धनगढी । अंकित दवासलाई आयोजकले बलिङमा प्रतिबन्ध लगाएपछि काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडसँग आज हुने दोस्रो क्वालिफायर्स बहिस्कार गरेको छ । भारतीय खेलाडी अकिंत दवासमाथि बलिङमा प्रतिवन्ध लगाएपछि डिपिएलको क्वालिफायर बहिस्कार गरेको काठमाडौं गोल्डेन्सका मालिक रमेश सिलवालले जानकारी दिए ।
उनले भने, “दवासमाथि नियोजित रुपमा प्रतिबन्ध लगाएका कारण नखेल्ने आयोजकलाई जानकारी गराएका छौं । राम्रो खेल्ने खेलाडीलाई प्रतिबन्ध लगाएपछि हामी कसरी खेल्ने ? सुरुका चार खेलमा बलिङ ठिक भयो, रणजी ट्रफीमा पनि सही छ, क्वालिफायरमा आएपछि कसरी गलत हुन्छ ?”
डिपिएलमा काठमाडौंबाट खेलिरहेका दवासले ५ खेलमा १ सय ५३ रन बनाउनुका साथै ६ विकेट लिएका छन् । नियमविपरीत बलिङ गरेको भन्दै दवासलाई डिपिएलमा प्रतिबन्ध लागेपछि काठमाडौं आयोजकसँग रुष्ट बनेको हो । दवास भारत झारखण्डबाट रणजी ट्रफी खेलिसकेका खेलाडी हुन् ।