site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पहिरो
Sarbottam CementSarbottam Cement

— जगदीश घिमिरे


साने यो गाउँको औसत जन हो । अरूजस्तै उसले बाबु मरेपछि भाइबन्डा हुँदा केही धन पायो, केही ऋण । धन जिन्सी पायो, ऋण नगदी । त्यसबाहेक केही सासका धन चौपाया पायो र केही अचल— ढुंगामाटाको सम्पत्ति पायो । नगदी ऋणमा तिरेर कहिल्यै नसकिने, साउँको ब्याज र ब्याजको स्याजसमेत निचोरेर लिने कडा साहू पायो ।

उसको घर यस गाउँको औसत घर हो । १५ हात लामो ९ हात गज भएको । खरको छानु । बाहिरी दलान । दलानमा जाँतो । यो जाँतो प्रत्येक दिन घुमाउन ठूलो भाग्य चाहिन्छ । पालीमा ढिकी । यो ढिकी सधैं कुटाउन झन् ठूलो भाग्य चाहिन्छ । घरपछाडि गोठ । एक हल गोरू । एउटा थारो, एउटा ब्याउने गाई । एउटा पाडी । खोरमा गोडा चारेक बाख्रा, पाठा । सासको धनमा दुइटा पोथी र चल्ला पनि थिए । उसले बाबुको घरबारी रोज्यो । घर छोडेबापत उसको दाजुले एउटा पाखो बारी बढी पायो । गाउँले दाजुभाइले पञ्चायत गरेर उसलाई र उसको दाजुलाई एक रत्ती पनि घटी नपारेर तिल घोटेर मास फोरेर बाबुको सम्पत्तिको दुई फ्याक अंशबन्डा गरिदिएका थिए । अंशबन्डा भएको पनि १२ वर्ष हुन लागेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

उसको परिवार यस गाउँको औसत परिवार हो । एउटी स्वास्नी हरेक दुई वर्षमा सुत्केरी हुन्छे । उसले घरधन्दा गर्दा वा वनपात गर्दा वा मेलामा काम गर्दा जहिले पनि सामान्यतया भुँडीभित्र एउटा, छाती चुस्ने एउटा, पिठ्युँमा बर्कोले बेरिएर एउटा, खानेकुराको कल गर्दै टुकुटुकु हिँड्ने एउटा र काम सघाउने एउटा हुन्थेहुन्थे । जेठो छोरो लाहुर जान हिँडेको यो मंसिरमा तीन वर्ष हुन्छ । त्यसमुनिको १४ पुगेर १५ लागेकी छोरी एकाएक बेपत्ता भएको भर्खर ६ महिना भो । कतै पोइल गएको पनि थाहा भएको छैन । गाउँलेहरू वेश्यालयमा बिक्री गई भन्ने खासखुस गर्छन् । साने पत्याउन तयार छैन ।

सानेको दाजु ठूले पनि सानेजस्तै एक औसत जन थियो । अंशबन्डाको लगत्तै पछि अंशमा पाएको अचल र चौपाया बेचबिखन गरेर उसले डाँडो काट्यो । जाने बेलामा भनेको थियो, “यो गाउँमा पितापुर्खाको पालादेखि बसेर एक गाँस खान र एक झुम्रो लाउन कहिल्यै पुगेन । अब मधेस पसिने नै भइयो । कि त गरी खाला ! कि त मरी जाला !”

Global Ime bank

उसको गाउँ एउटा औसत गाउँ हो । पहाडको ठाउँमा ८–१० घर भयो भने एउटा गाउँ भइहाल्छ । त्यसमाथि यो गाउँ बितेका ३०–४० वर्षदेखि जस्ताको तस्तै छ । मान्छे घटेका छन्, बढेका छैनन् । घर पनि घटेका छन्, बढेका छैनन् । मान्छे जन्मेका हुन् तर यो गाउँमा टिकेनन् । घर बढाउन ठाउँ छैन । उनै ८–१० घर ! तिनले चर्चेको आँगन, मटान, गोठ, कटेरा भकारा र तिनका १०–१२ वटा घरबारीहरू । जग्गा लाबर (रबर– सम्पा.) भए तन्काउँथे होलान् । जग्गा तन्काउन सकेनन् । भएको जग्गाले खान पुगेन । मान्छे गाउँ छोडेर गए । कोही मधेसको औलो खान गए । कोही स्वराष्ट्र वा मित्रराष्ट्रमा भाँडा माझ्न, सेवक वा द्वारपाल बन्न गए । कोही परममित्र राष्ट्रहरूका लडाइँमा बलिका बोका हुन गए । केही तरूनीहरू भन्सार कर बिक्रीकर छलेर वेश्यागृहमा भर्ती हुन गए । कोही कहीँ गए । कोही कहीँ गए । यो गाऊँ उस्ताको उस्तै रह्यो । यहाँ अधिकांश अशक्त, बूढाबुढी, सुत्केरीमात्र बाँकी रहे ।

गाउँ दक्षिण फर्केको रातोमाटा डाँडामा बसेको छ । गाउँको पूर्व र पश्चिम दुवैपट्टि खोल्सामा विशाल पहिराहरू छन् । त्यहाँ रातो माटो बगिसकेर कमेरे माटो निस्केको छ । ५० वर्ष अघिसम्म देख्नेले त्यहाँ वन थियो र पहिरोको कुनै सम्भावना थिएन भन्छन् । बितेका ३०¬–४० वर्षमा ती पहिराहरूबाट लाखौं, करोडौँ मुरी माटो बगेर गयो होला । खोल्सामा त पहारा निस्किसक्यो, त्यसैले पहिरो फैलिँदै गएको छ— मट्याइलो पाखो खोज्दै गएको छ । यसैगरी बर्सेनि पहिरो जाने हो भने चाँडै यो गाउँ नै बगाउला जस्तो छ । गाउँलेहरू यस कुराले ज्यादै चिन्तित छन् । तर, गाउँमुनि देवीथान भएकोले र देवीथान नबगी गाउँ बग्न नसक्ने हुनाले र देवीदेउताको सत्ले गर्दा देवीदेउताको थानमा हम्मेसी दैवीप्रकोप हुँदैन भन्ने विश्वास हुनाले गाउँलेहरू यो गाउँ बगिहाल्छ भन्ने ठान्दैनन् । गाउँको सिरानमा फुंग उडेको पाखो छ । गाउँको पुछारमा देवीथानतिर पनेरो छ । पनेरो सुक्छ भन्ने डरले बडो यत्नसाथ जोगाएको सानो चरन वन छ । देवीको डरले त्यो वन नमासिएको हुन सक्छ । परबाट देख्दा भीरबाहेक यो गाउँ राम्रो देखिन्छ । सानो वन, वनमाथि रातो माटोले लिपेका राता र कमेरोले लिपेका सेता घरहरू ।

यो जिल्ला यस देशको औसत पहाडी जिल्ला हो । यस जिल्लामा केही छ भने त्यो हो पहाड । पहाडैपहाड ! ती पहाड पनि केवल औसत स्तरका भएकाले तिनको कुनै विशेषता छैन । अतः त्यहाँ न विदेशी पर्यटक लोभिन्छन् न तिनको अनुदान ! जिल्लामा धेरैजसो बानर लड्ने भीरपाखा छन् । तिनै भीरपाखामा मकै कोदोको खेतीको भरमा जिल्लाबासी सास फेर्छन् । अधिकांश पाखाहरू ज्यादै रूखा छन् । तर, बर्खामा प्रशस्त भल बाढी र पहिरो जान्छ । टाढा भनौं भने राजधानीबाट २०–२५ कोस मात्र पर हो । नजिक भनौं भने हिँडेर जानुपर्छ, तीनदेखि पाँच–सात दिनसम्म लाग्छ । बर्खा मासमा आवतजावत बन्दजस्तै हुन्छ । हिउँदमा रित्ता, हिँड्न सक्ने दुई दिनमा पनि पुग्छन् । भरिया सात दिन लगाउँछन् ।

यस भेगको औसत देश हो यो । यससँग दुई विशेषता छन्— एक दारिद्रय र अर्को हिमालय । विदेशीहरू हिमालको प्रशंसा गर्दछन्, चित्र उतार्दछन् र अनुदान दिन्छन् । देशबासीहरू त्यसको जयजयकार गर्छन् । विदेशीहरू देशबासीको पनि तारिफ गर्दछन् र बक्सिस दिन्छन् । देशबासीहरू त्यसको पनि जयजयकार गर्दछन् । विदेशीहरू तन्नेरीहरूलाई सैन्य वा सेवक बनाउन रूचाउँछन् । देशबासीहरू त्यसको प्रशंसा पनि गर्दछन् । विदेशीहरू तरूनीहरूलाई वेश्या वा सेविका बनाउन मन पराउँछन् । देशबासीहरू त्यसको पनि सराहना गर्दछन् । विदेशीहरू बालकहरूलाई धर्मपुत्र वा धर्मपुत्री पनि बनाउँदछन् । देशबासीहरू त्यो पनि रूचाउँछन् । भनिन्छ, देश सुन्दर–शान्त–विशाल छ । बेलाबखत असुन्दर–अशान्त–अविशाल भए पनि त्यसो भनिहालिँदैन । भनिहाल्नु मुनासिब हुँदैन । देशका देशी–विदेशी व्यापारीले प्रत्येक वर्ष चोरी गरेर वा हक्काहाकी अन्न बाहि¥याउँछन् । भनिन्छ, सहकालै सहकाल छ । सहकालको वर्षा छ । समृद्धि छ । समृद्धिको वर्षा छ । उन्नति नै उन्नति छ । उन्नतिको वर्षा छ । शान्ति नै शान्ति छ । शान्तिको वर्षा छ । त्यसपछि अनिकालको नाममा अनुदानमा अन्न भित्रिन्छ । अनिकालपीडित क्षेत्रमा भोकले प्याकप्याक गर्न लागेका जनतामा त्यो अन्न ज्यालाबनीको साटो बाँडिन्छ । त्यसमा ‘लड्डू लडाइँ झिल्ली झराइ’ पनि हुन्छ । त्यो झिल्लीमा दामासाही लाग्छ । दामासाहीमा सामेल नहुने, ज्यालामा नमिल्ने डुम को हुन्छ ? अनिकालमा सहकाल सहकालमा अनिकाल हुन्छ । सह पनि सकिन्छ, अनि पनि सकिन्छ, केवल काल बाँकी हुन्छ । ऐजनबमोजिम कारोबार चल्दछ । लोकव्यवहार चल्दछ ।

औसत देशको, औसत जिल्लाको, औसत गाउँको, औसत घरको, औसत जनको, औसत कथा यस्तै हुन्छ ।

यस गाउँको सूर्योदय अभावमा हुन्छ । सूर्यास्त अनिकालमा हुन्छ । दशैंमा पनि यहाँ जिउबाहिर नयाँ लुगा र जिउभित्र पेटभरि अन्न जुर्दैन । पेटभरि खान पाउन जिल्लाका ठूलाबडाको चाडपर्व, बिहावारी, भोजभतेर हुनुपर्दछ । जस्तो गाउँ, उस्तै गाउँ नै गाउँले बनेको जिल्ला ! जिल्लामा खान नपुग्ने जनता हुन्छन् । खान पुग्ने ठालु । लाउनसमेत पुग्यो भने नेता । पिउन पनि पुग्यो भने त भाम नेता । उसको पहुँच सोझै, ठ्याम्मै, ठाउँमै हुन्छ । उसले जिल्ला हाँक्छ । जिल्ला नहाँके पनि गाउँ हाँक्छ । गाउँ नहाँके पनि गाउँका गरिब हाँक्छ ।

वर्षात् नहुन्जेल सिन्धुलीमाडीसम्म मोटर चल्छ । अनुदानमा उपलब्ध अन्न त्यहाँसम्म मोटर चढेर आउँछ । त्यसपछि पनि डाँडाकाँडा चढ्नु पर्दा त्यस अन्नले मान्छेको बुई माग्छ । यस भेकका अकालपीडितहरू ज्यालामा त्यही चामल थाप्ने गरी त्यो चामल बोकेर ठेगान–ठेगानमा पु¥याउन मारामार गर्दछन् । सदरमुकाम रामेछाप त्यस्तै एउटा ठेगान हो । रामेछाप अन्न पु¥याउनको ताँती बेतिनीको उकालोमा देखिन्छ । मध्यान्हको पाहारमा चुइँचुइँ चाकबाट पसिना बगाएर गाउँका र जिल्लाका अरूसरहै अन्न ओसार्नेमध्ये साने पनि एक हो । बेलाबेला त्यो ताँती घट्छ । बेलाबेला बढ्छ । तर, कायम नै रहन्छ । संसारका लागि वर्ष बित्छ र नयाँ वर्ष आउँछ । तर, त्यस गाउँको, त्यस जिल्लाको एक वर्ष ‘गुजरान’ हुन्छ वा एक वर्ष ‘धानिन्छ’ । यसरी हरेक दुई वर्ष बाँच्न सफल भएपछि सानेकी जहान सानीले परिवारमा एउटा नयाँ सदस्य थप्छे । यसपालि पनि भर्खरै एउटा आत्मा थपेकी छे ।

यसपालि साउन लागुन्जेलसम्म उस्तो पानी परेन । साउनको पहिलो सातादेखि फाटफुट झरी पर्न लाग्यो । दोस्रो साता गलेर झरी प¥यो । तल बेंसीमा रोपाइँ हुन थाल्यो । असारे भाका गुञ्जिन थाल्यो । साउनको चौथो साता आएर घनघोर झरी प¥यो । दैनिक कारोबार ठप्प भयो । गाईवस्तु किलाका किलामा नै रहे । बाख्रा खोर । मान्छेले घरबाट बाहिर निस्केर घाँसस्याउला ल्याउन सकेनन् । छाना ठाउँ–ठाउँमा चुहिएर बसिनसक्नु भयो । ठाउँ–ठाउँमा भल पसेर बसिनसक्नु भयो । कहिल्यै नरसाउने कान्लाहरूमा मूल फुटे । भोका गाईवस्तु चिसो र भिजाइसमेतले गर्दा मरणाशन्न भए । मान्छेहरू त जसोतसो एक छाकसम्म खोले भए पनि खाएर पटुका कसेर सास धान्दै थिए, आगो सल्काउने ठाउँसम्म ओभानु रहन छाड्यो । जसोतसो आगो सल्काउने ठाउँ ओभानो पाए पनि नभिजेको दाउरा बाँकी रहेनन् । झुलो ओसिएर सल्कन छोड्यो । वल्लोपल्लो घरबाट आगो मागेर ल्याउन पनि सम्भव भएन । सानी महिना दिनकी सुत्केरी छ । ठूला भएका छोराछोरी छैनन् । सानाले सक्दैनन् । घरमा गर्ने भन्ने उही एकजना साने हो । घर हेरोस् कि, बालबच्चा हेरोस् कि, गाईवस्तु हेरोस् ?

“के यस्तो झरी छि...,” सानेले भन्यो ।

“गाईवस्तु पनि भोकै मर्ने भए ! आफू पनि भोकै मरिने भो,” सानीले भनी ।

“भोकै त के मरिएला ज्यालामा ल्याएको चामल छउन्जेल,” सानेले भन्यो, “तर पहिरोको डर छ । पहिरोले किच्छ कि ?”

चार दिनको लगातार झरीपछि पानी थामियो । गाउँलेहरू घरबाहिर निस्केर स्थितिको मूल्यांकन गर्न लागे । पूर्वतिर कति पहिरो गयो । पश्चिमतिर कति पहिरो गयो । वल्लोपल्लो गाउँमा कति कान्ला लडे । कति बाटा पहिरिए । कोशीमा कत्रो बाढी आयो । अड्सठ्ठी सालको बाढीलाई जित्यो÷जितेन, बयासी सालभन्दा कति सानो वा ठूलो भल थियो । सन्तानब्बे सालभन्दा के हिसाबमा फरक थियो ? सात साल, एघार साल, सत्ताईस साल, सैंतीस सालका जिल्ला र देशमा आएका ठूल्ठूला भलबाढी, पहिरो र उथलपुथलभन्दा के फरक थियो ? खोला कोशीको मूल फुटिसक्यो कि फुट्न बाँकी छ ? महाप्रलय नै हुने हो कि यत्तिकैमा साम्य हुने हो ?

चार दिन उस्तो पानी परेन तर आकाश सफा पनि भएन । धुम्म भइरह्यो । सारसुर पानी परिरह्यो । तर, पाँचौं दिन बिहान कुखुराको भाले बास्दादेखि पानी पर्न थालेको पूरै २४ घण्टापछि मात्र थामियो । गाउँको ८० वर्षको गोरे कामीले घोषणा ग¥यो, “यत्रो कडा पानी परेको मलाई थाहा थिएन ।”

तर, हरेक वर्ष–दुई वर्षमा ऊ यस्तो घोषणा गरी नै रहन्थ्यो । पानी पर्ने क्रममा मात्र होइन कि अरू कुनै पनि कुरामा समेत ।

२४ घण्टाको दर्के झरीपछि आकाश छ्यांग उघ्रियो । टड्कारो घाम लागे । सानेले भन्यो, “लच्छिन ठीक छैन ।”

यसरी लामो झरीपछि चर्को घाम लाग्यो भने पहिरो जान्छ । लामो गुम्सिएको शान्तिपछि क्रान्ति विष्फोट भएजस्तो ।

सानीले भनी, “हे दैव ! उघ्रन त उघ्रियो ।”

साने आँगन, करासाका ठाउँ–ठाउँमा कुलो काट्न थाल्छ । गाईवस्तु बाहिर सार्नु प¥यो । बल्ल राम्ररी घामको मुख देख्न पाउने भए । सानी पकाउने मेलोमा लाग्छे । केटाकेटीहरू घाममा बाहिर निस्कन्छन् । सक्नेले बाबुलाई सघाउन लाग्छन् । मध्यान्ह हुन लागेको छ । घाम चरक्क चर्किसकेको हुन्छ । एकाएक भयंकर आवाज आउँछ । धर्ती थरर्र कामेको जस्तो लाग्छ । ‘भैंचालो’ भनेर कराउँदै सानी बाहिर निस्किन्छे । साने भन्छ, “लौ भैंचालो गयो । पानी परेकै बेलामा धेरैजसो भैंचालो जान्छ ।”

सानीले बारीको कान्लो देखाउँदै भन्छे, “ऊ, बारीको कान्लो लडेछ ! कहाँको भैंचालो हुनु !”

साने कराउँछ, “बारी पैरियो ! लौ बारी पैरियो !”

सानै कराउँदै जान्छ । उसको अन्तःस्करणले बारीको कान्लामुनि घर हुने वीरेलाई बोलाउन चाहेको हो । उसलाई के थाहा– वीरेका जहान, पहिरोले पुरिनु लेखेकाहरू पुरिइसके, नपुरिनू भन्ने लेखेकाहरू बाँचे । सब टुंगिइसक्यो । हुने भइसक्यो । ऊ कराउँदै हुन्छ, “गुहार !! गुहार !! वीरे कान्छाको घर पैरोले पु¥यो ! गुहार !! गुहार !!”

त्यत्तिकैमा भयंकर आवाज फेरि दोहोरिन्छ । यसपालि त्यो आवाज झन् लामो समयसम्म आयो । आवाज केही फरक पनि थियो । गरङ रङ रङ रङ रङ रङ ग्वार्लाम्म ग्वार्लाम्म । भुइँ पनि लामो समयसम्म थर्कियो । सानेले वरिपरि हे¥यो— के लड्यो वा कता र कति पहिरियो भनेर पहिल्याउन । उसले देख्यो— उसको आफ्नै घर लडेछ । उसको मटान पनि लडेछ । मटानसँग करासो जोडिएको नरबहादुरको घर पनि लडेछ । उसले अरू केही लडेको देखेन । तर, आवाज आएको अनुसार त्यसभन्दा बढी लडेको हुनुपर्दछ । उसले केवल दुई शब्द बोल्यो, “हे दैव !”

भित्रका भित्रै भए । बाहिरका बाहिरै । ज–जसका जो–जो र जे–जे परे, मरे, गए । सिद्धिए । दैवको लीला यस्तै हुन्छ । सब एक निमेषमा समाप्त भयो ।

त्यस दिन साँझ नपरून्जेलसम्म ठाउँ–ठाउँमा घर, गोठ, कान्ला, बारी लड्नु पैरिनु भइरह्यो । त्यस रात त्यो गाउँका बासिन्दा कोही पनि घरभित्र सुतेनन् । उनीहरूलाई त्यो भैंचालो थियो कि पहिरो, छुट्याउन मुस्किल–मुस्किलै प¥यो । धेरैको विचारमा त्यो पहिरो नै थियो ।

त्यसपछि त्यो गाउँमा एउटा प्रयत्न रह्यो । पुरिएको ठाउँबाट मान्छे वा गाईवस्तुको लाश झिक्ने । तामाको गाग्रा खड्कुला हुनेले त्यसमा अन्न राखेको भए त्यो पनि झिक्न सकिन्छ, केही गहना गुरिया छ कदाचित् भने यो पनि पाइन्छ कि ?

वीरबहादुरको जहानका तीनजना पुरिएछन् । ऊ बाँचेछ । गाईवस्तु परेछन् ।

नरबहादुरकी ८० वर्षकी थला बसेकी आमा थलाको थलामा नै पुरिई ।

कालेका गाईवस्तु मात्र परेछन् ।

गोठको घरको एक पाखोमात्रै लड्यो । एउटा भैंसीको ढाड भाँचिएछ ।

अम्मरेको घर चिरा–चिरा भएर चर्केछ ।

लाहुरेको करेसो पहिरिएछ र घर धराप भएर पनि ठाडै छ ।

अन्तरेको घर भने केही भएन ।

डम्मरेको मटान भत्किँदा खोरका बाख्रा पुरिएछन् ।

तिलकेको एक महिनाको नाति पुरिएछ ।

सानीले भनी, “अब त बसैं जानै पर्ला ।”

सानेले भन्यो, “बसैं जाने बेलासम्म बाँचियो भने ।”

औसत कुरा हो । औसत मान्छेको कुरा ! औसत गाउँ पहिरोमा बग्यो । के भो त ? जिल्ला पहिरिएको छैन । मुलुक पहिरिएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC