site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
कोइराला परिवारबाट एकजना सभापतिमा उठ्छौं
Sarbottam CementSarbottam Cement

नेपाली कांग्रेका केन्द्रीय सदस्य डा. शेखर कोइराला पछिल्लो समय आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाले गरेको टिप्पणीका कारण चर्चामा छन् । १४ औं महाधिवेशनमा कांग्रेस सभापतिमा उठ्ने तयारीमा लागेका कोइराला भने देश दौडाहामा सक्रिय छन् । 
प्रस्तुत छ– सोही क्रममा उनी विराटनगर आइपुगेका बेला कोइराला निवासमा बाह्रखरीका कुमार लुइँटेलले गरेको कुराकानीः 

 

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘कोइराला परिवार’ भनेर सार्वजनिक रुपमा आलोचना गर्नुभएको छ, यसलाई यहाँले कसरी लिनुभएको छ  ?

उहाँको राजनीतिक संस्कार होला, उहाँले नै जान्ने कुरा भयो । म मेरो राजनीतिक संस्कार छाड्न सक्तिनँ । जुन परिवारमा जन्मिएर हुर्किएको छु त्यसको संस्कार ‘बरकरार’ राख्ने छु । जुन परिवारसँग जोडिएको छु त्यहाँबाट मैले पाएको राजनीतिक संस्कार र ज्ञान पनि त्यही हो । उहाँले जे बोल्नु भएको छ त्यो उहाँको राजनीतिक संस्कार होला ।

Prabhu Bank
Agni Group
NIC Asia

कोइराला परिवारको आलोचना गर्नुको कारण र औचित्य के होलाजस्तो लाग्छ ?

कांग्रेस कोइरालाहरुले मात्र बनाएको पार्टी होइन । प्रजातन्त्रलाई माया गर्ने सबै साथीहरुको रगतले सिञ्चित भएको छ । यो कुरा सभापति शेरबहादुर देउवालाई पनि थाहा हुनुपर्ने हो । उहाँको बोली र व्यवहारबाट कस्तो संस्कार रहेछ भन्ने बुझिन्छ । किन यसरी आलोचना गर्नु भएको हो उहाँले बुझ्ने कुरा भयो । तर, कांग्रेस कोइरालाहरुको मात्र होइन भन्नेमा द्विविधा छैन । तर, म को हुँ भन्ने मलाइ राम्रो हेक्का छ ।

Global Ime bank

विशेष गरेर तपाइँको आलोचना गर्नुभएको छ ‘शेखर बढ्ता बोल्ने ?’ भन्नुभएको छ । तपाइँलाई पटक पटक आग्रह गर्दा पनि सभापतिको आलोचना गर्न छाड्नु भएन रे हो ?

मैले सभापति भनेर आलोचना गरेको छैन । नेतृत्व भनिरहेको छु । तोकेर सभापति होइन नेतृत्व भन्ने गरेको छु । कांग्रेस कमजोर भएको छ । संगठन शून्य बराबर छ । यो त अहिले पनि भन्छु । चुनाव हार्नु ठूलो कुरा होइन तर त्यसको जिम्मेबारी कस्ले लिने भन्दा बढ्ता बोल्ने भनिन्छ भने मलाई केही भन्नु छैन । कांग्रेसको भ्रातृसंगठनको अवस्था । पार्टीको स्थिति सबैले देखेका छन् । यसमा मैले केही भनिरहनुपर्दैन ।

अनुशासन समिति गठन हुँदैछ । त्यसपछि तपाईंलाई कारबाही गर्ने चर्चा पार्टीभित्रै छ नि !

कांग्रेसलाई मजबुत बनाउने कुरा गर्दा कसलाई अफ्ठ्यारो लाग्छ भने मेरो भन्नु केही छैन । मैले नाजायज कुरा गरेको छु र ? सत्य बोल्दा निलम्बन गरिन्छ भने मलाई जवाफ दिनु छैन ।

शेरबहादुर देउवा र तपाईंबीचको सम्बन्ध कहाँबाट बिग्रियो ? 

उहाँसँग मेरो सम्बन्ध बिग्रिएको छैन । केही बिग्रिएको छैन । उहाँ मेरो आदरणीय सभापति हो । मैले मान्छु । उहाँले बोल्नुभन्दा अगाडि काठमाडौमा दश पन्ध्र दिनअघि भेटेको छु । विराटनगर आउँदा पनि भेटेको थिएँ । कुराकानी भएको थियो । तर, उहाँले किन बोल्नुभयो उहाँले नै जान्नुहोस् । म उहाँलाई सम्मान र इज्जत दुबै गर्छु ।

१३ औं महाधिवेशनका बेला तपाईंलाई उहाँले उपसभापति बनाउने आश्वासन दिनुभएको थियो भन्ने कुरा सार्वजनिक भएको थियो सही हो ?

त्यो बेलाका कुरा नकोट्याउँ ।  मैले के के भनेर भनेँ त्यो पछि आउला । उहाँले महामन्त्रीको प्रस्ताव दिनु भएको हो । तपाईंको समूहमा आएर म महामन्त्रीमा लड्दिनँ भनेँ । म असमर्थ छु, म गर्दिनँ भनेँ । उहाँले मासमा उपसभापति बनाउने भन्नुभयो । मैले त्यो ‘नोमिनेसन’ गर्ने अधिकार तपाईंको हो म अहिले केही भन्दिनँ भनेको हो ।

तपाईंलाई प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनाउँछु भन्नुभएको थियो, पछि बनाउनुभएन । प्रहरी महानिरीक्षकको विवाद भएका बेला तपाईंलाई नै तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसँग छलफल गर्न पठाउँदा तपाईंले मान्नुभएन रे, देउवा नेतृत्वको सरकारले गरेको कामको पनि आलोचना नै गर्नुभयो, सभापतिले भनेको किन केही पनि नमान्नुभएको ?

सभापतिले भनेको कुरा नमानेको छैन । उहाँले जे भन्नु भएको छ त्यो गरेको छु । तर गलत कुरा उहाँले पनि भन्नु भएको छैन, मैले पनि गरेको छैन । मलाई कोइराला परिवारले राजनीतिक संस्कार दिएको छ । नैतिकताको बलमा राजनीति गर्ने गरेको छु । महाअभियोगको कुरा र आईजी प्रकरण गलत थियो भन्ने त प्रमाणित नै भइसक्यो । गलत कुरालाई बढावा दिनु हुँदैन । म गलत काम गर्दिनँ र गलत कामका समर्थन पनि गर्दिनँ ।

कतिपयले यसलाई १४ औं महाधिवेशनको तयारीका रुपमा पनि हेरेका छन् नि ? 

१४ औं महाधिवेशनको तयारी अब सुरु गर्नुपर्ने हो । तर, सभापति आफैं बिनाकुनै कारण कार्यकाल बढाउने भन्दै हिंड्नु भा’छ । हाम्रो कार्यकाल अब एक वर्षमात्र हो ।  कुनै विशेष परिस्थितिबिना महाधिवेशन सार्न मिल्दैन । म महाधिवेशनको तयारी भन्दा पनि देशभरका साथीभाईहरुसँग भेटघाट गर्न भने हिंडिरहेको छु । 
सभापतिचाहिँ साढे ५ वर्षको कार्यकाल बनाउने तयारीमा हुनुहुन्छ । समयमै १४ औं महाधिवेशनबाट अघि नबढुञ्जेल कांग्रेस कमजोर भइरहने छ । सभापतिले भनेजस्तो कार्यकाल थप्ने हो भने हाम्रो अवधि पुग्दा नपुग्दै फेरि स्थानीय निर्वाचन गर्ने बेला हुन्छ । यस्तो अवस्थामा स्थानीय चुनावको तयारीमा हामी कसरी सक्रिय हुन सक्छौ ?

कोइराला परिवारका तर्फबाट एकजना सभापतिको दाबेदार हुने कुरा सार्वजनिक भएको थियो । तपाईं, सशांक कोइराला र सुजातामध्ये एकजना हो कि तपाईं नै हो ?

कोइराला परिवारबाट कोही एकजना सभापतिमा उठ्ने भन्ने कुरा भएको छ । हामी परिवारमा बसेर सरसल्लाह गर्छौं । यो परिवारको मात्र कुराभन्दा पनि सबै साथीभाई र तलबाट कस्तो कुरा आउँछ त्यो महत्वपूर्ण हो । कोइरालाको लिगेसीले मात्र सभापति हुने भन्ने कुरा हुँदैन । सबैको मनोभावले निर्धारण गर्ने विषय पनि भयो । तर, पहिले हामी तीनजना बसेर सरसल्लाह गर्छौं । हामीमा समस्या छैन । 

त्यसका लागि तयारी कस्तो गर्नुभएको छ त ?
म त घुम्दै छु । साथीभाइसँग भेट्दै छु । कुराकानी गर्दैछु । साथीभाइले के भन्छन् । भोट त साथीभाइले दिने हो । भोट त महाधिवेशन प्रतिनिधिले दिने हो । सिनियर साथीभाइहरुसँग पनि भेट्दैछु र सरसल्लाह गर्दैछु । त्यसै निर्णय गर्नुभन्दा पनि सरसल्लाह सबैसँग गरेर अघि बढ्ने हो । सबैसँग सरसल्लाह गर्नुपर्छ । हुनुपर्छ ।

कोइराला परिवारमात्रै मिलेर हुन्छ त ? 

हामी पनि कुराकानी गर्दैछौ । हामीमा मेल छ । राजनीति गर्ने व्यक्ति हौं । परिवारमा तीन जना राजनीति गर्दैछौं ।  कांग्रेसलाई मबजुत बनाउने विषयमा परिवारसँगै अरु साथीहरुसँग पनि छलफल भइरहन्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिबारे हामीबीच छलफल भइरहन्छ । कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ भन्ने हाम्रो बुझाइ छ ।

शेरबहादुर देउवा जसरी पनि सभापति हुने तयारीमा हुनुहुन्छ । अनि कोइराला र पौडेल तीन जना सभापतिको उमेदवार हुनुहुने हो ? 

मैले अघि पनि उल्लेख गरेको छु । सभापतिज्यू कार्यकाल थप्ने पक्षमा हुनुहुन्छ । तर, यो हामीलाई मान्य छैन । कारणबिना कार्यकाल थप्नुहुन्न । तर, महाधिवेशन आउन अझै केही समय भएकोले को–को उम्मेदवार हुने वा बन्ने भन्न अहिले अलि चाँडो हुन्छ । समय र परिस्थितिअनुसार जे पनि हुन सक्छ ।

महासमितिको म्यान्डेडविपरीत विधान पास हुनुलाई के भन्नु हुन्छ ?

विधान त पारित भयो । लोकतान्त्रिक पार्टी भएकोले बहुमत भन्ने कुरा त भइहाल्यो । म काठमाडौंमा भएको भए असमति जनाउँदै ‘नोट आफ डिसेन्ट’ लेख्ने थिएँ तर बाहिर थिएँ । महासमितिमा तलैबाट चुनाव लडेर आउने भन्ने थियो । सभापतिले ‘आई एम डिप्राइभ्ड’ र वरिष्ठ नेताले ‘इमोस्नल्ली एट्च्याड्ड’ भन्नुभयो । परिमार्जन गर्छु भनेर महासमितिको कुरा स्वीकार गर्ने हो । बहुमत र अल्पमतको आधारमा तलैबाट निर्वाचित भएर आउने हो । 

विधानलगायत विषयमा तपाईंलाई चाहिँ केमा चित्त नबुझेको हो ?

कांग्रेस विधानको राजनीतिक प्रस्तावनामा गिरिजाप्रसाद कोइरालाले संसद पुनःस्थापना गराएर राजनीतिको गतिरोध हटाउन गरेको प्रयासलाई उल्लेख गरिएको छैन । इतिहास मेटाउन खोजिएको छ । अनुशासन भंग भएको छ । यसलाई रोक्न सभापतिलगायत पदाधिकारी असफल भएका छन् । 

विधानको विषयमा अझै छलफल गरेको भए हुने थियो । वीपीले लेखेको विधानमा टेकेर हिंड्न के अफ्ठेरो भयो र ? समावेशी पदमा पनि दुई चार पटक लड्न दिंदा त्यही व्यक्ति त्यहीअनुहार मात्र माथि आउने भयो । तलको मानिस कोही आउन पाउँदैनन् । समावेशीमा पनि प्रतिस्पर्धा हुनुपर्छ । गिरिजाप्रसादको योगदानलाई विश्वले सम्झँदै छ तर कांग्रेसले बिर्सँदैछ ।

उसो भए तपाईंले भनेजस्तै कमजोर बनेको कांग्रेस कसरी मजबुत बन्छ त ?

कांग्रेसलाई बलियो बनाउने हो भने १४ औं महाधिवेशन समयमै हुनुपर्छ । भ्रातृ संगठनमा देखिएका समस्या समाधान गरिनुपर्छ । नेविसंघमा के भयो देखिहाल्नु भएको छ । भ्राृतसंगठनलाई चुस्त दुरुस्त बनाउनु पर्छ । नेविसंघकै कुरा गर्ने हो भने ३२ वर्ष लगाउने कि नलगाउने तुरुन्त निर्णय गरेर अघि बढ्नु पर्छ । जुन घटना भयो त्यो कांग्रेसलाई सुहाउने विषय होइन । अब भएका समस्या पहिचान गरी तिनलाई सम्बोधन गर्दै अघि बढ्नुको विकल्प छैन् । 

अहिले प्रतिपक्षको भूमिकालाई कसरी मूल्यांकन गर्नुभएको छ ? 

कांग्रेसले जुन हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने हो गर्न सकेको छैन । तलबाट पनि यस्तै टिकाटिप्पणी भइरहेका छन् । दह्रो प्रतिपक्षीको भूमिका निर्वाह गर्न पार्टी संगठनबाट पनि तयारी हुनुपर्छ । सदनमा उठाइने विषयमा तयारी गरिनु पर्छ । प्रदेशमा पनि कांग्रेसले महत्वपूर्ण विषयलाई उठान गर्नुपर्छ । तर, पछिल्लो केही समय भने कांग्रेसको भूमिका सदनमा राम्रो देखिएको छ । अझ गर्न सकिन्छ । गुणदोषको आधारमा सरकारको कामको आलोचना र समर्थन गर्नु नै प्रतिपक्षीको भूमिका हो ।

सरकारको ?

सरकारले जनअपेक्षाअनुसार काम गर्नै सकेको छैन । स्थिति झन् बिग्रिएर गएको छ । बजेट घाटा बढ्दो छ । विदेशी लगानी झन् घटेको छ । शोधानान्तर घाटा बढ्दो छ । सरकारले सामाजिक सञ्जालमा नागरिकले दिने अभिव्यक्तिलाई समेत नियन्त्रित गर्न सुरु गरेको छ । यसबाटै थाहा हुन्छ सरकार कुन दिशामा अग्रसर छ भन्ने ।

नेपाली सेनालाई विवादित बनाउन सरकार नै लागि परेको छ । वाइडबडीको घटनामा सरकारले गरेको अनुसन्धान हेरौं । म त भन्छु यो घटनामा जो जो संलग्न छन् सबैलाई कारबाही हुनुपर्छ । जो पर्छन् कानुनको कठघरामा उभ्याउनुपर्छ । छानबिनमा अब अख्तियार लागेको छ । उसले गडबड गर्न पाउँदैन् । के हुन्छ भनेर जनताले हेरिरहेका छन् । 

विप्लव माओवादीको बमकाण्ड र गतिविधिबारे के धारणा छ ?
जुन घटना काठमाडौंमा गराइयो त्यो जति भत्र्सना गरे पनि कम हुन्छ । देशलाई फेरि द्वन्द्वतर्फ धकेल्ने प्रयत्नहरु हुँदैछन् । पुरानो अवस्थामा फर्काउन खोजिँदैछ । विप्लव माओवादीलाई कानुनी कठघरामा ल्याइनुपर्छ । साथै वार्ता पनि गर्नुपर्छ । विश्वको नियम नै हो । गतल गर्नेलाई कानुनको कठघरा र वार्ता दुबैमा ल्याउन जरुरी हुन्छ ।

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५  ११:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC