site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यौन, नारी उत्पीडन र दर्शन

यौनलाई दर्शन र साहित्यले जति खुलारूपमा समाजले स्वीकारमा गर्न सकेको छैन । व्यक्तिपरक कल्पना बाहेक आज पनि यौनका विषयमा समाजमा खुला बहस हुन सक्तैन । तर, यौन साहित्यको इतिहास र दर्शन लामो छ । यौनको अन्त्यहीन कल्पनालाई कथाको रूपमा व्यक्त परम्परा पूर्व र पश्चिम सबैतिर देखिन्छ । हिन्दु धर्मग्रन्थदेखि युनानी मिथकहरुसम्म लिखित उत्खनन भए जति अधिकांश यौनको मामिला अछुता छैनन् । 

यस लेखमा मध्यकालसम्मको विश्व दर्शन र यौन साहित्यका विविध पाटालाई अन्वेषण गर्न खोजिएको छ । तसर्थ पूर्वीय एवं पश्चिमा दर्शन र स्रोतमा आधारित पौराणिककालदेखि मध्यकालसम्म अर्थात् चौधौं शताब्दी पूर्वको समय परिवेशको आधार लिइएको छ । 

पूर्वीय दर्शनका पौराणिक ग्रन्थहरुलाई लेखनकालका आधारमा दुई भागमा विभाजन गर्न सकिन्छ । एउटा वैदिककालमा लेखिएका ग्रन्थहरु जस्ताको तस्तै र वैदिककालमा लेखिएर लोप भई मध्यकालसम्ममा आएर पुनर्लेखन भएकाहरु । वेदहरु वैदिककालका लेखन हुन् जसमा त्रिमूर्तिहरु ब्रम्हा, विष्णु र महेश्वरको चरित्रको कल्पना भेटिँदैन । अर्को मध्यकालसम्ममा आएपछि लेखन र पुनर्लेखन भएका ग्रन्थहरु जस्तै पुराण, महाभारत वा रामायण जसको लेखनमा सरलता धेरै भेटिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हिन्दु दर्शनअनुसार ब्रम्हा, विष्णु र महेश्वरको परिकल्पना पुराणमा लेखिएपछि भएको हो । अठार पुराणमा पनि शक्तिको अलगअलग वर्णन छ । ब्रम्ह, ब्रम्हाण्ड, ब्रम्हवैवर्त, मार्कण्डेय र भविष्य पुराणले ब्रम्हालाई नै सर्वश्रेय मानेको छ । विष्णु पुराण, श्रीमद्भागवत, नारदेय पुराण, गरुड पुराण, पद्म पुराण र अग्नि पुराणले विष्णुलाई नै अजेय परमेश्वर मानेको छ । 

शिव पुराण, लिंग पुराण, स्कन्द पुराण र वायु पुराणले भने शिवशक्तिको महिमा वर्णन गरेको छ । त्यसबाहेक वैदिक उपनिषद्हमा भने त्रिमूर्तिको प्रसंग कमै पाइन्छ । उपनिषद्हरु ठूलो संख्यामा उपलव्ध हुनु र तिनको लेखनमा विविधता देखिनुले यसको लेखन वैदिककालदेखि निरन्तर रहेको भन्न सकिन्छ । तसर्थ पौराणिक ग्रन्थहरुलाई लेखनकालसँगै महिमा वर्णनका आधारमा दुई किसिमले विभक्त गर्न सकिन्छ । 

Global Ime bank

उपनिषदहरुभित्रको कथा, परिवेश, विषय, प्रस्तुति र सन्दर्भहरु देश, काल र चरित्र वर्णनभन्दा अलग देखिन्छ । तसर्थ उपनिषद्का उद्गारहरु सत्यको नजिक रहेको प्रतीत हुन्छ । पुराणमा भने मिथकलाई बढी प्रश्रय दिएको पाइन्छ । पुराणले कथावस्तु, काल, समय, परिवेश जस्ता वस्तुमा बढी जोड दिएको छ । रचनाकालका आधारमा पुराणले समाज विकासक्रमको पछिल्लो स्थिति वर्णन गरेको छ । 

यौनका सन्दर्भमा पुराणहरुमा जे जति लेखिएको छ वैदिक ग्रन्थहरु नितान्त अलग छन् । पुराणहरुको ध्येय प्राकृतिक मानवीय आचरणको रोमाञ्चक प्रस्तुति दिनु र स्रोता वा पाठकको मन जित्नु रहेको देखिन्छ । पूर्वीय दर्शनमा जति यौनका कथा भेटिन्छन् ती सबैको स्रोत अन्ततः पुराणहरुमै भेटिन्छ । 

पुराणहरुले यौन साहित्यको विधामा नारी हिंसा, शोषण र उत्पीडनलाई अत्याधिक र बढाइचढाइ प्रस्तुत गरेको पाइन्छ । पञ्चकन्या अर्थात् अहल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरीको चरित्रलाई यौनिक चरित्रमा प्रस्तुत गरिएको छ । कतिपय अवस्थामा बलात्कारका घटनालाई समेत अतिरञ्जित गरेको र पीडक पुरुषको गुणगान गरिएको छ । यस अर्थमा के त्यो कालमा महिलाको बलात्कार खुला थियो भन्ने प्रश्न पैदा हुन्छ । तिनमा कथाका तत्कालीन महापुरुषहरुको समेत सम्मति छ भन्ने आशय व्यक्त गरिएको छ । 

द्रौपदीको चिरहरणमा भीष्म र विदुरको मौनले यसको पुष्टि गरेको छ । महाभारतमा नै कर्णलाई एकातिर महानायक चरित्रमा प्रस्तुत गरिएको छ भने तिनै कर्णले अर्कातिर द्रौपदीको पीडामा प्रतिशोध ओकलेको पाइन्छ । 

भीष्मको प्रतिज्ञा पनि प्रसिद्ध छ । तर, त्यो प्रसिद्धि र सम्मान उनको नारीप्रतिको दृष्टिले गुमेको छ । उनले पुरुषको मनोकांक्षाका लागि जबरजस्ती विवाह गराउन अनेकांै युद्ध लडेका छन् । अबला स्त्रीहरुलाई विभिन्न राजालाई उनले विवाहका लागि सुम्पिदिएका छन् । 

यसरी हेर्दा ती महानायकहरुको चरित्र आजको फिल्मी कथाबाट अलग पनि देखिन्छ । त्यस समयका महानायकको चरित्रले स्त्री अस्मिताको रक्षा गर्नु आवश्यक थिएन भन्ने बुझाउँछ । 

सत्ययुगका कथामा त झन् स्त्री चरित्रमाथि हुने वर्वरता बढी ददर्नाक छ । त्यसमध्ये एउटा चरित्र अहिल्याको हो । उनी इन्द्रबाट बलात्कृत नारी हुन् तर बलात्कारको सजाय उनैले पाइन् । निर्दोष भए पनि पथ्थरका रूपमा बाँच्नुपर्ने यातना पाइन् । यस कथाको प्रस्तुतिलाई मुस्लिम देशहरुमा आजसम्म विद्यमान कानुनसँग तुलना गर्न सकिन्छ । मुस्लिम कानुनमा कुनै महिला बलात्कृत भइन् भने त्यसको प्रमाणका लागि अन्य चारजना पुरुष साक्षी चाहिन्छ । त्यसो हुन सकेन भने महिला नै सजायको भागीदार हुन्छन् ।

यौनका लागि सृष्टिका धेरै जीवन्त महापुरुष पात्रहरु मुक्त छैनन् । निषाद अवस्थामा समेत कामको मोहलाई त्याग्न नसक्नु पुरुषको दोष हो । वैदिककालका धेरै सन्त र विद्वान्समेत यौन भोगको बल्छीमार्फत नैतिक अवसानको बाटोमा पुगेका थिए । 

पुराणहरुमा यौनतृष्णा मेट्ने अरु उपायहरुलाई अकाट्य मानिएको छैन । पुराणहरुले उर्वशीलाई देखेर वरुणदेव आफँै स्खलित भएको विषय उल्लेख गरेकाछन् । मेधावी ऋषि तपस्यामा लीन थिए तर मंजुषाले उनको तपस्यालाई नै रतिरागमा बदलिदिएकी थिइन्  । मेनकाले ऋषि विश्वामित्रको ध्यान भंग गर्न समागमको उपाय रचेकी थिइन । यस अर्थमा पौराणिक युगपुरुषहरुसमेत कामवासना र सम्मोहनबाट अलग हुन नसकेको देखिन्छ । 

युनानीहरु जिउजलाई भगवान र सृष्टिकर्ता मान्थे । युनानी कथामा एन्टोपी र क्यालिस्टोलाई जिउज आफैँले जबरजस्ती गर्भ बोकाएका छन् । जिउज उनै क्यालिस्टोकी जिजुबाजे थिए । क्यासनारालाई असाजले आफू अनुकूल प्रयोग गरेका थिए । दिनाहलाई हिबु्र बाइबलअनुसार एक राजकुमारले यौनबन्दीका रूपमा उपयोग गरेका थिए । 

हिन्दु र युनानी मिथकहरुमा धेरै समानता छ । प्राचीन युनानीहरु ओलम्पिया पर्वतमा रहेका भगवानबाट निरन्तर सृष्टिको रेखदेख भइरहेको विश्वास गर्थे । उनीहरुको त्यो विश्वास आजका हिन्दुहरुको कैलास पर्वतमा महादेव राज भएको कथासँग मेल खान्छ । त्यसबाहेक महादेवको र जिउजको यौन चरित्रमा पनि धेरै समानता भेट्न सकिन्छ । 

युनानी सभ्यता कालान्तरमा मासिदै गयो । त्यसको मुल कारक ग्रिस साम्राज्यको पतन थियो । त्यसपछि युरोपमा रोमन साम्राज्यको स्थापना भयो । रोमन साम्राज्यको सुरुमा त्यहाँका मानिसमा युनानी संस्कृतिप्रति मोह थियो । तर इसाको तेस्रो शताब्दीपछि रोमन साम्राज्यमा बिस्तारै क्रिस्चियन प्रभाव बढ्न थाल्यो । अन्ततः रोमन क्रिस्चियन साम्राज्य बन्न पुग्यो । 

यौन र शारीरिक सम्बन्ध विशिष्ट कला र सृष्टिको अनुपम उपहारबाट पुरुषपात्र सधैँ टाढा हुन्छ । निश्चित परिधिमा रहेर उपहार ग्रहण गर्नु सृष्टिको नियम हो । तर, यसको विशिष्टतालाई आदिकालदेखि नै हिंसा, शोषण, युद्ध र जालझेलको अस्त्रका रूपमा प्रयोग गरिँदै आएको पाइन्छ । यसर्थ यौनको विधामा सृष्टिको सबै प्रहर, कल्प, चर र युगहरु कलंकित देखिन्छन् ।

हिन्दु मान्यताअनुसार ऋषिहरु वैदिक दर्शनका व्याख्याकार र धर्मप्रतिष्ठाका प्रतिमूर्ति हुन्छन् । ऋषिहरुमा पनि ब्रम्हर्षि सबैभन्दा उच्च तहका मानिन्थे । ब्रम्हर्षिमध्येका वशिष्ठले आफ्नै छोरी शतरूपासँग यौनक्रीडा गरेको प्रसंग पुराणमा छ । मनुले पनि छोरी इलासँग, जहानुले छोरी जहान्वीसँग र सूर्यले छोरी उषासँग गरेको कृत्यक्रीडा आजको सचेत समाजले पचाउन सक्तैन । बाबुछोरा धहप्रचेतनी र सोम दुबैले आफ्नै नातिनी र छोरी मारिषासँगको रतिक्रीडा पनि अर्को अनौठो लाग्ने प्रसंग हो ।

विश्वामित्रदेखि र जमदग्नि ऋषिसम्मले नारीको सम्मोहनमा आफ्नो संकल्पलाई भुलेका छन् । कृष्णको रासलीलाको प्रसंगलाई पनि उनको चरित्र चित्रणमा खुलेर लेखिएको छ । ती लेखनहरुमा लेखकका रूपमा पुरुष पात्रको भूमिका प्रधान देखिन्छ । आखिरमा शास्त्रीय काव्यकारहरु किन यौन विधामा स्त्री जातिको अस्मितामाथि कलम चलाउन प्रेरित भए ? किन उनीहरु आफ्नो काव्यमार्फत स्त्रीको संवेदनशीलतामा हमला गर्न दुनियाँलाई प्रेरित गरिरहे ? यी सबै प्रश्न खोजको विषय हुन सक्छन् । तर, स्त्रीहरुको विषयबोध गरी साहित्य लेखनको क्रम पूर्वीय सभ्यतामा मात्र छ भन्नु भने मूर्खता हुन्छ । 

प्राचिन पश्चिमा समाजभित्रको नारीमाथिको हिंसा र शोषण झन् अक्षम्य देखिन्छ । पूर्वीय ग्रन्थ र दर्शनहरुका तुलनामा पश्चिमा ग्रन्थहरुमा मिथक कम भेटिन्छन् भन्ने अर्थ लाग्छ । यस अर्थमा नारीमाथिको यौन हिंसा, शोषण र उत्पीडनको कथालाई पश्चिमाले प्रयोग गरेको वर्वरता के वास्तविक नै हो ? पश्चिमी सभ्यताका व्याख्याताहरुलाई यो चोट लाग्ने प्रश्न हो । 

प्राचीन युनानमा महिलालाई दिने प्रथम सजाय बलत्कारको आदेश हुन्थ्यो । प्राचीन युनानी चित्रकारहरुको चित्रहरुले यसको पुष्टि गर्छन् । युनानको पतनपछि रोमन साम्राज्य बलियो शक्तिका रूपमा उदायो । रोमन साम्राज्यको स्थापना नै स्त्रीमाथिको दर्दनाक अत्याचारबाट भएको विश्वास गरिन्छ । पुनर्जागरण कालका चित्रहरु र बहस अधिकांश त्यसमा केन्द्रित भएको पनि देखिन्छ । 

सुरुमा रोमनहरुको विस्तारवादी सोचलाई अन्य राज्यका मानिसले हेयका दृष्टिले हेर्थे । तसर्थ रोमन पुरुषहरुविरुद्ध अन्य राजौटा दमनमा उत्रिए । तर, त्यो दमन उनीहरुका लागि प्रत्युत्पादक बन्यो । रोमनहरुले साम्राज्य विस्तारका क्रममा उनीहरुले अन्य राज्य र इलाकाभित्रका हजारांै महिलालाई घरबारविहीन बनाइदिए । 

पुरुषहरुको नरसंहार र सबाइन नारीमाथिको अत्याचार नै रोमन साम्राज्य विस्तारको अस्त्र वन्यो । राज्य विस्तारका क्रममा सवाइन महिलाहरुको सामूहिक अपरण, सामूहिक बलात्कार र दासता रोमन सैनिकहरुको ठूलो उपलब्धि मानियो । उनीहरुले पछि विजयको भावमा स्त्रीको दर्दनाक पीडामाथि उत्सव नै मनाए । 

रोमनको प्रारम्भिक कालका मानिसहरु यौनका भोका सिंह थिए । तिनको तुलनामा नारीहरुमा आफ्नै शरीरको बारेमा ज्ञानको अभाव थियो । रोमन साम्राज्यमा इसाइकरणपछि चर्चहरुमा जति उच्च नैतिक स्तरको बहस चल्थे त्यहाँभित्रको नारी व्यथा पाशविक हुन्थ्यो । त्यहाँको वर्वरताको वर्णन फिलिप लार्किनलगायतका रचनाहरुमा पढ्न पाइन्छ । 

वेलायतमा मध्ययुगमा मात्र रिचर्ड दोस्रो (सन् १३८५) र हेनरी पाचाँै (सन् १४१९) ले युद्धमा महिलामाथि गरिने ज्यादतीविरुद्ध कानुन वनाएका थिए । यस अर्थमा त्यसभन्दा अगाडि युद्धताका महिलाको प्रयोग असामान्य थिएन । 

नेपोलियन बोर्नापाटका सैनिकहरुको यौन मानसिकता उनको नियन्त्रण घेराभन्दा बाहिर थियो । उनले इजिप्टको युद्धमा अपमानजनक बलात्कारमा संलग्न आफ्ना सेनालाई राक्षसको संज्ञा दिएका थिए । तसर्थ उनले त्यसमा संलग्न सेनाहरुलाई मृत्युदण्ड दिने घोषणा नै गरे । 

यस अर्थमा मध्ययुगसम्मको विश्वको यौन कामुकता धेरै हिंस्रक र जंगली रहेको पाइन्छ । मध्ययुगमा यौन जीवनको जंगलीपन धार्मिक अतिवादमा आडमा असाध्यै मौलाएको देखिन्छ । 

पश्चिमाहरुका लागि मध्ययुगीन विश्व यौन र लैंगिक पूर्वाग्रहमा जकडिएको थियो । उनीहरु पुनर्जागरण युग पूर्व त्यस किसिमको चिकित्सा सिद्धान्त अपनाउँथे जसमा उपचारका क्रममा यौन सम्बन्ध आश्चर्यजनक मानिदैनथ्यो । 

मध्यकालीन फ्रान्सेली चिकित्सक अर्नाउड डे बर्नियोलले मध्ययुगीन कामुकताको वर्वरता लिपिबद्ध गरेकाछन् । उनी एक विद्यार्थी थिए र उनको एकजना यौनकर्मीसँग सम्बन्ध थियो । उनका साथीहरु तिनै यौनकर्मीका सामु नरभक्षीका रूपमा प्रस्तुत हुन्थे । त्यसबाट उनलाई पश्चातापको रापले पिरोल्न थाल्यो । त्यसपछि आफैँले चिकित्सा विधि परिवर्तनको धेरै काम गरेको बताएका छन् । 

उनका अनुसार यौन सम्बन्धका क्रममा महिला यौनकर्मीसँग क्रूर व्यवहार अमान्य थिएन । तसर्थ मध्ययुगीन चिकित्सकहरूले तत्कालीन यौन हिंसालाई वास्तविक चिन्ताको रूपमा देखाएकाछन् । त्यो समय यौनसम्बन्धका अवधिमा महिला यौनकर्मीको मृत्यु गौण मानिन्थ्यो र त्यो समय पुरुष पात्रमा संवेदना हराएको युग थियो । 
 
इतिहास लेखनको क्रममा यो जंगली आवरणलाई सत्तासीनहरुले लुकाइरहे । आखिरमा त्यो सत्यको पर्दाफास साहित्य र दर्शनमार्फत भयो । युरोपमा पुनर्जागरण कालमा चित्रकलाले लुकाइएको वास्तविकता उजागर गर्यो । 

पूर्वीय सभ्यता मध्ययुगसम्म आइपुग्दा पश्चिमको तुलनामा धेरै सभ्य र शालीन भइसकेको अनुभूति गर्न सकिन्छ । यौन हिंसा र उत्पीडनको सबालमा युरोपियन चिकित्सा मध्ययुगपछि मात्र सभ्य भएको देखिन्छ । तर त्यसभन्दा सयौं वर्ष पहिले नै वात्सायानको कामसूत्र एवं अनंगरंग जस्ता ग्रन्थले पूर्वीय समाजमा यौनलाई मर्यादित बनाउन कोसिस गरेको देखिन्छ । 

अनंगरंगका अज्ञात रचनाकारले यौनलाई त्यो हदसम्म परिष्कृत गरेकाछन् जसमा सम्बन्ध राख्न हुने र नहुने भन्नेसम्मका विषय लिपिबद्ध छन् । त्यसपछि पूर्वीय दर्शनमा यौन शारीरिक सम्पर्कको विधा र प्रेमरञ्जनको रूपमा परिष्कृत भयो । घटकञ्चुकीलगायतका खेलहरु क्रमशः विकसित भएका हुन् । यौन समागमलाई सम्भोगको रूपमा त्यसपछि मात्र व्याख्या गर्न थालियो जसको अर्थ समान भोग भन्ने हो । 

रोमन साम्राज्य एकीकृत रूपमा धेरै समय टिकेन । एकीकृत रोमन साम्राज्य करिब ४ सय वर्ष (चौथो शताब्दीको अन्तसम्म) टिक्यो र दुई भागमा विभाजित भयो । विभाजनपछि  पश्चिमी एवं पूर्वीय गरी दुई रोमन साम्राज्य खडा भए । पश्चिमी रोमन साम्राज्यको राजधानी इटालीको रोम सहर थियो र त्यो अरु ८० वर्षसम्म चल्यो । पूर्वीय रोमन साम्राज्यको राजधानी भने त्यतिबेला कन्सट्याटिनोे र वाइजेन्टाइन नामले प्रसिद्ध थियो । यो साम्राज्य अरु १ हजार ५० वर्ष टिक्यो जसको केन्द्र अर्थात् कन्सट्याटिनो अहिलेको टर्कीको इस्तानबुल मानिन्छ । 

रोमन सभ्यताको पहिलो इसा पूर्वमा लेखिएको ओभिद् नाम पुस्तकका कविताले त्यस कुराको पुष्टि गर्छ । ओभिद छोटो महाकाव्य हो जसमा मन परेकी महिलालाई कसरी पक्रने र भोग गर्ने भन्ने वर्णन छ । पछि रोमनहरुले तर्क गर्न थालेका थिए त्यो रोमन महिलामा लागु हुँदैन । तर, पछिल्लो समयक्रममा भने रोमनभित्र ती पुस्तक प्रतिबन्धित गरिए ।

रोमनको सभ्यता विकासक्रमलाई फर्केर हेर्ने हो भने पहिलो आधा युग विभत्स नै थियो । पछिल्लो शताब्दीमा पूर्वीय रोमन साम्राज्य तुलनात्मकरूपमा युनानी सभ्यता र पश्चिमा रोमनभन्दा सभ्य बन्यो । तर, महिलालाई दासीका रूपमा उपयोग गर्ने प्रचलन युरोपमा रोमनले नै छोडेर गएका हुन् । साम्राज्य त पतन भयो तर दासताको संस्कृतिले जरो गाड्यो । 

पूर्वी रोमन साम्राज्यको पतनपछि ओटोमन साम्राज्य खडा भयो । पूर्वीय रोमनको अधिकांश भूभाग हालको टर्कीसहितको मध्यपूर्व हो । बिस्तारै पूर्वीय रोमन साम्राज्यमा प्रवेश गरेको इस्लामको प्रभाव अटोमन साम्राज्यभित्र राज्यले नै ग्रहण गर्यो । मुस्लिम धर्मभित्रको विभेद भने बिस्तारै अटोमन साम्राज्य कालमा बढेको देखिन्छ ।

दासता उन्मूलन नभएसम्मको अवधिमा अमेरिका पनि यौनको मामिलामा धेरै दुराचारी देखिन्छ । कालामाथिको दासता श्रमको दासतामा सीमित थिएन, यौनको लालसामा महिलाको किनबेच हुन्थ्यो । गोराहरु कालामूलका महिला पुरुषको किनबेचमा संलग्न हुन्थे । 

पूर्वीय र पश्चिमा दर्शन, साहित्य वा कलाकृति सबैले तत्कालीन समाजभित्रको विकासक्रम र घटनालाई लिपिबद्ध गरेकाछन् । इतिहासको लेखनमा शक्ति र धनको प्रयोग बढी हुन्थ्यो । तसर्थ इतिहास राजा र सामन्तको लेखिन्थ्यो । त्यसैले इतिहासले वास्तविकतालाई धेरै तोडमोड गर्न खोजे झैँ लाग्छ । 

दर्शन, साहित्य वा कलालाई राज्यले केही प्रश्रय दिएको थियो । त्यसमा शक्ति र धनको प्रयोग त्यति धेरै हँुदैनथ्यो । तसर्थ स्रष्टाहरुले वास्तविकतालाई दर्शन, साहित्य वा कलामार्फत लेखिदिए । उनीहरुको त्यस कामले इतिहास लुक्न सकेन र राज्यले भेउ पाउन पनि सकेन । यसैले त साहित्य, दर्शन र कलाका सृजनाभित्रको शक्तिलाई राज्यले कहिलै दबाउन सक्तैन भन्ने गरिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC