site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
परेर पनि नचेत्‍नेहरू ! 

परेर पनि नचेत्नेलाई मूर्ख भनिन्छ । हामी नेपाली मूर्खता पनि दोहोर्‍याउन अभीशप्त छौँ सायद । नत्र, माओवादीको हिंसात्मक विद्रोहको दशकको चोट १२ वर्षमै यसरी बिर्सन नहुने हो । अहिले सरकार, प्रमुख विपक्षी, बुद्धिजीवी र पत्रकार सबैले २०५२ – २०६३ का गल्ती दोहोर्‍याउन थालेका छन् । 

दमनको मुद्रामा सरकार

सरकारले दमनबाटै हिंसालाई ठेगान लगाउन खोजेको छ । उति बेला पनि माओवादी हिंसालाई मामुली ठानेर दमनबाटै तह लगाउने सोच बनाएको थियो सरकारले । नेपाल प्रहरीकै भरमा माओवादी हिंसालाई तह लगाउन खोजिएको थियो । तर, प्रहरी कारबाही नै माओवादीलाई कार्यकर्ता खोजिदिएजस्तो भयो । प्रहरीले गाउँगाउँमा धरपकड सुरु गरेपछि युवा वन पस्न बाध्य भए । समातिएकाहरूमाथि मुद्दा चलाइएन । बस्, थुनेर राखियो । सरकारले नै कानुन उल्लंघन गरेर अरूलाई पनि कानुन मिच्न उक्साएको थियो । विद्रोह यस्तैमा हुर्कने त हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले नेत्रविप्लव चन्द ‘विप्लव’को गतिविधिमाथि प्रतिबन्ध लगाएको छ । यसलाई केहीले ‘पार्टीमाथि प्रतिबन्ध नलगाउने संवैधानिक प्रावधान’विपरीत भएको भन्दै आलोचना गरेका छन् । तर, चन्द समूह विधिवत् स्थापित राजनीतिक दल हैन । यसैले त्यस समूहले राजनीतिक दलले पाउने संवैधानिक सुविधा पाउँदैन । नेपाली कांग्रेस र अरूले पनि राजनीतिकरूपमा ‘सही शब्द’ प्रयोग गरेका छैनन् । चन्द समूहको गतिविधिमा सरकारले लगाएको प्रतिबन्ध सही होइन भन्न पाइन्छ तर राजनीतिक दलमाथि प्रतिबन्ध लगायो भन्न मिल्दैन । 

नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूको धरपकड सुरु भएको छ । बम पड्काएको जिम्मा लिने व्यक्तिलाई सरकारले पक्रनै पर्छ । नत्र, राज्यको अस्तित्व कागजमा सीमित हुन्छ । नेपालगन्जमा प्रहरीले बन्दुक बनाउने कारखाना फेला पारको बताएको छ । अवैध हतियार बनाउनेलाई कारबाही त गर्नैपर्छ । तर, गाउँगाउँमा धरपकड अभियान चलाउनु गलत हुन्छ । 

Global Ime bank

चन्द समूहको सदस्य वा समर्थक भएकै भरमा कसैलाई पक्रन संविधान र कानुनले पनि दिँदैन । सरकारले नै कानुन मिच्न थालेपछि अरूले पनि पालना गर्दैनन् । यसैले सरकार ‘दमनकारी’ हुन हैन शान्तिसुरक्षा कायम राख्ने दायित्वप्रति सजग होस् । कसैमाथि पनि अन्याय नगरियोस् । पहुँच हुनेहरू सर्वोच्च अदालत गुहारेर उम्कने र गरिब निमुखा झ्यालखानामा पूर्पक्षविना सड्ने अवस्था उत्पन्न नगरियोस् । यस्तै, चन्दा दिए कारबाही हुन्छ भनेर तर्साउनुको साटो सरकारले सुरक्षा प्रबन्ध बलियो बनाएर जनविश्वास हासिल गरोस् । 

कमजोरी अभियोजनको गुनासो न्यायाधीशसँग ! 

अदालतले चन्दका कार्यकर्ता धेरैलाई धरौटीमा छाडिरहेको छ । माओवादी हिंसाका बेलामा पनि अदालतले धेरैलाई धरौटीमा छाडेको थियो । अनि त्यति बेला पनि प्रहरीको गुनासो हुन्थ्यो – कति दुःख गरेर ज्यानको बाजी राखेर पक्य्रो अदालतले छाडिदिन्छ । कसरी काम गर्ने ? अहिले पनि प्रहरीको त्यस्तै गुनासो सुनिन थालेको छ । न्यायाधीशबाट सहयोगको हैन न्यायको अपेक्षा राख्नुपर्छ । अभियोजन बलियो भए न्यायाधीशले मुद्दा हराउँदैनन् । कार्यकर्तामाथि प्रमाण पुर्याएर मात्र मुद्दा चलाउनु उचित हुनेछ । प्रमाण नभए पनि फसाउन खोजियो भने हारिने जोखिम धेरै हुन्छ । अदालतले चन्दका कार्यकर्ता धमाधम छाड्नुको मुख्य कारण कमजोर अभियोजन नै हुनुपर्छ ।    

विपक्षको मूर्खता
 
नेपाली कांग्रेसका नेताहरू रातारात चन्दको राजनीतिक अधिकारप्रति सजग हुनपुगेका  छन् । यस्तै मोह उति बेला नेकपा (एमाले)का नेताहरूले पनि माओवादीप्रति देखाउने गर्थे । नेकपा (एमाले)का तत्कालीन महासचिव माधवकुमार नेपालले माओवादीले मारेका कांग्रेस कार्यकर्तालाई ‘शोषक सामन्ती’ भन्ने गर्थे । कांग्रेस विरोधी बुद्धिजीवी, पत्रकारमात्र हैन कांग्रेसमै पनि गिरिजाप्रसाद कोइराला सरकारमा भए कृष्णप्रसाद भट्टराई समर्थक र भट्टराई सरकारमा हुँदा कोइराला समर्थकहरू माओवादीप्रति नरम हुने गर्थे । अहिले पनि त्यस्तै गल्ती दोहोरिन थालेको छ । 

विपक्षले सरकारी ज्यादती र दमनको भने विरोध गर्नैपर्छ । पक्राउ गरिएका चन्दका कार्यकर्तालाई यातना दिइयो, गैरकानुनी हिरासतमा राखियो र परिवारजनलाई प्रहरीले सताउन थाल्यो भने प्रमुख विपक्षले त्यसका विरुद्ध आवाज उठाउनुपर्छ । मानव अधिकारको रक्षा विपक्षको प्रमुख कार्यसूची हुनुपर्छ । यस्तै, सरकारले माओवादी द्वन्द्वकै बेलामा जस्तो गैरन्यायिक हत्या गर्न थाल्यो भने प्रमुख विपक्ष तमासा हेरेर बस्न मिल्दैन । तर, शान्तिसुरक्षा कायम गर्न सरकारले कानुनसम्मत उपाय अपनाउँदासम्म भने विरोध गर्नु उचित हुँदैन ।

नेपाली कांग्रेसले चन्दलाई वार्तामा बोलाउनुपर्छ भन्नुसम्म त गलत हैन तर हिंसात्मक गतिविधि नियन्त्रण गर्न थालिएको सुरक्षा कारबाहीको विरोध गर्नु आत्मघाती हुनेछ । देशमा संगठित हिंसा नियन्त्रण गर्न राज्यले थालेको कारबाहीमा सबैले साथ दिएमा सुरक्षाकर्मीको पनि मनोबल बढ्छ । अर्को चुनावसम्म चन्द समूहको संगठित हिंसा बढ्दै गयो भने या त चुनावै हुँदैन । भइहाल्यो भने सबैभन्दा बढी निसानामा कांग्रेसकै उमेदवार पर्नेछन् । परेनन् र कांग्रेसले नै चुनाव जित्यो भने पनि चन्दको हिंसात्मक क्रियाकलाप नै सबैभन्दा ठूलो चुनौती हुनपुग्नेछ । 

विसं २०५४ मा स्थानीय निकायको निर्वाचन ताका वामदेव गृहमन्त्री थिए । त्यतिबेला मृत्युदण्ड दिन सकिने कानुन संसद्मा प्रस्तुत गरिएको थियो । तर, गाउँगाउँमा कांग्रेसका उमेदवार अपहरण गर्ने, धम्क्याउने गरेर माओवादीले एमालेलाई चुनाव जित्न सघाएका थिए । 

(माओवादीलाई त भारत सरकारकै साथ रहेछ । दरबारकै पनि साथ थियो माओवादीलाई । उतिबेलै कांग्रेसका नेताहरूले ‘दिल्ली’ र ‘निर्मल निवास’को माओवादीलाई सहयोग रहेको आरोप लगाएकै हुन् ।) 

सञ्चारकर्मीको मूर्खता

माओवादी हिंसालाई कम्युनिस्ट समर्थक पत्रकारमध्ये अधिकांशले समर्थन गरेका थिए । त्यति बेलाका पत्रिकाको अध्ययन गरे हुन्छ मारिएका नेपाली कांग्रेसका कार्यकर्तालाई शोषक, जासुस, सामन्ती, अपराधी सिद्ध गर्न मार्नु अघि वा मारिएलगत्तै तिनका पत्रिकामा लामा लेखहरू छापिन्थे । सञ्चार क्षेत्रमा भएकाहरूले त्यस्ता लेख प्रायोजित हुन् भन्ने बुझे पनि सामान्य जनता भ्रममा पर्थे । कम्युनिस्ट समर्थक बाहेक मूलधारकै पत्रिकामा पनि माओवादी हिंसालाई जानिनजानी महिमामण्डित गरिन्थ्यो । गिरिजाप्रसाद कोइरालाको डाहाले थुप्रै पत्रकार माओवादीका सहयोगी बन्न पुगे । पत्रकारहरूको त्यस मूर्खताले माओवादी हिंसालाई मलजल भयो । 

अहिले सञ्चार माध्यममा हिंसाको परिणामलाई बेवास्ता गरेर सरकारलाई थुर्ने मूर्खता बढ्यो भने त्यसले अन्ततः अधिनायकवाद नै निम्त्याउने हो । अधिनायकवादको पहिलो सिकार हुने त पत्रकार नै हुन् । सरकारलाई औँला ठड्याउनुपर्ने अरू नै धेरै विषय छन् । शान्तिसुरक्षाको गम्भीर विषयलाई सस्तो बनाउने मूर्खता नगरौँ ।   

र, अन्त्यमा

अहिले भारतबाट ल्याइने माछा, खसी, राँगा सीमातिरै रोकिएका रहेछन् । त्यही कारणले माछामासुको मूल्य बढेको हो रे ! सामाखुसीका माछा बेच्ने भाइले भने – ‘‘लुकाएर ल्याएको माछा महँगो त भइहाल्छ नि ! ’’ माछा लुकाएर ल्याउन सकिन्छ भने हतियार पनि सकिएला । अब त चीनबाट सुन पनि तस्करी हुनथालेको छ । सुन ल्याउन सक्नेले हतियार पनि सक्ला । सरकार कति चनाखो छ कुन्नि ?

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०७५  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC