site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यसपटक शिवरात्रि तर थिए अरु

लेख्नका लागि अन्य केही विषय थिए, तल केहीको चर्चा पनि गरिन्छ । तर – ‘‘माग्ने पनि उतै, भारतबाटै ल्याइन्छन्, आउँछन्’’ ओखलढुंगाकी उर्धबैंसे (अर्ध होइन उर्ध ) महिलाको खरो टिप्पणीले यसपटक शिवरात्रिलाई छनोटमा पारिदियो । हजारौं हो कि कतिऔं हो यो शिवरात्रि ? उत्तर थाहा भएन तर यसपटक पशुपति क्षेत्रको मृगस्थलीतिर जाने उकालो सिंढीमा विभत्स कुष्टरोगीको दृश्यतिर इसारा गर्दै ती महिलाले गरेको यही टिप्पणीले विषय बदली दियो । शिवरात्रिको भिडमा सधैं देखिने दृश्यभित्र माग्नेहरूको बेग्लै हुल पनि हरेक वर्ष दोहोरिने गर्छ ।   

हिन्दु आस्थाका आराध्यदेव, समस्त प्राणीजगत् अर्थात् पशुजगतका नाथ, पशुपतिनाथको क्षेत्र यसपटकको शिवरात्रिमा पनि श्रद्धालु मानिसको घुँइचोले भरिएकै थियो ।   व्यवस्थापनलाई भने अस्तव्यस्त लेख्दा बढी तथ्यपरक हुने देखिन्छ । व्यवस्थापन थियो तर अपर्याप्त र असुघ्घर । शिवरात्रिमा विस्तृत जानुअघि यसपटक लेख्नैपर्ने पहिलो विषय चाहिँ आयोगहरुमा हुनलागेको नियुक्ति र संसदीय सुनुवाइ हो । 

वित्त, समावेशी, मधेसी र थारु आयोगमा जो जो नियुक्त हुँदैछन् त्यसअघि नै तिनीहरु नैतिक संकटमा परेका छन् । संविधानको मर्यादा तोडेर तिनको नियुक्ति हुँदैछ ।  यस्तो पदमा सिफारिस गर्दा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षीदलको नेता हुनुपर्ने व्यवस्था संविधानले गरेको छ । यसो गर्नुको मतलब आयोगमा हुने नियुक्तिमा दलीयकरण नहोस् बरु सर्वमान्य वा अत्यधिक समर्थन प्राप्त होस् भन्ने संवैधानिक उद्देश्य हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले नियुक्त हुनेहरु परिषद्का सदस्य अर्थात् प्रमुख प्रतिपक्षी दलको नेतालाई औपचारिक सूचना नै नगरी  बहुमतको दम्भमा टेकेर भएको सरकारी निर्णयबाट हुनेछन् जुन अवैधानिक छ । पचास प्रतिशतभन्दा धेरैबढी जनमत यो निर्णयको विपक्षमा छ भन्ने स्पष्ट छ ।

एकातिर, प्रतिपक्षीविना गरिएको निर्णय र यही कारण संसदीय सुनुवाइमा नेपाली काग्रेस सहभागी नहुँदा व्यक्त भएको जनमत । अर्कोतिर संविधानको मर्यादा राख्न चाहने र संविधान कतैबाट उल्लंघन नहोस् भन्ने ठूलो जनमत यहाँ छ । त्यो जनमत संविधानविपरीत गरिएको सरकारी यो निर्णयप्रति सहमत हुने कुरै भएन । जनमत विपरीत, संविधानको बर्खिलाफ भएको यो बहुमतीय सरकारी निर्णय भयो, संसदीय भएन । सरकारी कम्युनिस्ट बाहेक यस निर्णयको पक्षमा उभिने अरु छैनन् । यसकारण यो निर्णय दलीय भयो, कम्युनिस्ट एकदलीय । यत्रो जनमत विपरीतको नियुक्ति कुन नैतिकताले लिने नियुक्तहरुले ? 

Global Ime bank

स्पष्ट बुझिएको जनमत र संविधानको मर्यादाका लागि यीमध्ये कसैले त्याग गर्नसक्छ ? वा अवैधानिक नियुक्ति लिन्न भन्नसक्छ ? संसदीय समिति संसदीयजस्तो भएन, सरकारी रबरछाप भयो । यसको नेतृत्वदेखि कम्युनिस्ट सदस्यहरु सांसदभन्दा बढी, सरकारी हुकुम प्रतिपालकजस्ता देखिए । संविधानको रक्षाका लागि, सदस्यहरुले अरु विषयमा दिएजस्तै सरकारलाई निर्देश गर्नुपथ्र्यो – प्रतिपक्षीदलको नेता जो परिषद्का पदेन सदस्य हुन् उनलाई राखेर सिफारिस गराऊ वा यसलाई नै अनुमोदन गराऊ । सबै पक्षको विश्वास आर्जन हुनुपर्ने आयोगमा बहुमतले निर्णय गरिने संवैधानिक कल्पना हुन्थ्यो भने त्यहाँ प्रतिपक्षी सदस्य राख्नैपर्थेन ।

त्यसो त, बहुमतको नाममा प्रधानमन्त्री केपी ओलीको नियुक्तिसँगै वा सरकारी संरचनाको आरम्भमै राष्ट्रपतिबाटै संविधान उल्लंघन  गराइएको हो । बहुमतबाट संवैधानिक प्रावधानको उल्लंघन गर्नुको मनसाय बहुमतले विधि हेरिँदैन मनपरी गर्नसक्छ भन्ने हो । यसको स्पष्ट अर्थ, संसदीय विधिविपरीत बहुमतको स्वेच्छाचारी र  अधिनायकवादतिर  सरकारको कदम थप गएको छ । 

अर्को विषय, नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्ने चर्चा । महासमितिमा दिएको सार्वजनिक वचन सभापति शेरबहादुर देउवाले तोडेको बताउँदै पार्टीका जिल्ला सभापतिहरुले विशेष महाधिवेशन माग गर्ने चर्चा सुरु भएको छ । तल्लैतहबाट पार्टी प्रतिनिधि हुनुपर्ने र एकपटक आरक्षण कोटा लिएको सदस्यले दोहोर्याएर कोटा नपाउने, प्रत्यक्षतिर जानुपर्ने भन्ने महासमितिको मागलाई स्वीकृत गर्ने मौखिक तर सार्वजनिक वचन सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले दिएका थिए ।

तर, सभापति देउवासँग पार्टी केन्द्रीय समितिमा रहेको बहुमतले त्यो वचन तोडिदियो । यसबाट सभापति देउवा स्वयंले दिएको वचन तोडेको, उहाँको आफ्नो भनिएका सदस्यहरु कार्यकर्तामाझ जान डराएको वा पार्टीभित्रको जनमतमा अगाडि नै हारेको, आरोप लाग्न थालेको छ । महासमितिको स्वीकृत मागलाई केन्द्रीय समितिले उल्लंघन गरेको दावीसहित कांग्रेसमा विशेष महाधिवेशनको चर्चा भएको हो । 

अर्को, अर्थतन्त्रको उल्टो यात्रा, स्वतन्त्र अभिव्यक्तिलाई निरुत्साहित गर्न रचिएका कानुनी प्रपञ्च र सरकारको रबैया पनि लेखनका विषय थिए । अनपेक्षित निधनमा परेका व्यक्तित्वसमेत लेखनका लागि योग्यपात्र हुन् । राजपाले सरकारलाई दिएको समर्थन पनि बुधवार फिर्ता लियो । कम्युनिस्टको एकता र कांग्रेसमा गुटबन्दी । आदि, यस्ता विषयबीच शिवरात्रि मुखमै पर्यो । शिवरात्रिमा जे देखियो अहिले नलेखे पछि सन्दर्भ सकिएला । 

चारपाँच वर्षदेखि लगातार हेर्दै आएको शिवरात्रिको चहलपहलमा विशेषताहरु भेटिन्थे । यसपटक भने ती महिलाको भनाइले विषय थमाइदियो । छोड्नै मन मानेन । पाटी, पौवा र सत्तलहरुको जीर्णोद्धारका लागि असरल्ल राखिएका सामग्री आँखा बिझाउने थियो अनि दशनार्थीलाई अप्ठ्यारो पर्ने गरी छरपस्ट । पशुपति दर्शनका लागि बिहानबाटै श्रद्धालुको लाम, सडकमा जाम तर ट्राफिक प्रहरीले त्यस्तो बेला पनि दोहोर यातायात चल्न दिएर सिठ्ठी सान फुक्दैथिए । यात्रु दर्शनभन्दा पनि त्राहीमाम् भन्दै हिँड्नुपर्ने । दुईबजे दिउँसोतिरबाट यसरी भिड ओइरियो कि यातायात साधन त के त्यो क्षेत्र तील राख्ने ठाउँ पनि नपाइनेजस्तै बन्यो । 

दशनार्थी मन्दिर प्रवेशका लागि यसपटक चार लहर व्यवस्था गरिएको रहेछ । पशुपनि दर्शनका लागि अतिरिक्त शुल्कको व्यवस्था यसपटक सुनिएन । अरु भिड थियो तर विगत वर्षको जस्तो रौनक थिएन । योगीहरु खासै थिएनन्, जोगीहरु पनि कमै देखिए । भारतको प्रयागराज (इलाहावाद) मा कुम्भमेला चलिरहेकाले योगी, जोगी कम आएको अनुमान त्यहाँ सुनियो । योगसाधनाका उच्च सन्त, महन्त पशुपतिले शिवरात्रिमा खासै तानेको देखिँदैन । कारण व्यवस्थापनको कमीले पनि हुनसक्छ । 

शिवरात्रिमात्रै होइन नेपालका पर्व परम्पराहरु प्रायः अध्यात्म चिन्तन निस्सृत, प्रकृति, जनजीवन र सामाजिक पक्षसँग जोडिएर संस्कृतिको स्वरुपमा स्थापित छन् । रुख, जनावर, सर्प र भ्यागुतालगायत सृष्टिका वस्तुलाई पुज्ने हाम्रो परम्परामा हिन्दु आस्थाले पत्थरलाई पनि देव वा देवाधिदेव बनाएको छ, विश्वास खन्याएको छ र जीवन्त पारेको छ । 

नेपालको धर्मपक्षसँग जोडिएको, आध्यात्मपक्ष, प्रकृति र संस्कृतिका विषयमा गहिरो अध्ययन,अन्वेषण भएजस्तो लाग्दैन । थिए प्रपन्नाचार्य (काले राई) र योगी नरहरिनाथ । उनीहरुको अध्ययन धार्मिक मान्यतासँग मात्र बढी जोडियो । पर्व परम्पराको अध्यात्म, प्रकृति, आर्थिक र संस्कृतिसँग रहेको तादात्म्य खासै खोलिएन । हाम्रो गीत, संगीत, संस्कृति र जनजीवनको विविध विषयमा अन्य विदेशीले नै अध्ययन, अनुसन्धान गरेको सुनिन्छ,पढिन्छ । शिवरात्रिको आधुनिक अनुसन्धान पनि अन्यत्रबाटै होला । आफूले नसकेपछि यही आशा गरौँ ।

एक उन्मुक्त वक्ता जोगी देखिए । सायद् भारतबाट आएका र शिवरात्रि आफ्नै पर्व ठानेर निर्भीक । तर, अर्का युवा पशुपतिका कारिन्दा थिए कि ? भिडमा सोध्न सम्भव भएन । उनी फुर्तीसाथ ती जोगीलाई हप्काउँदै थिए, टर्रो हिन्दीमा । तमासा नगर, नदेखा । भिड हेर्दै थियो, भिडले आफ्नै बहादुरी हेरेको ठान्दै थिए सायद् ती युवक । उनको तनक्क तन्किएको हाउभाउले यस्तै प्रदर्शित हुन्थ्यो । के हामी त्यस्तालाई राम्रो मुखले तर प्रभावकारी वचनले सम्झाउन सक्तैनौ ? त्यो हाम्रो सनातनी कर्तव्य पनि त हो । 

पशुपति भगवानको आम्दानी कति हुन्छ ? श्रद्धालुले चढाए जति । तर, गुठी पनि प्रशस्तै छ भन्ने सुनिन्छ । भगवानको आर्थिक स्रोत पनि मानिसले अपारदर्शी बनाएको छ । केही वर्ष, चढाइएको दानदातव्य सार्वजनिक गरेझैँ गरिएको हो । अहिले त्यो पनि सुनिँदैन ।

पशुपति क्षेत्र, जता हेर्यो लथालिङ्ग छ  फोहर, दुर्गन्धित । मन्दिर वरपर चाहिँ केही गर्न खोजेजस्तो देखिन्छ । त्यस बाहेक सबै वर्ष उस्तै, उस्तै । अलिकति तल उपत्यकाको सम्यता स्रोत मानिने वाग्मतीभन्दा ठूलो लाग्ने ढल छङछङ नदीमा खसिरहेछ । हिन्दु धर्मको ठूलठूला गफ चुट्ने र राष्ट्रलाई नै हिन्दू उद्घोष गर्नेहरुको ध्यान यता वा यस्ता पवित्रस्थलको पवित्रता कायम गर्न किन जाँदैन ? पशुपति क्षेत्र विकास कोष त कोष नै भयो, होला केही गर्दै । तर, शिवरात्रिमा व्यवस्थापन जे देखिन्थ्यो त्यो दुःखद थियो । बेइज्जती ।
सिँढीमा जताततै कुष्ठरोगीको लाम, मगन्ते । विभत्स घाउबाट पानी र पीप बगाउँदै मूढोझैं लडेका छियाछिया शरीर । कसले ल्यायो तिनलाई ? अरुबेला यस्ता रोगी मगन्ते कमै देखिन्थे । माग्ने महिला पनि छन् बालबच्चासमेत । भनिन्छ, यस्ता मगन्ते परिचालन गर्ने गिरोहहरु नै छन् । खासगरी भारतका केही क्षेत्रमा । सुने, पढेअनुसार मगन्ते उत्पादन गर्ने गिरोहको अर्को दुःखदायी र पापी कर्म छ । त्यो फेहरिस्त यहाँ सम्भव भएन । 

त्यस्तै कुष्ठग्रस्त रोगीको तस्बिर लिँदैथिए मंगोलियन अनुहारका विदेशी पर्यटक । यो दृश्यले प्वाक्क कुरा आयो –‘‘यी विदेशीले आफ्नो मुलुकमा नेपालको हबिगत भनी तस्बिर देखाउने भए । कोही त्यस्तै जिम्मेवारीमा रहेको भए, अन्तर्राष्ट्रियकरण समेत हुनेभयो, हाम्रो हबिगत ।’’ यो कुरा सुनेकी ती ओखलढुङ्गे महिलाले भनिन् – ‘‘यी, यस्ता मगन्ते पनि उतै भारतबाट ल्याइएका हुन्, विदेशीले चाहिँ नेपाली हबिगत ठान्ने भए ।’’ नाम सोध्न खोज्दा भिडमा हराइसकेकी उनको यही वाणी प्रेरणा बन्यो यसपटक शिवरात्रि लेख्न ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC