पम्फा किन निस्किइन् अनन्त यात्रामा ? 

पम्फा किन निस्किइन् अनन्त यात्रामा ? 

काठमाडौं । कर्णालीका पम्फा र मनसुरको विवाह उनीहरुका बुबाले जन्मनु अघि नै निश्चित गरी दिए । मनसुर बोल्न नसक्ने भएर जन्मिए। पम्फा भने सवालङ्ग थिइन् । दुई परिवारबीचको वाचाअनुसार उनीहरुले विवाह गर्नैपर्ने भयो । तर पम्फा आफ्नै घरमा काम गर्ने कथित तल्लो जातको केटा चाउरेसँग प्रेममा परिन् । चाउरेसँग उनको यौन सम्बन्ध पनि भयो । पेट बस्यो । पम्फाले चाउरेलाई भागौं भनिन् । कुम्लो कसेर कुखुराको डाकोसँगै भाग्न चाउरेलाई कुरेर बसिन् । तर परिवार र समाजको भयले चाउरेले पम्फालाई भगाउने आँट गर्न सकेन ।
 
अन्ततः उनी मनसुरको घरमा गइन् । एकातिर बोल्न नसक्ने मनसुर अर्कातिर ससुराको टोकसो । सासुको आडभरोसाले मात्र पम्फा घर बस्न सकिनन् ।  
  
चाउरेसँग भगाउने आँट छैन, माइतीघर जाउँ घर गर्न नसकेर फर्केर आई भन्ने परिवार, आफन्त र समाजको निन्दा पम्फा विलखबन्धमा परिन् । फलतः पम्फा सुत्केरीको रगत लत्पतिएको सेतो बस्त्रमा अनन्तको यात्रा रोज्छिन् ।
 
यहाँ पम्फा, मनसुर र चाउरे यथार्थ पात्र (व्यक्ति) होइनन् । उनीहरु मंगलबार मण्डला नाटकघरमा मञ्चित नाटक ‘गर्भ छिटा’का मुख्य पात्र हुन् । पम्फा, मनसुर र चाउरे यथार्थ पात्र त होइनन् तर उनीहरु कर्णालीका आम जनताका प्रतिनिधि पात्र हुन् । जो आम कर्णालीबासीले भोगिरहेको समस्या रंगकर्ममार्फत भन्छन् ।
  
कर्णालीमा एउटा सामाजिक परम्परा छ- गर्भमै रहेका बेला अभिभावकले आफ्ना बच्चाको बिहेवारी छिन्ने । अभिभावकले गरेको त्यही निर्णयका आधारमा बेहुला बेहुलीको विवाह हुन्छ ।
 
केटाकेटीले एकअर्कालाई मन पराउन् या नपराउन् विवाह गर्नैपर्छ । यही बाध्यताले कयौंको जिन्दगी बर्बाद भइरहेको छ । त्यही समाजिक संस्कारलाई नाटक ‘गर्भ छिटा’ले जस्ताको तस्तै उठान गरेको छ । सामाजिक संस्कारका रुपमा रहेको यो चलनले व्यवहारिक जिन्दगीमा पार्ने प्रभावलाई नाटकले हुबहु भन्ने प्रयास गरेको छ ।
 
“नाटकको माध्यमबाट म कर्णालीको परम्परामाथि थोरै भएपनि उज्यालो छर्न चहान्छु । जसले समाज परिवर्तनको निम्ती जटिलता खडा गरेको छ,” गर्भ छिटाका निर्देशक तथा लेखक हिरा विजुली भन्छन्, “जबसम्म हामी सामाजिक समस्याहरुलाई लुकाइरहन्छौं ती समस्याहरु झन्झन् जटिल भएर बसिरहन्छन् ।”

‘गर्भ छिटा’ सामाजिक विकृतिमाथि प्रश्न उठाउने नाटक भएको भन्दै नेपाली समाजिक मूल्य, मान्यता र बन्धनहरुका कारण कर्णालीबासीले भोग्दै आएको समस्यालाई नाटकले चिर्न खोजेको बताउँछन् । समाजिक परिवन्धलाई चिर्ने प्रत्यनस्वरुप ‘गर्भ छिटा’ लेखिएको उनको भनाइ छ ।
 
कर्णाली आर्टस् सेन्टरको प्रस्तुती नाटक ‘गर्भ छिटा’ अहिले काठमाडौंको मण्डला थिएटरमा मञ्चन भइरहेको छ । १६ जना कालकार नाटकमा सहभागी छन् । कर्णालीमा बोलिने खससँगै नेपाली भाषा पनि नाटकमा कलकारले बोल्छन् । नाटकमा १६ जना कलाकारको अभिनय छ । 

तस्बिरः हिरा नेपालीको फेसबुकबाट

प्रतिकृया दिनुहोस