Skip Advt.

विद्या भट्टराई भन्छिन्– त्यसदिन मैले  उहाँ (रवीन्द्र) लाई शुभयात्रा पनि भन्‍न पाइनँ

विद्या भट्टराई भन्छिन्– त्यसदिन मैले  उहाँ (रवीन्द्र) लाई शुभयात्रा पनि भन्‍न पाइनँ

विशन क्षेत्री


पोखरा । मर्नेहरुले केही पनि लाँदैनन् भनिन्थ्यो तर रवीन्द्रले विद्याको सिन्दुर लिएर गए । उनको सिन्दुरसँगै पखालिए रवीन्द्रका सपना र  योजनाहरु अनि चंगाको धागो चुँडियो चुँडियो विद्याका माया । भविष्यप्रतिको सुन्दर कल्पनाहरु एकाएक विलिन भए। विद्याले पति गुमाइन् । स्वराज र विराजले पिता ।

मर्नेहरु त बस रित्तो हात, 
एकै थोपा आँसु नझारी गए, 
बरु तारा बनेर आकाशमा मुस्कुराईरहे
बाँच्नेहरु पो जानेहरुको यादमा रोई-रोई बाँचिरहेछन्,
काँपेको धर्तीमा उभिएर आफैँ काँपिरहेछन् ।

अहिले यस्तै हालमा छन्, नागरिक उडड्यन, पर्यटन तथा संस्कृति मन्त्री स्व. रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई । फागुन १५ गते ताप्लेजुङमा भएको विमान दुर्घटनामा ज्यान गुमाएपछि स्व. अधिकारीको मालेपाटनस्थित घर मौन छ । सोमबार उनको पुण्यतिथीको १३ औँ दिन पुगेको छ । उनको काजक्रिया भने ७ दिनमै सकिएको छ । आइतबार घरमा पुग्दा शुभचिन्तकको भीड उत्तिकै थियो । तर, त्यो भिडका सबैको अनुहारको औंशीको रातझैं, निभेको मैनबत्तीजस्तो थिए। 

मनमा पीडा राखेर अनुहारमा कृतिम हाँसो छर्दै विद्या शुभचिन्तकको सम्मानमा जुटिरहेकी थिइन् । निधारमा पहेँलो टिका लगाएकी विद्याको जीवनको रंग पनि पहेँलै भइसक्यो। तै पनि सम्हालिनुको विकल्प थिएन। एकैछिन कुरा गर्न आग्रह गरेपछि सहजै समय दिइन् । 

पतिभन्दा धेरै अभिभावक र त्योभन्दा धेरै जीवनका हरेक आरोहअवरोहका सहयात्री गुमाएकी विद्‍याको त्यो सहजपनाले उनको साहस झल्काउँथ्यो, जुन आम मानिसको लागि एक अपवाद नै हो । रवीन्द्र, रवीन्द्र बन्नुपछि उनले गरेको योगदान, राजनीतिक त्याग खुलाउँदै उनले भनिन्, म फ्रेस देखिए पनि म अझै 'ट्रमा' मा छु । रवीन्द्रसँगको भेटघाटदेखि २१ वर्षे वैवाहिक सम्बन्ध र राजनीतिक जीवनाका पाना उनले यसरी खोलिन् ।

राम्रो चिनजान भएको २०५० पछि हो । चिन्न त म त्यो भन्दा अगाडि नै विद्यार्थी साथित्वको हिसाबले चिन्थेँ । २०५० को हेटौँडामा सम्पन्न अनेरास्ववियुको १२ औँ राष्ट्रिय सम्मेलनमा उहाँ कोषाध्यक्षमा निर्वाचित हुनुभयो । म महिला विभाग प्रमुख थिएँ । पछि अर्को अधिवेशनमा उहाँ महासचिव बन्नुभयो । म महिला विभाग प्रमुख नै बनेँ । त्यतिबेला ११ जनाको सचिवालय सदस्य बन्यो । त्यो अधिवेशनदेखि नै संगठनभित्र दुईवटा धार देखिएका थिए । बामदेव गौतम नेतृत्वमा माले गठन हुँदा सचिवालय भित्र ५-५ जनाको मत विभाजन भयो । म त्यतिबेला निर्णायक थिएँ । हामी पार्टी विभाजन पछि पनि सँगै भयौँ ।

हाम्रो सम्बन्ध निकै अगाडि बढिसकेको थियो । त्यतिबेला संगठनभित्र नै सम्बन्धलाई लिएर विवाद बनाउन खोजिन्थ्यो । मेरो खुट्टामा समस्या थियो । त्यही कारण देखाएर रवीन्द्रले विद्यालाई विवाह गर्दैन्, प्रेमको भ्रम मात्र छरेको हो भन्ने एउटा जमात थियो । अर्कोचाहिँ हामीलाई समर्थन गर्ने समूह पनि थियो । यो प्रसंग किन जोड्न खोजेको भन्दा महिलाको स्वतन्त्र विचार लिने गरिन्नथ्यो । अहिलेपनि यो कायमै छ ।

२०५६ मा हाम्रो विवाह भयो । म भने पछि अनेमसंघतर्फ लागेँ । कार्यालय सचिव भएर काम गर्थेँ । त्यसपछिदेखि नै म राजनीतिमा त्यति सक्रिय हुन छाडेकी थिएँ । मैले आफ्नो पढाइलाई निरन्तरता दिएँ। उहाँ (रवीन्द्र) ले मलाई कहिल्यै यो, त्यो गर्न भन्नुभएन । मैले राजनीतिमा विस्तारै निष्क्रिय हुँदा उहाँले कहिल्यै किन भनेर सोध्नुभएन, आफ्नो रुची अनुसार नै अगाडि बढ्न भन्नुहुन्थ्यो । हात हालेका कुरामा अब्बल हुनुपर्छ भन्ने उहाँको मान्यता थियो ।

हामी अनुहार हेरेरै कुरा बुझ्थ्यौँ । म बिहानको समयमा प्राय खाली हुन्थेँ । खाली समय सदुपयोग गर्न एउटा कलेजमा प्राध्यापन गर्ने भन्ने सोच्दैँथे । एउटा कलेजमा कुरा पनि भईसक्याथ्यो । एक दिन मैले उहाँलाई सुनाए । उहाँले केही दिन पर्खिन भन्नुभयो । त्यसको केही दिनपछि उहाँ मन्त्री बन्नुभयो । म कलेज पढाउन आउन भ्याउँदिन भने । रवीन्द्र मन्त्री बनेपछिको पछिल्लो एक वर्ष धेरै समयसँगै रह्यौँ । विवाहपछि नै धेरै समयसँगै बिताएको उहाँ मन्त्री बनेपछि नै हो । हामीबीच समझदारी धेरै थियो । दुबैले एक अर्काको अनुहार हेरेर कुरा बुझ्थ्यौँ । विवाहको निम्ता मान्न जाँदा होस्, वा कुनै सामाजिक कार्यमा ।

उहाँले भन्नुहुन्थ्यो, समय के छ, मिल्छ भने जाँदा हुन्छ नि । उहाँले मलाई कहिल्यै कर गर्नुभएन । मेरो अनुहार हेरेरै कुरा बुझ्नुहुन्थ्यो । मेरा साथीहरुले पनि एक-दुई कुराहरु भन्न भन्थेँ, सहयोग गर्न भन्थे । मैले पनि उहाँको अनुहार हेरेर कुरा गर्थेँ । कहिलेकाहिँ त ३-४ दिनपछि पनि । मैले साथीहरुलाई भन्थे, म तपाईहरुको कुरा भन्छु, तर आजको आजै चाहिँ नहुन सक्छ है । साथीहरुले पनि कुरा बुझ्थेँ ।

नेवानि डुबाउन खोजिँदैछ

पहिलोपटक एभिन्युज टिभीमा हेरेकी थिएँ । उहाँले सबैलाई समान व्यवहार गर्न खोजेर भाइको सम्बन्धले कुरा गर्नुभएको थियो । पछि उहाँले भन्नुभएको थियो- "मैले सबैलाई समान व्यवहार गरेको हुँ ।" कलेज पढाउने साथीहरुले पनि रवीन्द्रलाई फसाउन खोजिँदैछ भन्थे । मैले एकदिन एकान्तमा नै सोधेँ, यो विषय के हो ?

उहाँले भन्नुभएको थियो, मैले केही गलत गरेकै छैन । सबै प्रक्रिया अगाडि नै सुरु भएको हो । न मैले कहीँ हस्ताक्षर गरेको छु, न कहीँ निर्देशन दिएको छु । यत्ति हो कि अन्तिम किस्ता नबुझाएको भए जहाज आउने थिएन, भन्नुहुन्थ्यो । पटक-पटक सोध्नु राम्रो हुँदैन । म आफैँ विश्वस्त थिएँ, यो सबै आरोप मात्र हो, आक्षेप मात्र हो । केही निजी कम्पनीहरुले नेपाल वायुसेवा निगम डुबाउन खोजेको उहाँले भन्नुहुन्थ्यो । 

मैले शुभयात्रा भन्न पाइनँ

हरेक दिन क्वार्टरबाट निस्कने बेलाँ मैले शुभयात्रा भन्ने गर्थेँ । म बिहानै उठेर अर्को कोठामा व्यायाम गर्दै थिएँ । उहाँ सुत्नुभएको थियो । उठाइन । पछि उहाँ उठ्नुभएछ । मलाई व्यायाम गरेको देखेर बोलाउनुभएनछ । पछि भन्नुभएको थियो । मैले हो र भनेँ ।

स्वास्थ्यमा उहाँले खासै ख्याल गर्नुहुन्थेन । बरु सोध्नुहुन्थ्यो, म कस्तो देखिएको छु, के खाँदा ठिक होला । त्यो दिन बिहान पनि उहाँले मलाई एकदम निद्रा पर्‍यो नि विद्या भन्नुभयो । म आज फ्रेस छु नि । मैले पनि अँ आज फ्रेस देखिनुभएको छ भनेँ । पछि चियाँसँगै खायौँ । एक छिनमा निस्किन्छु भन्नुभयो । म पनि साढे ९ मा निस्किनुपर्ने ।

सँधै म त्यस्तो बेला तल आएर शुभयात्रा भन्थेँ । अरु बेला बिहान खाली हुन्थेँ भन्न भ्याउँथे । अहिले रिसर्च सेन्टरमा काम सुरु गरेको छु । म नि साढे ९ मा पुग्नैपर्ने । म पनि हतारमा भएँ । म तल झरिनँ । पछि तल आउँदा उहाँ गइसक्नुभएको रहेछ, मैले सर जानुभयो भनेको त जानुभयो भने । मैले शुभयात्रा भनिनँ भन्ने लाग्यो ।

त्यो चाहिँ मेरो लागि एउटा... त्यस्तो दिन भयो एकाएक बादलले संसारको उज्यालो दिन घामलाई छेकेजस्तै । त्यो दिनको क्षण रमाइलोबाट नरमाइलो बन्यो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचारचार

पोखरा महानगरको कम्प्युटरमा ६० हजार लालपुर्जा

पोखरा । पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्यले पोखरा महानगरपालिकाले पुराना कागजातको विद्युतीय अभिलेखीकरण सुरु गरेको छ। सोमबार पोखरा

कर नतिर्ने प्याराग्लाइडिङ कम्पनीका गाडी महानगरको कब्जामा

पोखरा । दर्ता नभएका, नवीकरण नगरेका र कर नतिरेका प्याराग्लाइडिङ कम्पनीले उडान भर्न खोजेपछि पोखरा महानगरले ती कम्पनीका गाडी कब्जामा

पोखरा विमानस्थल :२५ दिनमा रनवे, डेढवर्षमा निर्माण सम्पन्न 

पोखरा । "अबको २५ दिनभित्र रनवे सकिन्छ, केही अवरोध नभए त २०७७ पुसभित्र सबै काम सकिन्छ। अहिलेको कामको गति अनुसार

नेकपाका कार्यकर्ताले उपसचिवको गाडी नियन्त्रणमा लिए 

पोखरा । सार्वजनिक बिदाको दिन सरकारी गाडीमा पारिवारिक भ्रमणमा निस्किएका ईलाका प्रशासन कार्यालय लेखनाथका उपसचिव चित्राङ्गत बरालको गाडी नेकपाका कार्यकर्ताले