काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भोलि (बिहीबार) का लागि नेपाल बन्द आह्वान गरेपनि लामो दूरीको सार्वजनिक यातायात आजैदेखि प्रभावित भएको छ । काठमाडौंबाट छुट्ने लामो दूरीका बस आज नछुटेको यातायात व्यवसायीले जनाएका छन् । सुर्खेतबाट काठमाडौं सञ्चालन हुने देउती–नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्काले भने, “दिउँसै छुट्ने बस छुटेका छन् । तर, नाइट बस छुट्ने–नछुट्नेबारे काउन्टरहरुले केही भनेका छैनन् । सुर्खेतका बस काउन्टरमा भोलिको बन्दको आंशिक प्रभाव आजै देखिएको छ ।”
नयाँ बसपार्क काठमाडौंबाट आज छुटेर भोलि बिहान र दिउँसोसम्म गन्तव्यमा पुग्ने कुनै पनि बस छुटेका छैनन् । “आज छुटेर आजै पुग्ने बुटवल, भैरवहा, दाङका लागि बसहरु बिहानै छुटेका छन् । तर आज साँझ छुटेर भोलि बिहान, दिउँसोमात्र पुग्ने महेन्द्रनगर, धनगढी, सुर्खेत, नेपालगञ्जका बसको टिकट काटेका छैनौं,” नमस्ते राप्ती यातायात प्रालि नयाँ बसपार्कका टिकट काउन्टर इन्चार्ज पर्शुराम विश्वकर्माले बाह्रखरीसँग भने, “सबै लामो रुटको टिकट काउण्टर प्रायः बन्द छन् ।”
सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएपछि यातायात व्यवसायीमा थप त्रास देखिएको छ । “आफू हाइलाइटमा आउन विप्लव नेकपाले ठूलो क्षति गर्नसक्ने त्रास यातायात व्यवसायीमा छ । कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, दाङ जिल्ला सीमाना भएर चल्ने यातायात थप प्रभावित छ,” विश्वकर्माले बताए ।
उता, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख तथा प्रहरी निरीक्षक राजेश राईले लामो रुटका बस छुट्ने समय नभएकाले छुट्ने–नछुट्ने टुंगो नभएको बताए ।