Skip Advt.

विकासको यो रूप अर्थात् विद्रूप ! 

विकासको यो रूप अर्थात् विद्रूप ! 

काष्ठमण्डपको पुनर्निर्माणका सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको एउटा बैठकमा काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुखले ‘महानगरले ठेक्का लगाएर बनाउँछ र समुदायले त्यसको ‘ब्युटिफाइ’ गरे भइहाल्छ‘ भन्दा हामी विस्मित भएका थियौँ । काष्ठमण्डप पहिलेकै रूपमा बन्नुपर्छ भन्ने अभियानका हामी थियौँ । प्राचीन सम्पदाको सिंगारपटार गर्ने कार्य त गर्न मिल्दैन । तर, ती अधिकृतलाई सायद त्यो थाहा थिएन । विकासका नाममा हामीले राणा शासनको अन्त्यपछि जे गरेका छौंँ र बुझेका छौँ ती अधिकृतले त्यही जान्नु र भन्नु आश्चर्य पनि होइन । त्यसो त, राणाहरूले नै पनि नेपाल मण्डलको वास्तुशिल्पलाई उपेक्षा नै गरेका थिए । तर, पछिल्ला दिनमा विकासको अर्थ सिमेन्ट र फलामको थुप्रो हुन पुगेको छ । यही विकास चिन्तनको मारमा तनहुँको आँबुखैरेनी गाउँपालिकामा पर्ने छिम्काको लेखमा अवस्थित छिम्केश्वरी माईको मन्दिर र परिसर पनि परेछ । दिक्क र दुःख दुवै लाग्यो ।

छिम्काको लेख महाभारत शृंखलाको सबैभन्दा अग्लो चुचुरो हो । यहाँबाट तनहुँ, गोरखा र लमजुङको अधिकांश भाग देखिन्छ । हिमाल चिन्नेहरूले नेपालका धेरै हिमाल देखिन्छ भन्छन् । श्रीभद्र शर्माले त्यहाँबाट धेरै हिमालको नाम भन्दै देखाएको अझै सम्झना छ । बन्दीपुर त झन् रमाइलो देखिन्छ । चितवन र चुरेको शृंखला पनि देखिन्छ । ‘मेचीदेखि महाकाली’ भन्ने पुस्तकको भाग ३ मा यसको उचाइ ३ हजार १३४ मिटर लेखिएको छ । अन्त कतै, ७ हजार चानचुन फिट भन्ने पढेको छु । एकाधपटक त्यहाँ हिउँ देखेको सम्झना छ । 

छिम्कालेखमा माईको पूजाको सिलसिलामा वा बहकिँदै पनि धेरैपटक पुगेको छु । तर, पछिल्लोपटक २०४१ /४२ सालतिर गएको थिएँ । त्यतिन्जेलसम्म छिम्केश्वरीको ‘विकास’ भएको थिएन । यही फागुन १३ गते मूलतः माईको दर्शन गर्न छिम्केश्वरी पुग्दा त्यहाँको विकास देख्नेबित्तिकै मैले ती काठमाडौं महानगरपालिकाका अधिकृतलाई सम्झेको थिएँ । माईको स्थान र परिसरको पनि ‘ब्युटिफाइ’ गरिएछ ।

माईको स्थान पुग्ने बेलामा सिंहमर्मरको एउटा पाटीमा लेखेर टाँसिएको छ – ‘‘ सहरी विकास तथा भवन डिभिजन कार्यालय गोरखा एवं छिम्केश्वरी पर्यटन पूर्वाधार विकास निर्माण उपभोक्ता समिति तहनहुँद्वारा संयुक्तरूपमा छिम्केश्वरी मन्दिर परिसरमा पाइप रेलिङ, विश्रामस्थल, भुइँमा ढुंगा छपनी, गेट निर्माण आदि कार्य सम्पन्न गरियो । २०७१।३।२० गते ’’ । पोखरी कस्ले बनाएको हो र कहिले बनाएको भन्ने चाहिँ देखिएन ।

हामीले सुन्दै हुर्केका थियौँ – छिम्केश्वरी माईको मन्दिर बनाउनु हुँदैन । मन्दिर बनाउन खोज्नेलाई माईको भैरवले नै लखेट्छन् । यसैले मनकामनाको ‘मन्दिर’ र छिम्केश्वरीको ‘स्थान’ भन्ने गरिएको हो । माईको स्थानमा वरपर ढुंगाले घेरे पनि छत उदांगै थियो । माईको मूर्ति थिएन । शिला थियो । मूर्ति नहुनुको कारणमा माईले मनकामना, गोरखकाली, इच्छाकामनालगायतका बहिनीहरूले राँगा, कुखुरा भोग लिए भनेर माई घोप्टो परेकी हुन् भन्ने सुनेको हो । बुढीदेउतीको भने सुन्दर मूर्ति थियो । चोरी भएपछि एउटा हात भाँचिएको थियो । चोरले नै मूर्ति फर्काएर ल्याएको हो भन्थे । यही २०३० सालको आसपासको घटना हो । अहिले मूर्ति फेरि चोरिएछ । एउटा हातमात्र त्यहाँ बाँकी छ । 


भैरवको स्थान भने जस्ताको तस्तै रहेछ । 

माईको मन्दिर बनाउन खोजिएको देखियो । माथि छानाजस्तो लागेको छ । अहिले त झन् ठूलो योजना छ रे मन्दिर निर्माणको । मन्दिर नजिकै एउटा पोखरी खनेर बर्खाको पानी जम्मा गर्ने प्रयास भएको छ । त्यहाँ मन्दिर नजिकै पानी जम्मा गर्ने सोच कसरी आयो ? पहिले पानी नभएका ठाउँमा खनिएको पोखरीमा प्लास्टिकले बारेर राखेको छ । यस्तै, मन्दिर वरपर सिमेन्टको खम्बा उभ्याएर फलामको डन्डीले बार लगाइएको छ । त्यो बार के छेक्नका लागि हो ? प्रयोजन बुझ् सकिन । वनमा चर्ने पशुहरूलाई छेक्न हो पनि भन्न मिल्दैन । अर्को बाटोबाट त आउन सकिहाल्छन् । 

माईको स्थानमा सौर्य बत्ती पनि जडान गरिएछ । सामान्यतः माईको स्थानमा राति त कोही जाँदैन । जात्रा लाग्दा पनि तलै लाग्थ्यो । बत्ती त राखे ल भैगो । माइको शिलासँगै ब्याट्री पनि राखेका छन् । र त्यसले पवित्रतामात्र हैन सौन्दर्य बोधमा पनि प्रहार गरेजस्तो लाग्यो । त्यसो त जताततै छरिएका प्लास्टिकले अहिले अन्यत्रजस्तै छिम्केश्वरी परिसर पनि फोहोर बढाएको छ । माईको स्थान वरपरको जंगल अलि बाक्लो थियो । गुरासबाहेक अरू बुटामा बाक्लो झ्याउ लागेको देखिन्थ्यो । त्यसले एक प्रकारको सुन्दरता र पवित्रता बढाएजस्तो अनुभव हुन्थ्यो । अहिले त जंगल पनि पातलो भएछ । पोथ्राहरूमा झ्याउ पनि छैन । छिम्कालेखमा धेरै प्रकारका जडीबुटी पाइन्छ भन्थे कविराज यमनाथ अधिकारी । नरदेवी आयुर्वेद क्याम्पसमा पढाउँदा उनले बर्सेनि विद्यार्थीलाई त्यहाँ लैजाने गरेको बताएका थिए । 

माईको मन्दिरमा अहिले गरिएको ‘विकास’ साधनस्रोतको अपव्ययमात्र हैन पवित्रता र सौन्दर्यमा गरिएको प्रहार पनि हो । बार बार्नु जरुरी नै देखिँदैन । चोर त्यस्तो बारले रोकिँदैन । पशु आउने बाटो अरू पनि छन् । केलाई रोक्न लगाएको हो सिमेन्टी र पलामको घेरा ? बार राख्नै परे काठ र बाँसकै तगारो बनाएको भए त्यहाँको सौन्दर्य कम खलबलिने थियो । छिम्केश्वरीलगायत वरपरका डाँडामा स्थापना गरिएका माईहरूलाई प्रकृति पूजक आदिवासीले स्थापना गरेको हुनुपर्छ । पछि यिनलाई हिन्दु देवी बनाइएको हुनुपर्छ । 

पोखरी बनाउँदा त्यसको प्रयोजन बारे पनि भने विचार नगरेजस्तो लाग्यो । त्यहाँ जम्मा भएको बर्खाको पानी खान पक्कै हुँदैन । पशुलाई त्यहाँ पोखरी बनाइदिएको हो भने त्यो पनि मूर्खता हो । तलै पधेँरामा पानी खान्छन् । नभए अलि तल बनाएको भए हुन्थ्यो । त्यहाँको पानी रसाउन थाल्यो भने पहिरो जाने जोखिम पो देखिन्छ बरु ! 

इन्जिनियरिङ शिक्षामा नै खोट छ कि उनीहरूले राजनीतिक, प्रशासनिक नेतृत्व रिझाउन पढेको विद्याको अपमान गरेका हुन् ? छिम्कालेख पुगेर फर्कदा यो प्रश्न मेरो मनमा फेरि आयो । सौन्दर्य शास्त्रका बारेमा इन्जिनियरिङमा पनि पढाइ त हुनुपर्ने हो । अमूर्त मानिएला तर देवीदेवताका स्थानमा पवित्रता पनि जोडिएकै हुन्छन् । मन्दिर वा माईको स्थानमा पुग्दामात्र हैन चर्च र मस्जिदमा पनि एक प्रकारको शान्ति अनुभव हुन्छ । त्यस्ता ठाउँहरूलाई सिमेन्ट र फलाम थुपारेर कुरुप र अपवित्र बनाउने शिक्षा दिइएको हो भने तिनलाई प्राचीन सम्पदाको नजिक पर्नै दिनु भएन । 

बाटामा भएको ढुंगा छपनीले माटो त छोपेको छ तर बाटो झन् अस्जिलो बनाएको छ । मिलाएर सिँढी लगाइएको छैन उबडखाबड ढुंगामा ओरालो झर्दा त सास्ती नै हुनेरहेछ । पहिले त ओर्लँदा बाटो त्यति अप्ठेरा भएजस्तो लागेको थिएन । चिप्लो नभएका बेलामा त माटोमै हिँड्न सजिलो हुन्छ । चिप्लो भए ढुंगामा पछारिए ठूलै खती हुने जोखिम छ । 

सिमेन्ट र फलामको विद्रूप संरचना बनाएर मौलिक धार्मिक स्थलहरूको सौन्दर्य र पवित्रताको हत्या गर्नेहरूलाई सजाय नै हुनुपर्ने हो !      

र अन्त्यमा
‘‘राजनीतिक नेतृत्वले आफ्नो सत्ता र सम्पत्ति बढाउन मुलुकका नीति र संस्थाको दुरुपयोग गर्न थालेपछि सामान्यतः जित भ्रष्टाचारको हुन्छ ।’’ ट्रान्सपरेन्सी इन्टरनेसनलको आजको न्युजलेटर यही वाक्यबाट सुरु भएको छ । छिम्कालेखमा विकासका नाममा भएका गल्तीहरू भ्रष्टाचारकै उपज हुन् त म भन्न सक्तिन । तर, कतै न कतै जनप्रतिनिधि नभएका बेलामा भएका बदमासी भने हो । यद्यपि, जनप्रतिनिधिहरूका लागि पनि विकास भनेकै सिमेन्ट र फलामको थुप्रो भएको छ । भएगरेका कामको संरक्षणभन्दा नयाँ बनाउने नाउँमा पैसा मास्ने काममात्र हुने गरेको छ । 

खुला छाडिएको खानेपानीको पाइप कुनै पनि बेला काटिन, पोलिन र उखेलिन सक्छ । 

गोविन्द अधिकारी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचारचार

समृद्धिको चटारो 

तलको तस्बिर बसुन्धरास्थित प्रहरी चौकी नजिकै सामाखुसी खोलाको हो । दुवै किनार चेपेर साँगुरो बनाइएको खोला प्लास्टिकले छोपिएको छ ।

संकटग्रस्त पार्टीका कपटी नेता

नेपाली कांग्रेसको नेतृत्व योग्य, इमानदार र सक्षम भएका भए यतिबेला सरकारका बदमासीहरूविरुद्ध खबरदारी गर्दै सडक तथा सदनमार्फत् जनतासामु पुग्ने थिए

शेरबहादुरको ‘हैसियत’ र शेखरको ‘संस्कार’

पार्टी कार्यकर्ताको मनोबल प्रतिबन्धित रहेका बेलामा भन्दा पनि खस्केको छ । सरकार अधिनायकवादतर्फ अग्रसर भएको देखिँदै छ । तैपनि, पार्टीका

खबरदार, मेरो स्वतन्त्रता नलुट !

माओवादीको हिंसात्मक विद्रोह कालमा आतंकविरुद्ध आवाज उठाउने वा रकम असुलीको आदेश नमान्ने व्यक्तिलाई ‘सफाया’ गर्ने धम्की सामान्य थियो । धम्की