काठमाडौं । यही चैत ८ गतेदेखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा पुष्प मेला आयोजना हुने भएको छ । फ्लोरिकल्चर एशोसिएशन अफ नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पुष्प मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
पुष्प व्यवसायको अन्तर्राष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस वर्ष पनि मेला आयोजना गर्न लागिएको एशोसिएशनका उपाध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिए । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सो मेलामा ४८ वटा स्टल रहनेछन् ।
आयोजक समितिका अनुसार मेलामा उत्कृष्ट मौसमी फूल, फूलको बिरुवा र स्टललाई नगदसहित पुरस्कार प्रदान गरिनेछ । ३ दिनसम्म चल्ने मेलामा करिब ५० हजारले अवलोकन गर्ने तथा ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको पनि संयोजक खड्काले बताए ।