site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
फिल्ममा आएपछि परिवारले मलाई त्याग्यो
Sarbottam CementSarbottam Cement

 राकेश यादव
मैथिली कलाकार, निर्माता, निर्देशक


मैथिली सिने क्षेत्रको भविष्य छैन भन्नेहरू थुप्रै छन् तर एउटा यस्तो दिवाना व्यक्ति पनि छन्, जसले १५ वर्षदेखि मैथिली सिने क्षेत्रलाई सम्पूर्णता दिन चुपचाप तयारी गर्दै छन् । र, बुन्दैछन् मैथिली फिल्मका लागि स्टुडियो निर्माणको महत्वाकांक्षी योजना । 

कसै न कसैले योजना बुन्नै पर्ने हुन्छ, सपना देख्नै पर्ने हुन्छ । भारतीय सिनेमा क्षेत्रमा वर्षौं पहिले द ग्रेट दादासाहेब फाल्केले एउटा यस्तै महत्वकांक्षी सपना देखेका थिए र आज बलिउड विश्वकै सबैभन्दा ठूलो सिने क्षेत्र भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

राकेश यादव उनै व्यक्तित्व हुन्, जो काँचो उमेरमा एक्सन गर्न मैथिली फिल्ममा प्रवेश गरेका थिए । उनलाई हिरो र भिलेन हुनु थिएन, बस् एक्सन गर्नु थियो । तर, उनलाई फिल्मको यस्तो चस्का लाग्यो कि उनले चार पटकसम्म सरकारी जागिर छोडेर मैथिली फिल्म खेले । उनले १५ वर्षमा थुप्रै फिल्म, भिडियोमा काम गरिसकेका छन् । हिरो, फिल्ममेकर हुँदै निर्माता–निर्देशक र फिल्म प्रोडक्सन कम्पनीका मालिक राकेश यादवसँग मैथिली सिने क्षेत्रका विविध विषयमाथि विजेता चौधरीले गरेको कुराकानी—


मैथिली सिने क्षेत्रको चर्चा नै छैन, यसले किन बजार लिन नसकेको ?

Global Ime bank

फिल्म निर्माण कम हुनु र निरन्तर नबन्नुले पनि मैथिली सिने क्षेत्रको खासै चर्चा वा पहिचान बन्न सकेको छैन । जहाँसम्म बजारको कुरा हो, मैथिली फिल्म बनाउने इच्छुक साथीहरूले गुणस्तरीय बनाउन सकेका छैनन् । मैथिली फिल्मका लागि दर्शकको कमी छैन । यो वास्तवमा एउटा भर्जिन मार्केट हो र यसलाई क्यास गर्न दर्शकको रुचि बुझेर गुणस्तरीय फिल्म बनाउने हो भने यसले बजार लिने निश्चित छ ।

फिल्म बनाइसकेका कतिपय निर्माता–निर्देशकले लगानी नै उठ्दैन भन्छन् त !

लगानी उठ्दैन भन्ने गलत हल्ला हो । लगानी मज्जाले उठ्छ, मैले नै उठाएको हुँ । मेरो विचारमा यसमा टेक्निकल समस्या छ । निर्माता भन्छन्— हलवालाले मलाई हल दिँदैन । तर, उनीहरू सरकारी नियममा जँदैनन् । सरकारी नियमअनुसार कम्पनी दर्ता नै नगरी फिल्म बनाउने गरेका छन् । फिल्म बनाउन पहिले चलचित्र विकास बोर्डमा दर्ता हुनु पर्‍यो । बोर्डले नयाँ लगानीकर्तालाई दुई घण्टाको कक्षा दिन्छ, जसमा लगानी उठाउन कुन बाटो अपनाउनु पर्नेलगायतको जानकारी दिन्छ । प्रक्रिया पुर्‍याएर गयो भने घाटा खाने कुरै हुँदैन । यहाँका निर्माताहरूलाई कलाकारको बिमाको कुरा थाहा छैन, निर्माता संघमा आबद्ध छैनन् । निर्माता संघले पहिले आउनेले पालो पाउने सिस्टमअनुसार हल उपलब्ध गराउने प्रावधान राखेकोले हल नपाउने हुँदैन । निर्माणको पक्षमाथि पनि आवश्यक ध्यान पुग्न सकेको छैन । पहिलेको र अहिलेको सिस्टममा फरक आइसकेको छ । पहिले रिल लिएर हल–हलमा घुम्नु पथ्र्यो भने अहिले यूएफओ, डिसीएनलगायतको सिस्टम छ, जसमा आफ्नो फिल्म अपलोड गरेपछि हलवालालाई पासवर्ड पठाएर विश्वभर एकैपटक चलाउन सकिन्छ ।

अर्को कुरा— मैथिलीका नाममात्रै जप्ने वा आलोचना तथा समीक्षा गर्नेहरू कहिल्यै पैसा तिरेर फिल्म हेर्न जाँदैनन् । मैथिलीको नाममा हल्ला गर्नेहरूसँग पैसा नभएको होइन तर लगानी गर्न अगाडि सर्दैनन् । यो सिने क्षेत्रको ठूलो विडम्बना हो । मिथिलामा लगानीकर्ताको अभाव छ । फिल्म खेल्न मन छ भने कि लगानीकर्ता खोज्नुस् कि आफैं लगानी गर्नुस् । यस्तो अवस्थाले पनि मैथिली सिनेक्षेत्र माथि उठ्न नसकेको हो ।

अघि दर्शकको रुचिको कुरा गर्नुभयो । मिथिलाका दर्शकले कस्तो फिल्म रुचाएका छन् ?

निर्माता–निर्देशकले फिल्म आफ्नो हिसाबले बनाउँछ भने दर्शक उसले अपेक्षा गरेको हुन्छ । नेपाली र अन्य फिल्मभन्दा मैथिलीका फरक किसिमका दर्शक छन् । पहिले जनकपुरलगायतका मिथिला क्षेत्रमा हिन्दी फिल्ममात्रै चल्थे । मैथिली, भोजपुरी र नेपाली कुनै फिल्म चल्थेनन् । अहिले हिन्दीको स्थानमा भोजपुरीले बजार लिएको छ । १९८० देखि ९० को दशकमा मिथुन, गोविन्दा टाइपका फिल्म धेरै चल्थे । त्यही स्टाइललाई कपी गरेर भोजपुरी फिल्म बन्न थाले र तिनले बजार लिए । अब सोही स्थानमा मैथिली फिल्म चलाउनुपर्ने छ ।

मैथिली फिल्मतर्फ आकर्षित गर्न के कस्तो विषयवस्तु दिनुपर्‍यो त दर्शकलाई ? हिन्दी वा भोजपुरी फिल्मजस्तै नाचगान र लभस्टोरीले यहाँका दर्शक तान्छ भन्न खोज्नुभएको हो ?

हिन्दीकै कतिपय हाइलेभलका फिल्म जनकपुरमा चल्दैनन् । त्यसको कारण त्यो फिल्म खराब भएर होइन कि यहाँका दर्शकको रुचिको नभएर हो । यहाँका दर्शकको रुचि भनेको पारिवारिक कथा, संस्कृतिसँग सम्बन्धित विषयहरूप्रति छ । जस्तैः ग्यास चुल्होको स्थानमा माटोको चुल्हो देखाउनुस्, दर्शकले मन पराउँछन् । अर्को कुरा— जुनसुकै भाषा र देशको फिल्म हेर्नुस्, कथावस्तु केही न केही मिलेकै हुन्छ । जहाँसम्म चल्ने वा मनपर्ने कुरा छ, त्यसको मेकिङ राम्रो छ भने चल्छ नै । कलाकार राम्रो हुनुप¥यो, कथावस्तु आफ्नो परिवेशको हुनुप¥यो । प्रायः लभस्टोरी टाइपको फिल्म चल्छ नै । अहिले चल्ने भनेको कमेडी, एक्सन र लभस्टोरी नै हो । यसलाई दर्शकले रुचाइदिएका पनि छन् ।

तपाईंले अहिले कुन फिल्म बनाउँदै हुनुहुन्छ ?

म अहिले एउटा नयाँ फिल्म गर्दै छु— ‘सजना सिनेहिया’ । धेरै साथीहरूले लगानी उठ्दैन भन्दै छन् तर मेरो इच्छा छ, मैथिलीमा राम्रो स्तरको फिल्म बनाउने । त्यसको एकदमै खाँचो महसुस गरेरै बनाउन लागेको हुँ र मलाई विश्वास छ— यो फिल्मपछि दर्शकको रुचि बदलिनेछ । मैले भर्खरै ‘कुमारी विधवा’ फिल्म पनि शुट गरेर सकें ।

मैथिली फिल्मलाई कलाकार पाउन कत्तिको गाह्रो छ ?

समस्या भनेकै नायिकाको हो । मैथिली समाजकी छोरीचेलीमा अहिले पनि नायिका हुनु लाजको विषय हो जस्तो ठान्छन् । घरपरिवारले पनि स्वीकृति दिँदैनन् । फिल्मले माग गरेअनुसारका सिन दिन अप्ठ्यारो हुन्छ । हुन त मैथिली फिल्म त्यस्तो कमर्सियल भइसकेको छैन तर पनि फिल्म नै भनेपछि केही हदसम्म दृश्यले मागेअनुरूपको रोलका लागि तिनीहरू तयार हुँदैनन् । नायिका मिथिला क्षेत्रका छँदै छैनन् । हामीले पहाडीमूलका महिलालाई मैथिली फिल्ममा ल्याएका छौं तर जुन बोली, लवज, भंगिमा र लुक हुुनुपर्ने हो, त्यो खाँटी रूपमा आउँदैन । मेकअपले प्रयास गर्छौं तर त्यो त्यति प्रभावकारी हुँदैन । फरकपन छुटिन्छ । अर्को समस्या भनेको हाम्रा कलाकारको अनुहार राम्रो भए पनि शारीरिक रूपले भद्दा हुन्छ । फिट हुनु पर्ने सोच नै छैन ।

१५ वर्ष भयो यस क्षेत्रमा लाग्नुभएको तर उपलब्धि र प्रगति खासै देखिएन नि !

खासमा कलाकारिता वा फिल्मसँग कुनै लगाव नै थिएन । म मार्सल आर्टको खेलाडी हुँ । मेरो खेल गुरु श्रवण आचार्यले एउटा मैथिली फिल्म ‘अहाँ छी हमरालेल’ बनाउँदै थिए । त्यसमा एउटा एक्सन सिनको लागि मलाई जबर्जस्ती लगेपछि डायलग बोल्नुदेखि गीतमा नाच्नसमेत लगाए । वास्तवमा एक्सन गर्ने लोभले नै म फिल्मतिर तानिएँ । ०६० सालमा खेलेको त्यो फिल्म नै मेरो पहिलो फिल्म थियो । ०६१ मा म आफैं फिल्म बनाउन अघि सरें र ‘प्रितमे हिया हारिगेली’ बनाएँ । त्यसपछि म निरन्तर सक्रिय छु । मेरो चर्चा वा प्रचार भएन किनभने म मिडियासँग टाढा बसें । विगत १५ वर्षको प्रगतिको कुरा गर्दा मैले आफ्नो कम्पनी दर्ता गराएँ ‘पानोरामा मुभिज’ । यसको ब्यानरमुनि जति पनि मैथिली फिल्म बनाउने मेरो भविष्यको योजना छ । त्यस्तै फिल्म प्रोडक्सनका लागि जति आवश्यक वस्तु र उपकरण हुन्छन्, ती सबैजसो मैले राखेको छु । एउटा राम्रो र हलमा चलाउन मिल्ने क्वालिटिको क्यामरादेखि मेकिङ र एडिटिङसम्मको सबै कुरा हामीसँग छ । एडिटिङको पूरै सेटअप राख्नुका साथै क्यामरामेन उपलब्ध छन् । इन्डोरका सबै काम सकाउन सक्ने उपकरण छन् । १५ वर्ष लाग्यो यति उपकरण जुटाउन ।

तपाईं स्टुडियो बनाउने योजनामा पनि हुुनुहुन्छ नि ?

हो । मैथिली फिल्मका लागि आफ्नै स्टुडियोको खाँचो महसुस हुन थालेको थेरै भएको थियो । यो मेरो महत्वाकांक्षी योजनामध्येको प्रमुख हो । मेरो गाउँ महोत्तरी जिल्लाको मधेपुरास्थित ३ बिगाहा जमिनमा स्टडियो बनाउने सोच छ । तर, काम भने अहिले शुरु गरिसकेको छैन ।

तपाईं फिल्म लाइनमा आउँदा सबै सम्पत्ति सखाप पार्छ भनेर दाइहरूले अंशवण्डा नै गरेका थिए रे, यो सत्य हो ?

हो । फिल्म लाइनमा आएपछि मलाई मेरो परिवारले पूरै परित्यागै गरेको थियो । यसले फिल्मको चक्करमा जग्गाजमिन सबै बेचेर खान्छ भनेर दाइले अंशबण्डा नै गरे । म त्यसबेला ठूलो आर्थिक संकटले घेरिएँ तर सन्तोष के थियो भने मैले अब फिल्ममा पैसा उडाए पनि मेरो आफ्नो भागमात्रै उडाउनेछु ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २, २०७५  ०३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC