site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तपाईं हाँस्नुस्, रोइदिने हामी छौं

(अ)प्रिय प्रधानमन्त्रीज्यू !

 

भन्नेले भन्छन्–– नाममा के छ र !

Prabhu Bank
Agni Group
NIC Asia

नाममा सबथोक छ । तपाईंका ३ वटा नाममा पनि सबथोक छ ।

गाउँतिर तपाईंलाई 'छविलाल' भन्छन् । तपाईंको नाममा हजारौं नेपालीको 'लाल' रगतको 'छवि' पोतिएको छ । मर्नेहरू त मरेर गए, बाँच्नेहरूको अनुहारबाट तपाईंको त्यो छवि कहिल्यै मेटिएन ।

Global Ime bank

गाउँबाट जंगल छिर्नुअघि मान्छेले तपाईंलाई 'पुष्पकमल' भनेर चिने । मैले देखेको छैन तर मान्छेहरू भन्छन्- कमल हिलोमा फुल्छ । तपाईं हिलोमा फुलेर हिलोमै मुर्झाउनुभो । हिलोमै अस्ताउनुभो । 

जंगल छिरेर तपाईं 'प्रचण्ड' बन्नुभो । 'प्रचण्ड' शब्दका अर्थ अनेक छन् । शब्दकोश भन्छ–– प्रचण्ड भनेको अत्यन्त उग्रता, तीव्रता, अत्यधिक गर्मी, भीषण, कठिन, कठोर, असह्य, भारी आदि हो ।

यसको सामान्य अर्थ हो–– तपाईं उग्र हुनुहुन्छ । तपाईंको मन कठोर छ । तपाईंको बोलीवचन सुन्दा मलाई असह्य हुन्छ । तपाईंले भीषण युद्ध लडेर हामीलाई दशकौं पछि पारिदिनुभयो । इच्छाशक्तिले नथेग्ने भारी बोकेर तपाईं बेलाबेला बर्बराइरहनुहुन्छ । तपाईंको नरसंहारले मुलुकलाई प्रचण्ड रापमा धकेल्यो । 

नाममा सबथोक हुन्छ ।

त्यसैले मेरो आँखामा तपाईंको छवि त्यति सुन्दर छैन । भलै तपाईं मजस्ता लाखौंको अनुहारमा समृद्धिको छवि कोर्न हिँडेको भन्नुहुन्थ्यो ।

तर, मलाई तपाईंको नाममा उति साह्रो रुचि र चासो छैन । मलाई तपाईंको काममा चासो छ । मलाई मात्रै होइन, तिनै लाखौंको चासो छ–– जसको अनुहारमा समृद्धिको छवि कोर्न तपाईंले हामीजस्तै हजारौंको छातीमा गोली, भाला र खुकुरीको बीउ रोप्नुभयो । भन्न त तपाईं त्यसलाई 'क्रान्ति' भनेर अर्थ्याउन खोज्नुहुन्छ । अनि म बेलाबेला हाँस्छु । हाँस्नु मानसिक स्वास्थ्यका लागि हितकर हो ।

हाँसेर मानसिक स्वास्थ्य ठीक होला/नहोला, त्यो पनि मेरो चासोको विषय होइन । मैले अचेल हाँस्न बिर्सिएको छु । हाँस्न खोज्दाखोज्दै काँस्छु र काँस्दाकाँस्दै भावन्नै भएर २ गिलास पानी खान्छु ।

त्यो पानी खाँदा म तपाईंलाई सम्झिन्छु ।

राति ११:२१ बजे तपाईंलाई यो चिठी लेखिरहँदा पल्लो घरकाले सुन्ने गरी म ख्वाङख्वाङ गर्दैछु । घर-अस्पताल-घरको धपेडीले श्रीमती ज्वरो आएर सुतेकी छ । उसलाई पानीपट्टी लगाउन छाडेर म तपाईंलाई सम्झिन्छु । मेलम्चीको पानी आउला र शरीरको यो धूलो पखालेर लैजाला ! यस्तै आशाले त बाँच्न सिकाएको छ ।

तर छाड्दिनुस् । यो तपाईंको चासोको विषय होइन । तपाईंको चासो अरुतिरै छ । त्यो 'अरुतिरै'को चासोले हामीप्रतिको चासो कता मुर्झायो कता ! 

तपाईंप्रति मेरो सम्मान छैन । सम्मान नहुनेहरूलाई म तपाईं भनेर सम्मान गर्न सक्दिनँ । तर, तपाईं देशको प्रधानमन्त्री हुनुहुन्छ । म मर्यादा नाघ्न सक्दिनँ ।

० ० ०

प्रचण्डज्यू ! तपाईंलाई प्रधानमन्त्री मानेर स्वीकार गर्नु मेरो बाध्यता हो । संसदीय प्रणालीको यही विद्रुप रूपले मलाई हम्मेसि खल्बल्याउँछ । तर, म तपाईंजस्तै बन्दुक भिरेर मान्छे मार्दै हिँड्दिनँ ।

किनकि, म मान्छे हुँ ।

तपाईं मैले चुनेको व्यक्ति होइन । तपाईंलाई सिरहाको क्षेत्र नं. ५ का मान्छेले बल्लबल्ल चुनेर पठाएका हुन् । कतिले भन्छन्–– कीर्तिपुरको चुनावी लडाइँमा भुइँमा पछारिएपछि तपाईंलाई उठाएर सीधा बनाउन सिरहामा जिताइयो । त्यसैले तपाईं सिरहा- ५ को मात्रै प्रधानमन्त्री हो ।

र, पनि तपाईंले बाँकी २३९ क्षेत्रका मान्छेलाई शासन गरिरहनुभएको छ ।

हाम्रो विडम्बना के भने हामीले आफ्नै नेता बनाएर पठाउन सक्दैनौं । तपाईंहरूले टीका लगाएर टिकट दिनुहुन्छ, अनि हामी तिनै टीकेहरूलाई चुन्नुपर्ने परिबन्धमा बाँधिन्छौं । तपाईंहरू अनेकको कृपामा टिकट पाउने उम्मेदवारहरू गधा नै किन नहोऊन्– हामीले मत हालेर तिनै गधालाई जिताउनुपर्छ ।

तर, समस्या के भने–– गधालाई धोएर गाई बनाउन सकिँदैन । पटक-पटक चुनावले धुँदा पनि हाम्रो देशका सबै दलहरू गधाको गधा नै रहिरहे, गाई बन्न सकेनन् ।

मेरो वश चल्थ्यो भने राष्ट्रिय जनावर गधा राख्थें, दशकौंदेखि उनैले देश चलाइरहेका छन् !

[यसबाट समस्त गधा प्रजातिले खेप्नुपरेको बेइज्जतिप्रति क्षमायाचना गर्दछु]

म चाहन्छु, मेरो मतले चुनिएको मेरो प्रधानमन्त्रीले शिर उठाएर मलाई शासन गरोस् !

म चाहन्छु, मेरो प्रधानमन्त्री मलाई शासन नगरोस्, मेरो साथी बनेर मेरो सुख-दु:ख बाँडोस् !

तपाईंका सवा ३ करोड साथीले भोगेको पीडा, बेथिति र दु:ख देख्दा म सधैं तपाईंलाई सम्झिन्छु ।

तपाईंहरूले प्रतिपादन गर्नुभएको भागबण्डे संसदीय प्रणालीको घिनलाग्दो खेलले हामीलाई सधैं प्रचण्ड तापमात्रै दियो, प्रकाश दिएन । तपाईंका त आफ्नै प्रकाश छन् । व्यवस्था यस्तै रहिरहे भोलिका प्रधानमन्त्री उनै हुन् ! किनकि नेपाल भन्ने देशको प्रधानमन्त्री बन्न चुनाव जितिराख्नु पर्दैन ! तपाईंहरू जस्ता केही मनकारीहरूको कृपा भए पुग्छ । अर्बौंको शिविर घोटाला काण्ड इतिहासबाटै नामेट गरिदिन्छु भन्ने हो भने तपाईंले भोलि दाङका किराना पसले हरिप्रसाद बञ्जाडेलाई सांसद बनाएर प्रधानमन्त्री या राष्ट्रपतिको उम्मेदवार ठड्याइदिनुहुन्छ ।

तपाईंलाई दु:ख लाग्ला तर म मेरा बालाई तपाईंहरूको यो खेलमा छिर्न दिन्नँ !

थाहा छ–– अस्ति फागुन १ गते तपाईंहरुले 'जनयुद्ध' दिवस भन्ने गरेको नरसंहार दिवस मनाइरहँदा मैले फेसबुकमा लेखेको थिएँ, "‪माओवादीले 'जनयुद्ध'को नाममा सोझा-साझा नेपाली माऱ्यो । त्यसपछि कहिल्यै माखो मारेन !"

यसको मुनि एकजना सज्जनले लेख्नुभयो, "भाग्यमानी रहेछौ तिमी छुटेछौ । फेरि अर्को जनयुद्ध सुरु हुने अवस्था आयो भने रोल नं. १ तिम्रै हुनेछ । किनकि यस्ता भाइरसको अन्त्य हुनु जरुरी थियो र छ !"

'प्रचण्डपथ'ले दीक्षित गरेका यस्ता सज्जनको अनुहार देख्दा म तपाईंलाई सम्झिन्छु ।

यो लेख पढेर फेरि पनि यस्तै प्रतिक्रिया आउनेछन् । ती सज्जनहरू मलाई एमाले, कांग्रेस, मसाल या अरु कुनै दलको प्रमाणित गर्न मरिमेटेर लाग्नेछन् । यिनैमध्ये एक दलले मलाई पुस्तैनी पुग्ने गरी खल्ती भरिदिएको लेख्नेछन् । कतिले 'सफाया' गर्नुपर्छ भन्नेछन् । 

'प्रचण्डपथ'मा हिँडेका ती सज्जनहरूको अनुहार देख्दा म तपाईंलाई सम्झिनेछु ।

प्रचण्डपथको डिजाइनमा कहाँनेर गल्ती गर्नुभयो र त्यो बाटैभरि कसरी यति ठूला भ्वाङ परे, कहिलेकाहीँ रिसोर्ट जाँदा समीक्षा गर्नुहोला । नत्र ती खाल्डामा परेर तपाईं हरेक क्षण लडिरहनुहुनेछ । जसरी मेलम्चीको पाइप बिच्छ्याउन खनिएको बाटो नपुर्दा हरेक दिन कैयौं सवारी लड्छन् । कति बाँच्छन्, कति मर्छन् । बाँच्ने केही 'भाग्यमानी' पात्रमध्ये दुईजना मेरै घरमा छन् ।

खुट्टा भाँचिएर उनीहरू रातदिन पीडाले छटपटाउँदा म तपाईंलाई सम्झिन्छु !

'प्रचण्डपथ' टेकेर शिखर चढें भन्नुहुन्थ्यो, हेर्नुस् त कति होचो हुनुभएछ !

० ० ०

तपाईंलाई हेक्का होला, यो देशमा अहिले ३ वटा सरकार छन्–– प्रचण्ड/देउवा सरकार, कर्मचारीहरूको सरकार र सांगठनिक/आपराधिक झुन्डहरूको सरकार ! हामी (अ)नागरिकहरू त भेडाबाख्रा हौं । तपाईंहरूमध्ये जसले जता लैजान्छ, उतै चर्न जान्छौं ! आलोपालो (सिन्डिकेट) प्रणालीअरुसार अहिले हाम्रो डोरी तपाईंको हातमा छ । केही महिनापछि देउवाले त्यही डोरीले लतारेर हामीलाई चराउन लैजानेछन् । अनि हामी घाँटीमा पट्टी बाँधेर उनकै तजबिजमा हिँड्नेछौं । उनले दिए खानेछौं, नदिए भोकभोकै उनकै पैतलामुनि शिर निहुराएर उभिनेछौं । आईजीपी बनाउने (करोडौंको) खेल चलिरहँदा पनि हामी टुलुटुलु हेरीबस्यौं ।

यस्तो देख्दा रगत भकभक उम्लिन्छ, कन्सिरी पड्केलाझैं तात्छन्, आँखा राता हुन्छन्, दाँत सिलौटाझैं पिसिन्छन् । अनि फेरि हामी ढुक्कले सुत्छौं ! देश तपाईंहरूले चलाइरहनुभएकै छ । तपाईंहरूले हामीलाई यसैगरी बाँच्न सिकाउनुभयो । हाम्रो जिन्दगी यसैउसै धकेलिएको छ ।

हामी बाँचेका छौं किनभने हामीलाई अहिलेसम्म कसैले मारिसकेको छैन ।

अनेक कष्टले बाँचेको यो अनुहार कहिलेकाहीँ ऐनामा हेर्दा म तपाईंलाई सम्झिन्छु !

तर, छाड्दिनुस् । यो पनि तपाईंको चासोको विषय होइन । तपाईंको चासो अरुतिरै छ–– ग्यास, चामल, तरकारी, मसला, धनियाँ, बाटो, धूवाँ, धूलोभन्दा धेरै टाढा । हाम्रो जीवन त यिनै कुरामा चर्खेपिङझैं घुम्दाघुम्दा बितिजान्छ, ठूला-ठूला कुरा सोच्न तपाईंहरू हुनुहुन्छ । र, त हामी ढुक्कले निदाउन पाएका छौं । र, त राति चामल, धनियाँको सपना देख्न पाएका छौं ! ढुक्कले सपना देख्न पाएका छौं किनकि राति मेलम्चीको धूलोले हामीलाई निस्सासिएर मार्दैन ! के गर्नू–– हामी मध्यमवर्गीयहरूको सम्पूर्ण जीवन यस्तै झिनामसिना सपना देख्दैमा बित्छ । कति सपना राति देख्छौं, कति सपना दिउँसो ।

तपाईंलाई थाहा छ–– अचेल हामीले फेर्ने सासमा २% अक्सिजन, ७८% राजनीति, १०% मेलम्ची र १०% वर्षौं पुराना थोत्रा गाडी मिसिएका छन् । तर, तपाईंहरूले फेर्ने सासमा मेलम्ची र गाडी मिसिँदैन । नाकबाट फोक्सोसम्म मेलम्ची र थोत्रा गाडी नछिरून् भनेर भनेर हामी उठेदेखि नसुत्दासम्म मुखभरि मास्क लगाउँछौं । तपाईंहरू मार्क्सका सिद्धान्त पढेर 'मार्क्सवादी' बन्नुभयो, हामी मेलम्ची र थोत्रा गाडी छल्न 'मास्कवादी' भयौं । काँधमा झोला बोकेजस्तै अक्सिजनका सिलिन्डर बोकेर हिँड्न सक्दैनौं । जसोतसो हामी त हिँडौंला, स-साना नानीहरू कसरी हिँड्लान् !?!

बाटाभरि मुख ढाकेर निस्साँसिँदै हिँड्ने करदाताहरू देख्दा म तपाईंलाई सम्झिन्छु !

क्यान्सर, ब्रोङ्काइटिस र फोक्सोको रोगले ख्याउटिएका अनुहार देख्दा म तपाईंलाई सम्झिन्छु ।

तपाईंहरू त 'वाद'को पुच्छर समातेर यो भीमकाय मृत्युसागर तैरिनुहुन्छ । तपाईं 'माओवाद' समातेर बाँच्नुहोला, 'जनवाद' समाएर केपी र झलनाथहरू बाँच्लान्, 'समाजवाद' समाएर थुप्रै खुमबहादुर र देउवाहरू बाँच्लान् या मधेसवाद समातेर महतो र यादवहरू बाँच्लान्–– हातमा कुनै पुच्छर नहुने हामी कामकाजीहरू त यही सागरमा डुबेर मर्छौं ।

डुबेर मर्ने बेला म तपाईंलाई सम्झिनेछु !

० ० ०

मन न हो–– अनेक प्रश्न उब्जिरहन्छन् । हामी हरेकसँग प्रश्न छन् । तर, प्रश्न गर्नुअघि सुन्न कोही चाहँदैन । तपाईं त सुनिदिनुस् न है !

–– तपाईं कहिलेकाहीँ असाध्यै भावुक भएर रुनुहुन्छ रे ! त्यसरी रुँदा मनभरिको मैला पखालिएन कहिल्यै ?

–– आफ्नो र परिवारको लागि बाँचें, सम्पत्ति थुपारें । अब देशका लागि बाँच्छु भन्ने भावना जाग्दैन होला कहिल्यै ?

–– 'सर्वहारा जनताको अधिकार स्थापित गर्न' लड्दालड्दै तपाईं आफैं 'सर्वआहारावादी' भएको हेक्का राख्नुभयो कहिल्यै ?

–– बस, माइक्रो र ट्याक्सी चढ्दा हामीले खेप्ने मानसिक र शारीरिक यातना भोग्नुभयो कहिल्यै ?

–– उपचार खर्च नभएर अस्पतालबाट फर्काइँदा तपाईंको जस्तै नुनिलो आँसु झार्ने निर्दोष अनुहारको पीडा पढ्नुभयो कहिल्यै ? 

–– दाल, चामल किन्न जाँदा पसलेले लिएको मनपरी मूल्य आफ्नै हातले तिर्नुभयो कहिल्यै ?

–– हामीजस्तै निरीह उपभोक्ता भएर पसलबाट चामल या तेल किन्नुभयो कहिल्यै ?

–– अझै पनि झ्याल गभर्नेन्समा रमाइरहेका हाम्रा सरकारी अड्डा चहार्नुभयो कहिल्यै ?

–– र्‍याल चुहाउँदै हामीलाई ठग्ने स्यालहरूका कारखाना घुम्नुभयो कहिल्यै ?

–– माओवादी हुँदै कमाओवादी बनेकोमा आफूप्रति घृणा जागेन कहिल्यै ?

–– विमानस्थलभित्र हुने अनेकौं चलखेल र बेथिति देख्दा मन कटक्क काटेन कहिल्यै ?

–– मालपोत, यातायात जस्ता कार्यालयहरू सरकारी कर्मचारीले कम, दलालले बढी चल्छन् भन्ने खबर पढ्नुभएको छ कहिल्यै ?

 

मलाई विश्वास छ, यी प्रश्न सुनेर तपाईंलाई कुनै असर पर्नेछैन । तपाईं त दक्षिणतिरबाट आउने नुनै नुनले पुरिनुभएको छ । त्यही नुन धेरै खाएर बेलाबेला तपाईंलाई ब्लडप्रेसरले सताइरहन्छ र बर्बराइरहनुहुन्छ । त्यही भएर नुनिलो आँसु धेरै बग्छ तपाईंको ।

मान्छेहरू भन्छन्–– हरेक सामान्य मान्छेको एउटा जिब्रो हुन्छ, हरेक नेताका दुइटा हुन्छन् । तर, कमरेड प्रचण्डका शरीरमा हाडभन्दा बढी जिब्रा छन् !

तपाईंले त 'म प्रचण्ड हुँ' भन्नुभयो पनि म अचेल तीन पटक सोच्छु । मेरो मनमा कति धेरै अविश्वास भरिदिनुभयो तपाईंले !

यस्तो सुन्दा र पढ्दा मुर्मुरिएर हाँस्नुहुन्छ होला । हाँस्नु स्वास्थ्यका लागि फलदायी छ । आफैं नहाँसे सिंगो देशलाई कसरी हँसाउन सक्नुहुन्छ र ! तपाईं धेरै हाँस्नुहोला–– रोइदिने त सवा ३ करोड हामी छँदैछौं !

 

Twitter– @lendaai

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७३  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC