site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सरकार ! मलाई गोली हानेर मार्दिनू !
Sarbottam CementSarbottam Cement

– अक्षर काका


“सरकार ! मलाई गोली हानेर मार्दिनू !”

छोराको आवाजको पर्खाइमा सात महिनादेखि अस्पतालको चिसो छिँडीमा शरीर कुँज्याइरहेकी एक अबोध आमाको आत्मालाप हो यो । 

Prabhu Bank
Agni Group
NIC Asia

कञ्चनपुरकी शिवकला भण्डारालाई सरकारको काम–कर्तव्य खासै थाहा छैन । नागरिकता र कुत बुझाएको रसिदमा बाहेक उनले शायदै सरकारको अनुहार देखेकी हुँदी हुन् । भीमदत्तनगरमै मोबाइल पसल थापेर जेनतेन गुजारा गर्ने निम्छरो परिवारले सरकारबारे उतिसाह्रो चासो राख्ने कुरा पनि त भएन ।

गएको भदौ ७ गते शिवकलाले सरकारको मुहार राम्रैसँग देखिन् । हातमा राइफल बोकेको सरकारले न्यायको आवाजमाथि धावामात्रै बोलेन, उनका २० वर्षे निहत्था छोरा अर्जुन भण्डाराको आवाज गुमनाम तुल्याइदियो ।

Global Ime bank

अहिले शिवकला त्यही गुमेको आवाज फिर्ता ल्याइदिन सरकारसँग अनुनय–विनय गर्दै आँसुको पोखरीमा डुबुल्की मारिरहेकी छन् ।

० ० ०

भदौ ७ गतेको अँध्यारो दिन । मेघाच्छन्न थियो आकाश । त्योभन्दा डरलाग्दो बादल शिवकलाको जीवनमा मडारिँदै थियो । साउन १० गते बलात्कारपछि नृशंश हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै कञ्चनपुरभरि आगो बलेको थियो ।

स्वतःस्फूर्त रूपमा सल्किएको आगोको लप्कालाई निभाउन चोक–गल्लीपिच्छे नै तैनाथ थिए– सरकारी बर्दीधारी ।

प्रहरीको ‘टियरग्यास’को सेल लागेर अर्धमूच्र्छित् भएकाहरू पानीपानी भन्दै सडकमा पछारिन्थे । तिनले पानी त कता हो कता, उस्तै परे गोली पुरस्कार पाउँथे । आतंकको तुँवालोभित्र थियो सिंगो बजार ।

दमका दीर्घ रोगी श्रीमान् उमेरमै बिते  । जसोतसो छोराहरू हुर्काइन् । जेठो छोरो योगेन्द्र २१–२२ वर्षमा हिँड्न थाले । बजारको छेवैमा नयाँ मोबाइल पसल थापेर आमालाई सघाउन थाले । दुःखको तुवाँलो फाटेर जीवनमा झुल्केघाम लाग्दै थियो । एकाएक हुन्डरी चल्यो । दुःखी परिवारमा ‘सरकारको आँखा लाग्यो’ ।

“आमा ! म पसल जान्छु,” इन्जिनिरियरिङको तयारी गरिरहेका अर्जुनले यसो भन्दा उनले रोक्न सकिनन् । पसल बन्द गरे पेट बन्द हुन्थ्यो । आन्दोलनले उग्र रूप लिँदै छ भन्ने कुरा उनको अनुमानभन्दा निकै टाढाको कुरा थियो ।

‘पसल जान्छु’ भनेकाले छोरो आन्दोलनतिर नजानेमा उनी ढुक्क थिइन् ।

टायर र टियर ग्यासको मुस्लोले पर्यावरण कुहिरीमण्डल थियो । क्षणमै प्रहरीको भीडले आन्दोलनकारीलाई तितरवितर पाथ्र्यो । पलभरमै आन्दोलनकारी भेला हुन्थे र उसैगरी प्रहरीलाई लखेट्थे । टीठलाग्दो दोहोरी चलेको थियो ।

केहीबेरमै हल्ला आयो– प्रहरीसँग भएको अश्रु ग्यास सकियो । भीड पछि नहटे प्रहरीले बल प्रयोग गर्छ । उस्तै परे गोली नै चलाउँछ ।

नभन्दै झाडीको छेको लागेका प्रहरीले फायर खोलिहाले ।

तर, घरमा आफ्नै सुसेधन्दामा रहेकी शिवकलालाई आफूमाथि विपत्तिको पहाडै खस्ला भनेर हेक्कै भएन ।

“लौ न आन्टी बर्बाद भो, अर्जुन दाइलाई खुट्टामा गोली लाग्यो रे !” छिमेकीकी छोरी चिच्याउँदै आइन् । दशा बाजा बजाएर आउँदैन भन्थे । उनको हकमा गोली पड्काउँदै आयो ।

“अर्जुनलाई गोली ... !” यति दिमागमा आएको थाहा छ । उनी शीतांग भइहालिन् ।

“छोरोको मुखै देख्न पाउँदिनँ होला भनेर मेरो मुटु कुँजो भो बाबु,” त्यसदिनको घटना सम्झँदा अहिले पनि उनको मुटु चोइटिन्छ । आँखाबाट बलिन्द्रधारा आँसु चुहिन थाल्छन् ।

० ० ०

दायाँ खुट्टामा गोली लागेका अर्जुनलाई पहिले झुन्ड्याउँदै, त्यसपछि मोटरसाइकलमा राखेर महाकाली अञ्चल अस्पताल पुर्‍याइयो । अत्यधिक रक्तश्रावका कारण नाडीको घड्कन धिमा भइसकेको थियो । अर्जुनको अवस्था देख्नासाथ चिकित्सक पनि आत्तिए र उनलाई तत्कालै काठमाडौं ‘रेफर’ गरिहाले ।

“गोली, बारुदको बीचबाट मेरो छोरोलाई आन्दोलनकारीले उद्धार गरेर अस्पताल पुर्‍याए, नत्र त यही ‘मूढो’ पनि देख्न पाउन्नथें,” उनको आँखामा कृतज्ञ भाव छाउँछ ।

अस्पताल त पुर्‍याइयो तर छोराको मुख हेर्न पाइनन् उनले । गोलीले आफ्नै मुटु छेडेजस्तो, खुट्टा शरीरबाट अलग्गिएजस्तो पीडाबोध भयो । पक्षघात भएझैं भयो, शरीर ।

झन्डै एक सातापछि त्रिवि शिक्षण अस्पताल परिसरभित्रको मनमोहन कार्डियोलोजीमा छोरासँग भेट भयो उनको । “न बोल्छ न हाँस्छ । न त खान नै सक्छ, होस नै आएको थिएन, कसरी बज्र हाने मलाई बाबु !” शोकविह्वल हुँदै त्यो पल सम्झिन्छिन् उनी ।

काठमाडौं ल्याइएको छ, बिस्तारै बोल्ला नि त ! आफैंलाई सम्झाइन् उनले ।

तर, नियतिको खेला यतिमात्रै भइदिएको भए उनी सहन्थिन् । फेरि चिकित्सकले भन्न थाले, “खुट्टा निकै बिग्रिइसक्यो । घाउ फैलिएर माथि नै पुगिसक्यो । यसलाई राखिरहने हो भने छोरा नै गुमाउनुपर्छ ।”

हेर आपत् । एकातिर छोराको होस आएको छैन । ‘आमाऽऽऽ’ शब्द सुन्न कान प्रतीक्षारत छन् ।

चिकित्सक भन्छन्, “खुट्टा काट्नुपर्छ !”

“छोरा गुमाउनुभन्दा खुट्टा गुमाउनु निको !” उनले मुटु ममताले बाँधिन् । चिकित्सकले खुट्टा अलग्याइदिए ।

उनले सोचेकी रहिछन्— खुट्टा काटेपछि छोराको स्वर फर्किएला । उसले ‘आमा’ भनेर बोलाउला ।

खुट्टा काटेको पनि ६ महिना बितिसकेको छ । तर, छोराको आवाज अझै कोमाबाट फर्किएको छैन ।

० ० ०

“निर्मला पन्तको हत्यारा पत्ता लागेका दिन मेरो छोरो बोल्छ,” करिब ६ महिनाअघि भेट्दा यसो भन्थिन्, शिवकला ।

८ महिनाको अन्तरालमा निर्मला पन्त प्रकरणको गाँठो झन् जेलिँदै गयो । घटनाको अध्ययन–अनुसन्धानमा प्रहरी कुहिरोको काग बनेको छ । अपराधीको छेउसम्म पुगेको छैन । घटनालाई जासुसी उपन्यासजत्तिकै बडो रहस्यमयी बनाइँदै छ । यस्तो लाग्छ– निर्मलाको हत्यारा भेटिनु र अर्जुनको आवाज फर्किनु दुवै दुरूह कुरा हुन् ।

“मेरो जिउँदो छोरोले त न्याय पाएको छैन, मारिइसकेकी निर्मलाले के न्याय पाउलिन् र ?” बाक्लो उच्छवास छाड्दै निराशा व्यक्त गर्छिन्, शिवकला ।

निर्मलाको न्यायका निम्ति चर्किंदै गर्दा शिवकलालाई भेट्न आउनेहरू बाक्लै थिए । शून्यप्रायः छ न्युरो वार्डको ३१५ नम्बर क्याबिन अहिले । अस्पतालको विस्तारामा एक्लै ताडित छिन् । सात महिना सात युगसरह लामो भएको छ । दिउँसो त जसोतसो बिताउँछिन्, रात परेपछि भयानक ऐंठन हुन्छ । छोराको बचेका दिनहरूले अभिघात गरिरहन्छन् ।

हत्यारा, बलात्कारी समाजमा खुल्लमखुला फणा उठाएर हिँडिरहँदा अर्जुन अस्पतालको शय्यामा छन् । इन्जिनियरिङ पढ्ने सपना आफूसँगै कोमामा अलपत्र छ । खोला सुसाएजस्तो स्याइँय.. घाँटी त बज्छ तर मृगतृष्णा बनेको छ, आवाज ।

“अपराधी छाती फुलाएर हिँड्ने, सजाय मेरो छोराले पाउने ? कस्तो शासन हो सरकार ?” छातीमा पीडाको राँको बलेपछि प्रश्न गर्छिन्, शिवकला ।

० ० ०

निर्मलाकै न्यायका निम्ती सडकमा निस्कँदा गोली खाए अर्जुनले । सँगै गोली दागिएका शन्नी खुनाको प्राणपखेरु उड्यो । बरु उनले सुख पाए । अधमरो अर्जुनले गोलीको असर जीवनभर बोकेर बसिरहनुपर्ने भयो ।

न्यायका लागि आवाज उठाउँदा गोली दागिएकाले शुरूमा त त्यति दुःखी थिइनन्, शिवकला । निर्मलाका लागि सिंगो देश एकजुट भयो । एकमुख लागेर न्यायको आवाज उठायो । तर, अस्पतालको शय्यामा अलपत्र अर्जुनका पक्षमा कसैले एकशब्द उच्चारण नगर्दा उनको चित्त कुँडिएको रहेछ । त्यसैले त आउने–जानेहरूलाई उनी गुनासो पोख्छिन्, “अरूले त बोलिदिएनन्, बोलिदिएनन्, निर्मलाकी आमाले बोलिदिनुपर्ने नि !”

त्रिवि शिक्षण अस्पतालमा भर्ना गर्दा सरकारी प्रतिनिधिहरूले विदेशमै उपचार गर्न लैजाने प्रतिबद्धता जनाएका थिए । खुट्टाको घाउ निको भएपछि प्रतिबद्धता पूरा गर्लान् भनेर शुरूमा त उनले मुख खोलिनन् । सात महिनासम्म थप उपचारको बन्दोवस्त नमिलाएकाले उनको धैर्यको बाँध टुँटेको छ ।

“विदेश भनेको मनमोहन कार्डियोलोजीबाट न्युरो वार्डमा सार्नु हो ?” सरकारलाई प्रश्न गर्छिन् उनी ।

त्रिवि शिक्षण अस्पतालको शय्यामा जति दिन राखे पनि अर्जुनको जीवनमा ‘मिराकल’ हुँदैन । न उनी ह्विलचेयरको सहारामा ओहोरदोहोर नै गर्न सक्छन् । कुनै थेरापीले पनि उनलाई त्राण दिनेवाला छैन । अस्पताल राखे पनि अन्यत्र राखे पनि उनको नियति ‘मूढोवत्’ पल्टिइरहनु नै हो । र त, गृहप्रशासनले पनि शिवकलालाई अर्जुनलाई घरै लैजान सुझाइरहेको छ– अस्पताल प्रशासनमार्फत । केही दिनअघि शिवकलालाई गृहमन्त्रालयका अधिकारीले मुखै फोरेर भने, “टिचिङ अस्पताल कतिन्जेल बस्ने रहर छ ? वरियात आएको हो कि क्या हो ?”

उनी सरकारका अधिकारीहरूलाई सुन्ने गरी जवाफ दिन चाहन्छिन्, “मेरो छोरो भीरबाट लडेर कोमामा पुगेको होइन । न बलात्कार, हत्या गर्दा नै सरकारको कारबाही भेटेको हो । न्यायका लागि आन्दोलनमा जाँदा गोली हानेर कोमामा पुर्‍याउनेले नै उसको हेरविचार गर्नुपर्छ ।”

कोमाबाट केही बौरिएका छन् अर्जुन् तर उनको अनौठो (अ)प्रिय चर्तिकलाले आजित छिन् शिवमाया ।

अर्धमूच्र्छामै कपाल लुछिदिने, लुगाफाटो च्यादिने आदि क्रियाकलाप गर्दा शिवकलालाई सम्हाल्नै मुस्किल भएको छ ।

“यस्तो विक्षिप्त हालतको छोरोलाई लिएर म घर कसरी जानू ? बरु सरकारले हामी आमाछोरालाई गोली हानेर मार्दिए हुन्छ,” हारमान्नु हुँदै सुनाउँछिन् उनी ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC