जानाजान वा नजानेर अपराधिक गतिविधिमा संलग्न बालबालिकालाई सुधारकालागि बाल सुधार गृहमा पठाउने गरिएको छ। यस सुधार गृहमा लागुऔषधको लतमा फसेका र लागुऔषधको ओसारपसमार संलग्न भएका बालबालिकादेखि कर्तव्यज्यानलगायतका मुद्दामा परेका बालबालिकाहरु आश्रित छन्।
तीनै बालबालिकाहरुलाई शिक्षाको उज्यालो दिने उद्देश्यका साथ बाल सुधार गृह माध्यमिक विद्यालय संचालनमा छ। विद्यालयकी प्रधानाध्यापक रेखा पोखरेल उमेरले ३१ वर्षमात्रै लागिन्। उनको काँधमा एउटा यस्तो प्रकृतिको विद्यालयको सम्पूर्ण जिम्मेवारी छ। उनले उमेरभन्दा निकै ठूलो जिम्मेवारी बहन गर्ने अठोट लिएकी छन्। उनै अदम्य साहस भएकी प्रधानाध्यापक पोखरेलसँग विद्यालयको विविध पक्षमाथि बाह्रखरीकर्मी विजेता चौधरीले गरेको कुराकानी।
बाल सुधार गृहकी प्रधानाध्यापक हुनुहुन्छ, यस्तो प्रकृतिको विद्यालय तपाईंको आफ्नै रोजाई हो?
म २ जेठ ०७५ मा सुधार गृहकी शिक्षिका भएर आएको थिएँ। मभन्दा अघि एक जना महिला नै प्रअ हुनुहुन्थ्यो। उहाँको अवकासपछि पुरानो कर्मचारी र योग्यताको आधारमा विद्यालयले मलाई प्रअको जिम्मेवारी दिएको हो। तर यस विद्यालयमा शिक्षणको लागि आउनु भने मेरो आफ्नै छनोट थियो। प्रअ भएको चाँही भर्खर एक वर्ष भएको छ।
एक वर्षको अनुभव कस्तो रह्यो ? विद्यालयमा कति रमाइरहनु भएको छ?
काम गर्न चुनौति भए पनि मैले यसलाई वास्तवमा अवसर मानेर नै जिम्मेवारी ग्रहण गरेकी हुँ। एउटा बच्चा सम्हाल्न गाह्रो हुन्छ भने यहाँ त झन रुकुमदेखि रोप्लासम्मका बच्चा छन्। कसैलाई जिरोबाट सुरु गर्नुपर्ने हुन्छ। बच्चाका अनेक चाहना र रोजाइ हुन्छन्। उनीहरुको चाहना अनुसार व्यवहार गर्नुपर्ने हुन्छ। मानिसलाई एउटाको व्यवहार पुर्याउन समस्या भइरहेकोले बेला यहाँ गाह्रो त छ नै। तर, यस्ता चुनौतिलाई अवसरको रुपमा लिएर काम गरेकी छु। यसैमा मलाई सन्तुष्टि पनि छ।
घरपरिवारबाट कतिको साथ पाइरहनु भएको छ?
मेरो आफ्नै परिवारले किन त्यो ठाउँमा काम गर्नुपर्यो भनेर सोधे। कतिपटक त छोड्नसमेत भनेका छन्। तर दृढ इच्छाशक्ति भएकाले मात्रै यहाँ काम गर्न सक्छ। हामी जति पनि यहाँ कार्यरत छौं। सबै दृढ हुनुहुन्छ। थुप्रैले यस्तो अवस्थाको बालबालिकालाई पढाइरहनु भएकोभन्दै प्रशंसा पनि गरेका छन्।
सुधार गृहमा शिक्षणको लागि आउँदा यहाँका बालबालिकाहरुको मनोभावना र अवस्था कस्तो पाउनु भयो?
अरु विद्यालयभन्दा यहाँका बालबालिकाको अवस्था त फरक हुने नै भयो। किनभने उनीहरुको उमेर र इच्छादेखि लिएर धेरै कुरामा फरक हुन्छ। खासमा पढ्ने इच्छा नभएका बालबालिका नै यहाँ प्रायः आएका हुन्छन् भने घरपरिवारलाई आर्थिक रुपले सघाउने, मजदुरी कामहरु गर्ने खालको बच्चाहरुमा पढ्ने इच्छा चाँही हुँदैन। तर सुधार गृहभित्र आइसकेपछि जस्तो पृष्ठभूमिबाट आएपनि शिक्षालाई हामीले अनिवार्य नै गरेका छौं।
एक कक्षा पनि नपढेका बालबालिकाहरु पनि त आउँछन् होला नि ?
आउँछन्, एकै कक्षा पनि नपढेका भएपनि उनीहरुलाई पढाउने र शिक्षित बनाउने सुधार गृहको उद्देश्य नै हो। त्यसैले नपढेको बालबालिकाहरुलाई चाँही कक्षा पाँचमा राखेर हामी पढाउने गरेका छौं। र त्यसैगरी अघि बढाउँदै लग्छौं।
सुधार गृहमा आउने बालबालिका कस्ता हुन्छन्? यहाँ आउनेबित्तिकै काउन्सिलिङको आवश्यकता पर्छ होला नि ?
हो, यहाँ आउने सबै बच्चा सुरुमा तनाव मै हुन्छन्। विद्यालयमा परामर्शदाता, सोसल वर्कर शिक्षिकाहरु हुनुहुन्छ। उहाँहरुले पहिले बच्चाहरुको साइकलोजिकल पक्षहरु हेर्नुहुन्छ। अनि काउन्सिलिङ गर्नुहुन्छ। त्यसपछिमात्रै उसलाई कुन कक्षामा राख्दा ठिक हुन्छ भनेर आएको सिफारिसको आधारमा त्यही कक्षामा राखेर पढाउने गरेका छौं। त्यस्तो बच्चाहरुमा भने पढाइमा भन्दापनि 'मेरो यहाँ बस्ने सयम कहिले सकिन्छ, मेरो फैसला कहिले हुन्छ?' भन्नेतिर नै धेरै ध्यान जान्छ।
काउन्सिलिङको लागि खासमा कति सयम लाग्छ?
एक-दुई दिन काउन्सिलिङ गरेर नै कक्षामा लग्छौं। तर, कसैलाई एक सातामा सामान्य अवस्थामा फर्काउन सकिन्छ भने कसैलाई केही सयम लाग्छ। बच्चाको अवस्था हेरेर काउन्सिलिङ गछौं।
कसरी गर्नु हुन्छ परामर्श?
बच्चा कस्तो अवस्थामा छ त्यसअनुसार नै काउन्सिलिङ गर्नुपर्ने हुन्छ। कहिलेकाँही एकदमै रोइ-कराई रहेको अवस्थामा हुन्छ, त्यस्तो अवस्थामा प्रश्नहरु गर्दैनौं। उनीहरुलाई रुन दिन्छौं र अलि सामान्य भएपछि मात्रै बुझाउने तथा उसको इच्छा-चाहना सोध्छौं, अरु कुराहरु गरेर नै काउन्सिलिङ गर्छौं।
सुधार गृहका बालबालिकालाई अन्य विद्यालयको तुलनामा यहाँका शिक्षकहरुले कस्तो व्यवहार गर्छन् ?
बाहिरका बच्चालाई एक पटक यो नगर भनेर भनेपनि एउटा अनुशासनमा रहन्छन्। तर, यहाँ एउटा बच्चा आज आउँछ भने भोली अर्को बच्चा आउँछ। यस्तोमा कक्षाभित्रै पनि नियम पालना गराउन हामीलाई एकदमै समस्या हुन्छ। किनभने उनीहरुको उमेरपनि मिलेको हुँदैन, विभिन्न पृष्ठभूमिबाट आएका बालबालिकाहरुलाई एकैपटक कक्षामा अनुशासित राख्न गाह्रो नै हुन्छ तर नियन्त्रण नै गर्न नसक्ने अवस्था चाँही आएको छैन अहिलेसम्म। र अर्को कुरा उनीहरुसँग एकदमै संवेदनशिल भएर प्रस्तुत हुनुपर्ने हुन्छ। अन्य विद्यालयको जस्तै पढ्नेपढाउने वातावरण मिलाएका छौं।
एकदमै बुझेर नै नसक्ने अथवा काउन्सिलिङ गरेर पनि सम्हाल्नै नसक्ने प्रकृतिका बालबालिकाहरु पनि आउँछन्?
त्यस्तो अहिलेसम्म भएको छैन। प्रायः केही दिनको काउन्सिलिङपछि मात्र भनेको कुरा बुझ्न सक्ने अवस्थामा आउँछन्। तर बालकभन्दापनि बालिकालाई सम्हाल्न भने एकदमै गाह्रो हुने गरेको छ। बालिकाहरुलाई एकदमै सयम दिएर काउन्सिलिङ गर्ने गरेका छौं।
कडाइपनि गर्नु हुन्छ ?
हो, कहिलेकाँही कडाइका साथ प्रस्तुत हुनु पर्ने पनि हुन्छ। किनभने यहाँ धम्क्याउने, गाली गर्ने खालको बच्चाहरु पनि हुन्छन्। झन २५ देखि २६ वर्षका उमेर घटाएर आउनेहरु पनि हुन्छन्। त्यस्तोलाई सम्हाल्न र नियन्त्रण गर्न निडर र हिम्मत भएको मान्छे नै चाहिन्छ। त्यसैलेपनि कहिलेकाँही कडाइका साथ प्रस्तुत हुन्छौं।
विद्यालय संचालनका चुनौति हरु पनि छन् अथवा राम्रै चलेको छ ?
चुनौति भनेको आफ्नो आर्थिक स्रोतहरु केही पनि नहुनु नै हो। बालबालिकाहरुका लागि गरिने अतिरिक्त क्रियाकलाप हामी शिक्षकको गोजीबाट नै गरिरहेको अवस्था छ। नगरपालिकाबाट शिक्षकको तलब मात्रै आउँछ। बाँकी सबै कुराहरु हामीले युसेफसँग माग्नुपर्ने हुन्छ। सरकारले बाल सुधार युसेफलाई हस्तान्तरण गरेको हुनाले बाल सुधार मावि पनि त्यसकै भयो।
अन्य शिक्षक र कर्मचारीहरुबाट सहकार्य र सहयोग कस्तो पाइरहनु भएको छ?
एकदमै राम्रो छ। विद्यालयमा पढाउनेदेखि सबै क्रियाकलापमा सबैको सहयोग र सहकार्य छ। विद्यालयमा हामी ६ जना शिक्षक छौं। जसमा एक जना पुरुष र बाँकी सबै महिला छन्।
विद्यालयमा अधिकांश शिक्षिका महिला नै हुनुहुन्छ, सुरक्षाकर्मीदेखि तपाईं प्रअ पनि महिला। किन महिलाकै काँधमा जिम्मेवारी दिएको होलाजस्तो लाग्छ?
कारणै भन्दापनि हामी महिलाले पूरै घरै सम्हालेर बसेका हुन्छौं र छोराभन्दा एउटी छोरीमन्छे बढी जिम्मेवार र संवेदनशिल हुन्छ जस्तो लाग्छ। झन यी बालबालिकाको केसमा भावनात्मक रुपमा पनि बुझ्नु पर्नेहुन्छ भने कहिले कडा पनि बन्नुपर्ने हुन्छ। त्यही भएर पनि महिलालाई यो जिम्मेवारी दिइएको हो कि भन्ने लाग्छ। सबभन्दा महत्वपूर्ण कुरा हामी महिलाहरु सक्षम छौं भनेर सुधारगृहको जिम्मेवारी दिइएको हो जस्तो लाग्छ। महिलाहरुले बच्चाको मनोविज्ञान सजिलै बुझ्छन्।
प्रहरी संरक्षणमा पढनुपर्दा समस्या र अप्ठ्यारो महसुस गर्छन होला नि बालबालिकाहरुले ?
छैन, त्यस्तो महसुस नहोस र बालबालिकाहरु विद्यालयमा सहज होउन भनेर नै प्रहरीले विद्यालयभित्र हतियार ल्याउन पाउँदैनन्। उनीहरु सादा पोशाकमा बस्नुपर्छ र बाहिरबाट कुनै बच्चा लिएर विद्यालय प्रवेश गर्दा पनि सादा पोशाकमै आउनु पर्ने नियम बनाएका छौं। प्रहरीहरु पनि विद्यालयको कर्मचारीजस्तै छन्।
विभिन्न समयमा आएका बालबालिकाहरुलाई कक्षामा समायोज गर्न र शिक्षामा निरन्तरता दिन कत्तिको समस्या हुने गरेको छ?
समस्या त छ। विभिन्न उमेरका बालबालिकाहरु आउँछन्। कोही निजी विद्यालयबाट आएका हुन्छन् भने कोही सामुदायिकका हुन्छन्। रुकुम र रोल्पातिरका बच्चा पनि आएका हुन्छन्। तिनीहरुले बोल्ने भाषा नै पनि फरक हुन्छ। तिनीहरुलाई अगाडी राखेर एकदमै ध्यान दिएर पढाउनु पर्ने हन्छ।
अतिरिक्त कृयाकलापमा के-के गराउनु भएको छ?
हामी प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलापहरु गर्छौं। अतिरिक्त क्रियाकलापमा हामीले योगा गराउँछौं, हाजिरिजवाफ प्रतियोगिता हुन्छ, खेल प्रतियोगिता र कहिले कवि गोष्ठीहरु पनि गराउने गरेका छौं। वर्षको तीन पटकजति कवि गोष्ठी आयोजना हुने गरेको छ। विद्यालयमा राम्रो कविता लेख्ने बच्चाहरु पनि छन्। त्यस्तै गीत, चित्रकलालगायतको क्रियाकलाप गरेका छौं। तर बाहिर प्रतिस्पर्धा गराउनको लागि भने सुरक्षाको दृष्टिकोणले लगेका छैनौं।
कोही यहाँबाट भाग्ने गरेका छन् ?
काठमाडौंको चोरी मुद्दामा बच्चाहरु २-३ जना पहिले भागेको सुनेको छु। तर यो बीचमा त्यस्तो अवस्था आएको छैन। भाग्ने त्यस्ता बच्चाहरु एकै छिनमा समातेर ल्याइन्छ। किनभने उसको फोटो र परिवारको फोटोलगायतको जानकारी हुन्छ। जसको आधारमा प्रहरीले चाँडै समातेर पुनः सुधारगृहमा ल्याइहाल्छन्।
नयाँ योजनाहरु के-के छन्?
नयाँ शैक्षकि सत्रदेखि ११ र १२ कक्षा खोल्ने योजना छ। 'साइन्स ल्याब' बनाउने र होस्टलकोलागि अर्को एउटा भवन आवश्यक रहेकोले नगरपालिकासँग समन्वय गरेर बनाउने योजनाहरु छन्। हाम्रो बालसुधार गृह र बालसुधार माविलाई दातृ निकायले सहयोगको लागि अपिलसमेत गर्च चाहन्छु। अतिरिक्त क्रियाकलापदेखि अन्य गतिविधिको लागि आर्थिक अभाव हुने गरेको छ। आर्थिक पक्ष बलियो भयो भने हामीलाई अन्य रचनात्मक कामहरु गर्न सहज हुने थियो।