सन् १७५५ को अप्रिल १० का दिन जर्मनीको माइसेन सहरमा होमियोप्याथिका जन्मदाता क्रिस्चयन फेड्रिक सेमुअल हेनिमेनको जन्म भएको थियो । यिनका पिता बहुतै गरिब थिए । उनी चिनियाँ माटो (सेरामिक) को भाँडामा बुट्टा हाल्ने (चित्रकारी) काम गरेर आफ्नो परिवारको पालनपोषण गर्थे । गरिबीको कारणले गर्दा हेनिमेनको बाल्यावस्था संघर्षमा बित्यो । अध्ययनको लागि यिनले साह्रै दु:ख गर्नुपरेको थियो । तर, 'हुने बिरुवाको चिल्लो पात' भने झैँ प्रतिभाशाली हेनिमेनले २४ बर्षको उमेरमा एलोप्याथीमा (एम.डी.) को उपाधि हासिल गरे र ड्रेसडेनको अस्पतालमा सिविल सर्जनको पदमा काम गर्न थाले । दस वर्षसम्म यिनले अस्पतालमा सेवा गरे । डा. हेनिमेन आफ्नो समयको चिकित्सा प्रक्रियासँग सहमत थिएनन् । कष्टकारक एवं विपरीत प्रतिक्रिया (साइड इफेक्ट) गर्ने औषधिको सेवनबाट एउटा रोगको उपचार हुँदा शरीरमा अरू नयाँ रोग उत्पन्न हुनेगर्थे । यसैबीच उनकी छोरी नै बिरामी भइन् । पाएसम्मको राम्रो उपचार गरियो । तर उनले छोरीलाई बचाउन सकेनन् । यस घटनाले गर्दा उनको तत्कालीन चिकित्सा पद्धतिबाट नै मोहभंग हुनगयो । यी सबैबाट दिक्क भएर हेनिमेनले (एलोप्याथी) चिकित्सा नै छोडिदिए ।
जीविकोपार्जनको लागि हेनिमेनले चिकित्सा एवं विज्ञानका पुस्तकको विभिन्न भाषामा अनुवाद गर्न थाले । उनलार्इ ग्रिक, लेटिन, अंग्रेजी, इटालियन, अरबी, स्पेनिस, फ्रेन्च, जर्मन, सिरियन, हिब्रुसमेत गरी दसवटा भाषाको ज्ञान थियो । सन् १७९० मा डा. कुलेनको मेटेरियामेडिका (औषधीय गुणसंग्रह पुस्तक) को अंग्रेजीबाट जर्मन भाषामा अनुवाद गर्ने क्रममा हेनिमेनले 'सिनकोना' भन्ने औषधिका बारेमा विशेष जानकारी पाए । एक स्वस्थ व्यक्ति सिनकोनाको अर्क (एक्सट्राक्ट) को सेवन गर्नाले मलेरिया ज्वरोको जस्तै लक्षण उत्पन्न भइहाल्छ जब कि सिनकोना मलेरिया ज्वरोको महत्त्वपूर्णऔषधि भन्ने कुरा यिनलार्इ थाहाभयो । आफ्नै शरीरमा सिनकोनाको अर्कको प्रयोगले डा.हेनिमेन यस निष्कर्षमा पुगे कि जुन औषधीयगुण युक्त पदार्थ (औषधि) एउटा स्वस्थ्य मानिसमा प्रयोग गर्नाले जुन किसिमको रोगका लक्षण उत्पन्न हुन्छ, उही औषधि त्यस्तै लक्षण भएको रोगी व्यक्तिलाई थोरै मात्रामा सेवन गराउनाले आरोग्य प्रदान गर्छ ।
यही चिन्तन मनन गर्दागर्दै उनको मनमा विचार आयो सिनकोनाको जस्तै प्रकृति प्रदत्त अन्य औषधीय पदार्थमा पनि रोगोत्पादन तथा रोग विनाशक शक्ति हुन्छ । यसै आधारमा हेनिमेनले ६ वर्षसम्म अनवरत आफ्नै शरीरमा नाना प्रकारका औषधिको परीक्षण गरे । यसै परीक्षणले हेनिमेनलाई “सम: समं शमयति:” अर्थात् जसले रोग उत्पन्न गर्छ, उसैले रोग निको पार्छ भन्ने जानकारी भयो । उनले सदृश रोगको सदृश चिकित्सा भन्ने नयाँ सिद्धान्त प्रतिपादन गरे । उनले समानताले समानताको उपचार पद्धतिलाई व्यावहारिक एवं स्वाभाविक बनाए । यसप्रकार हेनिमेनले व्यापक परीक्षण, अनुभव एवं शोधपश्चात रोगको स्थायी चिकित्सा विधि खोजे र त्यसलार्इ होमियोप्याथी नाम राखे । होमियोप्याथी अर्थात्र रोगको सदृश चिकित्सा विज्ञान ।
होमियोप्याथी १८ औं शताब्दीको अन्त्यतिरको एउटा चमत्कारी तर वैज्ञानिक चिकित्सा उपलब्धि हो । सन् १७९६ मई महिना मा उनको एउटा निबन्ध जर्मनीको 'हुकेल्यानडे जर्नल'मा प्रकाशित भएपछि अनुसन्धानको अभिनवमतले चिकित्सा जगतमा क्रान्ति ल्याइदियो । यसपछि एलोप्याथिक चिकित्सकहरूको एक वर्गले होमियोप्याथिक चिकित्साको सिद्धान्तलाई बुझेर यसलाई महत्त्व पनि दिन थाले । अर्कोतर्फ चिकित्सकहरूको ठूलो समूहले चिकित्साको यस क्रान्तिकारी सिद्धान्तको विरोध पनि गरीरहेका थिए ।
सन् १८०५ मा उनको 'फ्रागमेनटावेरी माइक्स' नामक पुस्तक ल्यटिन भाषामा प्रकाशित भयो । यस पुस्तकमा डा.हेनिमेनले स्वस्थ मानिसको शरीरमा परीक्षित २७ वटा औषधिको गुण वर्णन गरिएको थियो । यो पुस्तक होमियोप्याथिक चिकित्साको पहिलो मेटेरिया मेडिका (औषधीय लक्षण संग्रह पुस्तक) थियो । सन् १८१० मा 'अर्गेनन अफ मेडिसिन' नामक ग्रन्थ प्रकाशित गरियो । यसमा होमियोप्याथीको मूलभूत सिद्धान्तको वर्णन गरिएको छ । यसलाई होमियोप्याथिक चिकित्सा शास्त्रको गीता भनिन्छ ।
सन् १८१२ ई. मा डा. हेनिमेन लिपिजिग विश्वविद्यालयमा होमियोप्याथि चिकित्साको अध्यापन कार्य गराउन लागे । उनको बढ्दो प्रभाव देखेर विरोधी चिकित्सकहरूले हेनिमेनविरुध्द नानाथरीका भ्रम फैलाएर सन् १८२१ तिर उनलाइ देश निकाला गर्न लगाए । उनी कोटेननगरमा आश्रय लिन पुगे र त्यहाँका राजाको दुसाध्य रोग ( क्रोनिक डिजिज) को चिकित्सा होमियोप्याथी द्वारा सफलतापूर्वक गरे । त्यसपछि उनी त्यहाँ रोयल फिजिसियन पदमा कार्य गर्न लागे । सन् १८२८ उनको 'क्रोनिक डिजिज' नामक पुस्तक प्रकाशित भयो । सन् १८३० मा फ्रान्सको राजधानी पेरिसमा चिकित्सा कार्य गर्दै उनी त्यहाँको 'एकेडेमी अफ मेडिसिन' नामक संस्थाको सचिव बन्न पुगे । यसप्रकार उनको ख्याति सर्वत्र फैलियो ।
जर्मनीमा कुचक्र रचेर देश निकाला गराउने विरोधी पनि अब आफ्नो भुलमा पश्चाताप गर्न थाले र पुन: डा. हेनिमेनलाई स्वदेशमा ससम्मान फर्कन आग्रह गर्न थाले । जीवनको अन्तिम कालसम्म पनि मानव सेवामा समर्पित डा. हेनिमेनको २ जुलाई सन् १८४३ मा ८९ वर्षको उमेरमा निधन भयो । सन् १९५१ मा जर्मनीको लिपिजिग नगरमा यिनको पित्तलको मूर्ति बनाएर स्थापित गरियो । यसरी उनको कीर्ति अमर रहेको छ ।
विश्वभर जस्तै नेपालमा पनि हरेक वर्ष १० अप्रिलका दिन विश्व होमियोप्याथिक दिवश मनाइन्छ ।
Mishradr.lk@gmail.com