site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
\'बुलबुल\' निर्देशक विनोद आफैँ हिरो हुन चाहन्थे
Ghorahi CementGhorahi Cement

“सुरुमा त मलाई म नेपाली हुँ भन्ने पनि थाहा थिएन । इन्डियन हुँ भन्ने थियो । गुजराँतमा हुर्किएँ, त्यतै पढेँ । साथी गुजराँती, भाषा गुजराँती । गुजराँत भारतको प्रान्त । त्यसैले मलाई म नेपाली हुँ भन्ने पनि थाहा थिएन । कपिलवस्तुमा जन्मिए पनि मलाई बाबाआमाले त्यही वर्ष आफूसँगै गुजराँत लानुभयो । त्यसैले पछि मात्रै म नेपाली हुँ भन्ने थाहा पाएँ,” आफ्नो बाल्यकालबारे चलचित्र निर्देशक विनोद पौडेलले सुनाए । अहमदाबादमा बुवाको काम थियो । त्यसैले विनोदको स्कुलिङ पनि उतै भयो । 

सिनेमा कल्चरको देश भारत । साथी भारतीय । ६–७ वर्षको उमेरमै साथीहरु पैसा उठाएर कहिले सिनेमा हेर्न हल पुग्थे । कहिले भिडियो क्यासेट किनेर घरकै ब्ल्याक एन्ड ह्वाइट टीभीमा हेर्थे । नेपाली हुँ भन्ने पनि थाहा नपाएका विनोद साथीकै लहलहैमा मिसिएका थिए । 

‘रामतेरी गंगा मेली’, विनोद खन्नाको ‘सूर्या’ उनले हलमा सुरुमा हेरेका चलचित्र थिए । बलिउडमा एक्सन मुभीको दबदबाको समय थियो । अमिताभ बच्चनको युग थियो । एक्सन फिल्मले उनलाई मोहनी लगाएका थिए । 

Agni Group

ढोका थुनेर अमिताभ बच्चनको कपी
बिहान रामायण आउँथ्यो । आइतबार फिल्म आउँथ्यो । आइतबारको पर्खाइमा बस्थे विनोद । अमिताभ बच्चनले उनको दिल चोरे । अमिताभको डाइलग डेलीभरी, बोल्ने स्टाइलले उनलाई प्रभाव पारेको थियो । पछि नेपाल आएर बोल्दा पनि अमिताभको स्टाइल आउँदो रहेछ । चाल पाउने साथीहरु भन्थे– हेर न, यसले अमिताभको कपी गरेको । 

घरमा कोही नभएको उनलाई मन पथ्र्यो । कारण उनी अमिताभ बन्न पाउँथे । कोठामा ठूलो ऐना थियो । ढोका थुन्थे । आफैँ काल्पनिक कथा क्रिएट गर्थे र ऐना अगाडि उभिएर अमिताभ स्टाइलमा डाइलग बोल्थे अनि अभिनय गर्थे । जबजब ढोका कसैले नक गथ्र्यो, उनी हतारहतार आफूलाई नर्मल अवस्थामा रुपान्तरण गर्थे र ढोका खोल्थे । 

Global Ime bank

“मलाई थाहै थिएन । न कसैले भन्थ्यो न सिकाएको थियो । डाइलग बोल्दा मुखले आफैं आवाज निकाल्थेँ । आज बुझ्दा त्यो चलचित्रको ब्याकग्राउन्ड म्युजिक थियो,” जानी नजानी चलचित्रको चस्का पसेको कथा सुनाउँछन्, विनोद, “म कक्षा ७ मा पढ्दै थिएँ । ममीले छोराछोरी यहीँ बसिराखे भने नेपालको कल्चर बिर्सिन्छन् । यिनीहरुलाई लिएर म नेपालमै बस्छु भन्नुभयो । ममीले फोर्स गरेपछि बुवाले हुन्छ भन्नु भयो र हामी कपिलवस्तु फर्कियौं ।”

राजेशका फ्यान
अहमदाबाद त विनोदले छोडे तर उनले चलचित्रको अनुराग उतै छोडेर आउन सकेनन् । सँगै आयो चलचित्रप्रतिको प्रेम । नेपालमा पनि हिन्दी चलचित्रकै बोलावाला थियो । इन्डिया नजिकै भएर पनि होला कपिलवस्तु, बुटवलमा अधिकांश हिन्दी चलचित्र नै लाग्थे । विनोदलाई नेपाली आउँदैन थियो । ठिकै पनि लाग्थ्यो । 

त्यो समय नेपाल टेलिभिजनमा ‘चित्रलहर’ लगायत कार्यक्रम प्रशारण हुन्थे । एक्सन अवतार राजेश हमालको इन्ट्रि भएको थियो । विनोदको मन राजेशले ताने । 

दिमाग हल्लाइदिने बलिदान 
\"\"उनले पहिलोपटक नेपाली चलचित्र ‘देउता’ हेरे । नेपालमा पनि नेपाली फिल्म बन्दोरहेछ भन्ने लाग्यो । लगत्तै उनले हेर्न पाए ‘बलिदान’, जसले उनको दिमाग हल्लाइदियो । 

कसरी ?

विनोद एक्सन मुभीबाट प्रभावित थिए । भारतमा अमिताभ, नेपालमा लामो कपाल पालेर गुण्डाको टाउका–टाउकामा टेक्दै हिँड्ने राजेशको पहलमान शरीर र एक्लै दर्जनौं भिलेनलाई धुलीसात् पार्ने कला क्या ! छ भन्ने लाग्थ्यो । 

तर जब बलिदान हेरे उनलाई लाग्यो, चलचित्र भन्ने त यस्तो पो हुनुपर्दोरहेछ । जसले छिनभर खुसी मात्रै नदेओस् मथिङ्गल पनि हल्लाइदियोस् । “मैले त्यही बेला डिसाइड गरेँ, अब अमिताभ र राजेश हमाल जस्तो भिलेन कुट्दै हिँड्ने हिरो होइन, बलिदानको हरिवंश र मदनकृष्ण श्रेष्ठ जस्तो हिरो हुन्छु अनि सयौं गुण्डालाई एक्लै फाँड्ने रमाइलो होइन, तुलसी घिमिरेको बलिदान जस्तो चलचित्र बनाउँछु । बलिदानले चलचित्रको प्रस्पेक्टिभ नै चेन्ज गरिदियो मेरो,” विनोद ‘बलिदान’ले वर्षौंसम्म जरो गाडेर बसेको एक्सनप्रधान चलचित्रको मोह २ घन्टा ४८ मिनेटमा उतारिदिएको सुनाउँछन् । 

विनोदलाई कसैले के बन्छस् भनेर सोधे, उनी बिना अलमल भन्दिन्थे, “हिरो ।” 

बुवाआमालाई पनि त्यही भन्थे । “बुवाममी भन्नुहुन्थ्यो, बन्छस् हिरो ! त्यसै बनिन्छ हिरो ? कति चाहिन्छ पैसा थाहा छ ?”, विनोद बालपन सुनाउँछन् । बुवाआमाले बन्छस् हिरोभन्दा पनि उनको मन कुँडिन्थो । तर मन दरो बनाउँथे । आँट गर्थे र आत्मविश्वास जगाउँथे र गुलियो कल्पना गर्थे बुवाआमाले सहयोग नगरे म एक्लै जसरी भए पनि हिरो त बनेरै छोड्छु । 

फिल्म हेर्न हल नजिकै काम
सपनाको सहरमा हराउने व्यक्ति हुन् विनोद । एलएलसी दिएपछि कहिले उनलाई काठमाडौं गएर हिरो हुन्छु भन्ने सोच्थे, कहिले मुम्बई गएर हिन्दी फिल्मको हिरो हुन्छु भन्ने रहर पलाउँथ्यो । पैसा नपर्ने र पूरा गर्नैपर्ने बाध्यता भएको सपना देख्नु एउटा कुरा त्यसलाई पूरा गर्नु अर्कै कुरा । गाउँमै बसेर पढ्न थाले । 

एसएलसी दिएका थिए । बुवा बिरामी परे । उपचार गर्न पर्याप्त पैसा थिएन । बुवाले गुजराँतमा छँदा आफन्तहरुलाई दिएको ऋण उठाउन विनोद आफैँ जानु पर्ने भयो । टेनको यात्रा । एक्लो सफरको कथा । बनाए चलचित्र बन्छ । स्थानीय गुण्डाहरु उनलाई लुट्न आउँथे । प्रहरीको शरण लिन गयो भने प्रहरीले नै लुट्थ्यो । भएको पैसा जोगाउन नै गाह्रो । उनले केही पैसा जोगाउने केही जुत्तामा लुकाएर राखे । घरी पुलिसले पैसा माग्थ्यो घरी लोकल केटाहरुले । 

झाँसीबाट अगाडि के लागेका थिए, माल डिब्बामा रहेका विनोदसँग प्रहरीले पैसा माग्यो । “दुई चोटी अगाडि नै मैले प्रहरीलाई पैसा तिरिसकेको थिएँ । फेरि पुलिसले पैसा माग्यो । मैले गफ लगाइदिएँ, म उमेश सिंहको भतिजो हुँ । मलाई धेर नकराउनुस् । यति छ भन्दै मैले ५० रुपैयाँ दिएँ । मैले ट्रेनमा जाँदै गर्दा प्रहरीलाई समेत चुप लगाएको स्थानीय उमेश गुण्डा र उनको समूह छ भन्ने सुनेको थिएँ । त्यसैले गफ लगाइदिएको थिएँ,” उनले रेलको सकसपूर्ण यात्रा सम्झिए । 

गुजराँत पुगेपछि उनलाई त्यहीँबाट मुम्बई गएर एक्टिङ पढेर हिरो बनौं कि क्या हो भन्ने लाग्यो । तर बुवा विरामी थिए । उनले उठाएर ल्याएको पैसाले उपचार गर्नुपर्ने थियो त्यसैले उनी मन बाँधेर बसे । आफन्तले केही दिनमा मात्रै पैसा दिने बताएपछि उनी केही समय बस्नुपर्ने भयो । आफन्तलाई भनेर काम खोजे । 

चलचित्रको भूतले उनलाई छोडेको थिएन । त्यसैले उनले रेष्टुराँमा गेटकिपरको काम सुरु गरे । “मलाई सिनेमाको किरो कस्तो थियो भने चलचित्र हेर्न सजिलो हुन्छ भनेर सिनेमा हलको छेउमा रहेको होटलमा गेटकिपरको काम सुरु गरेँ,” उनी भन्छन्, “दिनभरी गेटमा उभिएर मान्छेलाई स्वागत गर्दा खुट्टा सुनिएर हात्तीपाइले लागेजस्तो भएको हुन्थ्यो । बेलुका अंग्रेजी सिनेमा लाग्थ्यो । त्यही हेर्थें । त्यो बेला दिल से पनि त्यहीँ हेरेको याद छ मलाई ।” 

काम गर्दा मालिकले हप्काउँथ्यो । मालिकले हप्काउँदा विनोदको मनमा ‘एक दिन यसले मलाई हिरो भाको देख्दा थाहा पाउँछ’ भन्ने खेलिरहेको हुन्थ्यो । 

पैसा लिएर फर्किए । बुवाको उपचार भइरहेको थियो । बुवाले साइन्स पढेर डाक्टर बन्नुपर्छ भन्थे । त्यसैले विनोद मनभरी चलचित्र बोकेर साइन्सका मोटामोटा किताव बोकेर कलेज जान थालेका थिए । त्यही बेला बुवा परलोक भए । विनोद जेठो छोरो, हिरोको चक्कर छोडेर परिवार सम्हाल्नु पर्ने भयो । आमाको रेखदेख र भाइबहिनीको पढाइमा लाग्नुपर्ने जिम्मेवारी आयो । आफ्नो करिअर बनाउने बेलामा थाप्लोमा आएको जिम्मेवारीको गह्रौं भारी बोकेर हिँड्न थाले । बल्लतल्ल कक्षा १२ सम्म पढे । 

अरबको यात्रा
परिवारको गहुँगो जिम्मेवारीले ०५४ मा विनोदलाई साउदी अबरतर्फ धकेल्दियो । हिरो बन्ने सपनालाई मनमै खुम्च्याएर मनभरी परिवार र देशको तस्बिर बोकेर विनोद साउदी उडे । साउदीमा छँदा पनि उनी बिहान–बेलुका फुर्सद भयो कि चलचित्र हेर्थे । भारतीय र पाकिस्तानी साथी भए । पाकिस्तानी सलिम उस्मान अहिले पनि उनको साथी छन् ।। “तलाईं त्यो बेला पनि सिनेमा यस्तो किरो थियो, बडो अचम्मको । हामी तेरो पछाडि भन्थ्यौं, यो मान्छे चलचित्र छोडेर अरबमा धेरै भुलिदैन नभन्दै त्यस्तै पनि भयो । अहिले फोन र म्यासेजमा कुरा हुँदा मलाई सलिम भन्छ,” विनोद सुनाउँछन्, “कराँची घर भएको ऊ अहिले साउदी अरबमा विजनेश गरेर बस्छ । अहिले पनि ऊ मलाई बोलाइरहन्छ ।” 

हिरो हुने सपनाले विनोदलाई साउदीमा पनि छोडेन । उनी प्रत्येक दिन बिहान जिम जान्थे । हिरो हुनलाई बडी र आम्र्स चाहिन्छ भन्ने थियो । त्यसकै तयारीले उनलाई जिमसम्म पुर्यायो ।

साउदीमा छँदा उनले काम गर्ने कार्यालयमा इन्डियन म्यागेजिन आउँथे । त्यहाँ कलाकार तथा चलचित्र कम्पनी र इन्स्टीच्युटहरुका नाम, नम्बर लेखिएको हुन्थ्यो । ती नम्बर विनोद डायरीमा नोट गर्थे । “म साउदीमा हुँदा परिवार स्टेवल भएपछि मुम्बइ गएर एक्टिङ पढ्छु र हिरो नै बन्छु भन्ने थियो,” विनोद साउदीमा साँचेको रहर सम्झिन्छन्, “त्यहाँ छँदा पनि कोही नभएको बेला ढोका लक गरेर एक्टिङ गर्न थालिहाल्थेँ ।” 

साउदी, बहराइन र दुबईमा ५ वर्ष बिताएर विनोद सन् २००५ मा नेपाल फर्किए । त्यो बेला उनको ५० हजार तलब थियो । अफिसर तहको काम थियो । साथीहरु घर नफर्की, यो अवसरले सराप्छ भन्थे । साथीहरुको भनाई जिन्दगीको कुनै क्षणमा गला लाग्दैन भन्ने त थिएन । तर आखाँभरी चलचित्र घरको सेतो पर्दामा सबैलाई लोभ्याउने हिरो मोहले छाडेन । त्यसैले नेपाल गएर झोला विसाउँछु र अभिनय सिक्न मुम्वई जान्छु भन्ने उनको योजना थियो । डायरीमा बलिउड सिनेकर्मी र आर्ट सेन्टरका नाम थिए । त्यसैलाई काखी च्यापेर नेपाल फर्किए । 

विमानस्थलमा बगेको त्यो आँसु
विनोद नेपाल प्लेनबाट ओर्लिँदैथिए । उनको आँखा एयरपोर्टमा रहेका दुई जना पुलिसमा ठोक्किए । उनीहरुले लगाएको युनिफर्मममा आँखा गएर अडिए । उनका आँखाबाट आँसु तरर गालाको बाटो हुँदै गलातिर झर्यो । त्यो आँसु नेपालप्रतिको माया थियो । आमा र भाइ बहिनी नेपालमा थिए । उनी पराई भूमिमा । उनको भाषा नेपाली थियो तर हिन्दी, बंगाली, अंग्रेजी र उर्दू बोल्नु पथ्र्यो । साउदीमा अमिरले राहदानी जफत गरेर राख्यो । ६ महिनाको तलब लिन पाएनन् । मनमा सिनेमाको रहर थियो ।

काम पराई भूमिको मरुभूमिमा थियो । त्यसैले उनको आँसु थामिएन । “पराई भूमिमा जीवन सकियो भनेर जिन्दगीको आसै मरेका बेला आफ्नै देश फर्किन पाउँदा स्वर्ग पुगेको अनुभव भएको थियो । सायद यस्तै यस्तै कुराले पनि होला, ‘बुलबुल’मा पराई भूमिका कुरा समेटिएका छन् । त्यही बेला मैले आफैँसँग बाचा गरेँ । काम गर्न भनेर अब म विदेश कहिल्यै जान्न,” विनोदको स्वर देशप्रतिको ममता सुनाउँदा अहिले पनि उस्तै आद्र सुनिन्छ । बुवा बित्दा जसरी उनको छाति भरिएको थियो त्यस दिन ठिक त्यस्तै भयो उनलाई । त्यसयता उनले त्यस्तो सकस कमै अनुभूत गरेका छन् । 

सपनाको फेरो समाउन खोज्दा 
घर आउँदा बहिनीको विवाह भइसकेको थियो । भाइ इन्जिाियरिङ पढिरहेका थिए । एक खालको सेटलमेन्ट भइसकेको थियो । बहिनी र भाइसँग विनोदको सम्बन्ध साथीको जस्तो छ । उनीहरु रातभर गफ गर्थे । अक्सर रातभर हुने त्यस्ता गफ चलचित्रकै हुन्थे । हिरो र हिरोइनकै चर्चा हुन्थ्यो । विनोदका भाइ अहिले पनि दाइलाई जिस्काउँछन्, “दाइ, गाउँका केटाहरुलाई बोलाएर फेक स्टोरी बनाएर सुनाउँथिस् । स्कुलका केटाहरुलाई पनि त्यस्तै गर्थिस् ।”

फिल्मले सर्लक्कै जाँगेका विनोद केटाहरुलाई भन्थे, “पहाड फिल्म हेरिस् ? धर्मेन्द्रको ।”

साथीहरु भन्थे, “कस्तो छ, सुना त ।”

उनी आफैं प्लट बनाउँथे र एक्सनसहित सुनाउँथे । सायद विनोद त्यही अभिनयमार्फत् आफ्नो अभिनयको तिर्सना मेटाउँथे । साउन्ड इफेक्टसहित अभिनय गरेर देखाउँथे । साथीहरु रनभुल्लमा पर्थे । र जिस्काउँथे, “तँ पनि गाउँको सानोतिनो हिरो नि होस् नि ।” त्यो व्यङ्ग्य हुन्थ्यो वा सत्य ? जे होस् । उनी गमक्क पर्थे । 
भाइलाई इमोशनल कथा सुनाउँथे । भाइ उस्तै इमोशनल । रोइदिन्थे ।

सानेपामा कोठा थियो । भाइ (राजु) ले एक दिन भने, “दाइ, तपाईंले परिवारका लागि धेरै कम्प्रोमाइज गर्नु भयो । हाम्रा लागि पढाई त्याग्नु भयो । हिरो हुने आफ्नो सपना भुलिदिनुभयो । समय अझै छ । दिस इज योर टाइम । अब आफ्नो ड्रिम पूरा गर्न लाग्नुस् ।”
विनोदको मन चसक्क भयो । बहिनीले पनि त्यसै भनिन् ।

अनि विनोदले निर्णय गरे, “अब म कमाउनेतिर होइन । मेरो सपना पूरा गर्नतर्फ लाग्छु ।” 

चोर बाटो
\"\"चलचित्रमा छिर्नु थियो । कोही चिनेको थिएन । बाटो आफैँ कोर्नु थियो । 

तर कसरी ? 

बन्नु थियो, हिरो । तर उनी एरिना मल्टिमिडियामा एडिटिङ पढ्न भर्ना भए । कारण उनलाई चलचित्र क्षेत्रका मान्छे चिन्नु थियो । घुलमिल बढाउनु थियो । र सुटुक्क आफ्नो सपना साकार पार्नु थियो ।

त्यो बेला ‘आगो’ भन्ने चलचित्र रिलिज भएको थियो । रेडियोमा निर्देशक नारायण पुरी लाइभ आएका थिए । विनोद सुनिरहेका थिए । त्यहाँ हिरो बन्न के गर्नुपर्छ भन्ने कुराहरु पनि आइरहेका थिए । हाँसी हाँसी नम्र स्वाभावले बोल्ने नारायाण पुरी राम्रा मान्छे पो रहेछन् क्यार ! यिनीसँग पो संगत गर्नुपर्छ भन्ने उनलाई लाग्यो । विदेशबाट आउँदा ल्याएको नोकियाको किप्याड मोबाइलबाटै फोन गरे । लाग्यो पनि । तर विडम्बना ! 

कस्तो ?

नेटवर्क राम्रो टिपेन । नारायण पुरीले तपाईंको आवाज राम्रोसँग सुनिएन विनोद भाइ भनेर भनिरहेका थिए । फोन काटियो । “दोहोरो गफ त हुन पाएन । तर म क्या खुसी भएको थिएँ म, त्यो दिन । फिल्मको त्यत्रो पर्सनालिटीसँग मेरो अप्रत्यक्ष भए पनि भेट भइरहेको थियो । कुरा भइरहेको थियो ।” 

एरिना मल्टिमिडियामा उनको भेट अविरल थापासँग भयो । विनोद अविरलसँग मजाले साटिन सक्थे । दुई जना सिनेमाको संसारमा हराउँथे । अविरल भन्थे, “तिमी चलचित्रको स्टार हिरो हुँदा म चर्चित मिडिया पर्सनालिटी हुन्छु ।” त्यो सम्बन्ध आजपर्यन्त झनझन झाँगिदो छ । ‘बुलबुल’ उनले लेख्दा र निर्देशन गर्दा अविरल निर्माता बने । 

अभिनयको कक्षा र त्यो लाज
अभिनयको भोक छँदै थियो । उनले भारतीय टेलिभिजन च्यानल जी टिभीले चलाएको जेट्का इन्स्टीच्युट पत्ता लगाए । पुतलीसडकमा त्यसको सम्पर्क अफिस थियो । अप्लाई गरे । भनिएको थियो, “तपाईंको अन्तर्वार्ता हुन्छ । अन्तर्वार्तामा पास हुनुभयो भने मात्रै तपाईं एक्टिङ कोर्षका लागि जोइन हुन पाउनुहुन्छ ।” 

अन्तर्वार्ता दिए । रिजल्ट आएन । के गर्ने के नगर्ने ? मनमा बेचैनी थियो । त्यही बेला एक दिन हिमालयन टाइम्स पढिरहेका थिए । नीर शाहको तस्बिरसहितको विज्ञापन देखे । नेपालमा पहिलोपटक ब्याचलर अफ फिल्म स्टडिज खुल्दैछ । जहाँ चलचित्रको पढाई हुन्छ ।

भाइ, बहिनी र ज्वाईंले भने, “दाइ तपाईंले यहाँ पढ्नै पर्छ । अब कहाँ इन्डिया गएर हल्लिएर हुन्छ ? यहीँ केही गर्नुपर्छ ।” उनको मनको एउटा कुनामा तर्कना उठ्यो, “कहिले पढिसक्नु, कहिले हिरो हुनु । बूढो भइसकियो ।” यो कुरा पनि गरे । हुँदैन पढ्नु पर्छ तपाईंले भने सबैले । 
विनोद नीर शाहको कलेजमा भर्ना भए । 

अर्को महिना नै जेट्काले फोन गर्यो, “तपाईं पास हुनु भयो । भर्ना हुन आउन सक्नुहुन्छ ।”

के गर्ने ? 

बलिउड आफैंमा ठूलो र स्थापित उद्योग । गएर पढ्यो भने अवसर पाइन्छ होला । विनोदले यसो विचार गरे नेपालमा जस्तो कहाँ सजिलो छ र ? सबै पढेलेखेका । अन्तर्वार्तामा कस्तो राम्रो अंग्रेजी बोल्छन् । आफू प्लस टुमात्रै गरेको छु । भाषा पनि राम्रो छैन । करोडौंं जनसंख्या भएको देश । त्यसमा पनि रगतमै अभिनयको नसा बगाउने इन्डियनहरुसँग प्रतिस्पर्धा गर्न सजिलो छ र ? 

छैन । 

हेपाइ सहनु पर्छ । बरु नेपालमै पढ्छु । ब्याचलर्स गरियो भने त्यसैले माइलेज दिन्छ । भर्ना त भए तर उनलाई एक्टिङ पढ्न लाज लागिरहेको थियो । हिरो बन्छु भनेर साथीहरु भन्न उनलाई लाज लाग्यो । चिटिक्क जिउडाल मिलेको सर्लक्क परेका व्यक्ति हिरो हुने समय थियो । ज्यान त थियो तर अरबको पानीले उनको तालु खुइलिन थालेको थियो । संकोचै संकोचले भरिएका थिए ।  

हिरो होइन, कलाकार मोह
दोस्रो वर्षमा अभिनय वा निर्देशन के पढ्ने ? रोज्नु पर्ने थियो । लाजले उनले साथीहरुसँग भनिरहेका थिए, निर्देशन पढ्छु । तर उनलाई साथी पारसले भने तिमी अभिनय नै पढ्नुपर्छ । उनलाई कसैको दबाब चाहिएको थियो भेटे । अभिनय नै रोजे । तीन वर्षे एक्टिङको कोर्षमा उनले कलाको साधना गरे । त्यही बेला उनलाई फिल भयो हिरो बन्छु भन्नु त व्यर्थ पो रहेछ । हिरोका नाममा स्टारडम होइन कलाकार चाहिँ बन्नुपर्ने रहेछ । समाजको पात्र बन्नुपर्ने रहेछ भन्ने चेतना पालाएको थियो । तर सिनेमा उद्योग भने तडकभडकमै थियो । विराज भट्ट र निखिल उप्रेतीको एक्सन विक्री भइरहेको थियो । 

निर्माता, निर्देशक कथा र अभिनय होइन हृष्टपुष्ट बलिष्ट ज्यानको नायकको स्टारडम र नायिकाको छिनेको कम्मर र उच्च वक्षस्थल वेच्थे । चलचित्र पढेको भनेर सुनायो भने गाली गर्थे । 
सुटिङ हेर्न गएका थिए एक दिन विनोद र उनका साथीहरु । नाम चलेका निर्देशक थिए । एक्साइटेड भएर उनले भने, “दाइ हामी फिल्म पढिरहेका छौं ।” ती निर्देशकले तथानाम गाली गर्दै भने, “त्यस्ता मु...किताबले केही ख्याँस्तैन भाइ । यहाँ आएर त्यस्ता पढेको धाक नलाऊ ।”

‘सुपर एक्टिङ कम्पिटिसन’मा प्रथम
नेपाल टेलिभिजनबाट ‘सुपर एक्टिङ कम्पिटिसन’ आयोजना भएको थियो । सुरज सुब्बा नाल्बो, दीपक श्रेष्ठ, सुनील थापा र नारायण पुरी निर्णायक थिए । करिब १५ सय जना सहभागी उक्त प्रतियोगितामा उनले बाजी मारे । दोस्रो एक युवती थिइन् । तेस्रो भएका थिए राजबल्लभ कोइराला । भलै त्यसको फाइनल भएन । त्यो सफलताले उनलाई उर्जा दियो । म त एक्टर नै हो रहेछु भन्ने उनी आफैँले आफैँलाई पहिचान गरे । ऋचा शर्मा र आर्यन सिग्देल कार्यक्रमका होस्ट थिए । 

विनोदका फ्यान भइसकेका थिए धेरै । आर्यन भन्थे, “खतरा गर्छ यार तिमीले । कसरी गर्छ यार तिमीले ?” विनोद कहिले राजबल्लभ त कहिले सुनील थापा बनेर फोनबाट आर्यनलाई झुक्याइरहन्थे । आर्यन त्यो बेला हिरो भइसकेका थिएनन् । 

चलचित्र ‘पीडा’ सुनील थापा र प्रदीप उदयले बनाउने भए । निर्देशन नारायण पुरीले गर्ने निधो भयो । पशुपतिमा शुभमूहुर्त सट पनि दिए । राजबल्लभ साइड हिरो थिए । विनोद लिड हिरो । 

“वाह ! बल्ल पूरा हुने भयो जिन्दगीको सपना । हिरो हुने भइयो ।” 

विडम्वना !

के भयो र ?

सपना कोपिलाउँदा कोपिलाउँदै चुँडियो । चलचित्र बीचमै अलपत्र भयो । भाग्यमै छैन कि क्या हो ? मनमा प्रश्न उठ्थ्यो ।
फेरि आयो अफर । चलचित्र थियो ‘डर’ । 

सुरज सुब्बाले भने, “विनोद भाइ, मैले लेखेको स्क्रिप्ट हो । तिमीले खेल्नुपर्छ । तिम्रो रोलमा अहिले त खासै त्यस्तो केही छैन । पछि सुटिङमै इम्प्रोभाइजेशन हुन्छ । सुपर एक्टिङमा गरे जस्तै खतरा रियालिष्टिक अभिनय गर्नुपर्छ है ?”

आएको अवसर कसरी गुमाउनु ? हुन्छ भने । 

मनै फुरुङ्ग । 

मैतीदेवीमा कोठा थियो । निर्देशकले कहिले फोन गर्छ भनेर कुरेर बस्थे । आउँदैन । घरबाट ए... अझै भएन तेरो काम भन्थे । यता विनोदको मोबाइलमा निर्देशकको फोनको घन्टी बजेन । गाउँमा विनोदे फिल्म पढेको छ भन्थ्यो त खोइ फिल्म त देखिँदैन त । कि गाउँमा आएर गफ मात्रै दिन्छ ? भन्थे । प्रेसरले टाउको नै बोझिलो हुन्थ्यो उनको । 

एक दिन बिहान १० बजे विनोदको मोबाइलमा निर्देशकको फोनको घण्टी बज्यो । ढिलै भए पनि मोबाइलको त्यो घण्टीसँगै विनोदको चेहरा जग्मगायो । निर्देशक प्रदीप श्रेष्ठले भने, “विनोद भाइ, १२ बजे तिम्रो सुटिङ छ । लुगा बोकेर भैसेंपाटी आऊ है । ढिलो नगर नि फेरि । समयमै आऊ ।” 
महिनौंदेखि कुरेको काम ढिलो गर्ने त कुरै भएन । 

तर कस्तो स्क्रिप्ट, के छ रोल ? कति छ भूमिका केही थाहा छैन । मनभरी कौतूहल पालेर विनोद १२ बज्न नपाउँदै भैंसेपाटीको डाँडोमा उक्लिए । 

बालाजी गुरुङ प्रोडुसर थिए । यताबाट बाइक उताबाट ट्याक्सी । दर्जनौं बाइक र ट्याक्सी छल्दै विराज भट्ट ह्या...र हुउ... गर्दै एक्शन सिन दिइरहेका थिए । 

विराज भट्टका भाइ (रोलमा) विनोद उभिएर हेरेका हेरै छन् । न कसैले बोलाउँछ न रेस्पोन्स नै गर्छ । बस्नलाई कुर्सी छैन । ब्याग बोकेर उभिएका छन् । भोक लागेको छ । खानलाई आफूसँग केही छैन । फिल्मले दिँदैन । सेटमा ह्या... र हुउ... मात्रै छ । 

सुरज सुब्बा थिएनन् । निर्माता र निर्देशकलाई नमस्कार गरे । खासै वास्तै नगरी उनीहरुले भने, “बस्दै गरन ।” 

घण्टौं उभिएपछि उनले अर्को एक जनालाई सोधे, “मेरो सिन कतिखेर हो ?”

जवाफमा ती व्यक्तिले भने, “तपाईंको यहाँ हो र ? होइन होला । तपाईको त अस्पतालमा पो होला नि ।” कहिले हुन्छ त ? “खोई थाहै छैन । होला नि । पर्ख न ।” अत्तोपत्तो छैन । 

त्यो बेला विनोदको अन्तरह्रदयले भन्यो, “विनोद यो बेला तैंले केही फरक गर्नुपर्छ । डिसिजन गर्ने बेला यही हो । यहाँ पनि तैले सही डिसिजन गरिनस् भने तँ यो फिल्म इन्डस्ट्रिमा हराउँछस् ।”

अन्तरमनको कुरा सुने, “पढेलेखेको छु । चलचित्रप्रति एक खालको भिजन छ । जस्तो पायो त्यस्तै चलचित्र त गर्नु हुँदैन । बरु नगरेकै राम्रो ।”

अक्सर फेस टु फेस सवालजवाफ गर्न नसक्ने उनले बोल्ड डिसिजन गरे । कारमा निर्माता र निर्देशक बसिरहेका थिए । उनले भने, “दाइ मेरो अर्जेन्ट काम पर्यो । तपाईंको चलचित्रमा मेरो सिनको सुटिङको ठेगान पनि छैन रैछ । मैंले अर्को फिल्ममा पनि साइन गरेको थिएँ । आजै बोलायो । चितवन जानुपर्ने भयो ।”

प्रोडुसर झर्किए, “भाइ बालिजीको फिल्म पाएका छौ । यो अवसर अन्त तिमीले जिन्दगीमा पाउँदैनौं । यो इन्डस्ष्ट्रि हामीले चलाइरहेका छौं । विचार गर ।” “सरी दाइ आज म जानैपर्ने भयो । आजै भएको भए सुटिङ गरेर जानेथिएँ । स्क्रिप्ट पनि हेर्न पाएको छैन,” विनोदले भने । 

प्रोडुसर फेरि रन्किए, “पढेको भनेर ठूला कुरा गर्ने ?”

झगडा गर्नुभन्दा सरी भनेर फर्किनु नै उनले उचित ठाने विनोदले । 

फेरि भने, “सरी दाइ ।”

“ल ल जाऊ...” प्रोडुसरले भने ।

पछि सुरज सुब्बाले भने, “भाइ धोका दिनु भयो ।”

विनोदले स्पष्ट गरिदिए, “स्क्रिप्ट पनि दिइएन । समय पनि क्लियर थिएन । मलाई राम्रो गर्न सक्तिन भन्ने लाग्यो त्यसैले छोडिदिएँ ।” त्यसपछि सुरजसँग वर्षौ भेट भएन । नेसनल अवार्डमा चलचित्र ‘साँघुरो’बाट स्क्रिप्टमा अवार्ड जित्दा सुरजसँग जम्काभेट भयो । सुरजले भने, “भाइ तिमी ठूलो मान्छे भइसके छौ । फोन पनि गर्दैनौं ।”
मुसुक्क मुस्काएर विनोदले भने, “सरी दाइ ! यस्तै भयो । म कहाँ ठूलो मान्छे हुनु नि ।”

डम्प हुने चलचित्रका अफरै–अफर 
\"\"रामराजा दाहालको ‘हे युवा’ को स्क्रिप्ट लेखे । तर त्यसको बजार प्रवद्र्धन राम्रो भएन । अड्कियो चलचित्र । हिरो विनोद नै थिए । जोडी बाँधिएको थियो सञ्चिता लुईंटेलसँग । 

रामराजा दाहालले नै ‘टार्गेट’ निर्देशन गरे । एक्सनले भरिपूर्ण थियो त्यो चलचित्र । साथीको सम्बन्धले काम गरेका थिए । काममा चित्त बुझेको थिएन । सके जति पनि काम गर्न पाएका थिएनन् । अनुप बरालसँग पनि नाटक गरिसकेका थिए । अन्तर्राष्ट्रिय नाटक महोत्सवमा इन्डिया गएर काम गरिसकेका थिए । अवार्ड पनि पाएका थिए । काम कस्तो हुनुपर्छ थाहा थियो । तर गर्न पाइरहेका थिएनन् । चुप लागेरै काम गरिरहेका थिए । 

काम बिग्रिएको थियो । चलचित्र रिलिज पनि भएन । फ्रस्टेसनको लेभल बढ्यो । उनलाई चेतना भयो, यहाँ अरुको लिडरसिपमा होइन, आफैं लिडर लिएर काम नगरेसम्म सोचेजस्तो काम गर्न सकिँदैन । 

त्यसपछि उनले फिल्म लेखे, ‘मिस यू’ । 

सुनिल थापालाई सुनाए । उनले औधी मन पराएर भने, “यो त ओस्कार अवार्डमा जाने खालको चलचित्र हो ।”

कर्मालाई लिड एक्टरमा लिने उनले कथा लेख्दै निर्णय गरेका थिए । प्रोडुसर पनि भेटिए । सौगात मल्लको ‘कागवेनी’ मात्रै आएको थियो । उनलाई पनि लिने सोच थियो । लिड रोलका लागि । 

प्रोडुसरले भने, “कर्मा चलेको छैन । सौगात हिरो नै होइन । यसरी फिल्म हुँदैन । कर्मा तपाईको नामबाट । म चाहिँ एक जना चलेको हिरो राख्छु ।”
विनोदले भने, “हुँदैन ।” 

पछि माने जस्तो गरे निर्माताले । कर्माले साइन गरिसकेका थिए । सौगातलाई साइन गराउन पैसा ल्याउँछु भन्थे तर ल्याउँदै ल्याउँदैन थिए । अनेक बहाना बनाएर झुलाइरहेका थिए । बल्ल एक दिन उनी आए तर दिलिप रायमाझी हुनुपर्छ भन्दै । विनोदले हिरो होइन, एक्टर खोजिरहेका थिए । उनी सौगात नै खोजिरहेका थिए । 

विनोदले हातमा रहेको स्क्रिप्ट टेबलमा बजारे । सँगै रहेका जोयश पाण्डे पनि उनको पक्ष लागे । त्यही जोशिएर आवेशमा आएका विनोदको सम्झनामा त्यो पहिलो पटक थियो । प्रोडुसर डराएर भागे । त्यसपछि ती प्रोडुसरसँग कहिल्यै भेट भएन उनको । 

सुनिल थापाले प्रदीप उदयसँग मिलेर निर्माण गर्छु भने । तर त्यो साइत पनि जुरेन । 

यस्तै रहेछ...
फ्रस्टेशनको पारो यति धेरै चढ्यो । चलचित्र क्षेत्र रोज्नु नै गलत थियो भन्ने निष्कर्ष निकाल्न बाध्य भए विनोद । जिन्दगी नै सकियो भन्ने लाग्न थालेको थियो । त्यही बेला उनलाई फेरि अफर आयो । चलचित्र थियो, ‘सिग्नेचर’ । लिड रोल थियो । तर सबै उस्तै त हुन् भन्ने विनोदलाई छाप परिसकेको थियो । उनी गर्दिन भन्थे । प्रोडुसर तपाईंलाई हेरेर लेखिएको कथा हो गर्नैपर्छ भन्दै कर गर्थे । 

छैटौं मिटिङसम्म आइपुग्दा फेरि उनलाई लाग्यो के थाहा यही चलचित्र नै मेरो जिन्दगीका लागि टर्निङ पोइन्ट पो बन्ने हो की ? हुन्छ भन्दिए । मेहनत गरे । ड्रगिस्टको क्यारेक्टर थियो । दुई महिना ड्रगिस्ट साथीको संगत गरे । चुरोट खान र सुई हान्न सिके । लामो जिङरिङ्ग परेको कपाल पारे । चप्पल लगाएर सहरसहर हिँड्थे । हेर्दै घिनलाग्दो देखिन थालेका थिए । 

“त्यतिबेलै मेरो विमला (भण्डारी) सँग भर्खर लभ परेको थियो (अहिलेकी श्रीमती) । कोठामा जाँदा पनि सालीहरु डराउँथे । कस्तो यस्तो मान्छेलाई मन पराएकी दिदीले भनेर डराउँथे,” विनोद भन्छन्, “सागर उद्गम पराजुलीले निर्देशन गरेको त्यो चलचित्र राम्रो बन्यो तर त्यो पनि अड्कियो । अहिलेसम्म रिलिज भएको छैन । त्यसबाट केही पैसा त पाएँ तर नेपाली फिल्म क्षेत्र यस्तै रहेछ भनेर फेरि सुरु भयो फ्रष्टेशन ।” 

फेरि विदेश 
घरबाट विवाहका लागि प्रेसर आयो । प्रेम सम्बन्धमा थिए विनोद । विवाहका लागि कुरा चल्यो । तर केटीको परिवारले भन्यो, “फिल्म लाइनको केटालाई छोरी दिन्नौं ।” 

अनि ? 

बुवाआमाले नमाने पनि छोरी विनोदसँग विवाह गर्न राजी थिइन् । त्यसैले उनीहरुको मन्दिरमा गएर विवाह गरे । विवाहमा छोरीका बुवाआमा आए पनि अरू आएनन् । विवाह हुनु भनेको जिम्मेवारी थपिनु पनि थियो । 

के गर्ने ? 

यूकेका लागि प्रोसेस गरे दुबै जनाले । दूतावासले राहदानी लिन आउनुस् भन्यो । मनभरी हिरो हुन्छु भनेर बोकेको सपना अधुरै हुने भयो । यतीका वर्ष हिरो हुनका लागि पढेको र गरेको संघर्ष सिसाको घरझैं पलभरमै फुट्ने भयो । फेरि उही विदेश । गह्रुंगो मन बोकेर उनी दूतावास पुगे । एक मनले चाहना गरिरहेको थियो भिषा नलागेको होस् । विदेश जान नपरोस् । अर्को मनले भनिरहेको थियो ज्वाइँ र भाइले त्यत्रो पैसा खर्च गरिदिएका छन् । भिषा लागेन भने त बर्वाद हुन्छ ।”

दूतावास पुगे । राहदानी लिए । भिषा लागेकाहरु एक्साइटमेन्टमा वाऊ...भन्दै चिच्याउँदै उफ्रिँदै बाहिर निस्किहरेका थिए । विनोदको दिमाग भने शून्य थियो । 

ट्याक्सी बोलाएर चढे । र विस्तारै राहदानी खोलेर हेरे । भिषा लागेको देखियो । जसरी अरबबाट फर्किँदा विमानस्थलमा उनका आँखामा आँसु थामिएको थिएन । त्यस्तै भयो । आँखाभरी आँसु बोकेर उनले पहिलो कल आमालाई गरे । आमा एक मनले यो पटक युरोप जाँदैछ भनेर खुसी थिइन् । तर फेरि विदेश जाँदैछ । छुट्टिनु पर्दैछ भन्ने लाग्यो सायद उनी फोनमै रोइन् । 

सुन्नेबित्तिकै श्रीमती खुसी भइन् । फेरि विदेश उडे विनोद । तर यो पटक विदेशी भूमीमा सँगै बस्न र नेपाली बोल्न श्रीमती थिइन् । 

यूकेमा पनि छोडेन चलचित्रले 
\"\"संघर्ष सिनेमाका लागि थियो । तर उनले गरे युके पुगेर एमबीएमा भर्ना भए । तर फिल्मको किरोले उनलाई त्यहाँ पनि छोडेन । नेपालमा बनाएको सर्ट फिल्म कहिलेकाहीँ त्यहाँ पनि देखाए । प्रोफेसरदेखि विद्यार्थीसम्मले ‘मिस्टर फिल्म मेकर’ भनेर बोलाउँथे । फिल्म मेकर भनेर बोलाउँदा उनलाई आनन्द लाग्थ्यो ।

एमबीएको थेसिस पनि उनले सिनेमामै गरे । ‘नेपाली सिनेमा उद्योगमा विज्ञापन कति इफेक्टिभ छ ?’ भन्ने उनको थेसिसको विषय थियो । “रिसर्चका क्रममा नेपाली चलचित्र उद्योगमा विज्ञापनको ठूलो ल्याक रहेको पाएँ । त्यो रिसर्चको फाइन्डिङले ‘बुलबुल’को मार्केटिङमा अहिले मलाई ठू्लो सहयोग पुर्यायो ।”

जहिले फिल्म, जतिखेरै फिल्म । विमला सपोर्ट त गर्थिन् तर सधैँभरीको एउटै कुराले उनलाई पनि वाक्क हुन्थ्यो होला । थेसिस भर्खर बुझाएका थिए । एक दिन राति फिल्मकै कुरा भइरहेका थिए । विमलाले भनिन्, “ह्या जहिल्यै फिल्म फिल्म ! यहाँ आउँदा पनि तपाईंलाई फिल्मले छाडेन । हिँड्नुस् जाउँ नेपाल । तपाईंका लागि नेपाल नै ठिक छ । म पढाएर बस्छु । तपाईं सुरुमा सानोतिनो काम गर्नुस् । पछि वर्षको एउटा चलचित्र बनाउनुस् । तपाईको मनले शान्ति पाउँछ ।”

विनोदः साच्चै भन्या हो तिमीले ?

विमलाी: हो । 

दुई वर्ष भएको थियो गएको । मार्केटिङ एक्जुकेटिभको काम पाएका थिए । दुई जनाको गरेर तीन लाख कमाई हुन्थो । उनले पाएको काम त्यहाँ पुग्ने नेपाली विद्यार्थीको पहिलो रोजाईको तहको काम थियो । वर्किङ भिषा पाउन लागेका थिए । उतै सेटल हुन सक्थे ।

नेपाल फर्किएर विमलाले पढाएर बस्ने । विनोदले सानोतिनो काम गरेर वर्षमा एउटा चलचित्र बनाउने गफ गर्दागर्दै उनी यति भावुक भएछन् कि नेपालका लागि प्लेनको अनलाइन टिकट हेर्न थालेछन् । 

विनोदले भने, “हेर त यो इन्डियन एयरलाइन्समा कस्तो सस्तो टिकट ।” 

विमलाले भनिन्, “काट्नु न त ।” 

उनले फ्याट्टै टिकट काट्दिए ।

भोलिपल्ट साथीभाइलाई सुनाए । त्यति राम्रो कामको अवसर पाएको मान्छे नेपाल फर्किन लागेको ? सबै छक्क परे ।  घरमा फोन गरे । घरकाले पनि अचम्म माने । 

सूवर्ण न्यौपाने एक्लो व्यक्ति थिए जसले मनको भित्री तहमा पुगेर विनोदलाई बुझेका थिए । उनले भने, “तिमी नेपाल गएर आफूले गर्न चाहेको र मनले खाएको काम गर । नेपालमै गएर केही गर्नुपर्छ । म पनि दुई महिनापछि आउँछु । यहाँ होइन, नेपालमै हामी केही गर्नुपर्छ । फिल्ममा के सपोर्ट गर्नुपर्छ मैले त्यो म गर्छु तिम्रा लागि ।” 

विनोद नेपाल फर्किए । उनको ब्याचमा नेपाल फर्किने विनोद र सुवर्ण मात्रै हुन् । अरु सबै अहिले ग्रिनकार्ड लिएर उतै बसिरहेका छन् । 

ओस्कार कलेजको नेतृत्व
नेपाल फर्किएर भीएस निकेतन र नासामा मार्केटिङ पढाउन थालेका थिए । त्यही बेला ओस्कार कलेजमा एक्टिङ पढाउने अफर आयो । एक्टिङ पढेका उनी खुसी मनले एक्टिङ पढाउन गए । चलचित्र पढाउन थालेपछि मार्केटिङ पढाउनमा रस बसेन । 

ओस्कार कलेजमा आन्दोलन भइरहेको थियो । घनश्याम खतिवडा क्याम्पस चिफ थिए । लक्ष्मीनाथ शर्मा क्याम्पस प्रमुखको रुपमा आए । तर पनि क्याम्पस चलिरहेको थिएन । त्रिविबाट आएका त्रिवि पदाधिकारीहरु क्याम्पस बन्द गर्नुपर्छ भनिरहेका थिए । 

मिटिङ चलिरहेको थियो । शिक्षकहरु क्यामेरा ल्यायो भने चल्छ भनिरहेका थिए । विनोदले भने, “केही ल्याएर पनि कलेज चल्नेवाला छैन । सबभन्दा पहिला तपाईं हामी परिवर्तन नभएसम्म अरबौं लगानी गरे पनि कलेज चल्दैन ।”

उनले भनेको कुराले प्रशासनलाई छोएछ । प्रशासनले भन्यो, “ल विनोद सर तपाईं एक पटक लिड गरेर हेर्नुस् । अन्तिम प्रयास गरौं । तीन महिना हेरौं । तीन महिनामा तपाईंको नेतृत्वमा कलेज चल्यो भने हामी कलेज चलाउँछौं । होइन भने ताल्चा लगाउने हो अब ।”

उनले ६ महिना मागे । कलेज राम्रो हुँदै गयो । “७ वर्ष भयो अहिलेसम्म कलेज राम्रोसँग चलिरहेको छ,” उनले सुनाए । 

जिम्मेवारी प्रशासकको, रहर चलचित्रको
\"\"क्याम्पस चिफ हुन उनले पढेका थिएनन् । सपना अर्कै थियो । वाध्यताले एमबीए पढेका थिए तर क्रिएटर भएर बाँच्ने रहर थियो । त्यसका लागि फिल्म बनाउनु थियो । त्यही बीचमा उनले चलचित्र ‘साँघुरो’ लेखिसकेका थिए । 

जोयस पाण्डेले अर्को नयाँ स्क्रिप्ट लेख्न कर गरे । त्यसैले उनले ‘बुलबुल’को कथा लेखे । (तर त्यो बेला नाम जुरेको थिएन ।)

एक दिन राजेन्द्र सलभले भने, “विनोद भाइ मलाई एउटा स्क्रिप्ट दिनुपर्यो ।”

विनोदः दाइ, म अरुका लागि स्क्रिप्ट लेख्क्तिन । 

राजेन्द्र सलभः प्लिज भाइ, मेरो लागि एउटा मात्रै । 

मिठो बोल्ने राजेन्द्र सलभ । हार्नै नसक्ने विनोद । उनले स्क्रिप्ट दिए । त्यो स्क्रिप्ट अहिलेको ‘बुलबुल’को थियो । 

फिल्म बनाउने त राजेन्द्र सलभले भने, तर ६ महिना बित्यो । सुरसार गरेनन् । जे सोचेर विनोदले स्क्रिप्ट लेखेका थिए, त्यो गहिराईबाट राजेन्द्र सलभले लिइरहेका थिएनन् । मनै खिन्न भइरहेको थियो विनोदको । 

विनोदले फेसबुकमा स्टाटस लेखे, “आफूले जन्माएको सन्तान अरुलाई दिनुपर्दा साह्रै गाह्रो हुँदोरहेछ ।”

राजेन्द्र सलभले बुझेछन् स्टाटसमा कमेन्ट गरे, “हैन त्यति धेरै गाह्रो नै भएको हो त विनोद भाइ ?”

अझै फिल्म बनाउने अत्तोपत्तो थिएन । 

जोयस पाण्डे अमेरिकामा थिए । उनले भने, “कि बनाउनु पर्यो कि हामीलाई स्क्रिप्ट फिर्ता गर्नुपर्यो । स्क्रिप्टको पैसा फिर्ता गर्न म यहाँबाट पैसा पठाइदिन्छु । गएर फिर्ता लिइहाल ।” 
जोयसको जोश देखेर विनोदले राजेन्द्र सलभसँग आग्रह गरे, “कि चलचित्र बनाउनुस् । कि मलाई फिर्ता गर्नुस् ।”

तपाईं बनाउनु हुन्छ त ? राजेन्द्र सलभले सोधे । 

विनोदले भने, “म आफैँ डाइरेक्सन गर्ने हो दाइ ।”

राजेन्द्र सलभः तपाईं आफैँ बनाउने हो भने लैजाउनुस् । अरुलाई दिने हो भने चाहिँ म मान्दिन ।”

दुई लाख फिर्ता गरेर उनले स्क्रिप्ट फिर्ता लिए । 

जोयसले निर्देशन गर्ने कुरा थियो तर पछि त्यो जिम्मेवारी पनि उनमै आइपुग्यो । 

स्टोरी रिसर्च गर्न आफ्नै विद्यार्थी मुकुन भुषाललाई विनोदले पठाएका थिए स्क्रिप्ट लेख्दा । त्यसबेला चोपेन्द्रको क्यारेक्टरमा मुकुन डुबेको देखेर उनले सोचिसकेका थिए, चोपेन्द्रमा मुकुन नै ठिक छ । तर जोयसले भने चलचित्रलाई व्यापारिक एंगलबाट हेरिरहेका थिए । त्यसैले उनले भने, “चोपेन्द्रमा निश्चल बस्नेत र रणकलामा स्वस्तिमा खड्का लिनु पर्छ ।” 
विनोदले निश्चल र स्वस्तिमालाई स्क्रिप्ट दिए । तर निश्चलले आफूलाई चोपेन्द्र नपाएको बताइरहेका थिए । यद्यपि उनी हुन्छ पनि भन्दैन थिए र हुँदैन पनि । 

उनले स्वस्तिमामा कसरी रणकला देख्नुभयो विनोद सर ? भन्दै हाँसेर प्रश्न गरिरहेका थिए । “निश्चलले काम गर्छु अथवा गर्दिन आज गर्छु भन्लान् कि भोली गर्छु भन्लान् भन्दाभन्दै निकै समय बित्यो केही भनेनन् । स्वस्तिमालाई भने तिमीलाई रणकला बनाउने जिम्मा मेरो भनेपछि उनी कन्भिन्स भएकी थिइन्,” विनोद भन्छन्, “निश्चल पनि जस्तो सुकै चलचित्र पनि गर्न सक्छ जसरी लुट निर्देशन गरेर निर्देशकका रुपमा चलचित्र उद्योगमा आफूलाई स्थापित गर्यो, त्यस्तै अभिनयमा पनि स्थापित गराउनुपर्छ भन्ने सोचिरहेको थिएँ ।

तर उसले ‘बुलबुल’को स्टोरीले कनेक्ट नगरेको अरुसँग कुरा गरेको भन्ने थाहा भएपछि मैले जोयसलाई भनेर मुकुनलाई लिएँ । जोयसको बलजफ्तीमा मैले निश्चललाई भनेको थिएँ । उसले नमानेपछि मैले मुकुनलाई कल गरेँ । उसले फोनमै ओके गर्यो । रणकलाका रुपमा स्वस्तिमा र चोपेन्द्रमा मुकुनलाई लिएर बुलबुल बनाएँ । पहिलो चलचित्रबाट अपेक्षित समीक्षा र सफलता पाएँ ।”

आदर्श 
चलचित्रमा सिक्ने र सिकाउने क्रम चल्दैछ । उनी धेरै विद्यार्थीका आदर्श भइसके होला । कति चलचित्रकर्मीले पहिलो निर्देशन नै स्वीकारीसके होला । तर उनको पनि त कोही आदर्श होला । 

मेक्सिकन निर्देशक कार्लोस रेगाडार्स उनका आदर्श निर्देशक हुन् । उनको ‘साइलेन्ट्स लाइट’ विनोदको मस्तिष्क छाएको चलचित्र हो । कार्लोसको ‘जापोन’ पनि विनोदको प्रिय चलचित्र हो । 

अर्को पनि नाम सुनाए उनले । ‘पिक पकेट’ निर्देशक रोवर्ट ब्रेसोँ । आलाकाँचा व्यक्तिलाई लिएर जीवन्त अभिनय निकाल्ने रोवर्टको विशषेताबाट प्रभावित विनोदलाई आफू पनि त्यस्तै निर्देशक हुन पाए हुन्थ्यो भन्ने लोभले छोप्छ ।

छोडेको अमेरिका
अन्तिममा उनले सम्झिए अमेरिकन नागरिक यातिन पर्खानीलाई । प्रोडुसर हुन् यातिन । यातिनलाई विनोदले एक वर्ष अगाडि आफूसँग रहेको भुटानी शरणार्थीको कथा सुनाए । हौसिएर भने, “म प्रोडुस गर्छु ।”

तर उनले भने सपरिवार आएर तिमी अमेरिकामै बस, सजिलो हुन्छ । विनोद श्रीमती विमला र छोरो सिद्धार्थलाई लिएर गए पनि । तर त्यहाँ उनले देखे त्यहाँको यान्त्रिक जीवन । मानवीयभन्दा पनि भौतिकवादी संस्कारले सिद्धार्थलाई मानव कम ज्यादा यन्त्र बनाउँछ भन्ने लाग्यो ।

विनोद सपरिवार नेपाल फर्किए । “चलचित्रका लागि म आउँदै जाँदै गरौंला तर छोरालाई नेपाली संस्कार नै दिनुपर्छ भनेर म फर्किएँ,” उनी केही आदर्श सुनिए, “अबको केही दिनमा त्यही चलचित्रका विषयमा काम गर्न केही दिनका लागि अमेरिका जाँदैछु ।” अमेरिकामा दर्ता गरेर फेष्टिवल लक्षित चलचित्र बनाउने विनोदको चाह छ । 

तस्बिर ः साैरभ रानाभाट
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १३, २०७५  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC