एजेन्सी । प्रविधिको क्षेत्रमा विश्वले धेरै गति लिइसकेको छ । यस्तोमा अब फोर–जीबाट फाइभ–जी टेक्नोलोजीमा प्रवेश गर्ने समय पनि नजिकिएको छ । तर लामो समय अगाडि देखि चर्चामा रहँदै आएको फाइभ–जीले वास्तवमा कसरी काम गर्छ र यसका विशेषता कस्ता छन् अनि हाम्रो जीवनमा यसले कसरी प्रभाव पार्छ भन्नेबारे कमैले मात्र बुझेको पाइन्छ ।
वास्तवमा फाइभ–जी अर्थात ‘फिप्थ जेनेरेसन’ वा पाचौँ पिँढीको यस प्रविधिले विश्वमा नयाँ अर्थतन्त्रलाई जीवन दिने अपेक्षा गरिएको छ । हामीले यसअघि विभिन्न फिल्महरुमा देखेका स्मार्ट सिटी, रोबोटको व्यापकता, आफैँ कुद्ने गाडीलाई सम्भव बनाउनदेखि चिकित्सा क्षेत्रलाई समेत फाइभ–जीले नयाँ रुप दिने विश्वास गरिएको छ ।
यसरी हरेक नयाँ वायरलेस जेनेरेसन नेटवर्कको पहिलो प्राथमिकता तिव्र कनेक्सन रहँदै आएको छ । टु–जी भन्दा थ्री–जी छिटो र थ्री–जी भन्दा फोर–जी को कनेक्सन छिटो हुन्छ । यस्तोमा अब आगामी फाइभ–जी नेटवर्कले पनि पछिल्ला सबै जेनेरेसनलाई मात दिने गतिको कनेक्सन प्रदान गर्ने निश्चित छ । तरपनि फाइभ–जी फोर–जी भन्दा कति छिटो हुनेछ भन्नेमा मानिसहरु बढी उत्साहित छन् ।
यसरी फाइभ–जी निर्माणकर्ताहरुले यो नेटवर्क फोर–जी भन्दा १०० गुना छिटो हुने बताएका छन् जुन एउटा आठ हजार मेगापिक्सेल क्वालीटीको भिडियो सहज रुपमा हेर्न पर्याप्त हुनेछ भने कुनैपनि थ्रीडी फिल्म तीन सेकेन्डमै डाउनलोड गर्न सकिनेछ जसका लागि फोर–जी लाई ६ मिनेट लाग्ने गरेको छ । फाइभ–जीको अतिरिक्त ब्यान्डविथले नै यसको सेवालाई अझ बढी विश्वसनीय बनाउँछ जुन धेरैवटा ग्याजेटलाई एकै समयमा कनेक्सन प्रदान गर्न सक्षम छ । तर पछिल्ला जेनेरेसन जसरी फाइभ–जी भने स्मार्टफोनमा मात्र सिमित रहनेछैन ।
सेन्सर, थर्मोस्टाट, कार, रोबोट र अन्य सबै नयाँ प्रविधि एकदिन फाइभ–जीसँगै कनेक्ट हुने अपेक्षा गरिएको छ ।
अहिले सबैले प्रयोग गर्ने गरेको फोर–जीको ब्यान्डविथले भने यति ठूलो मात्रामा डाटा ट्रान्समिट गर्न सक्दैन । तर यसका लागि फाइभ–जीले पनि अत्याधिक तिव्र ‘सुपर–हाइ–फ्रिक्वेन्सी एयरवेभ’ सबैको ग्याजेटसम्म पुर्याउनु पर्ने हुन्छ । जति बढी फ्रिक्वेन्सी हुन्छ त्यति नै धेरै ब्यान्डविथ र त्यति नै तिव्र हाम्रो कनेक्सन हुन्छ ।
तरपनि यस्ता फ्रिक्वेन्सी पर्खाल, झ्याल या छतबाट छिरेर हामीकहाँ पुग्न नसक्ने हुँदा लामो यात्रा गर्नुपरे कनेक्सन पुनः सुस्त हुन जान्छ । यसको अर्थ वायरलेस कम्पनीहरुले हजारौँ होइन लाखौँका सङ्ख्यामा ससाना सेल टावरहरु हाम्रो घरभित्र, भवनमा र बत्तीका खम्बाहरुमा जडान गर्नुपर्ने हुन्छ । त्यसैले पनि फाइभ–जीले एकैपटकमा फोर–जीलाई प्रतिस्थापन नगरेर पहिले त्यसका कमजोरीहरुमा सुधार ल्याउने बताइन्छ ।
त्यस्तै एचडी भिडियो लगायतका धेरै ठूला फाइलहरु खोल्दा जसरी हाम्रो डिभाइसले केही सेकेन्डको समय लिने गरेको छ, त्यसमा पनि फाइभ–जी कनेक्सनले ठूलो बदलाव ल्याउनेछ ।
किनकी फाइभ–जीको प्रयोग हुन थालेपछि हाम्रो ग्याजेटले कुनै समय नलिइ तुरुन्तै सो फाइल सुचारु गर्न सक्छ । यसकारण पनि फाइभ–जीले ‘सेल्फ ड्राइभिङ कार’ अर्थात आफैँ चल्ने गाडीलाई जीवन र मृत्युको अवस्थामा तत्कालै निर्णय लिने क्षमता दिलाउन सक्छ ।
यसैगरी स्वास्थ्य उद्योगले पनि फाइभ–जीले औषधि निर्माण र रोबोटिक शल्यक्रियामा सहयोग पुर्याउने विश्वास गरेको छ । यस किसिमका आधुनिक प्रणाली नेटवर्क र डिभाइसबीचको संचार सहज हुँदा मात्र सम्भव छन् । त्यसैगरी फाइभ–जी नेटवर्कले क्लाउड सर्भर जसरी पनि काम गर्न सक्ने हुँदा आफैँ चल्ने गाडीहरुमा कम्प्युटिङ र स्टोरेज पनि गर्न सक्षम छ । यसले कारको स्पेस र धेरै ऊर्जा बचत गराउन सक्छ । त्यसैले फोर–जी प्रविधिलाई सेल्फ–ड्राइभिङ कारका लागि असुरक्षित मानिएको हो । सीएनएनबाट