site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चिलीबाट के सिक्ने ?

भूकम्पका बारेमा अध्ययन अनुसन्धान गर्ने तथा विश्वव्यापीरूपमै भूकम्पबाट हुने क्षतिलाई न्यूनीकरण गर्न कार्य गरिरहेको एउटा अमेरिकी प्राज्ञिक संस्था अर्थक्वएक इन्जिनियरिङ रिसर्च इन्स्टिच्युट(ईईआरआई) को निमन्त्रणामा ‘भूकम्पको पाठ’ कार्यक्रममा भागलिन जनवरीको १३–१८ सम्म दक्षिण अमेरिकी राष्ट्र चिली भ्रमण गर्ने अवसर मिलेको थियो । यस भ्रमणको उद्देश्य सन् २०१० मा चिलीमा गएको भूकम्प  र सुनामीले पारेको प्रभाव र त्यसपछि भएका पुनर्निर्माण कार्यको अध्ययन तथा अवलोकन गर्ने, पुनर्निर्माणमा संलग्न विज्ञ, प्रध्यापक, सरकारी निकायका प्रमुख र भूकम्प  तथा सुनामीबाट पीडितहरूसँग अन्तक्र्रिया गर्नुथियो ।
दक्षिण अमेरिकी राष्ट्र चिली विश्वमा धेरै भूकम्प  जाने स्थानमा पर्छ । गत ६० वर्षमा गएका विश्वका ५ ठूला भूकम्पमध्ये २ वटा भूकम्प   चिलीमा गएका थिए । सन् २००० पछि ६.० म्याग्निच्युटभन्दा ठूला २१ र ८.० म्याग्निच्युटभन्दा ठूला ३ वटा भूकम्प गइसकेका छन् । प्यासिफिक समुद्रसँग जोडिएको करिब ४ हजार ३०० किलोमिटर (किमी) लम्माइ र ३५० किलोमिटर चौडाइ भएको चिली संसारकै लामो भूभाग तथा लामो समुन्द्री तट भएको मुलुक हो । बारम्बार भूकम्प  गइरहने देश भए पनि सन् २०१० फब्रुअरी २७ मा माउले क्षेत्रमा गएको ८.८ म्याग्निच्युटको भूकम्प र त्यसले ल्याएको सुनामीबाट ठूलो क्षति भएको थियो ।

यस भूकम्पले देशको राजधानी सान्टिआगोलगायत जनघनत्व धेरै भएको अन्य क्षेत्र तथा भूकम्प  पश्चातको सुनामीले करिब ५०० किमी समुद्रीतटमा ठुलो असर पु्याएको थियो । करिब ७५ प्रतिशत जनता यस भूकम्पबाट प्रभावित भएका थिए । यस विपदबाट करिब २ लाख २० हजार घर ध्वस्त भएका थिए भने ५२८ जनाले ज्यान गुमाएका थिए ।

राष्ट्रिय उत्पादनको करिब १५ प्रतिशत नोक्सान भएको थियो । विभिन्न कारणले मानवीय क्षति न्यून भए पनि भौतिक तथा आर्थिक हिसाबले ठुलो क्षति भएको थियो । त्यस्तै सन् २०१४ अप्रिल र २०१५ सेप्टेम्बरमा गएको ८.० म्याग्निच्युटभन्दा ठूलो भूकम्पमा क्रमशः करिब १० र २० जनाको मृत्यु भएको थियो ।  सन् २०१० मा हाइटी (७.० म्याग्निच्युट ) र २०१५ मा नेपालमा (७.८ म्याग्निच्युट), चिलीमा सामान्य मानिने म्याग्निच्युटको भूकम्प जाँदा पनि हजारौं मानिसको ज्यान गयो तथा धेरै ठूलो भौतिक नोक्सान पनि भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

विगत केही वर्षदेखि चिलीमा  ठूला ठूला भूकम्प जाँदा किन न्यून मानवीय तथा भौतिक क्षति हुन्छ तर चिलीमा सामान्य लाग्ने भूकम्प  नेपालमा किन त्रास बनिरहेको छ त ? सन् २०१० को माउले, चिली भूकम्पपछी करिब ४ वर्षमै कसरी पुनर्निर्माणको कार्य सफलतापूर्वक सम्पन्न ग¥यो ? चिलीको अध्ययन भ्रमणबाट प्राप्त केही जानकारी यस लेखमा प्रस्तुत गरिएको छ ।
सन् २०१० भूकम्पपछि विपद व्यवस्थापनसँग सम्बन्धित सबै सरोकारवाला विशेष गरी विश्वविद्यालयमा विपत्तिका क्षेत्रमा काम गर्ने प्राध्यापकहरूसँगको गहन अन्तक्र्रियापछि ल्याइएको विपद क्षति न्यूनीकरण राष्ट्रिय रणनीति’ चिलीको विपद क्षति न्यूनीकरणमा कासे ढुङ्गा साबित भएको त्यहाँका प्राध्यापक तथा विज्ञ पनि मान्दा रहेछन् ।

यस रणनीतिअन्तर्गत स्थापना भएको ‘एकीकृत विपद व्यवस्थापन केन्द्र’ले विपद व्यवस्थापन तथा क्षति न्यूनीकरणका ६ वटा क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्दै राष्ट्रिय नीति तयार गर्दोरहेछ ।  विडम्बना, नेपालमा भने करिब एक दशकदेखि चर्चामा रहेको ‘विपद जोखिम न्यूनीकरण विधेयक’ नेपालको संसद्बाट पारितसम्म पनि हुन सकेको छैन । गोरखा भूकम्पपछि पनि हाम्रा नीतिनिर्माताको चेत अझै खुलेको देखिएन ।
चिलीमा सन् १९७२ देखिी. भवन आचार संहिता लागु गरिएको रहेछ ।  प्रत्येक ठूला भूकम्पपछी आचार संहिताअनुसार बनेका घरमा भूकम्पले पारेको असरको अध्ययन गरेर त्यहाँको भवन आचार संहितामा आवश्यक परिमार्जन गरिँदो रहेछ । त्यहाँको भवन आचार संहिता त्यहीँको भूबनोट तथा सम्भावित भूकम्पलाई आधार मानेर विकास गरिएको रहृेछ ।

Global Ime bank

हाम्रो भवन आचार संहिताको अधिकांश भाग भने नेपालको वास्तविक अवस्थालाई ( भूबनोट, जमिनका चिरा, निर्माण सामग्री तथा पद्धति आदि) आधार मानेर भन्दा पनि भारतीय भवन आचार संहितालाई आधार मानेर बनाइएको छ ।  फलस्वरूप, भवन आचार संहिताअनुसार बनाइएका पनि कतिपय घर भूकम्पको बेला क्षतिग्रस्त भएका थिए । चिलीका बासिन्दा भूकम्पसँग अभ्यस्त भइसकेका छन् ।

कुनै पनि बेला महाभूकम्प आउनसक्छ भन्ने उनीहरुलाई हेक्का छ । तर, नेपाल भूकम्पको उच्च जोखिममा भए पनि मझौला तथा ठूला भूकम्प बारम्बार नगएकाले  धेरै मानिस नेपालमा भूकम्प कुनै बेला पनि आउन सक्छ भनेर विश्वासै गर्दैनन् र भूकम्पसँग डराउँदैनन् । चिलीका बासिन्दा भूकम्पसँग डराउने होइन जीवनकै एउटा अँगका रूपमा त्यसलाई स्वीकारेर अघि बढेका छन् । भवन निर्माण संहितालाई त सस्कृतिकै रूपमा लिने गर्छन् ।
गत भूकम्पमा काठमाडौंका अग्ला भवनमा ठूलो क्षति पुगेपछि, काठमाडौं अग्ला भवनको लागि उपयुक्त छैन भन्ने चर्चा पनि भएको थियो । काठमाडौंभन्दा पनि भूकम्पको उच्च जोखिममा रहेको चिलीको राजधानी सान्टिआगोलाई अग्ला भवनको सहर भन्दा पनि हुन्छ ।

सान्टिआगोको माटो इन्जिनियरिङका दृष्टिमा काठमाडौंको भन्दा राम्रो भए (स्थान बिशेष अनुसारको भवन आचार संहिता र भूकम्प  प्रतिरोधी तत्वहरुको उचित प्रयोग गर्ने हो भने बारम्बार भूकम्प  जाने स्थानमा पनि धेरै अग्ला अग्ला भवन बनाउन सकिन्छ भन्ने त्यहाँबाट सिक्न सकिन्छ । अग्ला भवन तथा अन्य महत्वपूर्ण संरचनाको कन्सल्टेन्टले डिजाइन गरिसकेपछि त्यो डिजाइनलाई तेस्रो पक्ष (विश्वविद्यालयका प्राध्यापक तथा अन्त्य विज्ञहरू) द्वारा समीक्षा गरी उनीहरूको राय लिने गरिनेरहेछ ।

 सन् २०१० को भूकम्पपछि नयाँ बन्ने सबै सरकारी अस्पताल भवनहरूमा बेस आइसोलेसन् (भूकम्प प्रतिरोधी निर्माणको एक उत्तम उपाय जसमा भवन र जमिनलाई एक प्रकारको रबरको प्रयोग गरेर छुट्टाइन्छ ) अनिवार्य गरिएको रहेछ । चिलीमा विद्यालय भवन भूकम्प प्रतिरोधी हुनुपर्ने तथा सन् २०१० को भूकम्पपछि सबै विद्यालयले वर्षको कम्तीमा २ पटक भूकम्पको अभ्यास गर्नुपर्ने रहेछ । साँच्चै भूकम्प गइहालेमा कसरी सुरक्षित स्थानमा जाने भन्ने विषयमा सबै विद्यार्थी अभ्यस्त हुँदा रहेछन् ।  साथै नयाँ विद्यालय भवन बनाउँदा माटो परीक्षण अनिवार्य गरिएको रहेछ ।
नेपालमा काँचो इट्टाले बनेका घर भूकम्प प्रतिरोधी हुँदैनन् भन्ने ठानिन्छ तर चिलीको लोलोल भन्ने सानो सहरमा काँचो इट्टाले बनेका धेरै पुराना सयौं घर प्रबलीकरण (रेट्रोफिट) गरेर भूकम्प प्रतिरोधी बनाइएको रहेछ । त्यस्ता काँचो इट्टाका पुराना घरले पर्यटक आकर्षण गर्दा रहेछन् । सन् २०१० को भूकम्पपछि सरकारले त्यस्ता काँचो इट्टाले भनेको घर भत्काएर आधुनिक घर बनाउने योजना स्थानीयको ठूलो विरोधपछि फिर्ता लिएको रहेछ ।   
सन् २०१० को भूकम्पले पुराना गिर्जाघरलगायत अन्य प्राचीन संरचनालाई पनि असर गरेको थियो । सान्टियागोमा अवस्थित करिब १५० वर्ष पुरानो, करिब ९० मिटर लमाइ, ४० मिटर चौडाइ तथा २५ मिटर उचाइ भएको बाजिलिका गिर्जाघरको धेरैजस्तो भाग क्षतिग्रस्त भएको रहेछ ।

प्राविधिक भाषामा ‘डी ४’ तहको ( पूरै ध्वस्त नभएको तर केही भाग ढलेको र अन्य भाग पनि ढल्ने अवस्थामा पुगेको )  क्षति भएको थियो । त्यहाँका विज्ञहरूको भनाइ, प्राप्त तस्बिरहरूको आधार तथा लेखकले नेपालको भूकम्पलगत्तै सिंहदरबारमा गरेको स्थलगत अध्ययनको आधार भन्नुपर्दा सिंहदरबारको जुन तहको क्षति भएको छ त्यसभन्दा बढी क्षति उक्त बाजिलिका गिर्जाघरमा भएको थियो भन्न सकिन्छ । उक्त गिर्जाघरको धेरै स्ट्रक्चरल भाग नै क्षतिग्रस्त भएको थियो ।

सिंहदरबारभन्दा करिब २० वर्ष पुरानो उक्त गिर्जाको सफल प्रबलीकरण (रेट्रोफिट) गरिएको छ । यस्तै अन्य धेरै प्राचीन गिर्जाघरहरू जुन २०१० को भूकम्पमा लगभग ढल्ने अवस्थामा पुगेका थिए तिनको प्रबलीकरण गरेर प्रार्थना तथा पर्यटनका लागि खुल्ला गरिएको छ ।  सिंहदरबारको प्रबलीकरण (रेट्रोफिट) हुनसक्दैन भन्ने हाम्रा विज्ञ तथा सरकारी प्राविधिकलाई यो एउटा शिक्षा हुनसक्छ ।
सन् २०१० को भूकम्पको बेला चिलीमा सरकार परिवर्तन भएको थियो । धेरै समयदेखि सरकार चलाइरहेको राजनीतिक दल सत्ताबाहिर पुगेको थियो भने राज्य सञ्चालनको अनुभव नभएको पार्टी सरकारमा आएको थियो ।

भूकम्पलगत्तै सरकारले आकस्मिक उद्धार तथा सहायता र पुनर्निर्माण सुरु गर्न २ वटा समिति बनाएको थियो । उक्त समितिले राज्यका विभिन्न निकायहरूसँग समन्वय गरेर द्रूत गतिमा काम गरेका थिए । भूकम्प गएको ४ महिनाभित्रमा सबै विद्यालय तथा सडकलाई सामान्य अवस्था फर्काइएको थियो, सबै पुलहरूको मर्मत गरिएको थियो । त्यस्तै करिब असी हजार आपतकालीन घर निर्माण तथा पुनर्निर्माण कार्यबाट करिब साठी हजार नयाँ रोजगारी खुलेका थिए ।

सबै पीडितलाई स्वास्थ्य सेवा पुगेको थियो ।
चिलीको पुनर्निर्माणमा विश्वविद्यालयलाई एउटा अभिन्न अंगका रूपमा लिइएको रहेछ । पुनर्निर्माणका हरेक पाटामा जस्तै भूकम्प प्रतिरोधी भवनको डिजाइन, एकीकृत बस्तीको अध्ययन तथा निर्माण, पुनर्निर्माणमा संलग्न प्राविधिक तथा कामदारलाई तालिम दिने, विश्वविद्यालयका प्रध्यापकको भूमिका उल्लेखनीय रहेको रहेछ । पुनर्निर्माणलाई दिगो बनाउन अध्ययन अनुसन्धानसँग जोडिएको र ती अध्ययन अनुसन्धान विश्वविद्यालयहरूबाट गराइँदो रहेछ ।  

भूकम्प, सुनामी तथा पुनर्निर्माणका सबै तथ्यांक, स्थलगत अध्ययन तथा अनुसन्धानका कार्यपत्र विश्वविद्यालयबाट प्राप्त गर्न सकिने रहेछ । सन् २०१० को भूकम्प  तथा सुनामीले पारेको क्षति, त्यसको पुनर्निर्माण र  भवन आचार संहिताको परिवर्तन जस्ता विषयमा त्यहाँका विश्वविद्यालयका प्राध्यापकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा सयौं पेपर (लेख) लेखेको पाइयो ।

तर सन् २०१५ को गोरखा भूकम्पपछि विदेशी प्राध्यापक तथा अनुसन्धानकर्मीले सयौं लेख लेखे पनि नेपाली प्राध्यापकहरूले प्रथम लेखकको रूपमा लेखेको पेपर अत्यन्त कम पाइन्छ । हाम्रो देशमा भूकम्पसम्बन्धी अध्ययन तथा अनुसन्धानको आवश्यकता न त राज्यले न विश्वविद्यालयले महसुस गरेका छन् । पुनर्निर्माणमा त नेपाली विश्वविद्यालयको भूमिका शून्य नै छ ।   
पुनर्निर्माणका क्रममा सरकारले धेरै स्थानमा सामूहिक घर (एक किसिमको एकीकृत बस्ती) को निर्माण गरेको रहेछ । सामुदायिक घरको निर्माण पद्धति अन्यन्त्रभन्दा फरक पाइयो । तीन किसिमको सामूदायिक घर निर्माण गरिएका रहेछन । ग्रामीण भेगका घर विहीनहरूलाई सहकारी संस्था खोल्न लगाएर त्यही सहकारीमार्फत् सञ्चालन र मर्मत गर्ने गरी धेरै परिवार बस्न मिल्ने ठूला बहुतले (५–६ तलासम्मका) घर बनाइएको र प्रत्येक परिवारलाई एक एक अपार्टमेन्ट दिइएको रहेछ ।

उक्त अपार्टमेन्टहरू २५ वर्षपछि त्यहीँ बस्ने परिवारका नाममा हस्तान्तरण गरिने कार्यक्रम रहेछ । सुरुमा यस्ता बहुतले भवनमा मानिसहरू बस्न त्यति रुचाएनछन् तर ‘बेस आइसोलेसन’ प्रविधिबाट बनाइने ती भवन भूकम्पीय हिसाबले धेरै सुरक्षित हुने र त्यहाँ बस्ने परिवारलाई कृषिमा अनुदान दिने योजना ल्याएपछि धेरै मानिस ती बहुतले घरमा बस्न थालेको पाइयो । यद्यपि, केही परिवार भने सरकारीे अनुदान लिएर छुट्टै घर बनाएर बसेका पनि पाइयो । दोस्रो प्रकारको एकीकृत बस्ती – नेपालका निजी आवास योजनाजस्तै सुरक्षित स्थानमा धेरै घर एकै ठाउँमा ।

यस योजना ८० वर्गमिटर क्षेत्रफल हुनेगरी भान्सा, पाउना कोठा, ट्वाइलेट तथा बाथरुम र सुत्ने कोठाको २ पाखे २ तले घरको डिजाइन गरिएको रहेछ । जसमा सरकारले घरको प्रमुख संरचना सहित ४० वर्गमिटर (एउटा पाखो) भाग पूर्णरूपले निर्माण गरिदिएको रहेछ र बाँकी ४० वर्गमिटरको भाग जनता आफँैले आफ्नो आवश्यकता र हैसियतअनुसार बिस्तारै बनाउदै गरेका रहेछन् । विशेषगरी सुनामी प्रभावित क्षेत्रमा यस्तो किसिमको आवास निर्माण गरिएको रहेछ । तेस्रो प्रकारको पुनर्निर्माण आवास योजना विशेषगरी घरभन्दा जग्गा महँगो हुने सहरी क्षेत्रमा लागु गरेको पाइयो ।

सहरमा भएका ससाना घरमा बस्ने परिवारहरूको जग्गाको मूल्याङ्कन गरेर राज्यले लिएको र नजिकै बहुतले (१२–१५ तलासम्मका) भवन बनाएर साना घरमा बस्ने परिवारलाई ती भवनका अपार्टमेन्टमा बस्न दिइएको पाइयो । राज्यले लिएको जग्गा व्यावसायिक हिसाबले प्रयोग गर्ने र त्यस स्थानबाट अपार्टमेन्टमा सरेकालाई जीविका चलाऊन अन्य उपाय उपलब्ध गराइएको पाइयो । यसले गर्दा जनतालाई धेरै सुबिधा प्रदान गर्न पनि सकिने अनि व्यवस्थित सहर बनाउन पनि मद्दत पुग्ने देखियो ।
चिली सरकारले विश्वविद्यालयहरूको सहयोगमा सन् २०१० को भूकम्पमा के कति कारणले धेरै क्षति भयो र भूकम्पलगत्तै राज्यले गर्नुपर्ने कामकुरामा के के कमजोरी भए अनि भविष्यमा आउने भूकम्पको लागि के के तयारी गर्नुपर्छ भन्ने विस्तृत अध्ययन गरेको थियो ।

उक्त अध्ययनले दिएको सुझावलाई बिस्तारै कार्यन्वायन गर्दै लगिएको रहेछ । उदाहरणका लागि २०१० को भूकम्पपछि करिब १२ घन्टासम्म भूकम्प  प्रभावित क्षेत्रमा संचार सुविधा अवरुद्ध भएछ । त्यसको कारणले भूकम्प मापन केन्द्रबाट सरकारी निकाय तथा सरकारी निकायबाट सर्वसाधारणलाई दिनुपर्ने महत्वपूर्ण सूचना र सन्देश प्रवाह हुन सकेनछ ।

जनतालाई भूकम्पपश्चात के गर्ने, कता जाने, कहाँ के के भयो केही जानकारी भएन । यस कमजोरीलाई भविष्यमा दोहोरिन नदिन त्यहाँ सरकारले विपदका लागि बलियो वैकल्पिक संचार माध्यमको विकास गरेको छ । त्यस्तै भूकम्प मापन केन्द्र पनि वैकल्पिक विद्युत्को ब्यवस्थासहित जुनसुकै अवस्थामा पनि भूकम्पको सही जानकारी राज्य तथा जनतामा पु¥याउन सक्ने स्थितिमा राखिएको छ । पूर्व सूचना प्रणालीलाई आधुनिकीकरण गरेर चाँडोभन्दा चाँडो जनतालाई सुरक्षित रहन सन्देश पु¥याउने पद्धतिको विकास गरिएको छ । 
सन् २०१० को भूकम्पमा कस्कोे जिम्मेवारी के हो प्रष्ट नभएकोले हुनुपर्ने काम समयमा नभएको, एउटै काम दाहोरिएको जस्ता समस्या आएकोले अब विपदका बेला कसले के के गर्ने भन्ने प्रष्ट तोकिएको छ । सबै सरकारी तथा सुरक्षा निकायको जिम्मेवारी प्रष्ट पारिएको छ । सन् २०१० सम्म विपदको बेलामा सुरक्षा निकायको दायित्व के के हुने थाहा थिएन । सन् २०१० को भूकम्पपछि विपदको बेला सुरक्षा निकाय कसरी खटिने भनेर निर्देशिका बनाइएको छ ।

अब विपद जानासाथ उद्धार तथा सहायताका लागि सुरक्षा निकायले कसैले आदेश कुरिराख्नु पर्दैन । चुस्त संचार प्रणाली र प्रष्ट कार्य बिभाजनको परिणाम हो, चिलीमा २०१४ को अप्रिलमा ८.२ रेक्टर स्केलको महाभूकम्पलगत्तै आएको सुनामीबाट जोगाउन त्यहाँको सरकारले करिब १० लाख प्रभावित बासिन्दालाई सुरक्षित क्षेत्रमा सार्न सफल भयो । सन् २०१० को भूकम्पपछि राष्ट्रिय आपतकालीन कार्यालयलाई संयुक्त राज्य अमेरिकाको सहयोगमा आधुनिकीकरण गरेको छ । चिलीको विद्युत् प्रणालीलाई पनि आधुनिकीकरण गरिएको छ । कुनै स्थानमा आगालागी हुनसाथ त्यस क्षेत्रको विद्युुत् आफैँ बन्द हुने पद्धति विकास गरिएको छ । 
सबै महत्वपूर्ण कार्यलय, अस्पताल, सूचना प्रवाह गर्ने सरकारी संस्था, भूकम्प मापन गर्ने तथा सुनामीको पूर्वानुमान गर्ने कार्यालयमा वैकल्पिक ऊर्जाको व्यवस्था गरिएको रहेछ ।

भूकम्प वा सुनामीले गर्दा विद्युत् आपूर्ति बन्द भए पनि ती कार्यालय कुनै समस्या पर्नेछैन । चिलीको भाल्पाराइसोमा रहेको सुनामी पूर्वानुमान केन्द्रमा ४ वटा माध्यमबाट (सोलार, ब्याट्री, जेनेरटर र हाइड्रो) विद्युत्को ब्यवस्था गरिएको रहेछ । विपदको बेलामा एउटा स्रोत बन्द हुनेबित्तिकै अर्को स्रोतको विद्युत् तुरुन्तै उपलब्ध हुने व्यवस्था गरिएको रहेछ । त्यस्तै सुनामी पुर्वानुमान केन्द्र भाल्पाराइसोको भवनमा केही कारणले क्षति भएमा तुरुन्तै अर्को भवनमा भएको संरचनाबाट डाटा लिने गरी पूरै संरचनाको पनि वैकल्पिक व्यवस्था गरिएको रहेछ ।
चिलीमा भूकम्पका कारण हुने क्षति कम हुनुमा ३ वटा प्रमुख कारण रहेछन् – १. आफ्नै अध्ययन अनुसन्धानबाट परिमार्जित हुँदैगएको भवन आचार संहिता र यसको पूर्णरूपेण पालना, २. जनचेतना, ३. विपदका लागि प्रभावकारी संरचना र संचार एवं आगो नियन्त्रण  ।
भूबनोट तथा संरचनाअनुसारको भवन आचार संहिताको विकास, यसको पूर्णरुपेण कार्यन्वयन, विश्वविद्यालयमा विपदको क्षति न्यूनीकरण विषयमा निरन्तर अध्ययन अनुसन्धान तथा जनचेतनाको विकास नै भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्ने उपाय हुन् भन्ने चिलीको अध्ययन भ्रमणमा प्राप्त जानकारीबाट पुष्टि भएको छ ।

आफ्नै अनुसन्धान केन्द्र तथा विश्वविद्यालयमा निरन्तर अनुसन्धानविना अन्तबाट आयतित आचार संहिता तथा नियम कानुन र विज्ञबाट भूकम्पलगायत अन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न सकिँदैन भन्ने चिलीबाट सिक्न सकिन्छ ।

चिली सरकारले विपद न्यूनीकरण गर्न  दीर्घकालीन योजना बनाएर सुरुका केही वर्ष अध्ययन अनुसन्धानमा ठूलो लगानी ग¥यो र त्यसलाई निरन्तरता दियो । त्यस्को केही वर्षमा विपद न्यूनीकरणमा चिलीले उल्लेखनीय फड्को मारेको देखियो । अहिले दक्षिण अमेरिकाका अन्य राष्ट्र, न्युजिल्यान्डलगायतका राष्ट्रमा चिलीमा विकास गरिएको प्रविधि भित्र्याउन थालिएका छन् ।
(विद्यावारिधि अध्ययनरत युनिभर्सिटी अफ अल्बेर्टा, अल्बेर्टा, क्यानाडा)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७३  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC