site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
होमस्टेको हैँसे
Sarbottam CementSarbottam Cement

अक्षर काका


“डङ्कने डाँडो यो गाउँको दुर्दशा हो, बुझिस् ! यसले गाउँको उज्यालो छेक्छ !” बजैले यसो भन्दाभन्दै बूढी औँलामा कतिपटक ठेस लगाइन् । बाह्रैमास शिशिर बेहोरिरहेको बूढो सिमलको फेदमा घाँसको भारी अडेस लगाएर खुइया... बिसाइन्, बीहिसरालाई उतिसाह्रो याद छैन ।

उनलाई यत्ति थाहा छ– जीवनको आधा उमेर त्यही डङ्कने डाँडोको पानीढलोमा व्यतीत भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

जान्ने–बुझ्नेहरूले भन्थे– डङ्कने रामकोटको सन्ताप हो । बीहिसराको अबोध मनले पनि प्रश्न सोधिरहन्थ्यो– कुन ईशले दिए होलान्, बिहानीको उदाउँदो घाम छेक्ने यस्तो श्राप ?
प्रकृति सधैँ एकनास रहँदैन । चोला बदलिरहनु यसको विशेषता हो । विकासको गतिले रामकोटको नियति पनि बदलियो । अझ भनौँ न, होमस्टेरूपी प्रगतिले रामकोटको दुर्गति क्रमशः मिथ बन्दैगयो ।

एक दशकअघिसम्म गरिबीबाट मुक्ति पाइएला भनेर बीहिसराले सायदै कल्पना गरेकी थिइन् ।

Global Ime bank

शीतयाममा हिउँको सिरेटो काखी च्यापेर रामकोटको लेक उक्लने चर्यालाई होमस्टेले इतिहास बनाइदेला भनेर सायदै सोचेकी हुँदिहुन् । 

मेलापात, भारोपर्म र अ‍ैँचोपैँचोमा गाइने जीवनका सुस्केरा, कौडा, चुट्का सुन्न मानिस धामा गरेर रामकोटको डाँडो उक्लेलान् । र, जिन्दगीको लय बदलिएला भनेर प्रौढ दिमागले सायदै अड्कल काटेको हुँदो हो । अभावको सुसेलीमा समृद्धिको राग मिसिएला भनेर सामान्य साक्षर बीहिसराले ठान्ने कुरा पनि त थिएन ।

गत भदौको अन्तिम साताबाट रामकोट सामुदायिक होमस्टेमा रूपान्तरित भएपछि अभावको आँखाबाटमात्रै जिन्दगी पढेका बीहिसरा आलेहरूको जीवनले काँचुली फेरेको छ ।

पौरखी मगर समूदायको मिहिनेत चाख्न र मानमनितो ग्रहण गर्न रामकोटको ढुङ्ग्यान–चुली चढ्न थालेका छन् । रामकोट सामूदायिक होमस्टेले बन्दीपुरको विकासमा हैँसे गरेको छ ।

\"\"

अघिल्लो दिन भलिभाँती हिउँ पोखिएकाले हुनुपर्छ, शुक्रबार छ्याङ्ग खुलेको थियो– उत्तरको माछापुच्छ्रे र मनास्लु । अन्नपूर्ण हिमशृंखलाको हाँसो त झनै जादुयी थियो । र, तम्यार थियो– त्रिशूली वाङ्मय प्रतिष्ठान आयोजक रहेको साहित्य–यात्रामा निस्किएका एक हुल साहित्यकारलाई स्वागत गर्न ।

“आज त हिमालले पनि बादलको बर्को पन्छाएर स्वागत गर्‍यो, बुझ्नुभो,” बीहिसराको अनुहार पनि उसैगरी हाँस्यो, “हिमालै हेरेर हुर्किएका हामीले पनि पर्वतमालाको अनुहार हेर्न नपाएको निकै भइसकेको थियो ।”

आँखाले हिमालको नियास्रो मेटाइसकेपछि उनी  साहित्यकारहरूको सत्कारमा तल्लिन भइन् ।

० ० ०

२० वर्षअघि विवाह गरी भित्रँदा रामकोट दुःखको अभेद्य पहाड थियो– डङ्कने डाँडोजस्तै ।

गाउँका पुरुष पारिवारिक–दायित्वप्रति बेखबर थिए । जिम्मेवारी उनीहरूको शब्दकोषमा थिएन । सन्तानको स्याहार–सुसारदेखि घर–व्यवहारको भारी महिलाको थाप्लामा थियो, बढी ।

गुजुमुज्ज परेको पुस्तैनी मगर बस्ती सुँगुर पालन केन्द्र आभास हुन्थ्यो । मानव र पशु मलमूत्रको दुर्गन्धले घर–आँगन फोहोरका उपकेन्द्र बनेका थिए । पुरुषहरू रातदिन मदिरामा लट्ठिन्थे । महिलाहरूको भागमा निकै बासी जिन्दगी थियो ।

झन्डै २० वर्षअघि फर्किन्छिन् उनी– “डाँडा तल्लोपट्टिको बन्दीपुरमा सुख–समुन्नति भरपुर थियो । माथ्लोपटिट्को रामकोट दुःख र अभावको चोटैचोट खप्न विवश थियो ।”

यसलाई बदल्नु सिवाय बीहिसरा हरूसँग कुनै उपाय थिएन ।

“कसरी बदल्ने ?,” तर, निरूपाय थिए उनीहरू ।

पसिना बगाउनेबाहेक जीवन बदल्ने बनिबनाउ सूत्र पनि त हुँदैन । अतः फरक ठाउँमा पसिना सिञ्चित गर्ने निधो गरे ।

बीहिसराले नौ कक्षासम्म मात्रै विद्यालयको खुट्किला टेकेकी छिन् । दुःखका कखरामात्रै मुखाग्र छ । बन्दीपुर आउजाउ गर्दा संघसंस्था र समूहबारे सुनेकी पनि थिइन् । महिला समूह गठन गर्ने दुःखको कायालाई बदल्ने लक्ष्य लिइन् । त्यसमा वर्तन थप्यो– बन्दीपुर गाउँपालिकाले ।

चेतनाबाट कोशौं टाढा रहेका रैथाने मगर समूदायका महिला संगठित हुन कहाँ मान्थे र सजिलै ? डङ्कने पहाड उक्लनभन्दा गाह्रो भयो !

सङ्घर्षकी उपमा बनेकी बीहिसरालाई हार्ने छुट थिएन ।  र त, बन्दीपुर गाउँपालिकासमेतको सहयोग लिएर उनले महिलाहरूलाई संगठित गरिन् । ढिलै सही, बन्दीपुरसँगै विकासमा पाइला सार्न भूमिका निर्वाह गरिन् ।\"\"रामकोट सेन वंशीय राज–खलकको इतिहासजत्तिकै पुरानो छ । पाल्पाली राजा मणिमुकुन्द सेनकै पालामा रामकोटमा प्राचीन मगर बस्ती बसेको हो भन्ने जनकहावत् ज्युँदै छ ।

रामकोटका डाँडामा असरल्ल छरिएका अवशेषप्रायः हातहतियार, किल्ला, हात्ती बाँध्ने किलो त्यसैका सबुत हुन् भन्छन् स्थानीय ।

“मुकुन्देश्वरीको गजुर बन्दीपुरको शिर बनेको छ । वर्षका दुईवटै दसैँमा नित्य पूजा–अर्चना गरिन्छ,” बीहिसरा  थप्छिन् ।

गुचुमुच्च बस्ती । सा–साना सिलोट (ढुङ्गा)ले छाएको ८०–८२ घरधूरी । चित्ताकर्षक बार्दली, कौसी । बाँसले बारेका चिटिक्कका बाटा मगर गाउँको चिनारी बनेको छ ।

गाउँको मध्यभागमा रहेको गोलघर । ६ वटा थाम, सिरानमा दक्षिणपट्टि फर्किएको बान्किलो झ्याल गोलघरको परिचायक मात्रै बनेको छैन, आगन्तुकका आँखामा त्यसले बिछट्टै सौन्दर्य प्रदान गरेको छ ।

रामकोटसँग खरले छाएको शताब्दी लामो इतिहास बोकेका त्यस्ता घर तीनवटा निधि थिए । झुप्रै भए पनि बेलाबखत आउने विदेशी पाहुनाको क्यामेराको दृष्टि त्यतै सोझिन्थ्यो । सेवा–सुश्रूषा नपाएपछि अन्ततः भग्न बने ।

“उतिबेला यी घर सबैभन्दा अभागी लाग्थे । भत्किएकामा खासै दुःख लाग्थेन । जोगाउन पाएको भए होमस्टेको विकासमा थप बल पुग्दो रहेछ, अहिले आएर थाहा भयो,” थकथकी मान्छिन्, बीहिसरा ।

रूखो रामकोटमा केही वर्षअघिसम्म सुन्तला र वर्षे कमाइमात्रै फल्थ्यो । खानेबेलामा रामकोटबासी पहिला कि खोटेत्रो पहिला, प्रतिस्पर्धा नै चल्थ्यो । मुख्य अनाज भन्नु नै कोदो थियो । दुई–चारबोट सुन्तला हुनेहरूले दुई–चार रुपैयाँ आर्जन गर्थे । नहुने दुई–चार माना रक्सी पार्थे र पचास–सयको जुगाड गर्थे ।

होमस्टे सञ्चालनमा आएपछि सुन्तला नै कुरेर बस्नुपर्ने नियतिबाट पार पाएका छन् उनीहरूले । सुँगुर–कुखुरा डुल्ने ओसिलो रछ्यानमा सागपात लहलहाएका छन् ।

“हिउँको सिरेटोले मुटु कमाउँदा हिमालको कहिल्यै जन्मिन नपरोस् लाग्थ्यो । अहिले यही हिमाल हेर्न पर्यटकको लर्को लाग्दा । हिमालमा जन्मिन पाइरहियोस् लाग्छ,”– समवेत लयमा ठट्टा गर्छन् रामकोटबासी ।

\"\"सात महिने शिशु होमस्टेको भरण–पोषणमा जुटेका छन्, रामकोटबासी । पाहुनाको स्वागत–सत्कार आर्यआर्जनको गतिलो माध्यम बन्न सक्छ भनेर सबैलाई बुझाउन नसक्दा आंशिक घरमात्रै होमस्टेमा सामूहिकताका समेटिएका छन् । घरमा कोठा बारेर पाहुना कक्ष बनाएका छन् ।

शुरूआतमा सात जनाले होमस्टेको प्रशिक्षण लिएका थिए । पछिल्लो पटक थप सात जना तालिम लिएर होमस्टेमा जोडिएका छन् ।

“सबै घरलाई होमस्टेमा नजोड्दासम्म रामकोटको विकास कसरी सम्भव होला ?,” रातदिन चिन्तित छिन् बीहिसरा  ।

मगर संस्कृति, वेशभूषा, परिकार र स्वागत–सत्कार होमस्टेका अनिवार्य शर्त हुन् । मुर्झाइसकेको लोक–संस्कृतिलाई केही हदसम्म ब्युँताउन सफल भएका छन् ।

“यी सबै सम्पत्ति हुन् भन्ने चेतना जागृत भएको भए, उहिल्यै जगेर्ना गथ्र्यौं,” सचिव कृष्णमाया थापा गुनासो गर्छिन् ।

रामकोट होमस्टेलाई बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख बजेट छुट्याएको छ । तर, सपनाको चाङ निकै अग्लो छ– रामकोटबासीको ।

गाउँमा पानीको समस्या छ । पैसाकै अभावले महिला दिदीबहिनीको सीप विकास गर्न सकेका छैनन् । कयौँ आमा–दिदीबहिनी श्रीमान्कै पसिनामा आश्रित छन् । बीचमै कक्षा छाड्ने स्कूले केटाकेटीको संख्या उकालो चढेको चढ्यै छ । यिनै कुराले चिन्तित छिन्– कृष्णमाया ।

गाउँपालिकाको नवौँ रामकोट सामूदायिक होमस्टे भर्खर वामे सर्दै छ । बन्दीपुरसँग साँध जोडिएकाले त्यहाँ आउने पर्यटक दुईघन्टाको हाइकिङ गर्दै रामकोट उक्लनेमा आशावादी छन् ।

“पाहुना समृद्धिका बाहक हुन् । रामकोटको विकासको सम्वाहक बनिहाल्छन् नि !,” आशावादी देखिन्छिन् बीहिसरा  ।
\"\"(तस्बिर सौजन्य आसुतोष प्रधान/बन्दीपुर)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC