site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
संकटग्रस्त पार्टीका कपटी नेता

नेपाली कांग्रेसको नेतृत्व योग्य, इमानदार र सक्षम भएका भए यतिबेला सरकारका बदमासीहरूविरुद्ध खबरदारी गर्दै सडक तथा सदनमार्फत् जनतासामु पुग्ने थिए । तर, कांग्रेसका शीर्षतहका नेताहरू अहिले दन्त बझान गरेर दुनियाँलाई तमासा देखाउँदै छन् । वैरी हँसाउनैमा व्यस्त छन् । सरकारले नेपाली कांग्रेस भन्ने कुनै पार्टी प्रमुख विपक्षी दल हो भन्नेसमेत बिर्सिसकेजस्तो व्यवहार गरेको छ । संवैधानिक परिषद्को बैठकमा पदेन सदस्य प्रमुख विपक्षी नेतालाई खबरै नगरी निर्णय गरियो । कांग्रेसका सांसदले संसदीय सुनवाइ विशेष समितिको बैठक बहिष्कार गरे । सरकारी पक्षले त्यसलाई महत्त्व नै दिएन । त्यसो त चिकित्सा शिक्षा विधेयक पारित गर्ने बेलामै सरकारले कांग्रेसलाई हेपेको हो । हुँदाहुुँदा सीके राउतसँग सरकारले सहमति गर्दा प्रमुख विपक्षलाई सहमत गराउनु त कता हो कता, जानकारीसमेत दिएको देखिएन । कांग्रेसकै इतिहासमा अहिलेसम्म सायद यति लाजमर्दो हेपाइ सहनु परेको थिएन ।

कांग्रेसलाई हेप्ने आँट
सरकारले न हेपोस् पनि किन ? कांग्रेसका नेताहरूले अहिले पार्टीको इज्जत बढ्ने र साख राख्ने त कुनै काम गरेका छैनन् । सिंगो पार्टी संगठनलाई एकढिक्का र चुस्त बनाएर जनसमर्थन बढाउनुपर्ने बेलामा कांग्रेसका शीर्ष नेता साथीहरूलाई ‘हैसियत’ सम्झाउनैमा व्यस्त छन् । पार्टीमा कब्जा जमाउन कांग्रेसका नेताले आफ्नै साथीलाई धोका दिए । महासमितिको बैठकमा शीर्ष नेताहरूले महासमिति सदस्य समक्ष गरेको विधान संशोधनमा स्वतः प्रतिनिधित्व हटाउने र समानुपातिकमा दोहोरिन नपाउने प्रावधान राख्ने वाचा गरेका थिए । तर, केन्द्रीय समितिको बैठकले त्यसको ठीकविपरीत व्यवस्था भएको विधान पारित गरेको छ । सभापति शेरबहादुर देउवा पक्षको केन्द्रीय समितिमा बहुमत छ । 

Agni Group

अल्पमतका रहेका नेताहरू पनि अहिलेमात्र एक भएका हुन् । मौकाअनुसार उनीहरू विशेषगरी कृष्णप्रसाद सिटौला समूह कहिले देउवा र कहिले कोइराला समूहमा टाँसिन पुग्छन् । तैपनि, अल्पमत पक्षका नेताहरूको महासमितिमा गरेको वाचा पूरा गर्नुपर्छ भन्ने अडान भने पार्टीको दीर्घकालीन हितमा हुनेदेखिन्छ । गाउँबाटै चुनिनु पर्ने भएपछि केन्द्रीय समितिका सदस्यहरू संगठन विस्तारमा लाग्ने त थिए । पार्टीकै हित हुने प्रावधानमा पनि देउवा समूहका नेताहरू महासमितिलाई दिएको वचन पालन नगर्ने हिचकिचाएनन् । यसले प्रधानमन्त्री केपी ओलीले डा. गोविन्द केसीलाई दिएको धोकाको सम्झना हुन्छ । हुनपनि, देउवा र ओली राजनीतिमा ‘मैकेयावेली पथ’का सहयात्री नै हुन् । ओलीलाई त्यसले लाभ भइरहेको छ । सभापति देउवा पार्टी हारेर पनि जितेका छन् ।

सक्कली आमाको कथा
कांग्रेसको अहिलेको अवस्थाले एउटा सबैले सुनेका कथाको सम्झना हुन्छ– एउटै बालकलाई दुईवटी महिलाले आफ्नो सन्तान भएको दाबी गरेछन् । त्यतिबेला डीएनए परीक्षणको चलन रहेनछ । राजाका सामु मुद्दा पेस भए पनि दुवै महिलाले बालकको आमा आफू नै भएको दाबी गरेछन् । राजा मुस्किलमा परे । अनि उनले भनेछन्– यो बालकमा दुवै महिलाको हक लाग्ने देखियो । त्यसैले यसलाई दुई चिरा पारेर बाँडिदिनू । बालककी जन्मदाताले त्यसपछि भनिछन्– भैगो, बरु उसैलाई यो बालक दिनू । कम्तीमा यो जीवित त रहन पाउँछ । अनि राजाले तिनै सक्कली आमालाई बच्चा दिलाएछन् । 

Global Ime bank

देउवा प्रवृत्ति
नेपालको राजनीतिमा ‘देउवा प्रवृत्ति’ भन्नाले सत्तामा रहन जस्तोसुकै सम्झौता गर्न पनि तयार रहने चरित्र भन्ने बुझिन्छ । ‘व्यवहारवादी’ भन्छन् क्यारे यस्तो प्रवृत्तिलाई । देउवा जोसँग पनि सम्झौता गर्न सक्छन् । देउवाका लागि सिद्धान्त र नैतिकता नभएर सत्ता प्राथमिक हुन्छ । यसैले उनले २०५८ सालमा सत्तामा रहन पार्टी फुटाए, संसद् भंग गरे । अन्ततः लोकतन्त्र राजाको पोल्टामा गयो । उनले छाडेको पार्टीले प्रतिनिधि सभा पुनःस्थापनाको आन्दोलन नथालेको भए अहिले देश कस्तो अवस्थामा हुन्थ्यो भन्न सकिँदैन । पछि पनि पुष्पकमल दाहालसँग सिद्धान्तहीन सम्झौता गरेर सरकारमा पुगेका हुन् ।  कांग्रेसलाई उनको त्यस सत्तालोलुपताले सधैँका लागि सत्ताविमुख बनाउने जोखिम बढेको छ । अहिले पनि पार्टीलाई कब्जामा राखिराख्न देउवा जस्तो सुकै कदम उठाउन पनि सायद हच्कनेछैनन् । 

बिरालो सोच
अल्पमत पक्षमा अहिले एकत्रित तर एकले अर्कालाई नेता मान्ने नसक्ने ७० नाघेका पाका नेताहरू पनि योग्य र इमानदार भने छैनन् । उनीहरूमध्ये अधिकांश अरूले पार्टी छाडे एक्लै नेता हुन पाउने सपनामा रमाउने प्रवृत्तिका छन् । यस्तो सोचलाई बिरालो सोच भनिन्छ । बिरालोले के सोच्छ रे भने घरका सबै मान्छे मासिए भने क्या आनन्द हुन्थ्यो ! म दिनरात चुलाको न्यानोमा आनन्दले सुत्थेँ । मूर्ख बिरालोले घरमा मान्छे नभएपछि चुलो पनि तात्दैन भन्ने कहिल्यै विचार गर्दैन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिका सदस्य शेखर कोइरालाको ‘हैसियत’मा सार्वजनिकरूपमै प्रश्न गरे । तर, सरकारले उनलाई पो बारम्बार हैसियत देखाइदियो त ! सभापति देउवा आफ्ना समर्थकबाहेक अरू नेता पार्टीमा छाडेर गए जाऊन् भन्ने चाहने र अरू नेता ‘बैठक बहिष्कार’को धम्की दिएर भागबन्डा खोजिरहने गरेको देखिन्छ । सरकारको मूर्खता र बदनियतबाहेक कांग्रेसको आफ्नै प्रयत्नबाट पुनरुत्थान हुन सक्ने देखिँदैन । 

पार्टीलाई जीवनदान
महासमितिको बैठक बोलाउन पनि तल्ला तहका कार्यकर्ताहरूको दबाब निर्णायक भएको थियो । अहिले पनि केन्द्रीय समितिले महासमितिमा दिएको वचन पालना गरेर विधानसम्बन्धी निर्णय नसच्याए महाधिवेशन बोलाउन दबाब दिने चेतावनी बहुमत जिल्ला सभापतिले दिएका छन् । उनको विगत र कार्यशैली दुवैले हेरेर सभापति देउवासँग अल्ममत पक्ष तर्सेको हुनुपर्छ । पार्टीको अनुशासन समिति पनि बहुमतका आधारमा गठन गर्ने अनि आफ्ना आलोचकमाथि कारबाही गरेर पार्टीबाटै निकाल्ने देउवाको रणनीति हुनसक्छ भन्ने बुझेर अल्पमत पक्ष आत्तिएको हुनसक्छ । हुन पनि देउवाले शेखरलाई अनुशासनको कारबाही गर्ने धम्की त सार्वजनिकरूपमै दिइसकेका छन् । सत्ताका लागि जे गर्न पनि नहिचकिचाउने देउवाले त्यसो गर्न पनि सक्छन् । यसैले पार्टीलाई जीवनदान दिने हो भने लोकतान्त्रिक विधि र प्रक्रियामा विश्वास गर्ने नयाँ पुस्ताका नेताहरू अगाडि सर्नुपर्छ । अहिलेका नेताहरू अर्को  महाधिवेशन पर्खन पनि त सक्तैनन् । एकपल्ट हारेपछि उनीहरूको त राजनीतिक जीवन नै समाप्त हुन्छ । यसैले तरुणहरू अगाडि बढेमात्र नेपाली कांग्रेस नामको नेपालको सबैभन्दा पुरानो र लोकतन्त्रप्रति समर्पित एउटामात्र पार्टीले जीवनदान पाउने देखिन्छ ।    

र, अन्त्यमा 
सीके राउतलाई चोख्याउनेबित्तिकै प्रधानमन्त्री केपी ओली तराईका दल र नेतालाई झम्टिन थाले । त्यसो त राजेन्द्र महतोजस्तालाई सायद केपी ओलीकै शैलीको ओँठे जबाफ चाहिन्छ होला तर नेपालका प्रधानमन्त्री महतोको स्तरमा नझरी अलि शिष्ट र संयमित भइदिए देशकै इज्जत बढ्थ्यो । प्रदेश नम्बर २ को सरकारविरुद्ध त्यहीँ गएर प्रधानमन्त्री ओलीले गरेको विषबमन उनको पदीय मर्यादाअनुरूप भएन । यसै पनि कर्मचारीतन्त्रले असहयोग गरेको त्यहाँको सरकारलाई अब झन् कसैले टेर्नेछैन । सीके राउतका भरमा तराईमा जम्न सकिन्छ भन्ने प्रधानमन्त्री ओलीलाई लागेको हुनुसक्छ । त्यो दुर्योधनले शल्यलाई सेनापति बनाएर महाभारत जित्ने आशा गरेजस्तै हो । सरकार राम्ररी जनताका पक्षमा सञ्चालन गर्ने हो र मयुरजस्तै आत्ममुग्ध नहुने हो भने बरु जनताको साथ पाउन सहज हुनेछ । ओली पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकै बाटामा हिँडेको देखिएको छ । आत्ममुग्ध ग्रन्थीले अहिले मोदीलाई परेको सकस ओलीले बेलैमा बुझ्नु बेस हुनेछ ।    
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC