काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दुई दर्जनभन्दा बढी बेलायती कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरुसँग छलफल गरेका छन् । ब्रिटिस एक्सपर्टिज इन्टरनेसनल (बीईआई)ले आयोजना गरेकोे नेपालमा लगानीको अवसर विषयक कार्यक्रममा मन्त्री खतिवडाले नेपालमा लगानीको अवसर, वातावरण र सम्भावनाका बारेमा बताए ।
मन्त्री खतिवडाले नेपालमा लगानीको लागि उपयुक्त गन्तव्य भएको भन्दै लगानी गर्दाका सापेक्षित लाभबारे बेलायतस्थित नेपाली लगानीकर्तालाई जानकारी गराए । नेपालमा लगानीका लागि सरकारले लगानी बोर्डलाई विशिष्टिकृत संस्थाको रुपमा विकास गरेकाले त्यसैमार्फत् ठूला व्यवसायी तथा लगानीकर्तालाई एकद्वार सेवा उपलब्ध गराउने स्पष्ट पारे । सम्बन्धित कानुनको परिर्माजन र तर्जुमा नीतिगत तथा प्रशासनिक सुधार गरी लगानी प्रवद्र्धन गर्ने मैत्रीपूर्ण वातावरणको निर्माण गरेको जानकारी उनले गराए ।
अर्थमन्त्री खतिवडाले नियमित रुपमा विदेशस्थित नेपाली नियोगलाई आर्थिक कूटनीतिको लागि परिचालन गर्ने, सूचना प्रविधिको अधिक उपयोग गर्दै लगानी बोर्ड, उद्योग मन्त्रालय आदिका वेबसाइटमार्फत लगानी प्रवर्द्धनात्मक क्रियाकलाप संचालन गर्नेलगायत सरकारका नीति कार्यक्रम तथा वार्षिक बजेट मार्फत यसको सम्बोधन गर्ने दाबी गरे ।
उनले नेपालमा गरिने लगानीको सुरक्षा र सहज वातावरण दिन सरकार तयार रहेको समेत विश्व समुदायलाई विश्वास दिलाएका थिए । चैत १५ र १६ गते नेपाल ठूला लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलनको पूर्व तयारीस्वरुप खतिवडा बेलायत पुगेका हुन् ।