काठमाडौं । थाइराइड घाँटीमा आउने एउटा सामान्य समस्या हो । धेरै जटिलता ल्याउने, आयु नै घटाउने समस्या होइन । घाँटीमा टी थ्री र टी फोर रसायनले शरीरका विभिन्न अंगहरूमा गएर तागत दिने काम गर्छ, जसलाई मेटापोलिजम भनिन्छ । थाइराइड ग्रन्थीमा कुनै गडबडी भयो भने थाइराइडको समस्या हुन्छ ।
थाइराइड ग्रन्थीमा दुई प्रकारको हर्मोन हुन्छ । धेरैजसो आउने बिरामीमा देखिने भनेको हर्मोन कमीको कारण थाइराइड भएको दखिएको छ, जसलाई हाइपोथाइरोइडिजम भनिन्छ । हाइपोथाइरोइडिजम भनेको जुनथाइराइड ग्रन्थी हुन्छ, त्यो अलिकति अन्डर एक्टिभ हुन्छ ।
अथवा त्यति राम्रोसँग काम गर्न सक्दैन । जुन कारणले गर्दा हर्मोनको कमी हुन्छ । हर्मोनको उत्पादन राम्ररी हुँदैन । विषेशगरी महिलाहरूलाई धेरै मात्रामा थाइराइड देखिएको छ ।
थाइराइड हर्मोन कम किन हुन्छ ?
पहिलेको समयमा आयोडिनको कमीले हर्मोन कम हुन्थ्यो । तर अहिले हर्मोन कमी हुने सबैभन्दा कमन कारण अटो इम्युन हो । यो भनेको बडीकै इम्युन सिस्टमले वा हाम्रो बडीमा हुने बाहिरी किटाणुसँग लड्ने शक्ति (इम्युनिटी पावर) गडबडी भयो भने शरीरकै इम्युन सिस्टमले शरीरकै अंगलाई राम्रोसँग नचिनेर भत्काइदिन्छ । किनकि यसको काम नै भत्काउने हो, त्यसकारण ग्रन्थीले राम्रोसँग काम गर्न सक्दैन ।
यदि अटो इम्युन समस्या हो भने चाहिँ जुन ग्रन्थी भत्केको छ वा हर्मोन कमी छ, त्यो जीवनभरको लागि नै कमी हुन्छ । अरु कारणले पनि हर्मोन कमी हुन सक्छ । भाइरस संक्रमण भएको छ भने बच्चा भर्खरै पाउनुभएको छ भने पनि थाइराइड हर्मोन कमी हुन सक्छ ।
यो जटिल समस्या होइन, सजिलो रोग हो । जुन हर्मोन कमी छ त्यो लिन मिल्छ । इन्जेक्सनमा होइन, ट्याब्लेटमा नै मिल्छ । जीवनभरी खाने होकिनखाने कुरा हो भन्ने हुन्छ ।
हर्मोन कमी भए के लक्षण देखिन्छ ?
हर्मोन कमी हुँदा शरीरका सबै अंगहरूको फङ्सन ढिलो भइदिन्छ । ढिलो भएपछि मोटाउने, सुन्निने, मुटुको धड्कन कम हुने, महिनावारी गडबड हुने, हातखुट्टा झमझमाउने, लुलो हुने, थकाइ लाग्ने, बढी निद्रा लाग्ने, कब्जियत हुने, कपाल झर्ने आदि लक्षण देखा पर्छ किनभने शरीरको अंगमा तागत हुँदैन ।
त्यसैले यस्तो खालको लक्षण देखा पर्छ । कुनै यस्तो लक्षणहरू छ भने एकचोटी थाइराइड जँचाउनै पर्छ । विषेशगरी थाइराइड समस्याचाहिँ महिलाहरूमा बढी देखिन्छ किनभने यो अटो इम्युन रोग हो ।
हर्मोन बढी हुने समस्या
हर्मोेन बढी भए पनि नराम्रो हो र कम भए पनि नराम्रो हो । बढी भयो भने हर्मोन कम हुँदा सबै कुरा ढिलो भइदिन्छ भने हर्मोन बढी भयो भने शरीरको सबै अंगको फङ्सन छिटो–छिटो भइदिन्छ ।
हर्मोन कम हुँदाको ठ्याक्कै अपोजिट (उल्टो) हुन्छ । तौल घटेर जाने, मुटुको धड्कन एकदमै छिटोछिटो हुने, चिटचिट पसिना आउने, दिसा बढी लाग्ने, निद्रा नलाग्ने, हातखुट्टा काम्ने, रिस उठ्ने आदि लक्षणहरू देखा पर्छ ।
हर्मोन बढी के कारणले हुन्छ ?
सबैभन्दा कमन कारण ७० देखि ८० प्रतिशत अटो इम्युनले गर्दा हुन्छ, जसलाई ग्रेप्स डिजिज भनिन्छ । इम्युन सिस्टमले हर्मोन कमीमा ग्रन्थी भत्काउँछ भने बढी वा हाइपोथाइरोडिजम हुँदा इम्युन सिस्टमले ग्रन्थीलाई बढी मात्रामा काम गर्न लगाउँछ ।
अरु कारण पनि हुन्छ घाँटीमा गाँठो छ भने त्यो मानिसको उमेर बढी भएको छ भने बढी देखिन्छ । अरु भनेको कहिलेकाहीँ एउटामात्रै गाँठो हुन्छ । त्यसले बढी मात्रामा काम गर्छ । अर्को थाइरोडाइटिस भन्ने समस्या हुन्छ, जुन भाइरल संक्रमणले हुने समस्या हो ।
यो समस्या भनेको छोटो समयलाई मात्र हुने हो । यसले पनि हर्मोन बढी हुन्छ । कसैलाई डेलिभरीपछि महिलाहरूमा देखिन्छ । यसमा छोटो समयलाई हर्मोन बढी हुन सक्छ तर पछि आफैँ नर्मलमा जान्छ ।
उपचार के हुन्छ ?
हर्मोन कमी छ भने हर्मोन दिने । हर्मोन बढी छ भने हर्मोन घटाउने औषधि दिने हो, जसलाई एन्टिथाइराइड भनिन्छ । तर यो औषधि जीवनभर खान मिल्दैन । औषधिले ५० प्रतिशतमा रोग निको पारिदिन्छ, ५० प्रतिशतमा चाहिँ औषधि रोकेपछि रोग फिर्ता आउन सक्छ । अर्को अप्सन भनेको एउटा झोल आयोडिन हुन्छ, यसको काम ग्रन्थी सुकाउने हो ।
यो एक डोज खाने जुन बढी मात्रामा काम गरिरहेको ग्रन्थीलाई नै सुकाइदिन्छ र हर्मोन बढीलाई हर्मोन कमीमा लगिदिन्छ । हर्मोन कमी त सजिलो हुन्छ, तर थाइरोडाइटिस समस्या छ भने चाहिँ कुनै पनि ट्रिटमेन्ट चाहिँदैन । किनकि आफैँ नै हर्मोन नर्मलमा जान्छ ।
थाइराइड हर्मोन गडबडी छ कि छैन भनेर लक्षणको आधारमा डाइग्नोसिस गर्न मिल्दैन । यसको लागि थाइराइड फङ्सन टेस्ट भनेर रगत जाँच हुन्छ । त्यो जाँचन गरी त्यसलाई खाली लक्षणको आधारमा मात्रै थाइराइडको औषधि चलाउन मिल्दैन । त्यो टेस्ट गरेपछि मात्रै तपाईंको थाइराइड ग्रन्थीले कस्तो काम गरिरहेको छ, हर्मोनको लेभल कस्तो छ, बढी छ कि कम त्यो जाँच गरेर मात्रै हामीलाई थाहा हुन्छ ।
जति पनि थाइराइड समस्यामा हामीले लक्षण देख्छौँ, यसलाई ननस्पेसिफिक लक्षण भनिन्छ । यो कुनै पनि रोगमा देखिन सक्छ ।
जस्तैः थकाइ लाग्ने सबै रोगमा देखिन्छ । मुटुको धड्कन बढ्ने अरु रोगको कारणले गर्दा पनि हुन्छ, महिनावारी गडबड हुने पनि अरु रोगको कारण हुन्छ । त्यसैले लक्षणको आधारमा आफैँले कहिल्यै पनि थाइराइडको समस्या छ भनेर भन्न मिल्दैन । तर यी लक्षणहरू देखा परेको छ भने एकचोटी थाइराइड जँचाए राम्रो ।
समस्या र जटिलताहरू
हर्मोन कमी वा हाइपोथाइरोइडिजम भयो भने यदि तपार्इंको हर्मोन एकदमै कमी जिरो लेभलसम्म छ । धेरै वर्षसम्म ट्रिटमेन्ट पाउनु भएन भने कोमासम्म जान सक्छ । फोक्सो, मुटुमा पानी जम्न सक्छ, मुटुमा पानी जम्यो भने पेरिकार्डियल फ्युजन भनिन्छ ।
हर्मोन बढी भयो भने पनि जटिल हो । बिरामीहरूमा देखिने जटिलता हुन्छ, जसमा मुटुको ताल गडबडी हुन्छ, मुटुले राम्रोसँग काम गर्दैन । मुटुको काम भनेको रगतलाई राम्ररी पम्प गर्ने काम हो । थाइराइड स्ट्रोम भन्ने जटिल समस्या हुन सक्छ । सबै ट्रिटमेन्ट टाइममा पाउनु भएन भने जटिलताहरू आउन सक्छ ।
कसैकसैलाई लक्षणहरू एकदम नराम्रो हुन्छ । हर्मोन कमी छ भने हातको नसा सुन्निने, त्यसले काम गर्न गाह्रो हुन्छ । हात लाटो हुन्छ, झमझमाउँछ । यो समस्या खानपिनले गर्दा भएको होइन ।
यसलाई न खानपिनले सुधार गर्न सक्छ न व्यायामले सुधार गर्छ । यसको लागि ट्रिटमेन्ट नै चाहिन्छ । डाक्टरको सल्लाहअनुसार औषधि प्रयोग गर्नुपर्छ । खानेकुरामा केही पनि बार्नुपर्दैन ।
नेपालमा थाइराइडको बिरामीहरू बढिरहेका छन् । मानिसमा जागरुकता पनि बढेको छ । नजिकै कसैलाई थाइराइड भएको छ भने सबैले फलानालाई थाइराइड भएको रहेछ भन्छन् ।
त्यसले गर्दा म पनि चेक गर्छु भनेर जचाउँछन् र यसका रोगीहरू बढी देखिन थालेका छन् । जीवनशैलीले आएको रोग नभएका कारण यसलाई रोकथाम गर्ने कुनै उपाय छैन । ३० वर्ष उमेर पार गरिसकेपछि गर्भवती हुने योजना बनाउनुभएको छ भने एकचोटि थाइराइड चेक गर्नुपर्छ । विशेषज्ञसँग सल्लाह लिएर ट्रिटमेन्ट गर्दा हुन्छ ।
(अल्का अस्पतालमा कार्यरत डा. योञ्जनसँग बाह्रखरीका लागि यसिमा महतले गरेको कुराकानीमा आधारित)