site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रजातन्त्रको मृत्यु कसरी हुन्छ ? 

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामाले सन् २०१८ मा पढेकामध्ये आफ्नो जीवनमा प्रभाव पारेका केही पुस्तकको सूचीमा ‘हाउ डेमोक्रेसीज् डाइ ?’ अर्थात् ‘प्रजातन्त्रको मृत्यु कसरी हुन्छ ?’ पनि समावेश गरेका छन् ।  हालसम्मको सर्वाधिक उन्नत व्यवस्था भनेको प्रजातन्त्र नै हो । संसारका प्रायः सबै देशमा प्रजातान्त्रिक शासन व्यवस्था छ । तर, बेलाबखतमा शासकीय कोपभाजनमा परेको कारण यसको मर्ने र जिउने प्रक्रिया भने चलिरहेको छ । यो पुस्तक त्यसैको फेहरिस्त हो । 

पुस्तकमा उल्लेख भएका मूलभूत मान्यता, विचार, घटना र शासकीय मनोवृत्ति पाठकलाई रुचिकर होला भन्ने ठानेर यो लेख तयार गरेको हुँ ।  

वोस्टनस्थित हार्वर्ड विश्वविद्यालयका प्राध्यापक द्वय स्टिभन लेभित्स्की र डेनियल जिब्लाटले संयुक्तरुपमा लेखेको यो पुस्तक केही महिनाअघि मात्र बजारमा आएको हो । अहिले यो पुस्तकको चर्चा अमेरिकामा व्याप्त छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस पुस्तकले विशेषतः अमेरिका र ट्रम्पका बारेमा धेरै कुरा बोलेको छ । प्रजातन्त्रका बारेमा नजिक र गहिरो अध्ययन गरेका यी लेखकले लेखेका छन् – ट्रम्प प्रजातन्त्र र अमेरिकाका लागि ज्यादै खतरनाक छन् । उनले अमेरिकाको गुह्य प्रजातान्त्रिक मान्यताको उल्लंघन गरेका छन् । आफ्ना मान्छेलाई क्याबिनेट अथवा एजेन्सीमा नियुक्त नगर्ने अमेरिकी परम्परालाई लत्याउँदै उनले आफ्नी छोरी र ज्वाइँलाई सल्लाहकारका रुपमा राखेकोमा पनि आपत्ति प्रकट गरिएको छ । झूटो बोल्नमा माहिर ट्रम्पले इमानदारी पनि नदेखाएको किताबमा उल्लेख छ । ट्रम्पले लगातार अमेरिकी प्रजातन्त्रमाथि हमलामात्र होइन हातपातसमेत गरेका छन् ।

उनीहरु लेख्छन् – ट्रम्पले आप्रवासी र मुस्लिम समुदायप्रति अतिवादी विचार प्रकट गरेर अमेरिकी मान्यताको उल्लंघन गरेका छन् । उनले सञ्चार माध्यमलाई ‘अमेरिकी जनताका शत्रु’ भनेर पनि बेलाबखत भन्दैआएका छन् । अमेरिकामा अन्तरपार्टी संघर्षमात्र होइन डरसमेत पालेर बसेको उल्लेख छ । करिब ७० प्रतिशत डेमोक्रेट र ६२ प्रतिशत रिपब्लिकन पार्टीका मानिसहरु विपक्षी पार्टीसँग डराएर बसेको उल्लेख गर्दै यी दुई पार्टी जाति र धर्ममा पनि त्यत्तिकै विभक्त भएको देखाइएको छ । संसारको सबैभन्दा धेरै मानिसको आकर्षण र आशाको संभावना बोकेको अमेरिका ट्रम्प शासनकालको दुई वर्षमा क्षय हुँदै गएको स्पष्टरुपमा उल्लेख गरिएको छ । जे भए पनि अमेरिकाको व्यवस्था नियन्त्रण र सन्तुलनमा न टिकेको छ । 

Global Ime bank

ट्रम्पमात्रै होइन, प्रजातन्त्रका ठेकेदार ठान्ने कुन कुन अमेरिकी राष्ट्रपतिले आफ्नो अधिकार दुरुपयोग गरे भन्ने पुस्तकमा उल्लेख गरिएको छ । यसमा अमेरिकाको राजनीतिक इतिहासमा शक्ति दुरुपयोग गर्नेमा रिचार्ड निक्सन पहिलो नंबरमा आउँछन् । उनको टेप प्रकरण अर्थात् वाटरगेट काण्ड र राजीनामालाई पनि महत्त्वका साथ पुस्तकमा चर्चा गरिएको छ ।

लेखकहरुले राष्ट्रपति रुजवेल्टले सन् १९३७ मा दुवै सदनमा आफ्नो बहुमत भएपछि तानाशाह बन्न खोजेको र आफ्नै पार्टीले उनलाई यसो हुनबाट जोगाएको, दुई कार्यकालको सामान्य प्रचलनलाई लत्याएर तेस्रो र चौथो कार्यकाल पनि राष्ट्रपतिमा उठ्न चाहेको विवरण दिएका छन् ।

‘प्लट अगेज्स्ट अमेरिका’ बाट उद्धृत गर्दै यो पुस्तकमा चाल्र्स लिन्डसवर्गको सनसनीपूर्ण घटनालाई पनि जोडिएको छ । कुनै पनि राजनीतिक अनुभव नभएका लिन्डसवर्गले सन् १९४० मा रुजवेल्टलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित भएपछि उनको पार्टी शत्रु राष्ट्र अर्थात् हिटलरसँग सम्बन्ध गाँस्न कसरी पुग्यो भन्ने पनि पुस्तकमा महत्त्वका साथ उठाइएको छ । अरु अमेरिकी राष्ट्रपतिहरुले पनि कुनै न कुनै मौका पारेर आफूलाई शक्तिशाली बनाउने प्रयास गरेको जानकारी पुस्तकमा पाइन्छ ।

प्रजातन्त्रको कुरा त सबैले गर्छन् नै वास्तविक प्रजातन्त्रवादी नेता पनि बेलावखत आफ्नो सत्तालाई टिकाइराख्न अनेकौं अप्रजातान्त्रिक क्रियाकलाप, गठबन्धन र हत्कन्डा प्रयोग गरेर प्रजातन्त्रको घाँटी निमोठ्छन् भन्ने लेखकद्यले पुस्तकमा देखाएका छन् । 
जनताको अभिमतले विजयी प्रजातन्त्रवादी राष्ट्रपति वा प्रधानमन्त्रीले तलका चारवटा कुरालाई उपेक्षा गरेर आफ्नो सत्ता टिकाउँछन् : 

प्रजातान्त्रिक नियम कानुनको बर्खिलाप जानु

विपक्षी राजनीतिक पार्टीको अस्तित्वलाई अस्वीकार गर्नु

हिंसा तथा भड्काउलाई प्रोत्साहन दिनु 

विपक्षी र सञ्चार माध्यमको स्वतन्त्रतालाई कुण्ठित गर्न तयार हुनु । 

यस्ता शासकहरुले आफ्नो सत्ता अकण्टक बनाउन जनतासामु भने प्रजातन्त्रको रटान लगाइरहन्छन् र विपक्षी अप्रजातान्त्रिक हुन् र देशभक्त छैनन् भन्ने एकोहोरो प्रचार गरेर जनतालाई भुलभुलैयामा राखिरहन्छन् । 

‘हाउ डेमोक्रेसी डाइ’ पुस्तकमा मूलतः युरोपियन, उत्तरी अमेरिका र दक्षिणी अमेरिकाका राष्ट्रका बारेमा यथेष्ट विवरण छ । एसिया र अफ्रिकाका राष्ट्रका सैनिक विद्रोह र अप्रजातान्त्रिक क्रियाकलापका बारेमा भने यो पुस्तकले धेरै बोलेको छैन । 

पुस्तकको केन्द्रीय चरित्र भने ट्रम्प नै हुन् । उनले गरेका यावत् अप्रजातान्त्रिक अभ्यासको विवरण यसमा दिइएको छ । लेखकहरूले उनको तुलना फुजिमोरी, चाभेज र टर्कीका रिसेप एर्डोआनसँग गरेका छन् । 

पुस्तकमा अर्जेन्टिना, इक्वेडर, हंगेरी, इटाली, पेरु, पोल्यान्ड, रसिया, टर्की र भेनेजुएलाका राष्ट्रपतिले कसरी संविधान उल्लंघन गरेर आफूलाई तानाशाहका रुपमा उभ्याए भन्ने विवरण प्रस्तुत गरिएको छ । तानाशाह हुने सन्देहै नभएको व्यक्ति पनि सत्ताको स्वाद पाएपछि एकाएक तानाशाह बनेको विवरण पनि पुस्तकमा उजागर गरिएको छ ।   

बहुमतबाट निर्वाचित राष्ट्रपति ह्युगो चाभेजले ३४ वर्षसम्म प्रजातान्त्रिक अभ्यास गर्दै आएको भेनेजुएलामा सन् १९९९ पछि निरंकुशता लादेको वर्णन रोचक शैलीमा गरिएको छ । त्यही शैली यसअघि इटलीका मुसोलिनी र जर्मनीका हिटलरले गरेका थिए । हंगेरीका भिक्टर ओर्वान प्रजातन्त्रवादीका रुपमा चर्चामा रहेर कसरी २०१० पछि एकाएक तानाशाह वा निरंकुश बने भन्ने पुस्तकमा लेखिएको छ । 

सर्वसत्तावादी राजनीतिक सोच जहाँ र जुनसुकै प्रजातन्त्रमा पनि रहेको पुस्तकमा देखाइएको छ । हिटलर, चाभेज र मुसोलिनीजस्ता अधिनायकहरुको पहिचान सत्तामा आउनुअघि नै जनताले गरिसकेका हुन्छन् भने कतिपय चाहिँ सत्तामा पुगेपछि अधिनायकका रूपमा प्रकट हुन्छन् – जस्तै पेरुका अल्वर्टो फुजिमोरी ।

उनको निरंकुश हुने कुनै योजना थिएन तर पछि निरंकुश भए । उनी यति निरंकुश बने कि उनले प्रतिपक्षीलाई आतंककारी र लागुपदार्थको कारोबारी भनेर सम्बोधन गर्थे । उनले सबै सञ्चार माध्यमलाई लाखौं डलरमा किनेका थिए । सांसदहरुको किनबेच हुन्थ्त्यो । त्यसै कारण उनी पुनः २००० मा राष्ट्रपति निर्वाचित भए । आफू सत्तामा आउन उनले पछि संसद् विघटन मात्र होइन, संविधानसमेत खारेज गरेका थिए । विपक्षी नेता, न्यायाधीश र पत्रकारहरु कहाँ जान्छन्, के गर्छन् भनेर चियोचर्चो गर्नुका साथै भिडियो टेप गरेर ब्ल्याकमेल समेत गर्थे । 

त्यसो भए यसको पहिले नै पहिचान कसरी गर्ने त ? लेखकहरूले पुस्तकमा प्रश्न गरेका छन् । तर, निर्क्योल छैन । 

फुजिमोरी, ह्युगो चाभेज, इभो मोरालेस, लुसियो गुलिएरेज र राफेल कोरेनजस्ता शासकहरुले प्रजातान्त्रिक संरचनालाई कमजोर बनाएको पुस्तकमा उल्लेख छ । इटलीका बर्लुस्कोनीले आफ्नाविरुद्धमा न्याय सम्पादन गर्ने न्यायाधीशलाई कम्युनिस्ट भनेर आरोप लगाएका थिए भने इक्वेडरका राफेल कोरियाले सञ्चार माध्यमलाई शत्रु हुन् र यिनलाई पराजय गर्नुपर्छ भन्ने गर्थे । उनले प्रमुख समाचारपत्रका मालिकले आफूलाई तानाशाह भनेको अभियोगलगाएर मुद्धा चलाई करोडौं डलर क्षतिपूर्ति भन्दै लिएका थिए । उनले थुप्रै पत्रिकाका मालिकलाई किनेका थिए ।

टर्कीका मिडिया मालिकलाई पनि त्यस्तै गरिएको थियो । टर्कीको सञ्चार माध्यममा ५० प्रतिशतभन्दा बढी लगानी गरेका डोगान यायिनमाथि कर छलीको अभियोग लगाएर उनकासबै टेलिभिजन र पत्रिका बन्द गराइएको थियो । पछि राष्ट्रपतिकै मानिसले ती पत्रिका किनेका थिए ।

त्यस्तै गरी रुसका राष्ट्रपति पुटिनले मिडियाका मालिक भ्लादिमिर गुसिन्कीलाई आर्थिक अपचलन गरेको अभियोग लगाएर देश छोड्न बाध्य पारेका थिए । उनले कतिसम्म गरे भने सन् २००० ताका देशका ठूला २१ जना व्यापारीलाई बोलाएर आफ्नो अभीनमा रही पैसा कमाउन र राजनीतिका बारेमा चर्चा नगर्न अराएका थिए । धेरैले यो कुरा माने तर अर्बपति तथा ओआरटी टीभीका मालिक बोरिस बेर्जोभस्कीले आदेश पालना गर्न नमानेपछि उनलाई जाली मुद्दा लर्गाईउनी आत्मनिर्वासनमा जान बाध्य गएका थिए । उनले अर्का अर्बपति मिखाइल चोद्रोभस्क्कीलाई पनि त्यस्तै किसिमको अभियोग लगाएर १० वर्षसम्म काराबासको सजाय दिएका थिए ।

चाभेजले पनि त्यस्तै किसिमको हत्कन्डा प्रयोग गरेका थिए । उनले टीभी मालिक गुइलेर्माे जुलेगालाई आर्थिक हिनामिना गरेको अभियोग लगाएपछि उनी पनि बाध्य भएर देशबाट भागेका थिए । उनले प्रतिपक्षीलाई सुँगुर, फोहोरी, दलाल, शत्रु र धोकेबाजजस्ता शब्द प्रयोग गरेर गाली गर्थे । उनले आफ्नो अनुकूलका न्यायाधीश ल्याएर नौ वर्षसम्म निरंकुशतन्त्र चलाएका थिए । 

अर्जेन्टिनाका जोन पेरोनले विपक्षी नेतालाई आफ्नो आदर नगरेको आरोप लगाएर कारबासको सजाय दिएका थिए । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले १९९० ताका प्रहरीहरुलाई विपक्षी नेता अनवर इव्राहिमलाई यौन व्यभिचारको आरोप लगाएर अनुसन्धान, पक्राउ र कारावासको सजाय दिएका थिए । त्यस्तै सन् २०१४ मा भेनेजुएलाका विपक्षी नेतालाई लियोपोल्डो लोपेजलाई विना कारण उपद्रव गरेको आरोप लगाएर पक्राउ गरिएको थियो । टर्कीका एर्डोआनले सन् २००४ मा सफल धनी व्यवसायी सेम उजानलाई पनि व्यावसायिक कर छलीको अभियोगमा उनको सबै सम्पत्ति हडप गरेपछि उनी भागेर फ्रान्स पुगेका थिए । 

फिलिपिन्सका फर्डिनान्ड मार्कोसले सन् १९७३ मा आफ्नो पदावधि सकिएपछि पनि कसरी मार्सल ल लगाएर संविधानको पुनर्लेखन गरी १४ वर्ष एकछत्र शासन गरेको पनि पुस्तकमा उल्लेख छ ।  

आफू सत्तामा पुगेपछि तानाशाहहरुले सांस्कृतिक संस्थाका अभियन्ता, कलाकार, वुद्धिजीवी, पप स्टार र खेलाडीलाई कसरी आशा र त्रास देखाएर कम्तीमा पनि चुप लागेर बस्न बाध्य बनाउँछन् र आफ्नो अनुकूल बनाउन कस्तोसम्म गर्छन् भन्ने पनि थुप्रै उदाहरण पुस्तकमा दिइएको छ । अर्जेन्टिनाका साहित्यिक धरोहर जर्ज लुइसले आफ्नो विरोध गरेको कारण राष्ट्रपति पेरोनले उनलाई नगरपालिकाको जागिरबाट कुखुरा र खरायो फार्मको निरीक्षणमा पठाएर बेइज्जत गरेपछि बाध्य भएर राजीनामा दिएका थिए । त्यसैगरी भेनेजुएला, मलेसिया, हंगेरीका शासकहरुले गरेको कर्तुत पनि पुस्तकमा उल्लेख गरिएको छ । 

पुस्तकमा चेचेनसँग युद्ध गराएर पनि आफ्नो सत्ता टिकाउन पुटिनले अपनाएको र चुनावको मुखमा पाकिस्तानसँग युद्धको अवस्था उत्पन्न गर्न भारत सरकारले अपनाएको रणनीति उस्तै उस्तै देखिन्छ । यो विपक्षीलाई कमजोर बनाउने रणनीति हो । 
विभिन्न नौवटा शीर्षकमा विभाजन गरेर लेखिएको २३१ पृष्ठ लामो पुस्तक ‘हाउ डेमोक्रेसी डाइ’मा लेखकले बेल्जियम, ब्रिटेन, कोस्टारिका, फिनल्यान्ड आदि देशले प्रजातन्त्रका अनेकौं समस्या भोगे पनि प्रजातन्त्र सुरक्षित रहेको उल्लेख छ । उता जर्मनी, अर्जेन्टिना र फिलिपिन्सको अमेरिकासँग मिल्दोजुल्दो संविधान पनि त्यहाँका शासकहरुले धुजधुजा पारेका पारेका थिए ।

शासकहरुले आफ्नो सत्ता लम्याउन पहिले आफ्ना आलोचकलाई गोयबल्सका शैलीमा ‘‘देशका शत्रुहरु, देशलाई गुमराहमा राख्ने र आतंकलाई बढावा दिने’’जस्ता शब्द प्रयोग गर्छन् । सत्ता लिएपछि गर्ने छलछामका बारेमा फुटबल खेलको एउटा गतिलो उदाहरण लेखकले दिएका छन् :

रेफ्रीलाई नियन्त्रणमा लिनु ।

विपक्षी टिमका केही उत्कृष्ट खेलाडीलाई किनारा लगाउनु ।

आफ्नो विजय अनुकूलको नियम स्थापना गर्नु ।

विपक्षीविरुद्ध मैदानमै पक्षपात गर्नु । 

यस किसिमको रणनीतिअन्तर्गत रेफ्री अर्थात् न्यायाधीशलाई हातमा लिने काम मूलतः फिडेल क्यास्ट्रोले क्युबामा र चाभेजले भेनेजुएलामा तथा मुसोलिनीले इटलीमा गरेका थिए । 

अन्त्यमा लेखकले संसारकै सबैभन्दा राम्रो शासन व्यवस्था प्रजातन्त्रका मौलिक पक्षको जानकारी पनि दिएका छन् । यो प्रजातन्त्र टिकाउने सबैभन्दा ठूलो कुरा के हो त ? उनीहरुले संझौता, सहमति र सहुलियतको संस्कृतिलाई सबैभन्दा माथि राखेका छन् । उनीहरुले भनेका छन् संविधान जतिसुकै राम्रो बनाएको भए पनि यसले आफैँ प्रजातन्त्रको ग्यारेन्टी गर्दैन । संविधान सधैँ अपूर्ण हुन्छ । नलेखिएका नियमको पनि परिपालना गर्नुपर्छ । जे सुकै भए पनि जनताले प्रजातान्त्रिक मान्यतालाई आत्मसात गरेको खण्डमा प्रजातन्त्रको स्थायित्व रहन्छ । मानिसहरु आफ्नो व्यक्तिगत स्वतन्त्रताको सट्टा सरकारी ‘अनुशासन’लाई बढी महत्त्व दिन थालेपछि प्रजातन्त्र खतरामा पर्छ भनेर निष्कर्ष पुस्तकमा निकालिएको छ । 

प्रजातन्त्र र त्यसको जीवन्तताका बारेमा जानकारी राख्न इच्छुक प्रजातन्त्रवादी नेता तथा कार्यकर्ताका लागि त यो पुस्तक बढी नै उपयोगी हुने देखिन्छ ।  (बोस्टन, अमेरिका )
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC