने । अनि बल्ल त्यही सिटमा बस्न पाइयो । मभन्दा अगाडिको सिटमा साना छोरा र छोरीसहित एक महिला थिइन् । बालकले भन्दैथिए – हामीलाई आधाघन्टामा जाने भनेको पनि एक घन्टा भइसक्यो । 

बल्लतल्ल माइक्रोबस हिँड्यो । बीचमा पोखरामा तालिम लिन जान लागेको सैनिकहरू पनि थपिए । बीचराहरू दुई जना बीचको थप सिटमा परे । कलंकी के कटेको थियो जाम सुरु भइहाल्यो । निकै बेरपछि मैले भ्याली ट्राफिकलाई सम्बोधन गरेर ट्विट गरेँ र हेलो सरकारलाई पनि जानकारी दिएँ ‘‘@valleytraffic कलंकी नागढुंगा सडक लामो लमयदेखि जाम छ । ट्राफिकको उपस्थिति छैन । जामको मूल कारण उछिनपाछिन हो जस्तो लाग्छ। यति पनि व्यवस्थापन गर्न नसकिने नै हो ? @Hello_Sarkar’’ भ्याली ट्राफिकबाट उत्तर आयो  –  ‘‘सुचनाको लागि धन्यवाद । उक्त स्थानको सडक खण्डमा  कालोपत्रे भइरहेकोले सवारी आवगमन एक तर्फि रुपमा प्रभावित भएको   जानकारी गराउन चहान्छौं । धन्यवाद । जय नेपाल ।’’

@valleytraffic कलंकी नागढुंगा सडक लामो लमयदेखि जाम छ । ट्राफिकको उपस्थिति छैन । जामको मूल कारण उछिनपाछिन हो जस्तो लाग्छ। यति पनि व्यवस्थापन गर्न नसकिने नै हो ?@Hello_Sarkar

— Govinda Adhikari (@agovinda) April 3, 2019

 

सुचनाको लागि धन्यवाद । उक्त स्थानको सडक खण्डमा कालोपत्रे भइरहेकोले सवारी आवगमन एक तर्फि रुपमा प्रभावित भएको जानकारी गराउन चहान्छौं । धन्यवाद । जय नेपाल ।

— Metro Traffic (@valleytraffic) April 3, 2019

 

म जामले विरक्त भएर बसेको थिएँ । ट्विट गरेरै भए पनि छटपटी साम्य पार्नतिर लागेँ । लेखेँ – ‘‘यात्रुवाहक सवारीलाई प्राथमिकता दिए अलि सहज हुन्थ्यो कि ? एकतर्फी हुने भएपछि ६ पांग्रेभन्दा ठूला सवारी तलै रोकिदिए नि हुने थियो । भगवान भरोसे छाडिएको हो ट्राफिक व्यवस्थापन ?’’

यात्रुवाहक सवारीलाई प्राथमिकता दिए अलि सहज हुन्थ्यो कि ? एकतर्फी हुने भएपछि ६ पांग्रेभन्दा ठूला सवारी तलै रोकिदिए नि हुने थियो ।भगवान भरोसे छाडिएको हो ट्राफिक व्यवस्थापन ?

— Govinda Adhikari (@agovinda) April 3, 2019

यसपटक उत्तर आउँदैन होला भन्ने लागेको थियो । नभन्दै आएन । पिच गरेको ठाउँमा सवारी एकतर्फी गराएकाले जाम भएको त हो रहेछ तर त्यसलाई व्यवस्थापन गर्न खोजेको भए नसकिने थिएन जस्तो लाग्यो । पिचका बारेमा सहयात्रीको टिप्पणी थियो– ‘‘होलीमा रंग छेपेजस्तो सडकमा अलकत्रा छर्केको ।’’

बल्लतल्ल नागढुंगा पुग्यो । करिब डेढ घन्टामा । साइत नपरेको रहेछ कयारे नागढुंगा – नौबीसे खण्डमा पनि जाम देखियो । एकैछिनमा त गाडी रोकिइहाल्यो । अनि मैले ट्राफिकलाई सम्बोधन गरेर थोरै छड्के हान्दै ट्विट गरेँ – ‘‘जाम त नागढुंगादेखि पनि रहेछ । तेता नि पिच नै भएको हो कि अरू नै कारण होला ?’’

उत्तर आउने आश थिएन । यस खण्डमा जाम हुनुको मूल कारण ठूला ट्रक र कन्टेनर रहेछन् । उनीहरूले बाटो छोड्ने सायद ठाउँ नै हुँदैन र उछिन्ने बाटो पनि छैन । अनि त सबै सबारी साधन घन्टाको १०–१५ किलोमिटरको गतिमा गुड्नु पर्‍यो । जाम त हुने नै भयो । काठमाडौंबाट हिँडेको ३ घन्टामा नौबीसे पुगियो । 

नौबीसे पुगेपछि गाडीले गति लियो । यात्रुहरूको गुनासा पनि सुरु भयो । धेरैको अर्को गाडी भेट्नुपर्ने रहेछ । सैनिकहरू ढिलो पुगे कारबाहीमा परिन्छ भन्दै थिए । बाटामा नरोकी गइयो । भोक, तीर्खा र शौच लाग्ने सबैसँग पर्खनुको विकल्प थिएन । गाडी धादिङ सदरमुकाम जाने बाटाको पुलनेर रोकियो । हामीभन्दा अगाडिको माइक्रो पनि रोकिएको थियो । बढी यात्रु राखेर ल्याएकाले रोकेको होला भन्ने लाग्यो ।

करिब १० मिनेट भइसक्यो गाडीबाट ओर्लेका चालक फर्केर आएनन् । यात्रुहरू छटपटाउन थाले । टाढा जानुपर्नेहरू त आत्तिए नै । यता सैनिक जवानहरू प्रहरीलाई गाली गर्न थाले । यात्रुहरू ओर्लन थालेपछि म पनि ओर्लेँ । माइक्रो रोकेको कारण त अर्कै पो रहेछ । 

गजुरीमा केही छिन पहिले एउटा कुखुराको भाले पोखरातिर जाने माइक्रोबसले किच्यो रे । उताबाट असई साबले भाले किच्ने माइक्रोलाई पक्रेर कारबाही गर्न र पत्ता नलागुन्जेल कुनैलाई पनि जान नदिनु भने आदेश दिएका रहेछन् । हवल्दारहरू दुई जना थिए एक जना श्रेष्ठ र अर्का यादव । आदेश पालन गर्न उनीहरूले माइक्रो रोक्न थालेका रहेछन् । 

मैले यात्रुहरूको मर्का बुझेर जान दिन अनुरोध गरेँ – ‘‘बूढाबूढी केटाकेटा छन् । धेरै त भोकै छन् । हामी चडेको माइक्रोले किचेको पनि हैन । किचेको भए हामीले थाहा पाउथ्याैँ । टायरमा केही न केही टाँसिएको हुन्थ्यो होला । तैपनि हुँदैन भने चालकको लाइसेन्स लिनु र हामीलाई जान दिनुस् ‘‘ । हवलदार साब मानेनन् ।

‘‘असई साबको आदेशमा रोकेको हो उहाँकै आदेशमा मात्र जान दिन्छौँ’’ पो भन्छन् । झनक्क रिस उठ्यो । अलि ठूलो स्वरमा भने ‘‘यतिका मान्छेको यसरी बिानकारण बिचल्ली पार्न हुन्छ ? तिमीहरूको विवेक छैन ? गाडीका चक्का हेरेर जान दियौँ भन्न सक्तैनौ ? ’’ अनि ती श्रेष्ठ थरका हवलदारको अहम्मा छोएछ कि चालकलाई जान दिए । 

अनि गाडी गुड्यो र गन्तव्यमा हामी त सजिलै पुग्यौँ तर स्याँजा, लमजुङ र पोखरामा भित्री भेगमा जानेहरूलाई निकै अबेर भयो होला । काठमाडौंमा घरबाट ९ बजे बिहान निस्केका हामी आँबुखैरेनी पुग्दा साँझको ६ बजेको थियो ।  

भोलिपल्ट मुक्तिनाथसम्म मोटरमै जानु थियो । पहिलो जाम लुम्ले नजिकै काँडेमा भयो । अनि ट्विट गरेँ – ‘‘पोखरामाथि कॉडेमा जाममा । अगाडि बस फसेको छ रे ?  केही गाडी उछिनेर गए। अब तिनैले जाम गरेका छन्। सरकारी हाकिमको एउटा गाडीले उछिनेर गयो।अरू केही उसैको पछिपछि गए। अनि जाम बढ्यो ।’’

अरू त के हुनुथियो र मन हलुंगो भयो । सरकार भने यही ट्विट गर्ने सुविधा पनि खोस्न पो खोज्दैछ रे !  

गोविन्द अधिकारी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

धरापजस्तो सडकमा मुक्तिनाथसम्म 

म्याग्दी जिल्लाको बेनीदेखि मुक्तिनाथसम्मको सडक हेर्दा केही ठाउँमा त सडक अडिनै सक्तैन कि जस्तो लाग्छ । सडकको रेखांकन गर्दा छिटो

परेर पनि नचेत्‍नेहरू ! 

परेर पनि नचेत्नेलाई मूर्ख भनिन्छ । हामी नेपाली मूर्खता पनि दोहोर्‍याउन अभीशप्त छौँ सायद । नत्र, माओवादीको हिंसात्मक विद्रोहको दशकको

चिसिएको नेपाल–अमेरिका सम्बन्ध

शासकहरूले राष्ट्रिय हित र व्यक्तिगत इच्छामा भेद नगर्दा अन्तर्राष्ट्रिय सम्बन्ध पनि प्रभावित हुने गर्छ । नेपाल अहिले सायद यस्तै अवस्थामा

समृद्धिको चटारो 

तलको तस्बिर बसुन्धरास्थित प्रहरी चौकी नजिकै सामाखुसी खोलाको हो । दुवै किनार चेपेर साँगुरो बनाइएको खोला प्लास्टिकले छोपिएको छ ।