site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
प्रचण्डविरुद्ध अमेरिकामा उजुरी दिएर गल्ती गरेको छैन
Sarbottam CementSarbottam Cement

अमेरिकाको बाल्टिमोरस्थित केन्टुकी स्टेट युनिभर्सिटीमा रिसर्च एशोसिएटका रुपमा कार्यरत डा. तिलकबहादुर श्रेष्ठ सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हालै अमेरिका भ्रमणमा गएको समयमा एकाएक चर्चामा आए । कारण थियो–विगतको द्वन्द्वकालीन घटनाक्रमलाई लिएर उनले अमेरिकी गुप्तचर निकाय फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबीआई) मा हालेको उजुरी । आखिर के हो त वास्तविकता ? प्रस्तुत छ, सो घटनाक्रमपछिका सबैजसो गतिविधिका बारेमा श्रेष्ठले बाह्रखरीका लेखनाथ अधिकारीसँग बुधबार राति अमेरिकाबाट गरेको कुराकानीका मुख्य अंशहरु– 

देशको पूर्वप्रधानमन्त्री भ्रमणमा आएको बेलामा तपाइँले त्यहाँको गुप्तचर निकायमा उजुरी हाल्नुभयो भन्ने कुरा सार्वजनिक भयो । वास्तविकता के हो ?

मैले उजुरी हालेको होइन । उजुरी हाल्ने भनेको अमेरिकाको अदालतमा हो । तर, मैले एफबीआईलाई इमेल पठाएर यस्तो मान्छे आउँदैछन् भनेर जानकारी गराएको हुँ । अर्थात् सूचीत गराएको हुँ । भएको त्यति नै हो । 

Prabhu Bank
Agni Group
NIC Asia

भनेपछि त्यो सार्वजनिक भएको इमेल चाहिँ तपाइँले नै पठाएको हो ?

हो मैले नै पठाएको हो । 

Global Ime bank

तपाइँलाई कसैले उकासेर इमेल लेख्न लगाएको हो कि आफैं लेख्नुभएको ?

मैले आफैंले लेखेको हुँ । कसैले उकासेको होइन । मलाई कसैले उकास्ने र मैले गर्ने भन्ने कुरा नै होइन ।

अनि एफबीआइले के भन्यो त ?

एफबीआईले मलाई केही पनि भनेन । उनीहरुले भन्ने चलन पनि हुँदैन । उनीहरुले मेरो क्षेत्रको कंग्रेसम्यानलाई भनेछन् । कंग्रेसम्यानसँग मेरो कुरा भयो । उहाँले ‘पहिला नै भनेको भए हामी हेर्थ्यौं । अहिले त धेरै ढिला भयो (इट इज टू लेट)’ भन्नुभयो ।

देशको पूर्वप्रधानमन्त्रीलाई तपाइँले आफ्नो इमेलमा ‘आतंककारी’ नै भन्नुभएछ । उहाँ त शान्ति प्रक्रियापछि राजनीतिक मूलधारमा आएर अहिले सत्तारुढ पार्टीकै अध्यक्ष हुनुहुन्छ  । के आधारमा त्यस्तो भन्नुभएको, त्यस्तो भन्न मिल्छ र ?

अमेरिकाको दृष्टिकोणमा त उहाँ ‘आतंककारी’ नै हो । त्यसैले मैले पनि त्यही कुरा उद्धृत गरेको हो । मैले नै उहाँलाई ‘आतंककारी’ भनेको होइन । अमेरिकाको सूचीअनुसार मैले सम्बोधन गरेको हुँ । 

तपाइँ पहिलाको माओवादी ‘जनयुद्ध’ का क्रममा पीडित बन्नुपरेका कारण प्रचण्डविरुद्ध यसरी खनिनु भएको त होइन ?

होइन । मेरो परिवार, साथीभाइ कोहीपनि प्रत्यक्ष रुपमा उहाँको युद्धबाट प्रभावित छैनन् । तर, उहाँले नेतृत्व गरेको गर्नै नपर्ने युद्धका कारण १७ हजार नेपाली नागरिकको मृत्यु भएको र खर्बौैको भौतिक संरचना ध्वस्त भएका कारण मैले सहन नसकेर उहाँको भ्रमणका बारेमा एफबीआईलाई जानकारी गराएको हुँ ।

तपाइँलाई चित्त नबुझेको कुरा उहाँलाई भेटेर नै भनेको भए भइहाल्थ्यो नि किन त्यसरी सार्वजनिक रुपमा आफ्नो देशको नेताको बारेमा अरु देशमा सूचित गर्दै हिँड्नुभएको ? 

उहाँले विगतमा गरेको काम मलाई चित्त बुझेको थिएन । त्यसैले उहाँलाई हिरो मानेर ङिच्च दाँत देखाएर उहाँसँग सेल्फी खिच्न मलाई मन लागेन । त्यसैले उहाँले गरेको गलत कामका लागि मैले अमेरिकी सूरक्षा निकायलाई जानकारी गराएको हुँ ।

तपाइँले त्यो इमेल पठाएर बिनाकारण विवादमा आएको जस्तो लाग्दैन  ?

त्यो त्यति गम्भीर विषय नै होइन । मैले खालि जानकारी मात्रै गराएको हुँ । तर, यो  विषय नेपालमा अचम्मैसँग भाइरल भएछ । यस्तो होला भन्ने मैले ठानेको थिइनँ । तर, यो भाइरल भएको झिल्को बाल्ने (मेरो) को कारणले भन्दा पनि पराल (प्रचण्ड) का कारणले हो । 

त्यसरी सूचित गरेकोमा तपाइँलाई क–कसले के–के भने त ?

अमेरिकामा हाम्रो क्षेत्रका कंग्रेसम्यानसँग कुरा भयो । त्यसपछि भिडियोहरु बनेको हेरें । सामाजिक सञ्जालहरुमा पनि हेरें । हजारौं कमेन्ट आएका रहेछन् । थोरैले मात्रै मलाई यसो गर्नु नहुने थियो भन्नुभएको छ । धेरैजसोले मलाई ठीक गर्‍यौ नै भन्नुभएको छ । तपाइँहरुले पनि विभिन्न भिडियो इन्टरनेटमा हेर्न सक्नुहुन्छ ।

तपाइँले प्रचण्डलाई अहिले  ‘टार्गेट’ गर्नुभयो । तर, कांग्रेस र तत्कालीन नेकपा मालेले पनि इतिहासको कुनै कालखण्डमा हतियार उठाएकै हुन् । शान्ति प्रक्रियामा आएर अहिले मिलिसकेको विषयलाई तपाइँले यसरी विदेशमा चर्काउन जरुरी हो र ?

कांग्रेसको जनमुक्ति सेनाले उतिबेला हतियार उठाएको राणा शासनको विरुद्ध हो देश र जनताका विरुद्ध होइन । त्यतिबेलाको जनमुक्ति सेना जनताको विरुद्ध लागेको थिएन । 

तत्कालीन नेकपा मालेका नेताहरु भारतको नक्सलाइटबाट प्रभावित भएको देखिन्छ । तर, त्यतिबेलाको कामलाई पनि निरंकुशताविरुद्ध भन्न सकिएला । तापनि त्यतिबेलाको हिंसाका लागि तत्कालीन नेताहरुले जेल सजायपनि भोगेका छन् । तर, देशलाई त्यति ठूलो नोक्सान हुनेगरी माओवादीको युद्ध जरुरी नै थिएन । उनीहरुले त्यो गलत काम गरे बापत अहिलेसम्म सजाय पाएका छैनन् । त्यसैले चित्तै नबुझेर मैले यो कुरा अहिले उठाएको हुँ ।

माओवादी युद्ध पनि गणतन्त्र स्थापनाको लागि भन्ने तर्क छ नि त ?

गणतन्त्रमा २०४७ सालको संविधानलाई टेकेर नै पनि जान सकिन्थ्यो । चुनावमा गएर अत्यधिक बहुमत ल्याएर संविधान परिवर्तन गर्ने बाटो उहाँहरुलाई थियो । तर, एकतन्त्रीय कम्युनिष्ट शासन ल्याउने उद्देश्यका साथ उहाँहरुले हत्या हिंसा मच्चाउनुभयो । युद्धसँग सरोकार नै नरहेका मान्छेको हत्या गर्नुभयो । त्यस्तो गर्ने मान्छे अमेरिका आउँदा सहन नसकेर मैले एफबीआइलाई सूचित गरेको हुँ ।

पत्नीको उपचार जस्तो संवेदनशील विषय लिएर प्रचण्ड अमेरिका पुग्दा एउटा नेपालीले नै त्यसरी उजुरी हालेकोमा तपाइँलाई गल्ती महसुस भएको छैन त ?

गल्ती महसुस भन्दा पनि एउटा नेपाली अमेरिका आएको बेलामा त्यसरी भन्नुपर्ने अवस्था आएकोमा दुःख लागेको छ । उहाँसँग व्यक्तिगत रुपमा मेरो कुनै रिसइबी छैन । सीता भाउजुसँगपनि मेरो रिसइबी हुने कुरै भएन । व्यक्तिगत रुपमा भन्नुपर्दा उहाँलाई अप्ठेरो परेको भए म आफैं सहयोग नै पनि गर्थें ।

तर, यसो भन्दाभन्दैपनि उहाँले गरेको युद्ध देश र जनताका लागि  ठीक थिएन । उहाँको नेतृत्वमा भएको युद्धमा कुनैपनि हालतमा सहमत हुन सकिँदैन । उहाँको दुःखको कुरा गर्दा १७ हजार मानिस मारिएका हुनाले ती मारिएका व्यक्तिका परिवारले अहिले के सोचिरहेका होलान् ? उनीहरुको दुःख चाहिँ कसले सुनिदिने ? त्यसैले उहाँलाई अमेरिका भ्रमणको क्रममा परेको दुःखको तुलनामा १७ हजार मारिएका मानिसको परिवारको दुख धेरै ठूलो हो । त्यही भएर मैले उहाँलाई आतंककारी भनेर एफबीआईमा सूचना दिएको हुँ ।

यस्तो सूचना दिएको विषयलाई लिएर फिर्ता लिन आग्रह गर्दै अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले केही भन्नुभयो कि ?

उहाँसँग मेरो चिनजान त छ तर त्यस विषयमा कुनै कुरा भएन । 

तपाइँ नेपालका कुनै राजनीतिक पार्टीसँग आवद्ध भएर त होइन ?

म नेपालका कुनैपनि राजनीतिक पार्टीमा संलग्न छैन । मेरो यहाँ रहेका सबै नेपालीसँग राम्रो सम्पर्क छ । प्रचण्डले नेपाल फर्केपछि नयाँ नेपालीलाई पुराना नेपालीले हेप्ने गरेको बताउनुभएछ । तर, त्यो गलत कुरा हो । एउटा नेपाली नागरिक भेटियो भने यहाँ साह्रै खुसी प्रकट हुन्छ । पुरानाले नयाँलाई माया गर्छन् । त्यसैले उहाँको बुझाइ गलत हो । 

तपाइँलाई अमेरिकामा रहेका नेपाली राजनीतिक पार्टीका कार्यकर्ताले त्यसो गर्नु हुँदैनथ्यो भनेनन् ?

त्यसबारेमा कसैले केही पनि भनेनन् । कसैको एउटा फोन पनि आएन । तर, सामाजिक सञ्जालमा चाहिँ भाइरल भएछ । त्यहीँ विभिन्न कमेन्टहरु पढें । थोरैले गाली गरेपनि धेरैले राम्रो काम गर्नुभयो भनेका छन् ।

कांग्रेसको मेरिल्याण्डस्थित सम्पर्क समितिले वक्तव्य नै जारी गरेर प्रचण्डको भ्रमणको विरोध भन्दै स्वयम् प्रचण्डले नेपाल आएर असन्तुष्टि जनाउनुभएको कुरा के हो ?

हो उहाँहरुले मार्च २२ र २६ तारेखमा दुई अलग अलग प्रेस वक्तव्य जारी गरेर विरोध गर्नुभएको छ । त्यो मलाई थाहा भएपनि त्यसमा म संलग्न छैन ।

तपाइँले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँगको तस्बिर पनि सामाजिक सञ्जालमा राख्नुभएको रहेछ । पहिल्यै चिनजान हो उहाँसँग ? 

मैले अमेरिकामा बौद्ध र हिन्दु धर्मको प्रवचन पनि दिन्छु । मार्सल आर्टपनि सिकाउँछु । एकपटक मैले मार्सल आर्ट सिकाएका विद्यार्थीले अमेरिकामा नै एउटा कन्टेस्टमा उत्कृष्ट स्थान हासिल गरेका रहेछन् । त्यसबापत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गर्नुभएको प्रमाणपत्र मलाई दिनका लागि पठाउनुभएको रहेछ । 

त्यो बेलामा पूर्वप्रधानमन्त्री नेपाल पनि अमेरिका भ्रमणमा आउनुभएकोले शिकागोमा आयोजित नेपालीहरुको कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालमार्फत नै ट्रम्पले हस्ताक्षर गरेको प्रमाणपत्र मलाई दिन लगाइएको हो । त्यही बेलामा मेरो उहाँसँग भेट भएको हो । यो सेप्टेम्बर २०१८ को कुरा हो । 

तपाइँ कति वर्ष भयो अमेरिका पुगेको ?

४० वर्ष भयो ।  एक दुई वर्ष बिराएर नेपाल जाने गरेको छु । पछिल्लो पटक नेपाल गएको भने १ वर्ष भएको छ । मैले एसएलसी पद्मोदय हाइस्कुलबाट पास गरेको हुँ ।  एसएलसीपछि त्रिचन्द्र कलेजबाट बीएस्सी गरें । अनि भारतको आन्ध्र युनिभर्सिटीबाट एप्लाइड जोग्राफीमा मास्टर्स गरें । सोही क्रममा फेलोसिप मिलेपछि अमेरिका आएको हुँ । अमेरिकामा युनिभर्सिटी अफ फ्लोरिडाबाट सेटलाइट रिमोट सेन्सिङमा विद्यावारिधी गरेको हुँ  । 

पूर्वप्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका आफ्नै देशका तपाइँजस्ता नागरिकले गरेको कामप्रति सार्वजनिक रुपमा नै दुःख व्यक्त गर्नुभएको छ । उहाँको कुरा सुनेपछि त्यसो नगर्नु पर्ने रहेछ जस्तो लागेन ? 

हो मैले पनि सुनेँ ।  तर, उहाँले १७ हजार मानिसको ज्यान जाने गरी र देशलाई खर्बौको घाटा हुने गरी भएको क्षतिको अगाडि मैले गरेको काम त केही पनि होइन । 

फेरि मैले केही गरेको पनि होइन । खाली सूचित मात्रै गरेको हुँ । त्यसैले नेपालीकै बारेमा त्यसो भन्नुपरेकोमा मलाई पनि दुःख लागेको छ । तर, मैले गलत गरेको चाहिँ होइन । उहाँले गरेको नराम्रो काम हामीले भन्नैपथ्र्यो त्यही भएर भनेको हुँ ।

चुप लागेर बसिदिएको भएपनि हुन्थ्यो होला नि ?

त्यति ठूलो गल्ती गरेको मान्छे आउँदा म चुप लागेर बस्नै सकिँन । चुप लागेर बस्नु पनि हुन्न । चुप लाग्दा गल्ती गर्नेलाई प्रोत्साहन गरे जस्तो हुन्छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  ०६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC