संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबी राज्यको मुख्य सहरमा ‘ग्रिन दरबार’ नामक एक नेपाली रेस्टुराँ छ । झ्यालबाट बाहिर हेर्दा आँखाले नजरअन्दाज लगाउन मुस्किल पर्ने घरहरु छन् । ती हेर्दा लाग्छ– नेपाल होइन । तर तिनै घरको माझमा हरेको ‘ग्रिन दरबार’ छिरेपछि लाग्छ– यो नेपाल हो र हामी नेपालमै छौं ।
रेस्टुराँभित्र काम गर्ने एकाधबाहेक सबै काम गर्ने नेपालीहरू नै छन् । रेस्टुराँको भित्तामा राखिएको टिभीमा पनि नेपाली लोकदोहोरी घन्किरहेका हुन्छन् ।
०५५ सालको अन्त्यतिर नेपाली सेनाको जागिर छाडेर आबुधाबी प्रहरीमा भर्ती भएका तनहँुका भीमनारायण श्रेष्ठले १६ वर्षसम्म सेवा गरे । उनी राजादेखि कैदी राख्ने जेलको सुुरक्षामा खटिए ।
गत साता आबुुधाबी पुगेको ‘बाह्रखरी’ टोलीसँग कुरा गर्दै भीमले सुनाए, “म आबुधाबी प्रहरीमा हुँदा यहाँ कुनै पनि नेपालीले रेस्टुराँ चलाएका थिएनन्, बन्दुक बोकेर पाले बन्नुभन्दा बरु नेपाली रेस्टुराँ खोल्छु भन्ने लाग्यो । एक जना यतैको पार्टनर खोजेर नेपालीपन झल्किने रेस्टुराँ खोलेँ ।”
भीमले आबुधाबीको मुख्य सहर र आबुधाबीकै मुसाफा आईकार्डमा गरी दुइटा नेपाली रेस्टुराँ खोलेका छन् । उनको रेस्टुराँमा आउने ग्राहक ९० प्रतिशत नेपाली नै हुने गर्छन् । कुनै व्यक्तिलाई नेवारी खाजा सेट खान मन लाग्यो अथवा गुन्द्रुकको झोलसँग जुम्लाको चामलको भात खान मन लाग्यो भने सिधै ‘ग्रिन दरबार’ आउँछन् । नेपालीको घुइँचो नै लाग्छ ।
भीमको रेस्टुराँमा अहिले ४० नेपालीले काम पाएका छन् । उनीहरू सबैजसोले भन्छन्, “हामीलाई आफ्नै नेपालमा काम गरेजस्तै लाग्छ । साहू पनि नेपाली, साउनी पनि नेपाली, बोलीभाषा सबै नेपाली प्रयोग हुन्छ, यति भएपछि अरु के चाहियो र !”
‘ग्रिन दरबार’को सिको गरी अहिले आबुधाबीमा अरु केही नेपाली रेस्टुराँ पनि खुलेका छन् । “यूएईमा रेस्टुराँ खोल्न सहज छैन,” भीम भन्छन्, “नेपाल जस्तो रेस्टुराँ चलाउन सहज छैन, यहाँ तीन तारेभन्दा मुनिका होटलले मदिरा बेच्न पाउँदैनन्, बेला–बेला चेकिङ हुन्छ, फोहोर र बासी खानेकुरा त देख्नै हुँदैन । आफू सही बाटो हिँडेपछि केही फरक पर्दैन । मैले २००६ देखि यो व्यवसाय सुरु गरेको हँु, अहिलेसम्म त्यस्तै कुनै ठक्कर खानु परेको छैन ।”
आबुधाबीमा राम्रै जमेका भीमलाई व्यवसायबाहेक अरुतिर ध्यान दिने फुर्सद हुन्न । तर, बेलाबेला नेपालका खबरबाट अपडेट भइरहन्छन् । नेपालको राजनीतिक अवस्था देखेर दिक्क परिरहन्छन् । “नेपालका प्रत्येक समाचार च्यानल यतै हेर्न मिल्छ, हेरिन्छ, अवस्था हेरेर दिक्क लाग्छ,” उनले दिक्क मान्दै भने, “युरोपमा बस्नेहरूभन्दा हामीलाई नेपालको धेरै माया छ, हामीले अरबमा जति कमाए पनि यहाँ स्थायी रूपमा बस्न मिल्दैन । केही घरजग्गा जोड्न पनि मिल्दैन । हामीले जति कमाए पनि नेपालमै पठाउने हो ।”
आबुधाबी बस्ने नेपालीको भेटघाटको थलो पनि ‘ग्रिन दरबार’ नै रहेछ । कहीँ कसैलाई केही आपतबिपत् परे पनि यही ‘ग्रिन दरबार’मा भेला भएर समाधान खोज्ने चलन रहेछ ।
यूएईमा तीन प्रकारका नेपाली बस्छन् । महिनाको १ लाख दिरामसम्म तलब खाने नेपाली पनि छन् । यो वर्गका नेपाली केही चार तारे होटलका म्यानेजरसम्म छन् भने केही सुरक्षा कम्पनीका म्यानेजर । व्यापार गर्नेहरू पनि धेरै छन् । तेस्रोचाहिँ कामदार हुन् ।