site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गाउँले पत्रकार
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


बिहीबार अपरान्ह सानेपास्थित घर पुग्दा विनय कसजू तेस्रा तलाको एउटा कोठामा भेटिए— कम्प्युटरअगाडि । कोठा लाइब्रेरी जस्तो थियो, गोदाम जस्तो पनि । आफूले लेखेका र सम्पादन गरेका पुस्तक, निकालेका पत्रपत्रिकाले घेरिएका थिए उनी । वि.सं.२०२० सालमा  ‘गोरखापत्र’मा छापिएका सामग्रीको कटिङ र पहिलो हवाई लघुकथा संग्रह पनि त्यहीँ थिए । सन्दर्भ पर्‍यो कि उनी सप्रमाण उपस्थित हुन्थे, पत्रिकाका नमुना र कटिङ देखाउँथे । सरकारले दिएका नियुक्तिपत्र टेबलमै थिए । गुगल क्रोममा विभिन्न वेबसाइट खोलिएका थिए । इतिहासदेखि वर्तमानसम्म उनको कोठामै कैद थियो । टाउकाको कपालले बुढ्यौलीको संकेत दिए पनि उनी त्यत्ति नै व्यवस्थित छन्, जस्तो ‘सत्य समाचार’ र ‘गाउँले देउराली’ निकाल्ने बेला थिए । गुल्मीजस्तो पहाडमा बाल र वैंश खन्याएका विनय कसरी नेपालका स्थापित पत्रकार र लघुकथाकार भए— उनले क्रमैसँग बताएः

० ० ०

Prabhu Bank
Agni Group
NIC Asia

गुल्मीको रिडी प्रसिद्ध धार्मिकस्थल । देश–विदेशबाट तीर्थयात्री आउँथे । विनयको घर नै रिडी । साधुसन्तहरू थुप्रै आउँथे । हात हेर्दा एक साधुले भनेछन्, “यो बालक कि हामीजस्तै साधु हुन्छ कि डक्टर हुन्छ ।”

ज्योतिष विद्यामा विश्वास थियो । उनले त्यही बेला संकल्प गरे, “म जोगी होइन, डक्टर बन्छु ।”

Global Ime bank

कक्षा ८ सम्ममात्रै पढ्न पाइन्थ्यो रिडीमा । त्यसपछि पढ्न कि पाल्पा जानुपथ्र्याे कि काठमाडौं या बनारस । त्यो समय सकेसम्म कि बनारस कि बोर्डिङ पढाउने चलन थियो । विनयलाई परिवारले काठमाडौंको फर्पिङस्थित त्रिभुवन आदर्श विद्यालय पठायो, जहाँ राजाले क्षेत्रीय भ्रमणमा जाँदा देखेका प्रतिभालाई काठमाडौं ल्याएर पढाउँथे ।

त्रिभुवन आदर्शमा साहित्यकार धरणीधर कोइराला प्रिन्सिपल थिए भने फणिन्द्रराज खेताला होस्टलका सुपरिटेन्डेन्ट ।

हात हेर्दा कि जोगी कि सन्यासी बन्छस् भनेको थियो । विनयलाई जोगी बन्ने मन थिएन । त्यसैले उनलाई डक्टरको जग बसाल्नु थियो । त्यसका लागि बायोलोजी पढ्नुपथ्र्यो । त्रिभुवन आदर्शमा ऐच्छिक गणितमात्रै थियो, बायोलोजी थिएन । विनयलगायत ६ विद्यार्थीले बायोलोजी पढाउनैपर्ने जिद्दी गरे । विद्यालयले ६ जनाका लागि मात्रै भए पनि बायोलोजी पढाउन थाल्यो ।

संन्यासीको वेशमा...

विनयले ०२० मा एसएलसी पास गरे । थप अध्ययनका लागि बनारस पुगे । जोगी बन्ने रहर नभए पनि धार्मिक कुरामा चासो थियो । आईएस्सीमा भर्ना भएका विनयले धार्मिक किताबहरू रामायण, महाभारत, उपनिषद् पढ्न थालेका थिए । बनारस धार्मिक केन्द्र । जोगी, संन्यासी तथा भक्तहरूको सानिध्यमा पुगे । ठुल्ठूला नाम कमाएका धार्मिक गुरुहरूको पनि नजिक पुगे उनी । सांसारिक जीवनबाट वितृष्णा भएर भौतिक सुखसयल त्यागी भगवानको चरणमा जीवन सुम्पिएका भनिने धार्मिक गुरुहरूको जब असली रूप देखे, विनयलाई वितृष्णा भयो । जसलाई सारा दुनियाले गुरु, परमेश्वर भनेर आदर, भक्तिभावले आफूलाई समर्पण गरेको हुन्छ, उनीहरूलाई नै धोका दिइँदो रहेछ ! उनीहरूको वास्तविक रूप अर्कै पो हुँदो रहेछ ! श्रीमान् बितेर अथवा सांसारिक जीवनबाट वाक्क भएर धार्मिक गुरुको चरणमा पुगेका महिलाप्रति नै उनीहरूले यौन दुव्यवहार गर्दा रहेछन् ! धार्मिक प्रवृत्तिका र शनिबार मौन व्रत बस्ने विनयले उनीहरूको संगत नै टुटाए ।

नेपालमा पञ्चायत थियो । खुला राजनीतिक वातावरण थिएन । पञ्चायतविरुद्ध बनारसमा योजना बन्थे । संगठन निर्माण हुन्थे । कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्यलगायत नेतासँग विनयको भेट भयो । विद्यार्थी राजनीतिमा उनी पनि सक्रिय भए । राहुल सांकृत्यायनका किताब र उनको जीवनी पढेपछि बाटो त साम्यवादको पो ठीक रहेछ भन्ने लाग्यो ।

बनारसमा पढ्ने–लेख्ने वातावरण थियो । पत्रपत्रिका पढ्ने त्यहाँको संस्कृतिजस्तै थियो । ‘आज्’ नामक पत्रिका विनय खुब पढ्थे । त्यसका सम्पादकहरू भारतीय राजनीतिको ठूलै ओहोदामा पुगे । सांसद् हुँदै केही त मन्त्रीसमेत भए । कमलापति त्रिपाठी पहिले ‘आज्’को सम्पादक र पछि सांसद हुँदै केन्द्रीय रेलमन्त्री पनि भए । उनले लेखेको पुस्तक ‘पत्र और पत्रकारिता’ विनयको हात पर्‍यो । पढे । उनलाई लाग्यो— राजनीति होइन, गर्नुपर्ने त पत्रकारिता पो रहेछ ! हुनुपर्ने त पत्रकार पो रहेछ !

दिल्लीमा हुलाकबाट पढाउने विद्यालय थिए । जस्तैः कहानी लेखन विद्यालय, पत्रकारिता महाविद्यालयले हुलाकबाट पाठ पठाउँथे । त्यो पाठ पढेर होमवर्क गरी पठाउनु पथ्र्यो । पास भए सर्टिफिकेट पाइन्थ्यो । दुइटै विद्यालयमा पढे उनले । त्यो सर्टिफिकेट विनयसँग अहिले पनि रहेछ ।

वनारसको डीएभी कलेजमा पढ्दै थिए विनय । तीन धामको यात्रा गर्न भन्दै रिडीबाट विनयका आमा र दाइ बनारस पुगे । विनय उनीहरूको पछि लागे । गंगासागर, जगन्नाथ, रामेश्वर, द्वारिका पुगे । घुम्न थालेपछि पढाइ बिग्रियो । प्राइभेट परीक्षा दिन्छु भनी तयारी गरिरहेका बेला उनलाई खबर पुग्यो— घरमा बुवाको चोला उठ्यो । फर्किए ।

२० वर्षको उमेरमा प्रधानपञ्च

०२४ सालमा रिडीका तत्कालीन प्रधानपञ्चले महिलामाथि हातपात गरेको अभियोगमा राजीनामा दिनुपर्‍यो । एक वर्ष कार्यकाल बाँकी थियो । पञ्चायतले विनयलाई नियुक्त गर्‍यो । २० वर्षको कलिलो उमेरमै उनी प्रधानपञ्च भए । प्रधानपञ्च हुनलाई कम्तीमा २१ वर्ष उमेर पुग्नुपथ्र्यो । तर, २० वर्षका विनयलाई निर्विरोध निर्वाचित गरियो ।

किन ?

कक्षा ९ मा पढ्दा उमेर १६ वर्ष थियो । त्यही बेला उनले ‘गोरखापत्र’मा दुइटा लेख छपाएका थिए । एउटामा रिडीको परिचय लेखेका थिए । त्यो प्रधानपञ्च निर्वाचित हुनुको मुख्य कारण थियो । एकातिर पढेलेखेका युवा, अर्कातिर कलिलो उमेरमै गाउँको परिचय पत्रिकामार्फत देशव्यापी बनाएको छवि ।

\"\"

पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जामा पुष्पलालको कम्युनिस्ट पार्टी सक्रिय थियो । डाँका, फटाहाविरुद्ध एक्सन (कारबाही) लिन्थ्यो । एक्सन अभियान चलाउने ‘सर्कल’मा बनारसमै छँदा विनय पनि थिए । गुम्लीमा चार पटक पञ्चायतमा उमेदवारी दिएर प्रधानपञ्च जितेका थिए, जसमा सिद्धिनाथ ज्ञवाली, दिवाकर ज्ञवालीलगायत थिए । “उहाँहरूले नै मलाई प्रधानपञ्च बनाउनुभएको रहेछ । त्यो बेला त मलाई थाहा थिएन । पछि उहाँहरूले भनेपछि थाहा पाएँ,” विनय ०२० सालको आफ्नो २० वर्षे उमेरको उपलब्धि सुनाउँछन् ।

समाचार लेखन यात्रा

पञ्चायतको कार्यकाल सकियो । खाली थिए । युवक संगठनको अञ्चल अध्यक्ष शक्ति लम्साल थिए । उनले भैरहवाबाट ‘दैनिक निर्णय’ पत्रिका प्रकाशन गर्थे । त्यसको रिडी संवाददाता बनाइदिए विनयलाई । ०२२ सालतिर फर्किंदा विनय आफूले पहिलो पटक समाचार लेख्न थालेको सम्झिए । त्यहीँबाट उनको पत्रकारिता यात्रा आरम्भ भएको थियो । त्यसअघि त्रिभुवन आदर्शमा पनि धरणीधर कोइरालाको सुझावमा विनयले साहित्यिक पत्रिका निकाल्ने तयारी गरेका थिए । तर, त्यो पत्रिका निकाल्ने तयारी गर्भमै तुहियो ।

पाल्पामा पसल थियो । पसलमा विनयका दाइ बस्थे । दाइको मृत्यु भयो । अब पसलमा विनय बस्नुपर्ने भयो । गुल्मी छोडेर उनी पाल्पा पुगे ।

पाल्पामा ‘दैनिक निर्णय’का अर्कै संवाददाता थिए । उनले समाचार लेख्न नपाउने भए । उनले काठमाडौंका पत्रिका ‘मातृभूमि’ र ‘समीक्षा’लाई समाचार पठाउन थाले ।

आफ्नै पत्रिका, आफ्नै प्रेस

त्रिभुवन आदर्शमा पत्रिका निकाल्न नसकेको झोंक उनमा जीवितै थियो । समाचार लेख्न थालेको ६ वर्षे अनुभव थपिएको थियो । विनयले ०२८ सालमा ‘श्रीनगर’ त्रैमासिक पत्रिका दर्ता गरे । पत्रिका भनेर दर्ता गर्न पञ्चायतले दिँदैनथ्यो । सामूहिक संकलन भनेर छापिन्थ्यो ।

प्रकाशक ५ जना थिए । सम्पादक विनय थिए । पत्रिका छाप्न बनारस पुग्नुपथ्र्यो । केही अंक गोरखपुर लगेर छापे । लेख्नभन्दा छाप्न गाह्रो । प्रेस आफ्नै चाहिन्छ भन्ने लाग्यो । ०३० सालमा २० हजार रुपैयाँमा प्रेस किने । नाम राखे ‘कुमार प्रेस ।’

प्रेसबाट किताब, पोस्टर तथा पम्प्लेट पनि छाप्न थाले । जे छापे पनि एकप्रति पहिला पञ्चायत कार्यालयमा देखाउनु पथ्र्यो । ‘ठीक छ’ भनेपछि मात्रै बाँकी छाप्न मिल्थ्यो नत्र परिमार्जन गर्नुपथ्र्यो ।

“पत्रिका प्रकाशन गरेपछि त्यो दिनभर प्रहरीबाट फोन आउँछ कि अञ्चलाधीशको कार्यालयबाट आउँछ भनेर फोन कुरेर बस्नु पथ्र्यो,” पञ्चायतको सकस सुनाउँछन् विनय, “दिन ढलेपछि कतैबाट पनि फोन आएन भने एक हप्ताका लागि ढुक्क हुन्थ्यो ।”

०३३ सालको नयाँ अनुभव पनि उनले सम्झिए— हवाई पत्रमा लघुकथाको संग्रह छापेको । चिठीको खामजस्तो फोल्ड गर्न मिल्ने पत्रमा लघुकथाहरू छापे । विनयका अनुसार हवाई पत्रमा छापिएको त्यो पहिलो लघुकथा संग्रह हो । यसलाई उनले ‘चौतारो’ नाम दिएका थिए ।

‘श्रीनगर’ परिवारले नै अर्को पत्रिका ‘पाउर’ (०३४) दर्ता गर्‍यो । प्रकाशन भइरहेको थियो । जनमत संग्रह घोषणा भयो । बहुदललाई जिताउन उनीहरू लागे । पाल्पा व्यापार संघको उपाध्यक्ष थिए विनय ।

जनपक्षीय बहुदल प्रचार समितिको उनी अध्यक्ष भए । पहिलो बैठक विनयकै अध्यक्षतामा बस्यो । बैठकमा काठमाडौंबाट मनमोहन अधिकारी, सहना प्रधान, लीलामणि पोखरेललगायत नेताहरू जान्थे । विनयकै अध्यक्षतमा बैठक बस्थ्यो । प्रेस आफ्नै थियो । पर्चा, पम्प्लेट छाप्थे । गाउँ–गाउँ पुर्‍याउँथे । परिणाम— पाल्पामा बहुदलले जित्यो । पाल्पाका समाचार उनी काठमाडौंका पत्रिकामा पठाइरहन्थे । “कार्बन राखेर समाचार लेख्थें र त्यही समाचार विभिन्न पत्रिकामा पठाउथें,” विनय भन्छन्, “आन्दोलनमा लागेसँगै पहिलाका पत्रिका बन्द भएका थिए । त्यसैले अर्को पत्रिका आफ्नै दर्ता गर्नुपर्ने भयो ।”

जसले स्थानीय समाचार छाप्यो

०३९ सालमा ‘सत्य समाचार’ साप्ताहिक दर्ता गरे । ०४० वैशाख १ बाट पत्रिका प्रकाशन गरे ।

त्यही पत्रिका हो, स्थानीय समाचारलाई प्राथमिकता दिने । राष्ट्रियस्तरमा बहस भइरहेका समाचारले यसमा प्राथमिकता पाउँदैनथे । दरबारका घोषणा र राष्ट्रिय पञ्चायतका निर्णयहरू भित्री पृष्ठमा जान्थे । स्थानीयले फलाएको काउली कति किलोको थियो, त्यो प्रथम पृष्ठको ब्यानर समाचार हुन्थ्यो ।

विनयले लेखेको स्थानीय समाचार छापेको दिन १ हजार प्रति छापिने ‘दैनिक निर्णय’ रि–प्रिन्ट गर्नु परेको थियो । विद्यालयमा प्रधानाध्यापकले छात्रालाई यौनशोषण गरेको र स्थानीय अर्थतन्त्रबारे समाचार छापिएको दिन पत्रिका रि–प्रिन्ट गर्नु परेपछि उनलाई लागेको थियो— स्थानीय समाचारले नै जनताको मन तान्छ, यस्तै समाचार लेखेर पत्रिका निकाल्छु । 

त्यसपछि उनले ‘सत्य समाचार’मा स्कुलका वार्षिकोत्सव, चौरासी पूजा र वडाका सभासम्बन्धी समाचारहरू प्रथम पृष्ठमा छाप्न थाले । राजाका सम्बोधन र भ्रमणहरूलाई भित्री पृष्ठमा थन्काइदिए ।

“प्रजातन्त्रमा जनता बलियो हुनुपर्छ भन्ने मेरो मान्यता थियो । स्थानीय गतिविधि छाप्ने पत्रिका लोकप्रिय भयो । १ हजार प्रतिसम्म पत्रिका छापियो । त्यो बेला जिल्लामा १ हजार प्रति भनेको ठूलो सर्कुलेसन थियो,” विनय भन्छन्, “०५१ सालमा बिदाइ अंक निकालेर मैले त्यो पत्रिका बन्द गरें । पत्रिका लोकप्रिय हुँदाहुँदै मैले बिदाइ अंक निकालेर बन्द गरें । बिदाइ अंक निकालेर बन्द भएको नेपालको इतिहासमा पहिलो पत्रिका पनि ‘सत्य समाचार’ नै भयो ।”

मदनमणि दीक्षितले काठमाडौंबाटै चिठी लेखेर पत्रिका पुनः प्रकाशन शुरु गर्न आग्रह गरे तर विनय पछि फर्किएनन् ।

\"\"‘गाउँले देउराली’

एउटा चरण पार भयो र स्थानीय समाचारले प्राथमिकता पाउनुपर्छ भन्ने मानक पनि स्थापित भयो । त्यसैले ‘सत्य समाचार’ बन्द गरेको सुनाउँदा उनले त्यो पत्रिका निकाल्नुको कारण पनि सम्झिए, “भारतमा प्रजातन्त्र आएपछि जनतामा खुशीको लहर छायो । जनताले आफ्ना प्रतिनिधि चुने । तर, जनताबाट चुनिएका प्रतिनिधिले काम नगरेपछि फिल्ममा नायकले रातारात चमत्कार गरेजस्तै उनीहरूले राजनीतिमा पनि काम गर्छन् कि भन्ने सोचेर जनताले हिरोहरूलाई चुनावमा जिताए । तर, उनीहरूबाट पनि काम नभएपछि फेरि भारतका हत्या आतंकमा संलग्न फुलनदेवीजस्ता निर्वाचित हुन थालेका थिए । त्यसैले जनता नै बलियो हुनुपर्छ र त्यसका लागि जनतालाई के सही र के गलत भनेर भन्ने छुट्याउन सूसूचित गर्नुपर्छ भनेर सत्य समाचार प्रकाशन शुरु गरेको थिएँ ।”

०४३ मा नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) र सिंगापुरको एमिक नामक संस्थाले कार्यशाला आयोजना गरे । त्यसमा सहभागी हुन पाल्पाबाट विनय आए । भारतदत्त कोइराला विनयको कुरा सुनेर प्रभावित भएछन् । उनले विनयलाई भने, “नेदरल्यान्डको एक संस्था काफले रुलर डेभलपमेन्टका लागि गोरखाबाट एउटा पत्रिका निकाल्दै छ, तपाईं काम गर्ने हो ?”

विनयले भने, “गोरखाबाट किन, पाल्पाबाटै निकालौं ।”

“पाल्पाबाट निकाल्ने हो भने तपाईं कसरी र कस्तो पत्रिका निकाल्नुहुन्छ, आइडिया लेखेर मलाई दिनुस् ।”

त्यही कार्यशालामा बस्दाबस्दै उनले चार पृष्ठको प्रपोजल लेखे । भारतदत्तले भने, “तपाईंको यो कुरा काफमा पठाइदिन्छु, भयो भने पत्रिका निकाल्नुपर्छ ।”

उनीहरूको तयारी थियो, विषयवस्तु काठमाडौंमा तयार गर्ने । पाल्पामा प्रेस राखेर त्यहाँबाट छाप्ने ।

विनयले विषयवस्तु तयारी र सम्पादनको सबै जिम्मा आफूलाई दिन भने । सहमति भयो । अन्तिम तयारी भएर काफबाट कोषको प्रतीक्षा गरिरहेका बेला अमेरिकाले इराकमाथि आक्रमण गर्‍यो । दातृ निकायहरूले सहयोग त्यतातर्फ केन्द्रित गरे । पत्रिका प्रकाशन अलपत्र भयो । त्यही बेला एसिया फाउन्डेसनको कार्यालय बंगलादेशबाट नेपाल सर्‍यो । एसिया फाउन्डेसनका प्रमुखसँग भारतदत्तको राम्रो सम्बन्ध थियो । उनले पाल्पा पुगेर स्थानीय नेता तथा बुद्धिजीवीसँग छलफल गरे । पत्रिका प्रकाशनमा सहयोग गर्न उनी तयार भए । पत्रिकाको नाम ‘गाउँले देउराली’ राखियो । विनयको सम्पादकत्वमा ०४६ मा पत्रिका प्रकाशन शुरु भयो । ‘गाउँले देउराली’ले ‘सत्य समाचार’लाई नै फलो गर्‍यो । स्थानीय समाचारलाई केन्द्रमा राखेर पत्रकारिता गर्‍यो । यो पत्रिका अहिले पनि प्रकाशन भइरहेको छ ।

यस्तो पत्रकारिताबाट प्रभावित भएर देशका अन्य ठाउँमा पनि यही प्रकृतिका पत्रिका प्रकाशन हुन थाले । कतिपय अझै प्रकाशन भइरहेका छन् ।

विनयले पञ्चायतको शुरुआती कालखण्डको पहिलो दशकबाटै पत्रकारितामा हात हाले । २० वर्षको उमेरमै उनी प्रधानपञ्च भए । त्यसअघि उनी बनारसमा कम्युनिस्टको संगतमा थिए । पछि फेरि उनले स्वतन्त्र पत्रकारिता गरे ।

तर कसरी ? कहिले प्रधानपञ्च, कहिले कम्युनिस्ट किन ?

“त्यो समय मलाई कसले किन प्रधानपञ्च बनायो भन्ने पनि मैले पछिमात्रै थाहा पाएँ । बनारसमा जिन्दगी त कम्युनिजमको बाटोमा लागेर पो बाँच्नुपर्ने रहेछ भनेर निर्णय गरेको म त्यहीँ छँदै पत्रकारिता गर्नुपर्ने रहेछ भन्ने निष्कर्षमा पुगिसकेको थिएँ,” उनी स्पष्ट पार्छन्, “त्यो बेला मलाई केही थाहा थिएन । जतिबेला म बुझ्ने भएँ, त्यसपछि म आवश्यकताअनुसार कहिले पत्रकारिता, कहिले पत्रिका बन्द गरेर आन्दोलन र आन्दोलनपछि फेरि पत्रिका निकाल्ने गरें ।”

‘सत्य समाचार’को एउटा तीतो अनुभव पनि सुनाए उनले, “पत्रिकामा राजा र प्रधानमन्त्रीका भाषण नछापेर किसानका तोरी र मकैका समाचार लेखेको पञ्चायतलाई मन परेको रहेनछ । मलाई पञ्चायतले समात्यो । बयान लियो । प्रहरीको नजरमा म पटक–पटक परें ।”

प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रस्ताव

०४६ को जनआन्दोलनमा नेकपा माक्र्सवादीका अध्यक्ष रहेका मनमोहन अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण गरेपछि बनेको नेकपा एमालेको संस्थापक अध्यक्ष थिए । एमालेलगायत अन्य कुनै पनि पार्टीले २०५१ को मध्यावधि निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् । सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट मनमोहन प्रधानमन्त्री बने ।

पाल्पामा रहेका विनयलाई एकदिन प्रधानमन्त्री अधिकारीको सचिवालयबाट फोन आयो । फोन गर्ने व्यक्तिले भने, “प्रधानमन्त्रीले तपाईंलाई आफ्नो प्रेस सल्लाहकार बनाउन खोज्नुभएको छ ।”

जिन्दगीमा अपेक्षा त के, सोच्दै नसोचेको प्रस्ताव आउँदा विनय चकित भए । मोफसलको शहरमा बसेर पत्रकारिता गरेकाले पनि होला— उनको सम्पर्क र सम्बन्ध केन्द्रसँग थिएन । उनलाई लाग्यो— म केन्द्रसँग परिचित त हुँला तर यो पर्याप्त छैन । प्रधानमन्त्रीले जुन अपेक्षा राखेर मलाई प्रेस सल्लाहकारको जिम्मेवारी दिन खोज्नुभएको छ, त्यो मबाट शायद पूरा हुन सक्दैन ।

विनयले प्रस्ताव अस्वीकार गरिदिए ।

सरकारले उनकी श्रीमती गंगादेवी कसजूलाई उच्चस्तरीय भूमिसुधार सुझाव आयोगमा नियुक्ति दियो । त्यसपछि विनय बस्नका लागि काठमाडौं आए । प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा बस्न नमानेपछि विनययाई सरकारले प्रेस काउन्सिलमा नियुक्ति दियो । पछि ०६५ सालमा सरकारले उनलाई सूचना आयोगको प्रमुख आयुक्त बनाइदियो । चार वर्ष प्रमुख आयुक्त भएर काम गरेका विनय त्यसअघि नै राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य भइसकेका थिए ।

काठमाडौं आएपछि उनी एनपीआईमा (नेपाल प्रेस इन्स्टिच्युट)मा जोडिए । प्रशिक्षक बने । पत्रकारलाई तालिम दिन गाउँ–गाउँ पुगे । सामुदायिक रेडियोको आन्दोलनमा होमिए । अडियो टावर सञ्चालनमा आबद्ध भए । मोफसलमा बसेर सँगालेको अनुभव काठमाडौं आएपछि पनि काम लाग्यो । सामुदायिक रेडियो र अडियो टावरका सामग्री र जिम्मेवारीका विषय निर्धारण गर्न सजिलो भयो ।

\"\"

‘सत्य समाचार’ देखि ‘साइबरसंसार’सम्म

‘सत्य समाचार’ र ‘गाउँले देउराली’ आफैंले प्रकाशन गरे । समाचार लेखे । सम्पादन गरे । देश राजनीतिको रापतापमा थियो । विनय भने कसको चौरासी पूजा भइरहेको छ भनेर समाचार लेख्थे । नारायणहिटीबाट राजा जनता जनार्दनका नाममा सम्बोधन गर्थे । विनय पाल्पाको दूरदराजको प्रधानाध्यापकले गरेको भाषण छापेर बस्थे ।

मान्छे सुन्दा पनि अचम्म मान्थे । तर, त्यही काम उनले गरिरहेका थिए । उनका छोराहरू अभिनव र दीपंकरले नेपालको साइबर जगतमै प्रसिद्धि कमाएको ‘साइबरसंसार डटकम’ खोले । बुवा कृषकका कुरा लेख्थे, छोरा ग्ल्यमरका कुरा लेख्न थाले ।

विनयलाई कस्तो लाग्छ ?

शुरुमै विनयले भने, “छोराहरूले चलाएको हो यो । यसमा मेरो संलग्नता छैन ।”

कन्टेन्टप्रति विनय सन्तुष्ट छन् कि छैनन्, हामीलाई बुझ्नु थियो । उनले सजिलै भने, “यो त जेनेरेसनको कुरा हो । समयको कुरा हो । मलाई मन नपर्ने कुरा आजको पुस्ताले मन पराइरहेको हुन्छ । मैले मन पराइरहेको कुरा आजको जेनेरेसनलाई मन नपर्न पनि सक्छ ।”

छापाबाट पत्रकारिता शुरु गरेका विनय आज डिजिटलमा आइपुगे । उमेरले केश सेतै फुलाए पनि उनी प्रविधिमा अगाडि छन् । अनलाइनसम्मको अनुभव उनलाई राम्ररी छ । दिलेन्द्रप्रसाद बढू सञ्चारमन्त्री हुँदा राधेश्याम अधिकारीनेतृत्वको उच्चस्तरीय मिडिया सुधार सुझाव आयोगमा आईटी विधाको सुझाव दिने जिम्मा सरकारले विनयलाई नै सुम्पिएको थियो ।

तर, अहिलेको हतारको पत्रकारिता देखेर उनलाई चिन्ता लाग्दो रहेछ । “यहाँ समाचार छिटो दिन पाए पुग्छ । न कसैलाई समाचार भेरिफाई गर्ने फुर्सद छ न पर्खिने,” उनी भन्छन्, “महिला र सुनका विषयमा त यहाँ कसैले एक वाक्य बोलिदिए पुग्छ । कहीँ भेरिफाई नै गर्नु पर्दैन ।”

उनले गम्भीर हुँदै भने, “कतै सत्य समाचार पढ्नका लागि फेरि हामी प्रिन्टकै दुनियाँमा त फर्किनु पर्ने होइन ?” यो प्रश्नले उनलाई बेलाबेलामा झक्झक्याइरहँदो रहेछ ।

अन्तिममा हाम्रो जिज्ञासा थियो, “तपाईं पत्रकार कि लघुकथाकार ?”

बेर लागेन उनलाई जवाफ फर्काउन । पत्रकार अनि मात्रै लघुकथाकार । पत्रकारिता गर्दै जाँदा देखेका र भोगेका कुरालाई कथामा पनि उतार्ने उनको बानी रहेछ । फुसर्दका बेला साहित्यमा पनि कलम चलाउनु उनको शोख रहेछ ।

बाल साहित्यका ४७ वटा पुस्तक प्रकाशन गरिसकेका विनयले १६० वटा किताब सम्पादन गरेको सुनाए । खलिल जिब्रानका कथा पढेपछि विनय लघुकथातर्फ आकर्षित भएका रहेछन् । २०२० को दशकमा ‘गोरखापत्र’मा खलिल जिब्रानको कथा अनुवाद गरेर पठाउँदा नछापिएको अमिलो कथा पनि उनले बिहीबारको अपरान्ह सम्झिँदै थिए ।

तस्बिरः सौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC