अर्थ व्यवसाय
काठमाडौं । अफसिजन र मूल्यवृद्धिका कारण सुनको कारोबारमा भारी गिरावट आएको छ । सिजनमा दैनिक ३५ किलोसम्म सुनको कारोबार हुने गरेकोमा अहिले घटेर १० किलोभन्दा तल झरेको छ ।
सरकार परिवर्तन र प्राकृतिक विपत्तिलगायत विभिन्न कारणले सुनको कारोबार घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । बेलायतले युरोपेली संघबाट अलग हुने निर्णय गरेपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लागेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ तत्काल घट्ने सम्भावना नरहेको शाक्यले बताए । सिजन पनि नभएको र भाउ पनि बढेकाले सुन बजार सुनसान रहेको व्यवसायीहरू बताउँछन् ।
मंगलबार सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । वुधबार पनि यही मूल्यको हाराहारीमा सुनको कारोबार हुने शाक्यले बताए । अहिले नयाँ सुन किन्नेभन्दा पुरानो ल्याएर साट्ने धेरै हुने गरेका छन् । बजारको कुल मागमध्ये वाणिज्य बैंकहरूले दैनिक १५ किलोसम्म सुन ल्याउने गरेका छन् । व्यापारीले दुबईबाट पनि सुन ल्याएर बेच्दै आएका छन् ।
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३ १२:२८
प्रतिक्रिया दिनुहोस्